सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२४ घण्टाको दुर्घटना अपडेट : ११ जनाको मृत्यु

सोमबार, १९ कात्तिक २०८१, १६ : २५
सोमबार, १९ कात्तिक २०८१

काठमाडौं । बितेको २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यलयले सोमबार दिएको जानकारी अनुसार बर्दियाको मधुवन नगरपालिका-३ खातास्थित सडकमा भे.१२ प २१९० नम्बरको मोटरसाइकल र सु.प्र.प.०१-००९ प २१०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा भे.१२ प २१९० नम्बरको मोटरसाइकल चालक गेरूवा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिकाश चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प्र.प.०१-००९ प २१०४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको वेस्टर्न अस्पताल नेपालगंजमा उपचार भइरहेको छ । 
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका-१० स्थित थारू चोकमा सु.प.प्र.०१-०११ प ४६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० बस्ने ५४ वर्षीया डम्मरा ओलीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सप्तरीको कंचनरूप नगरपालिका-७ बलुवा चोकस्थित सडकमा प्र.२-०१-००२ प ९९९७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सप्तकोशी नगरपालिका-८ ओद्राहा बस्ने सूर्य नारायण सदाकी छोरी ८ वर्षीया अलिसा सदाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरले को.३७ प १८६४ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । 

यसैगरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ सतपतीस्थित सडकमा बरूवाबाट कुडियातर्फ जाँदै गरेको लु.१८ प ५८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ महलबारी बस्ने ४५ वर्षीय दल बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राम हुँदै तिनाउ अस्पताल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दाङको लमही नगरपालिका-५ बैंकरोडस्थित सडकमा पनि लमहीबाट गढवातर्फ जाँदै गरेको रा.७ प ४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक राप्ती गाउँपालिका-५ कमलरोड बस्ने २२ वर्षीय प्रेम रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१ छाताचोकस्थित सडकमा भानुचोकबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको को.२८ प ८२०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१६ बस्ने कुमार श्रेष्ठकी छोरी ६ वर्षीया फिरोजा श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सुनसरीकै बराहक्षेत्र नगरपालिका-३ नडाहापुल चोकस्थित सडकमा पकलीबाट चतरातर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ६६६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय लोक बहादुर पौडेलको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बि.पि.कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान घोपा हुँदै थप उपचारको लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लैजानौ क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको बि.पि.कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बाईपासस्थित सडकमा भे.६ प ८०२ नम्बरको मोटरसाइकल र ज.३ प ७१७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा भे.६ प ८०२ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ सरदरलाईन बस्ने २६ वर्षीय अमन कुमार कसौधनको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.३ प ७१७१ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि भारतको लखनउ पठाइएको छ ।  

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० स्थित सडकमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ४४२८ नम्बरको सुमो अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सुमोमा सवार भारत मोतिहारी थाना सुगौली रक्सौल बस्ने नबिन कुमार साहको छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी मोरङको धनपालथान गाउँपालिका-४ ललियास्थित सडकमा ललिया कर्सियातर्फ जाँदै गरेको प्र-०१-०२-०४३ प ३६९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक जहादा गाउँपालिका-७ बस्ने २७ वर्षीय मखन बिस्वासको मृत्यु भएको छ ।

 आइतबार राति उक्त मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने २६ वर्षीया काजल माझी थारूलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मखनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

झापाको कन्काई नगरपालिका-५ तल्लो चप्रामारीस्थित सडकमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको मे.११ प ३३८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-५ तल्लो चप्रामारी बस्ने बिनोद पाठकको छोरा ७ वर्षीय सोहन पाठकको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  सबै     दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप