‘डोनाल्ड’ नामसँग छ कमला ह्यारिसको खास सम्बन्ध
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदका लागि नोभेम्बर ५ का दिन मतदान हुँदैछ । विश्वकै शक्तिशाली मानिएको अमेरिकामा राष्ट्रपति पदका लागि हुने निर्वाचनले विश्वकै ध्यान आकर्षित गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति पदका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबिच निकै कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । ‘कमला ह्यारिस भर्सेस डोनाल्ड ट्रम्प’को परिणाम कस्तो आउला भन्ने आफ्नो ठाउँमा छँदैछ, यहाँ केवल कमला ह्यारिसको जीवनसँग सम्बन्धित विभिन्न आयामबारे चर्चा गर्न लागिएको छ ।
डोनाल्ड नामसँगको अनौठो संयोग
कमला ह्यारिसको मुख्य प्रतिस्पर्धी डोनाल्ड ट्रम्प हुन् । तर, कमलाको जीवनमा डोनाल्ड नाम एउटा राजनीतिक प्रतिस्पर्धीमात्र होइन, अर्को विशेष महत्त्व पनि बोकेको छ । कमलाको पिताको नाम पनि डोनाल्ड नै हो ।
कमला ह्यारिसको जन्म २० अक्टोबर १९६४ मा अमेरिकाकै क्यालिफोर्निया प्रान्तको अकल्याण्डमा भएको हो । उनका माता–पिता दुवै अमेरिकामा प्रवासी जीवन बिताइरहेका थिए ।
कमलाको आमा श्यामला गोपालन भारतीय हुन् भने पिता डोनाल्ड ह्यारिस जमैकाका नागरिक । श्यामला १९ वर्षको उमेरमा अमेरिका गएकी थिइन् । १९५८ मा अमेरिकामा अश्वेतहरूले आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका थिए ।
सोही क्रममा डोनाल्ड ह्यारिस र श्यमलाको भेट भएको थियो । उनीहरू दुवै लामो समय अङ्ग्रेजको गुलाम बनेको देशबाट आएका थिए । यही समानताले यी दुवैलाई निकट तुल्यायो ।
उनीहरू रंगभेदविरोधी आन्दोलनमा एक साथ सहभागी हुन थाले । यही क्रममा उनीहरूबिच प्रेम सम्बन्ध कायम भयो । त्यसो त, श्यामला पढाइ सकेर भारत फर्किन चाहन्थिन् । तर डोनाल्ड ह्यारिससँगको प्रेमका कारण उनी अमेरिकामै रोकिइन् । अन्ततः दुवैले सन् १९६३ मा विवाह गरे ।
श्यामला र डोनाल्डको पहिलो सन्तानका रूपमा कमलाको जन्म भएको हो । कमला सानै छँदा उनका आमाबुबाले उनलाई पनि प्रदर्शनमा लैजाने गरेका थिए । कमलाको जन्म भएको ३ वर्षपछि उनकी बहिनी मायाको जन्म भयो । तर, त्यतिबेला उनका आमाबुबाको सम्बन्ध त्यति राम्रो थिएन । एक अन्तरवार्तामा कमलाले आमाबुबाको सम्बन्धलाई ‘तेल र पानीजस्तो’ भनेकी थिइन् ।
विवाहको ९ वर्षपछि श्यामला र डोनाल्ड ह्यारिसले सम्बन्ध तोडे । त्यतिबेला कमलाको उमेर ७ वर्षको मात्र थियो । अदालतले कमला र उनकी बहिनीको जिम्मेवारी आमाकै काँधमा सुम्पियो ।
कमलाका पिता डोनाल्डले आफ्नो पुस्तक ‘रिफ्लेक्सन्स अफ द जमैकन फादर’ मा लेखेका छन्, ‘त्यतिबेला अदालतलाई लाग्थ्यो कि पिताले बच्चाको हेरचाह गर्न सक्दैनन् । त्यसमाथि म अश्वेत पिता थिएँ । हाम्रोबारेमा यस्तो सोच थियो कि आफ्ना छोराछोरीलाई नास्तामा खाइदिन्छन् । यसका बाबजुद मैले आफ्ना बच्चाको प्रेम हासिल गर्न कुनै प्रयास छाडिनँ ।’
सम्बन्ध विच्छेदपछि कमला र उनकी बहिनीको पालनपोषण आमाले नै गरिन् । आफ्नो बायोग्राफी ‘द ट्रुथ्स वी होल्ड– द अमेरिकन जर्नी’मा कमला लेख्छिन्, ‘मेरी आमालाई यो कुरा राम्ररी थाहा थियो कि दुई अश्वेत छोरीको पालनपोषण गरिरहेकी छु । उहाँले हामीलाई आत्मविश्वास र आशा भरिदिनुभएको थियो ।’
सन् १९५४ मा कमला ५ वर्षको हुँदासम्म अमेरिकामा श्वेत र अश्वेत बालबालिकाका लागि अलगअलग स्कुल थियो । सोही वर्ष यस्तो परम्परालाई असंवैधानिक घोषणा गरियो । तर यसका बाबजुद धरातलीय यथार्थमा खासै परिवर्तन आएन । श्वेत अभिभावकहरू सडकमा उत्रिए । पछि सरकारले अवस्था सुधार गर्न नयाँ सिस्टम ल्यायो । यस अन्तर्गत अश्वेत बालबालिकालाई बसमार्फत ठुला र आधुनिक विद्यालयमा पुर्याउने गरियो, जहाँ श्वेत बालबालिका अध्ययनरत थिए । कमला ह्यारिस पनि यसैगरी विद्यालय जान्थिन् ।
किशोर अवस्थामा क्यानाडा बसाइ
कमला ह्यारिस १२ वर्षको हुँदा अमेरिका छाडेर क्यानाडा जानु पर्यो । जमैकाका पिता, भारतीय आमाको सन्तान कमलाको जन्म अमेरिकामै भएको हो । यस अर्थमा तीन वटा देशसँगको उनको सम्बन्ध थियो । अब क्यानडा गएर बस्नुपर्दा उनको सम्बन्ध चौथो मुलुकसँग पनि जोडिन पुग्यो ।
आमाले क्यानाडामा शिक्षकको जागिर पाएका कारण कमला र उनकी बहिनी पनि उतै जानु परेको हो । तर अमेरिका छोड्न कमलालाई इच्छा थिएन । यद्यपि, परिस्थितिको अगाडि उनको इच्छाको केही जोर चलेन ।
क्यानाडामा उनले पाँच वर्ष बिताइन् । यस क्रममा उनले चार अलगअलग स्कुलमा पढिन् । क्यानाडामा विद्यालय तहको अध्ययन सकेर उनी अमेरिका फर्किइन् । उनले उच्च शिक्षा अध्ययनका लागि हार्वर्ड विश्वविद्यालयलाई रोजिन् ।
मनमा लागेका कुरा खुलेर बोल्ने, कुनै हिचकिचाहट नमान्ने स्वभावका कारण उनले विश्वविद्यालयको ‘डिबेट क्लव’मा स्थान पाइन् । सन् १९८३ मा स्टुडेन्ट न्यूजपेपरका सम्पादकलाई बर्खास्त गरिएको विरोधमा विश्वविद्यालयको प्रशासनिक भवन अगाडि कमला धर्नामा बसिन् । यहीँबाट उनमा राजनीतिक र सामाजिक जीवनका बारेमा चेत बढ्यो ।
सन् २०१० मा कमला क्यालिफोर्निया राज्यको अटर्नी जनरल भइन् । उनी यो पद हासिल गर्ने पहिलो अश्वेत महिला थिइन् । यसको तीन वर्षपछि कमलाको भेट डगलस एमहफसँग भयो । कमलाको साथी क्रिसेट हडलिनले उनीहरूको भेट गराएकी थिइन् ।
हडलिनले कमलालाई ‘ब्लाइन्ड डेट’ मा जान सुझाएकी थिइन् । यद्यपि, कमलाले त्यसरी जानु अघि नै गुगलमा सर्च गरेर डगलसको बारेमा जानकारी लिइन् । उनी सम्बन्ध विच्छेद गरेका एकल पुरुष रहेको र उनका दुई सन्तान रहेको कमलाले थाहा पाइन् ।
डगलस पेसाले एक वकिल थिए । कमलाले एक अन्तरवार्तामा भनेकी छन्, ‘त्यतिबेला डगलसको सेन्स अफ ह्युमरलाई मन पर्यो ।’ एक वर्षसम्म रिलेशनशिपमा रहेपछि सन् २०१४ मा कमलाले डगलससँग विवाह गरिन् । डगलसको पूर्वपत्नीबाट जन्मिएका दुई सन्तानलाई नै उनले आमाको रूपमा माया गरिन् । कमलाले आफ्नै सन्तान भने जन्माइनन् ।
राजनीतिमा प्रवेश
करिअरका रूपमा कमलाले वकालत पेसा अपनाएको उनकी आमालाई मन परेको थिएन । तर उनले आमालाई सम्झाइन् । कानुनको माध्यमबाट महिला, बच्चाहरू र अश्वेत समुदायको जीवन राम्रो बनाउन आफूले वकालत पेसा रोजेको कमलाको भनाइ थियो ।
तर, अमेरिकाको इतिहासमा स्वतन्त्रतापछि सन् २०१५ सम्ममा राष्ट्रपति बनेकामध्ये ६० प्रतिशत कानुन व्यवसायी रहेको हार्वर्ड युनिभर्सिटीको तथ्याङ्कमा उल्लेख छ । अमेरिकी कंग्रेसमा पनि ४० प्रतिशतभन्दा बढी सांसद कानुन व्यवसायी छन् ।
कमला सन् २०१७ मा अमेरिकी राज्यसभा (सिनेट) सदस्य पनि भइन् । यो नै उनको पहिलो राजनीतिक उपलब्धि थियो । उनी सन् २०१९ मै राष्ट्रपतिको दौडमा सामेल हुन डेमोक्रेटिक पार्टीको आन्तरिक चुनावमा अघि सरिन् । तर, जो बाइडेनका सामु उनको केही जोर चलेन । उनले अमेरिकी राष्ट्रपति पदको उम्मेदवारको रेसबाट आफ्नो नाम फिर्ता लिइन् । सन् २०२० मा बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारे ।
सन् २०२० मा बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै कमला उपराष्ट्रपति बनिन् । उनी अमेरिकाको पहिलो अश्वेत महिला उपराष्ट्रपति बन्न सफल भइन् । राजनीतिमा प्रवेश गरेको ७ वर्षमै उनले राष्ट्रपति पदका लागि उम्मेदवारी हासिल गरिन् । यदि निर्वाचित भएमा उनले अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले प्रदर्शन गर्ने
-
विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिने
-
क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणबारे एस जयशंकरले के भने ?
-
एलन मस्कले मतदातालाई दिनहुँ १० लाख डलर अभियान जारी राख्न सक्ने
-
आईजीपी कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी
-
तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य