विश्व बजारमा नाम चम्काएका नेपाली ब्राण्ड
काठमाडौँ । नेपाली गलैँचा, पस्मिना, मूर्ति, चाँदीका भाँडाकुँडा, हस्तकलाका सामान विश्व बजारमा पुग्न थालेको धेरै वर्ष भइसकेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट अर्ध–प्रशोधित कच्चा पदार्थ र तयारी वस्तुको रूपमा ९७ प्रकारका सामग्री बाह्य बजारका लागि निकासी भइरहेका छन् ।
चिया, कफी, मह, घिउ, चिज, च्याउ, सुकुटी, अलैँची, अदुवा लगायतका सामग्री नेपालबाट मुख्य रूपमा निकासी हुन्छन् । नेपालमा बहुमूल्य पत्थर जोडेर बनाइएका सुनचाँदीका गहना युरोप, अमेरिका र जापानजस्ता देशमा निर्यात हुन्छन् । विश्वले कतिपय नेपाली उत्पादन वर्षौँदेखि प्रयोग गरिरहेको भए पनि ब्राण्डिङ नहुँदा ती उत्पादनले ‘नेपाली ब्राण्ड’को रूपमा परिचय पाएका छैनन् । तर कतिपय यस्ता वस्तु छन्, जसले विश्व बजारमा नेपाली ब्राण्ड र नेपालको नाम स्थापित गराइरहेका छन् ।
यसमध्येको एक हो– वाइवाइ चाउचाउ । फोर्ब्स पत्रिकामा विश्वका खर्बपतिको सूचीमा परेका नेपालका एकमात्र व्यवसायी विनोद चौधरी आफैँमा एउटा ब्राण्ड हुन् । उनी अध्यक्ष रहेको चौधरी ग्रुपको उत्पादन हो– वाइवाइ, जो दक्षिण एसियाका सबै देशका साथै, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत ३५ भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ । वाइवाइको प्लान्ट नेपालका साथै भारत, सर्बिया, बंगलादेश र काजकिस्तानमा फैलिएको छ ।
२०४१ सालमा अन्तर्राष्ट्रिय ब्राण्ड अधिकारसहित थाइल्याण्डबाट वाइवाइ ब्राण्ड भित्र्याएका चौधरीले अहिले विश्वभर नेपाली ब्राण्ड विस्तार गरेका छन् । वाइवाइले विश्वको चाउचाउ बजारको २.५ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपले जनाएको छ । आउटलुक बिजनेसका अनुसार भारतमा बिक्रीका हिसाबले वाइवाइ शीर्ष तीन नम्बरमा पर्छ । भारतमा सात वटा प्लान्टमार्फत उत्पादन गरिरहेको वाइवाइले त्यहाँको नुडल्स बजारमा २८ प्रतिशत हिस्सा ओगटेको छ ।
किरण सुज म्यानुफ्याक्चरिङ प्रालिको गोल्डस्टार जुत्ताले धेरै मुलुक टेकिसकेको छ । कम्पनी आफैँले भारतका साथै भुटान, मलेसिया, बेलायत, अस्ट्रेलिया लगायत मुलुकमा जुत्ता निर्यात गरिरहेको छ । बाँकी विश्व बजारमा भने अधिकृत बिक्रेताहरूमार्फत पुग्छ ।
अहिले गोल्डस्टार जुत्ता लगाउने स्वदेशी उपभोक्ताको तुलनामा विदेशी दोब्बर छन् । नेपाली बजारमा वार्षिक ५० लाख जोर जुत्ता बिक्री भइरहेको गोल्डस्टार विदेशमा भने एक करोड जोर निर्यात हुन्छ । कम्पनीले विदेशी बजारमा बर्सेनि २५ प्रतिशतले माग बढिरहेको दाबी गरेको छ । किरण सुजले दैनिक ७५ हजार जोर जुत्ता बनाइरहेको बताएको छ ।
नेपाली कफीको ‘पायोनियर’ मानिने हिमालयन जाभाको स्वाद अमेरिका, क्यानडासम्म फैलिएको छ । सन् १९९९ मा काठमाडौँमा खोलिएको हिमालयन जाभाका आउटलेट र फ्रेन्चाइज अमेरिका, थाइल्याण्ड, भुटान, बेलायत र क्यानाडामा छन् । अमेरिकामा मात्रै हिमालयन जाभाका दुई आउटलेट छन् ।
नेपाली कफीको उत्पादन, ब्राण्डिङ र प्रवर्द्धन गर्ने योजनाका साथ हिमालयन जाभाले कफी खेती पनि गरिरहेको छ । जाभाका कफी बनाउने तालिम (वारिस्टा) र बेकरी तालिमका लागि स्कुल पनि सञ्चालनमा छन् ।
हिमाल र हिमाल आरोहणमा नेपालको नाम विश्वमा चिनिएकै छ । तर पछिल्लो समय नेपाली उत्पादनले हिमाल आरोहण र हाइकिङमा प्रयोग हुने कपडाका लागि पनि विश्वमा प्रसिद्धि कमाएको छ । यसमा शेर्पा एड्भेन्चर गियर र सोनाम गियरको मुख्य भूमिका छ । यसमध्ये शेर्पा एड्भेन्चरका ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादन विश्वका धेरै मुलुक पुग्छन् । शेर्पा एड्भेन्चर गियरको अमेरिका, आइसल्यान्ड जस्ता मुलुकमा आउटलेट चलिरहेका छन् । त्यस्तै विभिन्न डिलर र प्रयोगकर्तामार्फत शेर्पाका उत्पादन विशेषगरी यूरोपेली मुलुकहरूमा पुगिरहेका छन् ।
सोनाम गियरका उत्पादन पनि विश्व बजारमा पुगिरहेका छन् । क्याजुअलदेखि सोनामले हिमाल चढ्दा, ट्रेकिङ जाँदा प्रयोग गर्ने कपडा, झोला उत्पादन गर्छ ।
प्रिमियम ब्राण्डको रूपमा परिचित कोबोल्ड हिमालय घडी पनि नेपालमै उत्पादन हुन्छ । अमेरिकामा मुख्यालय रहेको कोबोल्ड घडीमा अत्यधिक चिसो खप्न सक्ने क्षमता हुन्छ । यही कारण कोबोल्ड हिमालय सिरिजका घडी यूरोपेली मुलुकका नागरिकको रोजाइमा छन् । यो घडीको मूल्य ४ लाख ५० हजारदेखि ४५ लाखसम्म पर्ने कम्पनीले जनाएको छ । निर्यातभन्दा पनि नेपालमा बनेका कोबोल्ड घडी नेपाल आउने विदेशीहरूले खरिद गर्ने कोबोल्डको वेबपेजमा लेखिएको छ ।
कोबोल्ड घडी अमेरिका, इटली र स्वीटजरल्यान्डमा पनि बन्छ । नेपालमा भने सन् २०१२ देखि कोबोल्ड हिमालय सिरिजका घडी बन्छन् । यसका प्रत्येक घडीको हरेक पार्टस्मा १० वर्षको वारेन्टी दिइएको छ ।
नेपालको पानीले समेत विश्व बजारमा राम्रो छाप छोडेको छ । सन् २००७ मा कोरियन लगानीमा स्थापना भएको हिमालयज स्प्रिङ वाटरको नेपाली साझेदार मुक्तिश्री प्रालि हो । जसले हिमालयज अनटप नामक मिनरल वाटर उत्पादन गरिरहेको छ । जसको हिमालयज अनटप ब्राण्डको पानी अमेरिका, जापान, इटली, साउदी अरब र यूएईमा निर्यात भइरहेको छ ।
नेपालमा उत्पादन हुने खुकुरी रम, ८८४८, वर्ल्ड दरबारलगायत केही मदिरा ब्राण्डले पनि विश्व बजारमा आफ्नो उपस्थिति देखाएका छन् । यसमध्ये खुकुरी रम विश्व बजारको प्रिय पेय बनेको छ । खुकुरी रम अमेरिका, स्पेन, बेल्जियम, दक्षिण कोरिया, जापान, सिंगापुर लगायत मुलुकमा प्रशस्त निर्यात हुँदै आएको छ ।
यसरी आफ्नो मुलुकमा उत्पादित सामग्री विश्व बजारमा पुग्नु गौरवको विषयमात्रै हैन, मुलुक समृद्धिको दिशामा छ भन्ने सङ्केत पनि हो । स्वाभाविक रूपमा स्वदेशी उत्पादनले मुलुकलाई आत्मनिर्भरको बाटोमा डोर्याउँछ । यस्ता उत्पादनले विश्व बजारमा मुलुकको परिचय दिनुका साथै आयात प्रतिस्थापनमा समेत ठुलो भूमिका खेल्छ भने व्यापार घाटासमेत घटाउँछ । स्वदेशी उत्पादनले बजार तताउँदा ठुलो रकम बिदेसिनबाट पनि जोगिन्छ ।
अर्थशास्त्री डा. डिल्लीराज खनाल थोरै नेपाली उत्पादनले विश्व बजारमा देखाएको चमत्कारले उद्योगी, व्यवसायीलाई ‘हामी पनि गर्न सक्छौँ’ भन्ने आत्मविश्वास बढाउने बताउँछन् । ‘केही सीमित उत्पादनले यसरी विश्व बजारमा छाप छोडेका छन् भने अन्यले नसक्ने कुरै हुँदैन,’ खनालले भने, ‘तर यसका लागि सरकारले नीतिगत र कानुनी सहजताका लागि पहल गर्न भने ढिला गर्नु हुँदैन ।’
वैदेशिक व्यापार घाटा कम गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादनभन्दा अर्को विकल्प नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै