बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
टेस्ट क्रिकेट

टेस्ट शृंखलामा भारतलाई उसैको घरमा पराजयको स्वाद चखाउने यी ६ राष्ट्र र कप्तानहरु

आइतबार, १८ कात्तिक २०८१, १७ : ००
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । भनिन्छ, भारतीय मैदानमा खेल्नु विश्वका कुनै पनि क्रिकेट टोलीका लागि निकै मुस्किल कार्य हो । त्यसैले निकै कम विदेशी टोलीले मात्र टेस्ट क्रिकेटमा भारतलाई उसको घरेलु मैदानमा हराउन सकेका छन् ।

न्युजिल्यान्डविरुद्धको जारी टेस्ट शृंखलाअघि भारतले घरेलु मैदानमा लगातार १८ खेल जित्दै गजबको कीर्तिमान बनाएको थियो । तर, भारतकै घरेलु मैदानमा सम्पन्न तीन टेस्टको शृंखलामा आइतबार न्युजिल्यान्डले ‘ह्वाइट वास’ गर्दै उक्त कीर्तिमानमा अंकुश लगाएको छ ।

भारतीय टोली सन् १९९९–२००० पछि घरेलु मैदानमा खेलिएको टेस्ट क्रिकेटमा ‘ह्वाइट वास’ भएको यो पहिलो पटक हो । त्यतिबेला दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई टेस्ट क्रिकेटमा उसैको घरेलु मैदानमा ह्वाइट वास’ गरेको थियो ।

यसैगरी, न्युजिल्यान्डले भारतलाई टेस्ट शृंखलामा उसैको घरेलु मैदानमा हराएको यो पहिलो पटक हो । पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो टेस्टमा पनि न्युजिल्यान्डले भारतलाई एक सय १३ रनले हराएको थियो । आइतबार सम्पन्न तेस्रो टेस्टमा पनि किविज टोली २५ रनले विजयी भयो ।

यसअघि पाँचवटा टोलीले मात्र भारतलाई टेस्ट शृंखलामा उसैको घरेलु मैदानमा हराउन सकेका थिए । अब यो सूचिमा न्युजिल्यान्ड पनि थपिएको छ । भारतीय टोली १२ वर्षपछि घरेलु मैदानमा टेस्ट शृंखलामा पराजित भएको हो ।

योसँगै न्युजिल्यान्ड कप्तान टम लाथमले पनि इतिहास रचेका छन् । सन् २००० पछि विदेशी टोलीका चारवटा कप्तानले मात्र भारतको घरेलु मैदानमा टेस्ट शृंखला जित्न सकेका छन् । यसअघि सन् २०१२ मा इङ्ल्यान्डले भारतीय भूमिमा टेस्ट शृंखला जितेको थियो ।

त्यतिबेला इङ्ल्यान्डका कप्तान एलेस्टेयर कुक थिए । भारतीय टोलीको कप्तान भने महेन्द्रसिंह धोनी थिए । त्यसअघि अस्ट्रेलियाले भारतीय भूमिमा टेस्ट शृंखला जितेको थियो । त्यतिबेला अस्ट्रेलियन टोलीका कप्तान एडम गिलक्रिस्ट थिए । भारतीय टोलीको कप्तान भने सौरव गांगुली थिए ।

त्यसअघि सन् २००० मा दक्षिण अफ्रिकाले भारतीय भूमिमा टेस्ट शृंखला जितेको थियो । त्यतिबेला दक्षिण अफ्रिकाको कप्तान हेन्सी क्रोनिया र भारतका कप्तान सचिन तेन्दुल्कर थिए । त्यो शृंखलामा त दक्षिण अफ्रिकाले भारतविरुद्धको टेस्ट शृंखलामा ‘क्लिन स्विप’ नै गरेको थियो । यहाँ भारतलाई टेस्ट क्रिकेटमा उसैको घरेलु मैदानमा हराउने राष्ट्रको बारेमा चर्चा गरिएको छ ।

 इङ्ल्यान्ड (पाँच पटक)

क्रिकेटको जननी मानिने इङ्ल्यान्डले हालसम्म पाँचपटक भारतलाई टेस्ट शृंखलामा उसैको घरेलु मैदानमा हराएको छ । इङ्ल्यान्डले सबैभन्दा पछिल्लो पटक सन् २०१२–१३ मा भारतलाई उसैको मैदानमा टेस्ट शृंखलामा हराएको थियो ।

वेस्ट इन्डिज (पाँच पटक)

वेस्ट इन्डिले पनि हालसम्म पाँच पटक भारतलाई टेस्ट क्रिकेटमा उसैको घरेलु मैदानमा पराजयको स्वाद चखाएको छ । इङ्ल्यान्डका अतिरिक्त वेस्ट इन्डिजले मात्र हालसम्म पाँचपटक यो उपलब्धि हासिल गरेको छ । वेस्ट इन्डिजले अन्तिम पटक सन् १९८३–८४ मा भारतलाई टेस्ट शृंखलामा उसैको मैदानमा हराएको थियो ।

अस्ट्रेलिया (चार पटक)

अस्ट्रेलियाले पनि हालसम्म चारपटक भारतीय टोलीलाई टेस्ट शृंखलामा उसैको घरेलु मैदानमा हराएको छ । अस्ट्रेलियाले पछिल्लो पटक भारतीय भूमिमा सन् २००४–०५ मा टेस्ट शृंखला जितेको थियो । त्यसयता अस्ट्रेलियाले यो उपलब्धि दोहोर्याउन सकेको छैन ।

पाकिस्तान (एक पटक)

विश्व क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । तर, पाकिस्तानले पनि एकपटक भारतलाई टेस्ट शृंखलामा उसैको घरेलु मैदानमा हराएको छ । पाकिस्तानले सन् १९८६–८७ मा भारतीय भूमिमा टेस्ट शृंखला जितेको थियो ।

दक्षिण अफ्रिका (एक पटक)

यसका अतिरिक्त दक्षिण अफ्रिकाले पनि भारतलाई टेस्ट क्रिकेटमा एकपटक उसैको घरेलु मैदानमा पराजयको स्वाद चखाएको छ । दक्षिण अफ्रिकाले सन् १९९९–२००० मा भारतीय भूमिमा टेस्ट शृंखला जितेर इतिहास रचेको थियो ।

न्युजिल्यान्ड (एक पटक)

भारतलाई उसैको घरेलु मैदानमा हराउँदै टेस्ट शृंखला चुम्ने सबैभन्दा पछिल्लो राष्ट्र न्युजिल्यान्ड हो । न्युजिल्यान्डले सन् २०२४ मा सम्पन्न तीन टेस्टको शृंखलामा भारतलाई ३–० ले नै हराउँदै शृंखलामा ‘ह्वाइट वास’ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप