बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

१० बुँदे एजेन्डाका साथ युवा सङ्कल्प यात्रा हुँदै

सोमबार, १९ कात्तिक २०८१, १४ : ४८
सोमबार, १९ कात्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेची महाकाली युवा सङ्कल्प यात्रा आयोजना हुने भएको छ । 

कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

युवा सङ्कल्प यात्राका बारेमा जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा शाहीले युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन , महँगी र मूल्यवृद्धि नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही लगायतका १० बुँदे एजेन्डाका साथ युवा सङ्कल्प यात्रा आयोजना गरिएको बताए । 

स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा सङ्कल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाइ गर्ने उनको भनाइ छ ।  त्यस्तै तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने उनले बताए । शाहीले सयौँ सहकारीमा लाखौँ नेपालीले बचत गरेको अर्बौँ रुपैयाँ बचत फिर्ता गराउन युवा सङ्कल्प यात्राले जस्तोसुकै पहल गर्ने बताए । 

त्यस्तै सहकारी ठग जो भए पनि, जुनसुकै पार्टीको भए पनि कारबाही गराउन युवा सङ्कल्प यात्राले दबाब सिर्जना गर्ने उनको भनाइ छ । 

शाहीले सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा सङ्कल्प यात्राले गर्ने, युवा सङ्कल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिने जिकिर गरे । यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर युवा हितका क्षेत्रमा निरन्तर काम गरिने शाहीले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप