सिंगापुरबाट फर्किएर १२ करोड लगानीमा बङ्गुर पालन
काठमाडौँ । सिंगापुर आर्मीमा कयौँ नेपाली छन् । अवकाशपछि उनीहरूमध्ये कतिपय नेपालमा फर्किएर ऐस–आरामको जीवन बिताउने गर्दछन् । तर दीपक रानामगर र उनका साथी भने व्यावसायिक बङ्गुर पालनमा होमिए ।
सिंगापुर आर्मीमै रहेका र अवकाश पाएका केही नेपाली मिलेर तनहुँमा व्यावसायिक बङ्गुरपालन गरेका हुन् । दीपकका अनुसार ५३ जना सिंगापुरे लाहुरे मिलेर व्यावसायिक बङ्गुर पालन गरिएको हो । उनीहरूले मिमिक एग्रो प्रालि दर्ता गरेर चार वर्षदेखि बङ्गुर पालन गरिरहेका छन् ।
‘सिंगापुर आर्मी पृष्ठभूमिका ५३ जना मिलेर व्यवसाय सुरु गरेको चार वर्ष भयो,’ दीपकले भने, ‘हाम्रो समूहमा रहेका आधा जति अवकाश प्राप्त छन्, आधा जति अहिले पनि सिंगापुर आर्मीमै छन् ।’
पोखरा महानगरपालिका–२७ मा करिब ३० रोपनी जग्गामा उनीहरूले वधशालासहितको बिक्री कक्ष बनाएका छन् । उनीहरूले तनहुँस्थित फार्मबाट पोखरामा बङ्गुर ल्याएर मासु बिक्री गर्दै आएका हुन् ।
दीपकका अनुसार पोखराको दुई वटा आउटलेटबाट बङ्गुरको मासु बेच्ने गरिएको छ । सुरुवाती चरणमा उनीहरूले थोकमूल्यमा बङ्गुर बेच्ने गर्थे तर जिउँदो बेच्नुभन्दा मासु तयार गरेर बेच्ने बिचौलियाले बढी फाइदा लिने, मनलाग्दी तरिकाले बङ्गुर बजारमा लैजाने गरेपछि हाल आफैँले बङ्गुरको मासु तयार गरी उपभोक्तासम्म पुर्याएको उनले बताए ।
‘अहिले हामीले होलसेल बिक्री गर्दैनौँ,’ दीपकले भने, ‘खुद्रा मूल्यमै बेचिरहेका छौँ । अहिले उत्पादनदेखि सिधै उपभोक्तासम्म पुर्याउने काम आफैँले गरेका छौँ ।’
बङ्गुरमा लाग्ने विभिन्न रोगले गर्दा चार वर्षसम्म पनि क्षमताअनुसारको सङ्ख्यामा बङ्गुर पालन गर्न नसकिएको र नाफा आर्जन गर्न पनि नसकेको दीपकले बताए । ‘लगानी ठुलै छ । जमिन, भौतिक संरचना लगायत गरेर करिब १२ करोड रुपैयाँसम्म लगानी गरेका छौँ,’ उनले भने, ‘रोग धेरै लाग्ने रहेछ । हामीलाई एफएनडी, पीपीआर, स्वाइन फ्लु लगायत रोगका कारणले समस्या भएको छ ।’ आफ्नो फर्ममा ५ हजारको सङ्ख्यामा बङ्गुर पालन गर्न सक्ने भए पनि यिनै समस्याका कारण अहिले एक हजार ६०० को सङ्ख्यामा सीमित गरेको उनको भनाइ छ ।
करिब १६ महिना अघि आफ्नो फर्ममा पाँच हजार बङ्गुर रहेको दीपकले सुनाए । तर बङ्गुरमा देखिएको स्वाइन फ्लुका कारण ८ महिनासम्म बजारमा जान सकेन । हुर्किसकेका र बेच्ने बेला भएका बङ्गुरलाई आठ महिनासम्म थप पाल्नुपर्दा प्रतिमहिना २८ लाखको दाना खुवाउनु परेको उनको भनाइ छ ।
‘स्वाइन फ्लुको प्रकोपका कारणले बङ्गुरको मासु बजारमा जान सकेन,’ दीपकले भने, ‘मान्छेहरू डराए, बङ्गुरको मासु खान मानेनन् । त्यतिबेला हामीमात्रै होइन, सबै बङ्गुर व्यवसायी घाटामा गएका थिए ।’
- २ करोड क्षतिले सिकाएको पाठ
हुर्किएका बङ्गुर बेच्न नपाएर तिनलाई दाना खुवाएर पाल्नु पर्दा २ करोड २४ लाख प्रत्यक्ष घाटा (दानामा मात्र) व्यहोरेपछि आफूहरूले ‘प्रोडक्सन टु टेबल’ को नीति अपनाएको दीपक बताउँछन् । जस अनुसार होलसेल बिक्री बन्द गरेर आफैँले सिधै उपभोक्तासम्म मासु पुर्याउने गरी व्यवसाय अघि बढाएको उनको भनाइ छ । यस क्रममा बङ्गुरको सङ्ख्या पनि घटाइएको उनले बताए ।
‘हाम्रो आवधारणा उत्पादनदेखि उपभोक्ता हो,’ दीपकले भने, ‘अब खुद्रा मूल्यमा बेच्दै छौँ । जिउँदो बिक्री गर्नुभन्दा आफैँले मासु बेच्दा राम्रो मुनाफा हुने रहेछ ।’ बङ्गुरको माग काठमाडौँ लगायत देशका मुख्य सहर बजारमा उल्लेख्य रहेको बताउने दीपकले हाल पोखरामा मात्रै आफूहरूले मासु पुर्याउन सकेको जानकारी दिए ।
- सरकारको बेवास्ता
बङ्गुर पालनमात्रै नभई कृषि व्यवसायमा गर्नेहरूले सरकारबाट खासै सहयोग नपाएको दीपकको भनाइ छ । सरकारी निकायबाट सहयोग नहुनु, बीमाको प्रक्रिया झन्झटिलो हुने, ओसारपसार लगायत समस्याका कारण व्यावसायिक पशुपालक किसान प्रताडित हुनु परेको उनको गुनासो छ ।
दीपकका अनुसार उनीहरूले सुरुमा मासु बिक्रेतालाई उत्पादित बङ्गुर बेच्ने गर्दथे । २० देखि २१ वटा त्यस्ता बिक्रेतासँग काम गरेर पनि बजार पाउन नसकेको उनले सुनाए । ‘लिभिङ ब्याक टु सोसाइटी’ भनेर आफूहरू सिंगापुरबाट फर्किएर व्यावसायिक बङ्गुर पालनमा लागेको तर सरकारको पर्याप्त सहयोग नहुँदा विभिन्न चुनौती देखिएको उनले बताए ।
‘हामी लेखपढ गरेका मान्छेलाई त यति गाह्रो छ । सामान्य किसानले यो कार्य गर्न सक्दैनन्,’ उनले भने, ‘हामीले यही व्यवसायबाट रोजीरोटी चलाउनु पर्दैन । त्यही पनि समस्या भोगेका छौँ । नेपालमा कतिपय यस्ता कृषि व्यवसायी छन्, जसले यही व्यवसायबाट घर चलाउनेदेखि बालबालिकाको शिक्षा, आधारभूत आवश्यकता पूरा गर्नुपर्छ । उनीहरूका लागि झन् गाह्रो अवस्था छ ।’
- व्यवसाय सुधारका लागि सहयोगको अपेक्षा
दीपक लगायत ५३ जनाले सञ्चालन गरेको बङ्गुर व्यवसायबाट २८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर राज्यले कुनै दायित्व नलिएको दीपकको गुनासो छ । पशुपालक किसान वा व्यवसायीका लागि सरकारले बजारीकरणदेखि व्यवसाय प्रवर्द्धनको जिम्मेवारी लिनुपर्ने उनी बताउँछन् ।
‘राज्यले दायित्व लिनु पर्यो । बाहिर मुलुकमा यसरी उत्पादन गरेपछि सरकारले नै जिम्मेवारी नै लिन्छ । बीमामार्फत विभिन्न तवरबाट सहयोग हुन्छ,’ दीपकले भने, ‘तर यहाँ त्यस्तो सुविधा छैन । यहाँ कतिपय साना किसान त विस्थापित भएका छन् । हामीकहाँबाटै दाना उधारोमा लैजानु भएका त्यस्ता किसान विस्थापित भएर अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् ।’
उनले व्यवसायको सञ्जाल ठुलो हुँदा बजारीकरण गर्न नसकेको गुनासो गरे । ‘हामीसँग ब्याक सपोर्टको लागि रकम नभएको भए हामी पनि यो क्षेत्रबाट पलायन भइसकेका हुन्थ्यौँ,’ उनले भने, ‘तर केही गर्न सकिन्छ कि भनेर लगानी थप्दै अझै यही व्यवसायमा लागिपरेका छौँ ।’
दीपकले बजार व्यवस्थापन, वधशाला, पशु ओसारपसारमा सहजता लगायतमा सरकारले सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित