‘ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’
_WB694EmjiK.jpg)
म्याग्दी । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो ।
शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गरेकी प्रतिभालाई मखमली फूलको अभाव खट्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उनको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो ।
“कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भनिन्, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।”
भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्यजस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरूबाट लोप हुँदै गइरहेको छ । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रसिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमा तिहारको बेला प्रदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ । अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदा निराश बनाएको छ ।
दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । यही फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दछन् ।
केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई थुङ्गे र सयपत्री फूल तथा स्थानीय मौसमी फूलको माला लगाइदिन थालेका छन् ।
नेपालीहरूका लागि तिहारको महत्त्व र मौलिकतासँग जोडिएको मखमली फूल हराउँदै जानुमा तापक्रम वृद्धिका कारण माटोमा अम्लीयपन बढ्नु र अनुकूलन हुने गरी यसको संरक्षण नगरिनु रहेको जानकारहरू बताउँछन् । पछिल्ला तीन वर्षयता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको भन्दै यसको संरक्षणमा अभाव देखिएको बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालक टीकाराम आचार्यले बताए ।
“संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमलीले नेपालीको सांस्कृतिक महत्त्व बोकेको छ । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । दाजुभाइलाई यही फूल झै कहिल्यै नओइलाउनु भन्ने कामनासहित माला लगाइदिने परम्परा छ”, आचार्यले भने ।
अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी, गरधौली, लालुपातेलगायत फूल पनि देखिन छाडेका आचार्यले बताए ।
पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनका लागि प्लास्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताए । नझर्ने, नओइलाउने र वर्षौँसम्म रहिरहने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’