शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई दियो १३० रनको लक्ष्य

आइतबार, १८ कात्तिक २०८१, ११ : ४६
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ ।

यी दुबै टोलीको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले ४१ ओभरमा अलआउट हुनुअघि एक सय २९ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उत्तम मगरले २६ रन बनाए । कप्तानसमेत रहेका उत्तमले ३९ बलको सामना गरी पाँच चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान सार्थक धितालले टोलीको खातामा ११ रन थपे ।

बागमती प्रदेशको साख भने सातौँ नम्बरमा क्रिज समाल्न आएका रोसन विश्वकर्माले जोगाएका थिए । उनले टोलीलाई लज्जास्पद स्कोरमा समेटिनबाट बचाएका थिए । उनले टोलीका लागि अविजित ५६ रनको योगदान गरे ।

रोसनले ७१ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे । बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा १७ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर युवराज खत्रीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ५१ रन खर्चिए । हेमन्त धामी, सचिन भट्ट, नरेन साउद र अशोक धामीले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप