मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

मिथुनकी पहिलो श्रीमती हेलेना लुकको निधन, ४ महिनामै टुटेको थियो विवाह

सोमबार, १९ कात्तिक २०८१, २० : ४२
सोमबार, १९ कात्तिक २०८१

मुम्बई । भारतीय अभिनेता मिथुन चक्रवर्तीकी पहिलो पत्नी हेलेना लुकको नोभेम्बर ३ मा निधन भएको छ । अमिताभ बच्चनसँग ‘मर्द’मा देखिएकी अभिनेत्री हेलेना विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्, जहाँ उनले अन्तिम श्वास फेरिन् । 

प्रसिद्ध डान्सर तथा अभिनेत्री कल्पना अय्यरले एक पोस्टमा उनको निधनको जानकारी दिएकी छन् । रिपोर्टका अनुसार ६८ वर्षीया पूर्वअभिनेत्री हेलेना विगत केही दिनदेखि बिरामी थिइन् । तर उनले लापरबाहीपूर्वक चिकित्सककहाँ जान अस्वीकार गरेकी थिइन् । हाल उनको मृत्युको यकिन कारण खुल्न सकेको छैन ।

हेलेना ल्यूक ७० को दशकमा फेसनको दुनियाँमा चर्चित नाम थिइन् । सन १९७९ मा उनको भेट मिथुन चक्रवर्तीसँग भयो र केही समयको सम्बन्धपछि दुवैले विवाह गरे । हेलेना लुकसँग विवाह गर्नुअघि मिथुन केही महिना अघिसम्म सारिकासँग सम्बन्धमा थिए ।

सन् १९७९ मा हेलेनासँग विवाह भएको बेला मिथुन ठुलो स्टार थिएनन् । विवाह भएको केही साता मात्रै बितेको थियो कि मिथुन र हेलेनाबिच झगडा सुरु भयो । विवाहको ४ महिनापछि नै हेलेनाले मिथुनसँग डिभोर्स मागेकी थिइन् ।

स्टारडस्ट म्यागजिनलाई दिएको अन्तर्वार्तामा हेलेनाले आफ्नो वैवाहिक सम्बन्ध टुट्नुको कारण खुलाएकी थिइन् । उनका अनुसार बिहान ६ बजेदेखि राति सुत्दासम्म मिथुनले उनलाई विवाहका लागि मनाउने गरेका थिए । त्यसपछि दुवैले सन् १९७९ मा गोप्य रूपमा विवाह गरे ।

उनीहरूको वैवाहिक सम्बन्ध टुट्नुको सबैभन्दा ठुलो कारण मिथुन योगिता बालीसँगको सामीप्य थियो । अर्कोतर्फ मिथुनले हेलेनालाई उनको पूर्व प्रेमी जावेद खानको बारेमा पनि जिस्काउने गरेका थियो ।

विवाह टुट्नुको एउटा कारण मिथुनका भतिजा पनि थिए । यसबारे हेलेनाले भनिन्, ‘मिथुन आफ्ना दुई आफन्त भाइ र कुकुरसँग घरमा बस्थे । बिहेपछि म पनि उतै सिफ्ट भएँ । उनका दुवै भाइले उसको पैसा खर्च गर्थे, जुन मलाई पटक्कै मन पर्दैनथ्यो । मैले दुई भाइलाई निकाल्ने बारे सोध्दा उसले भन्यो– तिमीलाई जान मन छ भने जाऊ, उनीहरू कतै जाने छैनन् । यसपछि दुवै अलग भयौँ ।’

मिथुनसँग सम्बन्धविच्छेदपछि हेलेनाले फिल्ममा भाग्य परीक्षण गरिन् । उनले सन् १९८० मा आएको फिल्म जुदाईबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी अमिताभसँग फिल्म मर्दमा देखिइन् । यो फिल्ममा बेलायती महारानीको भूमिका निर्वाह गरेकोमा उनको निकै प्रशंसा भयो । यसबाहेक अभिनेत्री दो गुलाब, एक नयाँ रिश्ता, साथ साथ र आओ प्यार करें जस्ता फिल्मको हिस्सा थिइन् ।

८० को दशकको अन्त्यतिर हेलेनाले हिन्दी फिल्ममा काम पाउन छाडेपछि उनी अमेरिका सरिन् । अमेरिकामा रहँदा उनले डेल्टा एयरलाइन्समा फ्लाइट अटेन्डेन्टको रूपमा काम गर्न थालेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप