मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
साहित्य वार्ता

‘मेरा लागि कतै नअल्झीकन फटाफट लम्किन सक्ने विधा हो निबन्ध’

सोमबार, १९ कात्तिक २०८१, ११ : १५
सोमबार, १९ कात्तिक २०८१

स्थापित निबन्धकार युवराज नयाँघरेको निबन्ध संग्रह ‘आगोको बीउ’ हालै बजारमा आएको छ । निबन्ध संग्रह ‘एक हातको ताली’मार्फत मदन पुरस्कार पाएका नयाँघरेसँग हामीले निबन्धका विषयमा केन्द्रित भइ संवाद गरेका छौँ । 

  • आफ्नो नयाँ कृतिको नाम ‘आगोको बीउ’ राख्नुभएको छ । यस्तो नाम कसरी जन्मियो ? अर्थात् यस कृतिको रचनागर्भ के कस्तो छ ? 

‘आगोको बीउ’ प्रतीकात्मक नाम हो । नेपाली समाज अहिले आगो लिन कुदिरहेको छ, जताततै । मानिसहरू मुखमा मुद्दा बोकेर हिँडिरहेका छन् । हरेक कुरा, हरेक क्षेत्र, हरेक अवस्थामा मानिसहरू यति विघ्न हतारो छ भनेर साध्यै छैन । 

अब कुरा गरौँ, ‘आगोको बीउ’को । पहिला पहिला गाउँघरमा चुलोमा भोलिपल्ट वा साँझका लागि भनेर अगेनामा भुङ्ग्रो छोपेर आगो बीउ राखिन्थ्यो । अथवा कुनै ठुटो सल्काएर छाडिन्थ्यो । अहिले पो ग्यास आयो, बिजुली चुलो आए । तर म जन्मिँदा हुर्किंदाको अवस्थामा चुलोमा आगो सल्काउन कहिलेकाहीँ छिमेकका घरमा आगोको बीउ लिन जानुपथ्र्यो । त्यो आगोको बीउ यति छिटो यति चाँडो ल्याउनुपथ्र्यो कि नत्र चुलोमा आगो सल्किँदैनथ्यो । हतार चाँडो, झटपट गर्नुपथ्र्यो । अहिले सबै मान्छे हतारमा छन् । धैर्य, प्रतीक्षा भन्ने चिज मान्छेमा कतै छैन । मान्छे कुर्नै नसक्ने बनेका छन् । हरेक चिज छिटो चाहिएको छ । बिहान लेखेर बेलुका चर्चित हुनुपरेको छ । अघिल्लो दिन धुन–सुरताल बनाएको हुन्छ, भोलिपल्टै गीत रिलिज गरिहाल्नुपरेको छ । सबै क्षेत्रमा यस्तै हतारो छ । यो प्रवृत्ति हाम्रा लागि हानिकारक पो हो कि ? भन्नका लागि प्रतीकात्मक हिसाबले मैले यो शीर्षक रोजेको हुँ । 

  • यहाँका १९ कृतिमध्ये यो १०औँ निबन्ध कृति हो । अन्य विधाको तुलनामा यहाँले निबन्ध बढी लेख्नुभएको छ, निबन्ध किन लेख्नुहुन्छ ? अरु विधाको तुलनामा निबन्धबाट भावाभिव्यक्ति गर्न सहज छ ?

म आत्मपरक निबन्ध लेख्छु । यसबाहेक नियात्रा र संस्मरण लेख्छु । यी सबै निबन्धकै उपविधा हुन् । कुनै समय मैले कथा अनि कविता पनि लेखेँ । तर यी चाँहि अलि–अलि लेखेँ । यी सबै फुटकर रूपमा मात्रै लेखेँ, तर समय बित्दै जाँदा यी विधा मेरा लागि होइन रहेछ भन्ने महसुस हुन थाल्यो । त्यसपछि निबन्धमा मात्रै काम गर्न थालेँ । 

मेरा लागि निबन्ध भनेको दिल खोलेर लेख्ने विधा हो; बहस गर्ने, तर्क गरेर आफूलाई उभ्याउन सक्ने विधा रहेछ । आफू कतै नअल्झीकन फटाफट लम्किन सक्ने विधाका रूपमा मैले निबन्धलाई पाएँ । अरु विधा मेरा लागि केटाकेटीको तोतेबोली जस्तो मात्रै भएको अनुभव मैले गरेँ । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । आफ्नो कुरा राख्न नसक्ने, भन्न नसक्ने विधामा मैले किन काम गर्ने भन्ने महसुस भएपछि मैले निबन्ध मात्रै लेख्न थालेको हुँ । आफूले आफूलाई मस्तसँग खुलाउन सक्ने, खुलेर आफूलाई पोखाउन सक्ने विधा भएकाले मैले यो विधामा लेखेको हुँ । 

निबन्ध साहित्य कि गैरसाहित्य भन्ने बहस हिजो सुस्त वा सानो स्वरमा सुनि न्थ्यो, अहिले चर्किएको छ । एक्सपोजर बढी हुँदा मत वा विमत देखिनु स्वाभाविकै हो । यस्तो बहस आउनु पनि पर्छ । निबन्धलाई गैरसाहित्यको विधा हो भनेर भन्न मिल्छ जस्तो मलाई लाग्दैन ।

सबै विधाको समान महत्त्व, इज्जत र प्रतिष्ठा छ । सबै विधा गाह्रा पनि होइनन्, सजिला पनि होइनन् । निबन्ध त झन् गाह्रो छ । यो मैले भनेको होइन, अधिकांश मानिस यस्तै भन्छन् । निबन्धलाई गाह्रै विधा मानिन्छ, तर मेरो हात यसैमा बस्यो । निबन्धमा विधा भञ्जनका रूपमा विकास गर्न सकिन्छ । थोरै कथा तत्त्व, थोरै कविता तत्त्व, अलिकति नाटक तत्त्व यसमा राख्न सकिन्छ । अर्काको कुरालाई आफ्नो बनाएर प्रस्तुत गर्न पनि सकिन्छ । निबन्धमा पोखिन सहज भएकाले नै मैले यो विधा रोजेको हुँ ।

  • यहाँका अहिलेसम्म आएका कृतिको बिक्रीलाई हेर्दा नेपालमा निबन्धको बजार कस्तो देख्नुहुन्छ ? 

नढाँटी भन्नुपर्दा, नेपाली निबन्ध बजार हात्तीजस्तो लम्किएको छैन, कछुवाको गतिमा निरन्तर हिँडिरहेको छ तर रोकिएको छैन । गति सुस्त भए पनि परिणाम र परिमाण दुवै गतिलो छ । प्रकाशनका हिसाबले कैयौँ निबन्धका किताब पुनः मुद्रण भएका छन् । निबन्धमा काम भइरहेको छ । प्रकाशन पनि निरन्तर भइरहेको छ । कविता वा कथामा जस्तो ठुलो हो–हल्ला छैन । तैपनि यो क्षेत्रमा काम जारी छ । 

  • आफ्ना कृतिको बिक्रीलाई लिएर यहाँ सन्तुष्ट हुनुहुन्छ ? 

सन्तुष्ट नै छु किनभने मैले यस क्षेत्रमा आफ्नो नाम बनाउन सकेको छु । कुनै समय नेपाली निबन्धलाई सामन्ती विधा भनिन्थ्यो । यो कसले पढ्छ, कसले लेख्छ भनेर हेयको दृष्टिले पनि हेरियो यस विधालाई । पछिल्लो समय यसमार्फत जनजीवनका बोली, लोक संस्कृतिका कुरा, लोक सभ्यताका कुरा सजिलो रूपमा प्रस्तुत भइरहेका छन् । बोलीचालीको शैलीमा नेपाली निबन्धलाई विकास गरिएको छ । जसले गर्दा मान्छेहरूले निबन्ध पनि खोजी–खोजी पढ्न थालेका छन् । शंकर लामिछाने युगको तुलनामा नेपाली निबन्धले निकै फड्को मारिसकेको छ । 

त्यसैले म निबन्ध क्षेत्रप्रति एक हिसाबले सन्तुष्ट छु ।

  • निबन्धलाई साहित्य भन्ने कि गैरसाहित्य भन्ने बहस पनि छ । तपाईं निबन्धलाई के भन्नुहुन्छ ? 

असाध्यै राम्रो प्रश्न सोध्नुभयो । विश्वविद्यालयतिर निबन्धबारे हुने बहसमा यो पनि एउटा हो । प्रज्ञा प्रतिष्ठान वा जति पनि प्राज्ञिक संघ–संस्थाहरू छन्, त्यहाँ यो बहसको राम्रो विषय हो । मैले नेपाली निबन्धमा केही काम गरेको छु । यद्यपि अहिलेसम्म यो क्षेत्रमा आफू सिकारु नै जस्तो लाग्छ । मैले अझ बढी जान्नुछ, पढ्नुछ जस्तो लाग्छ । मैले अझै अगाडि बढ्नु छ । यति हुँदाहुँदै पनि मलाई के भन्न मन लागेको छ भने यो गैर–साहित्य होइन, साहित्यको उच्चतम् विधा हो । साहित्यको समृद्ध, बलशाली विधा हो । 

  • यसलाई गैरसाहित्य भन्ने बहस कहाँबाट सुरु भएको हो ?

अलिअलि पत्रकारिता हाबी भएर हो कि ? छिटै लेखेर चर्चा बटुल्ने प्रवृत्तिले गर्दा पनि यो बहस सुरु भएको हो । यो पुरानै बहस हो ।

कस्तो हुन्छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुरु गर्नुभएको कुरालाई शंकर लामिछानेले अस्वीकार गर्न सक्नुहुन्छ । कुरा त्यही जोडिएको हो । राममणि रिसालले सुरु गरेको वा भनेको कुरालाई कृष्ण धरावासीले खण्डन गर्न सक्नुहुन्छ । 

अहिले प्रविधि (सामाजिक सञ्जाल र अनलाइन)को बढ्दो प्रयोगले चाँहि छिटो चर्चा बटुल्ने प्रवृत्तिलाई अलि बढाएको छ । 

निबन्ध साहित्य कि गैरसाहित्य भन्ने बहस हिजो सुस्त वा सानो स्वरमा सुनिन्थ्यो, अहिले चर्किएको छ । एक्सपोजर बढी हुँदा मत वा विमत देखिनु स्वाभाविकै हो । यस्तो बहस आउनु पनि पर्छ । निबन्धलाई गैरसाहित्यको विधा हो भनेर भन्न मिल्छ जस्तो मलाई लाग्दैन । कम्तीमा म यस्तो भन्दिनँ र मान्दिनँ पनि ।

हामीकहाँ हिमाल, पहाड र मधेसको साहित्य छ । हामी लेखनले कमजोर छैनौँ न त अभिव्यक्ति कौशलमा कमजोर छौँ । हाम्रा लेखकले विभिन्न शैली, दृष्टिकोण र कलामार्फत विभिन्न कौशल तथा क्षमता प्रस्तुत गरेर लेखिरहेका छन् ।
  • निबन्धका प्रकारमा पनि बहस छन् । यहाँले के कस्ता विधामा निबन्ध लेख्नुभएको छ ?

निबन्ध भनेको एउटा ठुलो छाता हो । छाताभित्र कैयौँ कुरा अटाउँछन् । छाताको टुप्पा–टुप्पा मिलेर एउटा सग्लो छाता बनेको हुन्छ । मैले निबन्धमा संस्मरण पनि लेखेँ, यात्रा पनि लेखेँ । यात्रा र संस्मरण जोडेर पनि लेखेँ । समग्रमा तीन–चारवटा उपविधामा निबन्धहरु लेखेको छु । जति उपविधा भए पनि निबन्ध नै मूल नाम भयो । मेरो लेखनमा आत्मपरक निबन्ध मूल भएको छ । त्यसपछि संस्मरण र नियात्रा मैले बढी लेखेको छु । 

  • निबन्ध लेखनमा हामी कहाँ छौँ ? हरेक वर्ष कैयौँ निबन्धका कृति आइरहेका छन् बजारमा, हामीकहाँ के–कस्ता गुणस्तरका निबन्ध आएको पाउनुहुन्छ ? 

संसारमै निबन्ध कान्छो विधा हो । नेपाली साहित्यमा पनि यो सबैभन्दा अन्तिममा आएको विधा हो । हामीकहाँ निबन्ध भनेर निकै पछि नामकरण गरिएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाभन्दा केहीअघि मात्रै यसको नामकरण भएको हो । सुरुमा यो फुटकर रूपमै आयो । 

विश्वमै पनि यसको नामकरण पछि भएको हो । त्यसैले स्वभावैले पनि यो कान्छो हो । यद्यपि नेपालमा निबन्धमा जति काम भएका छन्;  सम्मान र इज्जतका साथ सोचेर–बुझेर भइरहेका छन् । काम थोरै आएका छन् तर राम्रा काम आएका छन् । काम घुँडो वा हात जत्रो चाहिँदैन आँखाको नानी जत्रो सानो भए पनि भइहाल्छ । 

  • यहाँको अबको योजना के छ ? 

धेरै मानिसले मलाई भनिरहेका छन्— तपाईंले निबन्धमा धेरै काम गरिसक्नुभएको छ । अब अरु विधामा फड्को मार्नुस् । नाटक लेख्नुस्, कथा–कविताका पनि कृति आओस् । 

मचाँहि त्यो पक्षमा छैन । किन भन्नुहोला भने जसले जे जानेको छ, त्यही गर्ने हो । मेरो हात निबन्धमै बसेको छ । मैले यसमै हिँड्न र बोल्न सक्छु । यसमा मेरा आफ्ना दृष्टिकोण स्पष्ट छन् भने मैले किन अरु विधामा हात हाल्ने ? 

विधा परिवर्तन गर्न खोज्दा म पौडिन जानिनँ भने वा हिँड्न जानिनँ भने के गर्ने ! त्यसैले म यस्तो कुनै जोखिम लिन चाहदिनँ । यो विधामा जे जति कमजोरी छन्, त्यसलाई सुधार्न म आफ्नो तर्फबाट काम गरिरहनेछु । यो विधा किनारीकृत छ, दुध कटुवा बच्चा जस्तो भएको छ । सेप परेको बिरुवा जस्तो बनेको छ । यही बिरुवा यही विधामा काम गर्न जरुरी भएकाले अझै आठ दश वर्ष म यही विधामा काम गर्नेछु ।

  • नेपाललाई साहित्यलाई विश्व बजारमा लैजान के गर्नुपर्ला ? 

मैले हरेक ठाउँमा भन्ने एउटै कुरा छ, हामीकहाँ हिमाल, पहाड र मधेसको साहित्य छ । हामी लेखनले कमजोर छैनौँ न त अभिव्यक्ति कौशलमा कमजोर छौँ । हाम्रा लेखकले विभिन्न शैली, दृष्टिकोण र कलामार्फत विभिन्न कौशल तथा क्षमता प्रस्तुत गरेर लेखिरहेका छन् । हाम्रो लेखनमा हाम्रा भुइँ, आँगन र पिँढीका कुरा छन् । यसमा बढीभन्दा बढी हाम्रो लोकल फ्लेभर मिसिनुपर्छ भन्ने मलाई लाग्छ । त्यो लोकल फ्लेभर मिसिएको साहित्य अन्तर्राष्ट्रिय स्तरमा बढी जान सक्छ र जानु पनि पर्छ । 

यति भन्दाभन्दै पनि विश्व सािहत्यमा हामी पुग्न सकेका छैनौँ । विश्व साहित्य त परको कुरा विशाल छिमेकी देशमा त हामी पुग्न सकेका छैनौँ । अंग्रेजी भाषामा टाढाको कुरा भयो । हामी तिब्बती भाषामा गएको खोई ? भारतका विभिन्न क्षेत्रीय भाषाहरू तमिल, कन्नड, आसामी, बिहारी, बंगाली, भोजपुरी, मैथली, अवधीमा कहाँ छ हाम्रो साहित्यको उपस्थिति ? हामी जानै सकेका छैनौँ । अंग्रेजी–अंग्रेजी भनेका छौँ, अरुमा चुप लागेर बसेका छौँ । अंग्रेजीमा केही आएका छन् तर हाम्रो नजिकै यति ठुला दुई बजार छन्, हामी त्यता गएकै छैनौँ । आकाशको तारा भनेर अमेरिका, युरोपलाई मात्र ताकेर बसिरहेका छौँ । नजिकका तीर्थलाई बेवास्ता गरिरहेका छौँ । 

अनुवादमा हामी जानैपर्छ । अनुवादका लागि नेपाल सरकारले विभाग खडा गरिदिने हो कि ! विश्वविद्यालयमा विभाग राखिदिने हो वा प्रज्ञा–प्रतिष्ठानमा विभाग राखिदिने हो ? अथवा छुट्टै प्रतिष्ठान खोलिदिने हो ? अनुवादमा काम गर्ने विशेष खालको संस्था वा जिम्मेवार निकाय बनाउनुपर्छ । यसमा हामी चुकेका छौँ । यहाँ चुक्नेबित्तिकै हाम्रो साहित्य कति पानीमा छ भनेर हेर्न सकेका छैनौँ । सबै लेखकले अंग्रेजीमा लेख्न सक्दैनन् । कनिकुथी गरेर अंग्रेजीमा लेख्न खोज्दा बिग्रन पनि सक्छ । फेरि अहिले विश्वमा आञ्चलिक कुरालाई बढी महत्त्व दिइन्छ । लोकल फ्लेभर अर्गानिक कुरालाई रुचाइन्छ । लेखकले आफ्नो भाषामा लेखेर अनुवाद गरेको साहित्य उत्कृष्ट भएको छ । त्यतातिर हामी पुग्न सकेका छैनौँ । त्यतासम्म पुग्यौँ भने राज्यलाई लेखकले अलिकति कर तिर्न सक्ने हैसियत पनि बन्छ भन्ने मलाई लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप