‘पार्टीभित्र प्रचण्डको विकल्प तयार भइसकेको छैन’
२०५५ सालदेखि नै माओवादी जनयुद्धको संश्लेषण गरेर जानुपर्छ भन्ने बहस सुरु भएको थियो । त्यतिबेला म पार्टीभित्र सामेल भइसकेको थिइनँ ।
सात वर्षको जनयुद्धको समीक्षा गरी विचार संश्लेषण गर्नुपर्छ, नेतृत्व पनि स्थापित गर्नुपर्छ भन्ने कुरा आयो । त्यतिबेला पार्टीभित्र प्रचण्ड विचारधारा हुनुपर्छ भन्ने एकथरीको मत थियो । मार्क्सवाद–लेनिनवाद–माओवाद–प्रचण्ड विचारधारा बनाउनुपर्छ भन्ने कुरा प्रस्तावकै रूपमा नआएको भए पनि जबर्जस्त मत थियो ।
एकथरी साथीहरूले अहिले नै विचारधारा भनेर जानुहुँदैन भन्ने मत राखे । तर विचारको संश्लेषण गरेर जानुपर्छ भन्ने थियो । ०५७ को माघ–फागुनमा पन्जाबमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा म पनि सहभागी थिएँ । पार्टी एकताको प्रक्रियामा म सम्मेलनमा जोडिएको थिएँ । सम्मेलनमा प्रचण्डवाद राख्ने कि प्रचण्ड विचारधारा राख्ने भन्नेमा लामो बहस भएको थियो । त्यतिबेला मैले आफ्नो विचार राखेको थिएँ । जनयुद्धले निर्देशक अनुभवको रूपमा एकपछि अर्को सफलता प्राप्त गर्दै गइराखेको थियो । यी सबैको संश्लेषण गर्दा ‘गाइडिङ एक्सपिरियन्स अफ नेप्लिज रिभोलुसन’ रूपमा प्रचण्डपथ राख्नुपर्छ भनेको थिएँ ।
छलफल हुँदैहुँदै शब्दाबली के राख्ने भन्ने बारेमा सबै जना अलमलमा थिए । प्रचण्ड आफैँ पनिँ अलमलमा हुनुहुन्थ्यो । तपाईंहरूले निर्णय गर्नुहोस् भनेर उहाँले छोड्नुभयो । व्यापक छलफल र बहसपछि प्रचण्डपथ राख्ने सहमति भयो । सम्मेलनमा प्रचण्ड विचारधारा, प्रचण्डवाद र प्रचण्डपथ प्रस्ताव आएका थिए । प्रचण्डपथ भन्दा बाटो हो । प्रचण्डले नेतृत्व गर्नुभएको छ । अन्ततः यसलाई सम्मेलनले सर्वसम्मत रूपमा पारित गर्यो । प्रचण्डपथ राख्न बाबुराम, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’ लगायत सबै सहमत भए । हामी सबैले समर्थन गरेका थियौँ । रवीन्द्र श्रेष्ठ लगायत आलोक मार्काका नेताहरू प्रचण्डवादको पक्षमा थिए । विरोधमा त कोही पनि आएनन् ।
- प्रचण्ड विचारधारा किन ?
प्रचण्डपथमा जानुको कारण लिडरशिपलाई स्थापित गर्नुपर्ने थियो । नेपाली मौलिक क्रान्तिका नेता को हो भन्दा स्पष्ट थिएन । बाबुराम पनि नेता हुनुहुन्थ्यो । बाहिरबाट हेर्दा उहाँ नै भन्ने थियो । मोहन वैद्य ‘किरण’ पनि हुनुहुन्थ्यो । उहाँ सैद्धान्तिक, मार्क्सवादी दृष्टिकोण र दार्शनिक रूपले व्याख्या, विश्लेषण गर्नुहुन्थ्यो । सैद्धान्तिक हिसाबले किरण नै नेता हो भन्ने थियो । प्रचण्ड छँदै थिए । बादललाई पनि नेता हुँ जस्तो लागेको थियो । सीपी गजुरेल पनि थिए । तर जनयुद्धको नेता को भन्ने विषयले समस्या पारेको थियो ।
यस्तो अवस्थामा नेतृत्व र विचारको संश्लेषण गरी एक ठाउँमा केन्द्रिकृत गर्नुपर्थ्यो । ‘लाइन अफ लिडरशिप’लाई टुङ्गो लगाउनुपर्यो ।
०५७ सालमा म जोडिएको भए पनि त्यसअघि विभिन्न वार्ता, भेटघाट हुँदा प्रचण्ड र बाबुरामले आन्तरिक विषय खुरेर नै राख्नुभएको थियो । उहाँहरूसँग मेरो सिधासिधा सम्पर्क थियो । धेरैपटक कहिले सिलगढी, कहिले गोरखपुर, कहिले लखनउ, कहिले दिल्लीमा छलफल गरेका थियौँ । सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट संश्लेषण गर्नुपर्छ भन्ने कुरा सुरुदेखि मैले राखेको थिएँ । हिजो वामपन्थीहरूबिच एकले अर्कालाई गद्दार भएको आरोप लगाउँथे । पुष्पलाल समूहलाई दलाल गद्दार भन्ने गर्थे । यता झापा विद्रोहमा लागेकालाई उग्रवामपन्थी विचारधारा भन्ने गर्थे । झापा आन्दोलनमा बलिदानी दिएकालाई सहिद नमान्ने गर्थे । यस्ता प्रवृत्तिले वामपन्थी आन्दोलनलाई सङ्किर्ण बनाउँदै लगेको थियो । त्यसैले सिङ्गो वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउन र निरङ्कुशताका लागि लड्न मार्क्सवाद–लेनिनवाद–माओवाद मान्ने शक्तिहरूले झण्डा उठाए, ती सबै हाम्रा साथी हुन् । साङ्गठनिक रूपमा हामी अलगअलग भयौँ तर वैचारिक रूपमा हामी एक ठाउँमा छौँ ।
नयाँ जनवादी क्रान्ति भनेर एमालेले झापा विद्रोहमा भनेको थियो । यद्यपि उसले त्यो गल्ती थियो भन्यो । तर त्यो निरंकुश पञ्चायतकाविरुद्ध विद्रोह थियो । झापा विद्रोहका ठिकठिक ढङ्गले तयारी पुगेन । केही गल्ती भए । त्यसलाई पनि विश्लेषण गर्नुपर्छ । झापा विद्रोहमा बलिदानी दिएकालाई सहिद भन्नुपर्छ, मालेमावाद मान्ने सम्पूर्ण शक्तिहरू हाम्रा मित्र शक्ति हुन्, तिनीहरूलाई ‘ग्याल्मोनाइज’ गर्नुपर्छ भन्ने कुरा ०५७ सालको दस्तावेजमा लिपिबद्ध गरिएको थियो । त्यो ऐतिहासिक दस्तावेज बनेको छ । असाध्यै परिपक्व र महत्त्वपूर्ण दस्तावेज छ ।
‘लाइन अफ लिडरशिप’को कुरामा पनि नेताहरू छिरोलिएर जानुहुँदैन । एकथरीले प्रचण्डलाई नेता मान्ने । एकथरीले बाबुरामलाई । अर्कोथरीले वैद्यलाई नेता मान्ने, यसरी हुँदैन । नेतृत्वलाई एक ठाउँमा केन्द्रिकृत गर्नुपर्छ भन्ने पक्षमा म थिएँ । मैले त प्रचण्डसँग ०४२ अघिदेखि राम्रोसँग सङ्गत गरेको छु । मोहनविक्रम सिंहविरुद्ध सशक्त झण्डा उठाएर ०४१ सालको पाँचौँ महाधिवेशनमा पराजित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रचण्ड नै हुनुहुन्थ्यो । त्यतिबेला मेरै घरमा बसेर मोहन विक्रमविरुद्ध उहाँले विद्रोहको योजना बनाउनुभएको हो । त्यतिबेला अहिलेको जस्तो इगो राखेर विद्रोह हुने थिएन । व्यक्तिगत गालीगलौज हुने थिएन । वैचारिक–सैद्धान्तिक रूपले बहस हुन्थे । मोहनविक्रमको जडसुत्रीय संशोधनवादविरुद्ध सङ्घर्षको अवधि थियो । यी सबै भूमिकालाई मूल्याङ्कन गरेर नै प्रचण्डलाई नेता मान्ने निष्कर्षमा पुगेका थियौँ । म एकतामा जानुको कारण विचार र लिडर हेरेर गएको हुँ ।
- प्रचण्डजीले नै छोडिदिनुभयो
प्रचण्डपथ पास गर्ने बेला धेरै विचार, छलफल, बहस भए । संश्लेषणका आधारमा गरियो । छोड्ने बेला प्रचण्डजीले नै एक्लै छोडिदिनुभयो । नेकपा एकता केन्द्रसँग एकता गर्नेबेला अलिकति समस्या आएको थियो । पार्टीमा जनयुद्धकालदेखि नै तीन वटा विचार थियो । एउटा विचार लडेर नै वारपार गर्ने भन्ने थियो । जसको नेतृत्व वैद्यले गरेका थिए । एकथरीले हैन, दरबारसँग सम्झौता गर्नुपर्छ, संसदवादी दलसँग हैन भन्ने थियो । अर्कोथरी दरबारसँग हैन, संसदवादीसँग मिलेर जानुपर्छ भन्ने मत थियो । यो धारको नेतृत्व बाबुरामले गरेका थिए । तर प्रचण्ड अलमलमा हुनुहुन्थ्यो ।
दरबार हत्याकाण्डपछि बाबुरामले लेखेको विचारले पार्टीभित्र विवाद पनि भयो । राजनीतिक दलहरूसँग मिलेर जानुपर्छ भन्ने लाइनमा बाबुरामले लेखेका थिए । बाबुरामको लेखविरुद्ध वैद्य, बादल र रवीन्द्रहरू नै लागेका थिए । त्यतिबेला ३५ जनाको केन्द्रीय समिति थियो । म, टोपबहादुर रायमाझी लगायत थोरै नेतामात्र बाबुरामको लेखको समर्थनमा उभिएका थियौँ । यद्यपि हामी केन्द्रीय समितिमा अल्पमतमा थियौँ ।
- प्रचण्ड संस्था हो, छोडेर छोडिन्न
प्रचण्ड संस्था हो । पुष्पकमल दाहाल व्यक्ति हो । प्रचण्डपथ सर्वसम्मत रूपमा पार्टीले पारित गरेको हो । त्यसैले प्रचण्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी माओवादी र प्रचण्ड संस्था हो । प्रचण्डले छोडेर पनि छोडिन्न । कसैले आग्रह र पूर्वाग्रह राखेर अब प्रचण्ड सकियो भन्दैमा सकिँदैन । प्रचण्डका नाम सुन्न नचाहनेहरूले पुष्पकमल दाहाल भन्दैमा हुँदैन । हिजो जनयुद्ध नलडेकाहरू, माओवादी आन्दोलनका विरोध गर्नेहरूले, ०४७ सालकै संविधान बिउँताउन खोज्नेले विरोध गरेका हुन् । प्रचण्ड इतिहास बनिसक्यो । अन्तर्राष्ट्रिय समुदायलाई साक्षी राखेर शान्ति सम्झौतामा हस्ताक्षर गर्दा प्रचण्ड नै उल्लेख छ । त्यसैले कसैले चाहेर वा हटाएर हट्दैन । महेन्द्र मन पर्दैन भन्दैमा उहाँको नाम मेटाएर मेटिन्छ र ? इतिहासमा महेन्द्रकै नाम आउँछ । ज्ञानेन्द्रकै नाम आउँछ । जंगबहादुरकै नाम अहिलेसम्म आइराखेको छ । यी सब बेतुकका कुरा हुन् ।
- पार्टीमा प्रचण्डको विकल्प छैन
म कम्युनिस्ट आन्दोलनमा लागेको ६०/६५ वर्ष भयो । कमरेड पुष्पलालसँग पार्टी सदस्यता लिएर यहाँसम्म आएको हो । मदन भण्डारी, मनमोहन अधिकारीसँग पनि सँगै काम गरेको छु । मोहनविक्रमसँग झण्डै ३० वर्ष सँगै काम गरियो । यहाँसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनलाई अझै एकताबद्ध गरेर समाजवादी क्रान्तिको मार्गदर्शन गर्ने व्यक्ति खोजेँ । नाडी छामेँ । पार्टीभित्र कोही छ कि ? नयाँ पुस्तामा पो क्षमता छ कि भनेर हेरेको छु । अलिकति विप्लवले गर्छन् कि भनेको उनले पनि गर्न सकेनन् । वैद्यजीको त हेरिहालियो । माओवादी बाहेक अन्य वामपन्थी पार्टीभित्र छ कि भनेर हेर्छु, छैन ।
नजिकका पार्टी एमाले, एकीकृत समाजवादी लगायत वामपन्थी दलहरूलाई हेरेँ, त्यता पनि समाजवादी क्रान्ति हाँक्न सक्ने नेता भेट्न सकिनँ । यी सबै विचार गर्दा विकल्पमा प्रचण्ड बाहेक अन्य देखिनँ ।
अब विचार संश्लेषण गरेर नयाँ ढङ्गले जानुपर्छ । प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डजीकै निवासमा पुगेर मैले तपाईँ आत्तिनु पर्दैन भनेको थिएँ । उहाँ निकै निराश देखिनुभएको थियो । ‘अब नयाँ अवसर आएको छ । प्रत्येक एउटा युगले एउटा परिवर्तनको माग गर्छ । नेपाली समाजमा एउटा असन्तोषको स्थिति देखिएको छ । किनकि समाजवादी क्रान्ति पूरा भएको छैन । जनताले अपेक्षा गरेअनुसार पाएका छैनन् । देशका लागि तपाईंले नेतृत्व गर्ने हो । विगतको गम्भीर ढङ्गले आत्मसमीक्षा गर्ने, वर्तमानको विश्लेषण गर्ने, भोलिको कार्यदिशा पूरा गर्न धैर्यतापूर्वक एउटा विचार निर्माण गर्नोस् कमरेड’ भनेको थिएँ । ‘तपाईं एक्लैले सक्ने होइन । विचार सबैको सुन्नुपर्छ । विचार एक्लैले आउँदैन, तलबाट फुर्नुपर्छ । नयाँ ढङ्गले विचार संश्लेषण गरेर जानुपर्छ’ भनेँ । सातै प्रदेशमा एक चरण सबैका कुरा सुनिसक्यौँ । केन्द्रीय समिति बैठकबाट एउटा राम्रो योजना र कार्यक्रम बनाएर जानुपर्छ ।
कहिलेकाहीँ प्रचण्डलाई ‘प्रधानमन्त्री भएँ । जनयुद्धको पनि नेतृत्व गरेँ । अब नयाँ पुस्ताले नेतृत्व गर्छन्’ जस्तो लाग्छ । यहाँ आइपुगिसकेपछि बाँकी समय नयाँ पुस्तालाई तयार गर्ने । र, यो बाटोबाट अगाडि बढ भनेर बाटो देखाइदिने हो । नभए तत्काल प्रचण्डले छोडेर काम छैन । अहिले बाटो छैन हामीसँग ।
हामीसँग समाजवादउन्मुख संविधान छ । त्यहाँ जाने बाटो के हो भन्ने योजना छैन । कांग्रेस–एमाले यथास्थितिवादी शक्ति हुन् । वास्तविक जनताका लागि केही भएका छैनन् । वर्गको पक्षमा लड्ने शक्ति माओवादी मात्र हो । यी शक्तिलाई फेरि ‘ग्याल्मोनाइज’ गरेर कार्यान्वयनमा लैजाने जिम्मेवारी हामीलाई आएको छ । हिजो पनि हाम्रो शक्ति सानो थियो । आन्तरिक समस्या थिए । तीन वटा विचारसँग लड्नुपरेको थियो । संविधान घोषणा गर्दा पनि वर्ग सङ्घर्ष थियो । त्यहाँबाट पनि पार गरिसक्यौँ । अब समाजवादी क्रान्तिलाई ठोस र मूर्तरुप दिएर अगाडि जान नेतृत्व चाहिन्छ । त्यसका लागि प्रचण्ड नै हो । अहिलेसम्म प्रचण्डबाहेक अन्य देखेको छैन । अप्ठ्यारो परिस्थितिमा एउटा जुक्ति लगाएर माओवादी आन्दोलन यहाँसम्म ल्याएका हुनाले अहिले प्रचण्डले नै नेतृत्व गरेर जानुपर्छ भन्ने कुरा गरेको छु । अब नेतृत्वका लागि तपाईंहरू तयार हुनुहोस् है भनेर प्रचण्डले पार्टी बैठकमा भन्नुभएको छ ।
स–साना पद, प्रतिष्ठा, गाउँपालिकामा क–कसलाई नियुक्त गर्नेजस्ता छुद्र काममा अल्झिने होइन । प्रचण्डले मोहनविक्रमसँग विद्रोह गरेर यहाँसम्म आएका हुन् । युद्ध गर्छु भनेर आएका हुन् । नेतृत्व दिनेभन्दा पनि आन्दोलनले जन्माउने हो । कसैले दिएर स्थापित हुने पनि होइन । पाँचौँ महाधिवेशनमा नेतृत्व गर्न सक्ने पुराना पुस्ताका नेता धेरै थिए तर प्रचण्डले नेतृत्व गर्नुपर्यो । नेतृत्व तत्काल बन्ने होइन । यो युगले जन्माउने हो । त्यसो हो भने त मैले नेतृत्व गरेको भए पनि हुन्थ्यो । भएन नि । उहाँ(प्रचण्ड)भन्दा त म सिनियर हो नि । नेतृत्वका लागि अपेक्षा गर्नु ठिक हो । तर कसैले टीका लगाएर दिने वा तँ बन् भनेर नहुने रहेछ । म नेतृत्व गर्छु, सक्षम छु भनेर आउन सक्ने व्यक्ति आवश्यक पर्दोरहेछ ।
जस्तै बीपीका पालामा उनीजस्ता धेरै नेता कांग्रेसमा थिए । उनी वैचारिक, समाजवादी क्रान्तिको उचाइमा उठेर आए । त्यसकारण पुस्तान्तरण र हस्तान्तर भन्दैमा हुँदैन । युग र इतिहासले एउटा नेता जन्माएकै हुन्छ । पाँचौँ महाधिवेशनमा वैद्यलाई नेता बनाएकै हो । यद्यपि हामी त्यतिबेला केन्द्रीय समितिमा अल्पमतमा थियौँ । मोहनविक्रम कारबाहीमा परेपछि वैद्यलाई बनाउने कि सीपीलाई बनाउने भन्नेमा थियौँ । वैद्यलाई अल्पमतले नै प्रस्ताव गरेर महामन्त्री बनाएको हो । आखिर उहाँले नेतृत्व गर्न सक्नुभएन ।
- वर्षमान र जनार्दन नेता बन्न नहुने होइन
समग्र आन्दोलनलाई समेटेर लैजाने हैसियत बनाए वर्षमान पुन र जनार्दन शर्मा नेता बन्न नहुने होइन । जो आए पनि पार्टीभित्रबाट आइदिए राम्रो हुन्छ । भावी नेतृत्वका लागि प्रचण्डले अपेक्षा गरेको पनि यिनै साथीहरूबाट हो । पार्टीले बनाइदिएर हुँदैन । अन्तर्राष्ट्रिय समुदायले मान्नुपर्यो । विरोधीले स्वीकारेको हुनुपर्यो । युगलाई ड्राइभ गर्ने नेता हुनुपर्छ । सबैतिर अहिले त प्रचण्डले नै गरिराख्नुभएको छ ।
(नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मासँग कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे