शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

हङ्कङ सिक्सेस क्रिकेट : पाकिस्तान र श्रीलंकाबिच उपाधि भिडन्त

आइतबार, १८ कात्तिक २०८१, १२ : ४४
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । श्रीलंकाली टोलीले हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । श्रीलंकाली टोली आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बंगलादेशमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

श्रीलंकाले उपाधिका लागि पाकिस्तानसँग भिडन्त गर्नेछ । पाकिस्तान भने पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार नै हङ्कङमा खेलिने छ ।

दोस्रो सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशले निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले ५.५ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

श्रीलंकाको जितमा ओपनर ब्याट्सम्यान सन्दुन विराक्कोदीले ५० रनको योगदान गरे । उनले केवल १६ बलको सामना गरी तीन छक्का र सात चौका हिर्काए । अर्का ओपनर धनन्जय लक्सनले पनि २४ रनको योगदान गरे । उनले ६ बलमा चार छक्का प्रहार गरे ।

कप्तान लाहिरु मधुसानका तीन र लाहिरु सामराकुन ६ रनमा आउट भए । थारिन्दु रत्नायके तीन र निमेष विमुक्थी १२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर जिसन आलमले सर्वाधिक ३६ रन बनाएका थिए । उनले ११ बलमा पाँच छक्का र एक चौका हिर्काए ।

कप्तान मोहम्मद सैफुद्दिनले २३ रन बनाए । उनले १२ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ओपनर अब्दुल्लाह अल मामुनले केवल चार बलमा दुई छक्का र एक चौकाको मद्दतले १६ रन बटुलेका थिए । अबु हैदरले पनि ६ बलमा तीन छक्काको मद्दतले १८ रन बनाएका थिए । सोहाग गाजीले ६ रन बनाए । श्रीलंकाका बलर थारिन्दु रत्नायकेले चार विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप