सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

‘सेलिब्रेटी’ लोखर्केको मृत्युले अमेरिकी राष्ट्रपति चुनावमा कस्तो प्रभाव पर्ला ?

सोमबार, १९ कात्तिक २०८१, १६ : ५५
सोमबार, १९ कात्तिक २०८१

न्यूयोर्क । अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा गर्भपात, आप्रवासी, हतियार, अर्थव्यवस्था जस्ता मुद्दाका अतिरिक्त हालै नयाँ मुद्दा थपिएको छ ।

न्यूयोर्क निवासी मार्क लोंगोले पालेको ‘पिनट’ नाम गरेको लोखर्केलाई रेबिज परीक्षणपछि सम्बन्धित विभागका अधिकारीले मारिदिएसँगै विवाद बढेको छ । यहाँसम्म कि, यो विषय चुनावी मुद्दा बनेको छ ।

सरकारी अधिकारीहरूले उक्त लोखर्केलाई ‘इच्छा मृत्यु’ दिइएको तर्क गरिरहेका छन् । तर, राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचारमा यो विषय ताजा मुद्दा बनिरहेको छ ।

‘एक्स’ (यसअघि ट्वीटर) का मालिकसमेत रहेका व्यवसायी एलन मस्कले लोखर्केको मृत्युलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासन (वर्तमान उपराष्ट्रपतिसमेत रहेकी कमला ह्यारिस, जो राष्ट्रपति पदको उम्मेदवार हुन्)लाई निशाना बनाएका छन् ।

न्यूयोर्कका अधिकारीले उक्त लोखर्केलाई उसको मालिककै घरबाट लगेर शनिबार मारिदिएका थिए । लोखर्केमा रेबिजजस्तै रोगको लक्षण देखिएको अधिकारीहरूको तर्क छ । रोग फैलिनबाट रोक्नका लागि लोखर्केलाई मारिएको उनीहरूको भनाइ छ ।

उक्त लोखर्के सामाजिक सञ्जालमा यसअघि नै ‘सेलिब्रेटी’ थियो । सामाजिक सञ्जालमा उसका लाखौँ फलोअर थिए । उसका मालिकले लोखर्केसँग सम्बन्धित विभिन्न भिडियो सार्वजनिक गर्दै आएका थिए ।

शनिबार लोखर्के मारिएपछि सामाजिक सञ्जालमा यसबारे चर्को प्रतिक्रिया आयो । रिपब्लिक पार्टीका नेताहरूले उक्त घटना ‘डेमोक्र्याटिक सरकारको क्रुरताको एउटा उदाहरण’ भनेर टिप्पणी गर्दै आएका छन् ।

एलन मस्कले लोखर्केलाई बचाउनका लागि पनि ट्रम्पलाई जिताउनुपर्ने जिकिर गरेका छन् ।

मार्क लोंगोले ७ वर्षदेखि उक्त लोखर्के पाल्दै आएका थिए । उनले सो लोखर्केको कयौँ भिडियो सामाजिक सञ्जालमा राखेका छन्, जो यसअघि नै भाइरल भइसकेका थिए । अहिले उनले ‘जस्टिस फर पिनट’ भनेर अभियान नै चलाइरहेका छन्, जसलाई कयौँले साथ दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप