बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
क्रिकेट इतिहासका रोचक प्रसङ्ग

जब टेस्ट क्रिकेट बिचमै स्थगित गरेर एकदिवसीय प्रतियोगिता खेलाइयो !

आइतबार, १८ कात्तिक २०८१, ११ : ००
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । विश्व क्रिकेटको सबैभन्दा पुरानो र प्रभावशाली ढाँचा हो टेस्ट । कुन राष्ट्रमा क्रिकेटको स्तर कस्तो छ भनेर जाँच्न कसी पनि टेस्ट क्रिकेट नै हो । त्यसैले टेस्टलाई विश्व क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण ढाँचा मानिन्छ । 

हालै भारतको ग्रेटर नोयडामा न्युजिल्याण्ड र अफगानिस्तानबिच एकमात्र टेस्ट खेलिने कार्यक्रम रहेको थियो । तर, वर्षा र मैदानको खराब अवस्थाका कारण त्यो टेस्ट सुरु नै हुन सकेन । अन्तिम दिनसम्म प्रतीक्षा गर्दा पनि वर्षाका कारण त्यो खेल सुरु हुन सकेको थिएन ।

एक सय ४७ वर्ष लामो विश्व क्रिकेटको इतिहासमा पाँच दिनसम्म प्रतीक्षा गर्दा पनि एक बलसमेत नखेलाई टेस्ट रद्द भएको घटना निकै कम छन् । अफगानिस्तान र न्युजिल्याण्डबिचको टेस्ट पनि त्यही कम घटनाभित्र पर्छ । विश्व क्रिकेटमा त्यसअघि सातपटक मात्र (युद्ध र महामारीको अवस्थालाई छाडेर) त्यस्तो घटना भएका छन् ।

  • इंग्ल्याण्डविरुद्ध अस्ट्रेलिया (ओल्ड ट्राफोर्ड, सन् १८९०)

समयको यो कालखण्डमा टेस्ट क्रिकेट केवल तीन दिनको हुन्थ्यो । त्यतिबेला अस्ट्रेलिया तेस्रो टेस्टमा कुनै पनि हालतमा इंग्ल्याण्डलाई हराउने धुनमा थियो । किनभने त्यसअघि खेलिएको दुई टेस्टमा इंग्ल्याण्ड विजयी भएको थियो । 

अस्ट्रेलियाका लागि तेस्रो टेस्ट सान्त्वना जितेको अवसर थियो । तेस्रो टेस्ट इंग्ल्याण्डको म्यानचेस्टरमा खेलाइने कार्यक्रम थियो । तर, लगातारको वर्षाका कारण तीन दिनकै खेल प्रभावित भएको थियो । एक बल पनि नखेली तेस्रो टेस्ट रद्द भएको थियो । त्यसैले त्यो शृङ्खला इंग्ल्याण्डले २–० ले जितेको थियो ।

  • इंग्ल्याण्डविरुद्ध अस्ट्रेलिया (ओल्ड ट्राफोर्ड, सन् १९३८)

यो टेस्ट पनि इंग्ल्याण्डको म्यानचेस्टरमै खेलिने कार्यक्रम थियो । यो खेलमा पनि अस्ट्रेलिया र इंग्ल्याण्ड नै भिड्ने तयारी गरिरहेका थिए । तर, त्यतिबेला टेस्ट म्याच तीन दिनबाट बढाएर चार दिनको खेलाइन्थ्यो । 

त्यो टेस्टमा इंग्ल्याण्डका कप्तान वाल्टर हेमोन्ड र अस्ट्रेलियाका कप्तान डान ब्राडम्यान थिए । त्यो खेल पाँच टेस्टको एसेस शृङ्खला अन्तर्गतको तेस्रो खेल थियो । तर, निरन्तरको वर्षाका कारण त्यो खेल पनि टस समेत नभई रद्द भएको थियो । त्यो खेल रद्द भएपछि दुवै टोली चौथो टेस्ट खेल्न लिड्सतर्फ प्रस्थान गरेका थिए । 

  • अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्ड (मेलबर्न, सन् १९७०) 

अघिल्ला दुई खेल इंग्ल्याण्डको भूमिमा रद्द भएको थियो भने यसपटक अस्ट्रेलियाको भूमिमा टेस्ट क्रिकेटले यस्तो नियति भोग्नु परेको थियो । तर, यसपटक पनि प्रतिद्वन्द्वी भने उही पुरानै अस्ट्रेलिया र इंग्ल्याण्ड नै थिए ।

यो समयसम्म आइपुग्दा टेस्ट क्रिकेट पनि पाँच दिवसीय भइसकेको थियो । अस्ट्रेलिया भ्रमणका क्रममा इंग्ल्याण्डले ६ वटा टेस्टको शृङ्खला खेल्ने कार्यक्रम थियो । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । तेस्रो टेस्ट मेलबर्नमा खेलिने कार्यक्रम थियो । 

त्यो खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो । दुवै टोली खेलका लागि मैदानमा प्रवेश पनि गरिसकेका थिए । तर, त्यसपछि वर्षा सुरु भएकाले खेल अगाडि बढ्न सकेन । मेलबर्नमा लगातार तीन दिनसम्म वर्षा भइरह्यो । 

चौथो दिन वर्षा रोकिए पनि खेल अगाडि बढाउन सक्ने अवस्था थिएन । टेस्ट सम्भव नभएपछि पाँचौँ तथा अन्तिम दिन दुवै टोलीलाई ६०–६० ओभरको एकदिवसीय खेल खेलाउने निर्णय गरिएको थियो । त्यो खेल करिब ४६ हजार दर्शकले हेरेका थिए । यो खेललाई क्रिकेट इतिहासकै पहिलो एकदिवसीय खेलका रूपमा पनि लिइन्छ । 

  • न्युजिल्याण्डविरुद्ध पाकिस्तान (डुनेडिन, सन् १९८९)

घरेलु टोली न्युजिल्याण्ड र पाकिस्तानबिच तीनवटा टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको थियो । त्यसमध्ये पहिलो टेस्टको सुरुको दुई दिन वर्षाका कारण खेल सम्भव भएन । वर्षा रोकिने सम्भावना नदेखिएपछि खेल रद्द भएको घोषणा गरिएको थियो ।

तर, अप्रत्याशित रूपमा चौथो दिन मौसम सफा भएको थियो । त्यसपछि न्युजिल्याण्डका कप्तान जोन राइट र पाकिस्तानका कप्तान इमरान खानले टेस्टको स्थानमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सहमति गरे । 

त्यसपछि दुवै टोलीबिच एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रिचर्ड हेड्लीले पाँच विकेट लिएका थिए । पहिलो टेस्ट वर्षाले पखालिएपछि बाँकी दुई टेस्ट पनि बराबरीमा सकिएको थियो ।

  • वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्ड (गायना, सन् १९९०)

इंग्ल्याण्डको टोली वेस्ट इन्डिज भ्रमणमा निस्किएको थियो । भ्रमणका क्रममा इंग्ल्याण्ड र क्यारेबियन टोलीबिच एउटा टेस्ट खेलिने कार्यक्रम थियो । तर, गायनामा एक सातादेखि लगातार वर्षा भइरहेको थियो । त्यसैले मैदानमा पानी जमेपछि टेस्ट अगाडि बढ्न सकेन ।

त्यसपछि टेस्ट रद्द भएको घोषणा गरिएको थियो । तर, चौथो दिन मौसम सफा भएर खेलका लागि अवस्था अनुकूल देखिएको थियो । त्यसपछि दुवै टोलीका कप्तानको सहमतिमा आयोजकले चौथो दिन एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने निर्णय गर्‍यो ।

तर, एकदिवसीय खेल पनि वर्षाका कारण प्रभावित हुन पुग्यो । त्यसपछि पाँचौँ दिन दुवै टोलीबिच ४९–४९ ओभरको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइयो । त्यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । 

  • पाकिस्तानविरुद्ध जिम्बाबे (फैसलाबाद, सन् १९९८) 

जिम्बाबेको क्रिकेट टोली तीन टेस्टको शृङ्खला खेल्न पाकिस्तान भ्रमणमा आएको थियो । फैसलाबादमा तेस्रो टेस्ट क्रिकेटका लागि सबै तयारी पुरा भइसकेको थियो । तर, प्रतियोगिता सुरु हुनेदेखि अचानक फैसलाबादको मौसम प्रतिकुल बन्न पुग्यो । 

आकाशमा कालो बादल मडारियो । चारैतिर बाक्लो कुहिरो लागेकाले दिउँसै अँध्यारोको स्थिति सृजना भयो । त्यसपछि दुवै टोलीका खेलाडी खेल अगाडि बढ्न सकेन । दोस्रो दिन त अवस्था झनै प्रतिकुल बन्न पुग्यो । दुवै टोलीका खेलाडी खेल स्थलसम्म पनि पुग्न सकेनन् ।

तेस्रो दिन पनि मौसममा सुधार आएन । त्यसपछि चौथो दिन टेस्ट रद्द भएको घोषणा गरियो । तर, टेस्ट रद्द गरिएको केही समयपछि मौसममा सुधार आउन थाल्यो । त्यति बेलासम्म अम्पायरहरूले खेल रद्द भएको घोषणा गरिसकेका थिए ।

त्यसैले अम्पायरहरूको उक्त निर्णयको आलोचना पनि भएको थियो । यति मात्र होइन, डिसेम्बरको महिनामा फैसलाबादमा टेस्ट खेलाउने निर्णय गरिएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि चर्को आलोचनाको सामना गर्नु परेको थियो । 

तर, त्यो टेस्ट रद्द भएको फाइदा जिम्बाबेलाई पुग्यो । त्यसअघि दोस्रो टेस्ट बराबरीमा सकिएको थियो भने पहिलो टेस्टमा जिम्बाबेले पाकिस्तानलाई सात विकेटले हराएको थियो । यसरी जिम्बाबेले तीन खेलको शृङ्खला १–० ले जितेको थियो । जिम्बाबेको टोलीले आफ्नो देश बाहिर जितेको त्यो नै पहिलो टेस्ट शृङ्खला पनि थियो । 

  • न्युजिल्याण्डविरुद्ध भारत (डुनेडिन, सन् १९९८)

भारतको क्रिकेट टोली सन् १९९८ को डिसेम्बरमा न्युजिल्याण्ड भ्रमणमा पुगेको थियो । भ्रमणका क्रममा भारत र न्युजिल्याण्डबिच तीनवटा टेस्ट र पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको थियो ।

पहिलो टेस्ट डुनेडिनमा खेलिने कार्यक्रम थियो । तर, लगातारको वर्षाका कारण त्यो टेस्ट सुरु नै हुन सकेन । तेस्रो दिन खेल रद्द भएको घोषणा गरिएको थियो । डुनेडिनमा कुनै पनि टेस्ट रद्द भएको यो पहिलो पटक थियो । 

त्यसको फाइदा न्युजिल्याण्डलाई पुगेको थियो । दोस्रो टेस्टमा न्युजिल्याण्ड चार विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो । त्यसैले तीन टेस्टको शृङ्खलामा घरेलु टोली न्युजिल्याण्ड १–० ले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप