बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खला

स्कटल्यान्डलाई हराउँदै अमेरिका भ्रमण उपलब्धिमूलक बनाउने धुनमा नेपाल

सोमबार, १९ कात्तिक २०८१, १० : १३
सोमबार, १९ कात्तिक २०८१

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत अमेरिकामा जारी सातौँ शृङ्खलामा नेपालले सोमबार आफ्नो अन्तिम खेल खेल्दैछ । अमेरिकामा जारी शृङ्खलामा नेपालले स्कटल्यान्डसँग चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार, राति २२ः१५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले हालसम्म एक जित र दुई हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग तीन विकेटले पराजित पराजित भएको थियो ।

465282219_988223740000673_2007099766194382771_n

यसै गरी, आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाली टोली अमेरिकासँग ३७ रनले पराजित भएको थियो । लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालको हालसम्मको प्रदर्शन खासै सन्तोषजनक छैन ।

दोस्रो संस्करणमा नेपालले खेलिरहेको यो तेस्रो शृङ्खला हो । ११ खेल खेलेको नेपाली टोलीले हालसम्म दुई खेल मात्र जित्न सकेको छ । नेपाल पाँच अङ्क बटुल्दै आठ राष्ट्र सहभागी लिग तालिकाको सातौँ स्थानमा छ । नेपालले आठ हार भोगेको छ । नेपालको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।

हालसम्म १२ खेल सकेको अमेरिका आठ जित र चार हारबाट १६ अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा आसीन छ । १२ खेल खेलेको क्यानडा पनि आठ जित र चार हारबाट १६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

465269709_988310399992007_9185552633642150177_n

१० खेल खेलेको स्टकल्यान्ड १३ अङ्कसहित तेस्रो र नौ खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित चौथो स्थानमा आसीन छ । १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौँ र नौ खेल खेलेको ओमान आठ अङ्कसहित छैटौँ स्थानमा छ । तालिकाको आठौँ तथा अन्तिम स्थानमा आसीन संयुक्त अरब इमिरेट्स (यूएई) ले नौ खेलबाट चार अङ्क बटुलेको छ ।

लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खलामा तीन राष्ट्रको सहभागिता रहन्छ र प्रत्येक शृङ्खलामा सहभागी तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्ने प्रावधान रहेको छ । लिग–२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो ।

लिग–२ शृङ्खला सकिएपछि सहभागी तीनवटै राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा पनि छ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अङ्ग होइन । सोही अनुरूप, अमेरिकामा जारी लिग–२ शृङ्खला सकिए लगत्तै तीन टोलीबिच टी–२० शृङ्खला सुरु हुनेछ ।

kushal bhurtel

जारी लिग–२ अन्तर्गत यसअघिको आफ्नो दुवै शृङ्खलामा पनि नेपालको प्रदर्शन निकै निराशाजनक रहेको थियो । नेपालले पहिलो शृङ्खला घरेलु मैदानमै खेलेको थियो । गत फेब्रुअरीमा खेलिएको त्यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए ।

फेब्रुअरी १५ तारिखमा खेलिएको उक्त शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । फेब्रुअरी १७ मा खेलिएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

फेब्रुअरी २१ तारिखमा खेलिएको आफ्नो तेस्रो खेलमा नेपाली टोली नामिबियासँग दुई विकेटले पराजित भएको थियो । फेब्रुअरी २५ तारिखमा खेलिएको आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित गरेको थियो ।

sompal

नेपालले आफ्नो दोस्रो शृङ्खला गत सेप्टेम्बरमा क्यानडामा खेलेको थियो । उक्त शृङ्खलामा नेपाल, क्यानडा र ओमान सहभागी थिए । आफ्नो दोस्रो शृङ्खलामा पनि नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रहेको थियो ।

क्यानडामा खेलिएको शृङ्खलाबाट नेपालले एक अङ्कमात्र जोड्न सक्यो । त्यो पनि अन्तिम खेल रद्द भएकाले । त्यो शृङ्खलामा नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

क्यानडा भ्रमणको आफ्नो दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो । शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाली टोली क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । नेपाल र ओमानबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यो खेलबाट दुवै टोलीले एक–एक अङ्क हात पारेका थिए ।

465406336_988310276658686_8486583775781750835_n

लिग–२ प्रतियोगितामा यसअघि नेपालको ब्याटिङमा सबैभन्दा ठुलो समस्या देखिने गरेको थियो । तर, अमेरिमा जारी शृङ्खलामा भने नेपालको ब्याटिङमा केही सुधार देखिएको छ । यसको विपरीत यो शृङ्खलामा नेपाली टोलीको बलिङ र फिल्डिङमा समस्या देखिएको छ ।

जारी शृङ्खलाको अमेरिकाविरुद्धको दुवै खेलमा नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेका थिए । सोमबार हुने खेलमा स्कटल्यान्डलाई हराउँदै नेपालले थप दुई अङ्क बटुल्ने आशा गरिएको छ । यो खेलमा विजयी भए नेपालले जारी शृङ्खलाबाट चार अङ्क कुम्ल्याउने छ । यस अर्थमा यो शृङ्खला नेपालका लागि उपलब्धिमूलक हुनेछ ।

सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

465441830_988310989991948_7214910167250926758_n

लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

nepali cricket team

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।

यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् । त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

nepali cricket fan

क्यानडा र अमेरिका भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ ।

465465394_988055590017488_1221198010644117649_n

यसका अतिरिक्त नेपाल क्रिकेट संघले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई पनि टोलीको मेन्टरका रूपमा नियुक्त गरेको छ । पुबुदु पनि लिग–२ शृङ्खलाका लागि हाल नेपाली टोलीसँगै अमेरिकामा रहेका छन् । उनी नेपाली टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप