बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेस प्रदेशलाई हरायो

सोमबार, १९ कात्तिक २०८१, १४ : १६
सोमबार, १९ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको छ ।  

उक्त नतिजासँगै मधेस प्रदेश पनि उपाधि होडबाट बाहिरिएको छ । कर्णाली प्रदेश भने यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो । कर्णाली प्रदेशको यो पहिलो जित पनि हो । जारी प्रतियोगितामा कर्णाली प्रदेश र मधेस प्रदेशले अझै एक–एक खेल खेल्न बाँकी छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४५ ओभरमा अलआउट हुनुअघि एक सय ३३ रन बनाएको थियो । सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने २७.२ ओभरमा अलआउट हुनुअघि ८६ रनमात्र बनाउन सक्यो ।

कर्णाली प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका हिराला चनराले सर्वाधिक ४५ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान चनराले ६० बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान मनिष थापाले टोलीको खातामा २२ रनको योगदान गरे । उनले ३४ बलमा पाँच चौका पनि प्रहार गरे । युनिस ठकुरीले टोलीको खातामा २१ रन थपे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर अनिरुद्ध कवर दुई, कमल बिष्ट चार, हिक्मत शाही सात, अरविन्द घर्ती नौ रन बनाउँदै पेभेलियन फर्किए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो । मधेस प्रदेशका बलर राजेश यादबले चार विकेट लिए । अफरुद्दित अन्सारीले पनि तीन विकेट हात पारे । रञ्जित कुमारले दुई विकेट कुम्ल्याए ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशका लागि ओपनर मयान यादबले सर्वाधिक १५ रन बनाए । जितेश मण्डलले १३ तथा साहिल पटेल र रोहन साह (अविजित) ले ११–११ रन बनाए । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेस प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर विपिन शर्माले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै २८ रन खर्चिए । युनिस ठकुरीले तीन र अनुज चनराले दुई विकेट हात पारे । अरविन्द घर्तीले पनि एक विकेट लिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप