मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
प्रेम

वामपन्थी नेता मोहनचन्द्र र बालुको बिहे

बिहे कार्यक्रममा मदन भण्डारी खटिए, किसुनजीले माइक खोसे
आइतबार, १८ कात्तिक २०८१

भैरहवा जेलको झ्यालबाट बाहिर नियाल्दै गरेका मोहनचन्द्र अधिकारीको नजर एक युवतीमा टक्क अडियो ।

२०–२२ की देखिने ती युवती बाहिर चौरमा टहलिँदै थिइन् । अघिल्लो दिनसम्म त्यस जेलमा कुनै महिला बन्दी थिएनन् । सुरक्षाकर्मीको आँखा छलेर मोहनचन्द्रले ती युवतीलाई पक्राउ पर्नुको कारण सोधे ।

शिक्षक आन्दोलनका क्रममा उनी पक्राउ परेकी रहिछन्, तीन–चार दिन हनुमानढोका राखेर उनलाई रातारात भैरहवा पठाइएको रहेछ । 

उनीहरूबिच परिचय भयो— 

नाम : बालकुमारी खनाल उर्फ बालु । 

स्थायी ठेगाना : मदनपोखरा पाल्पा । 

बालुले स्कुल पढ्दादेखि नै मोहनचन्द्रको नाम खुब सुनेकी रहिछन्, भेट हुँदा अचम्ममा परिन् ।

त्यतिबेला (२०४२ सालमा) शिक्षकलाई सरकारले सञ्चयकोष, नागरिक लगानी कोष लगायतको सेवा–सुविधा दिएको थिएन । सेवा–सुविधा माग राख्दै देशभरका शिक्षकले ‘काठमाडौँ जाउँ’ आन्दोलन चर्काएका थिए । आन्दोलनमा भाग लिन काठमाडौँ आएकी बालु पक्राउ परिछन् । 

कुराकानीकै सिलसिलामा मोहनचन्द्रले खानपानको व्यवस्था के कस्तो छ भनी सोधे । मोटो चामलको भात आफूले निल्न नसकेकाले मसिनो चामलका लागि निवेदन दिएको उनले बताइन् । मोहनचन्द्रकै पहलमा भोलिपल्टदेखि बालुलाई मसिनो चामलको बन्दोबस्त गरियो । 

मोहनचन्द्र र बालुबिच कुराकानी भएको जेलरले थाहा पाएछन् । ज्यान मुद्दामा जेल चलान गरिएका मोहनचन्द्रसँग कुराकानी नगर्न बालुलाई सचेत गराइयो । भोलिपल्टदेखि बालुले चौरमा टहलिन पाइनन् । 

उनले जेलरसँग बिन्ती गरिन्— म साइटिकासम्बन्धी रोगबाट पीडित छु, चौरमा डुल्न पाउनुपर्‍यो ।

जेलरले पनि आफ्नो छोरालाई पढाउने र मोहनचन्द्रसँग कुराकानी नगर्ने सर्तमा बालुलाई हिँड्डुल गर्न दिए । 

राजनीतिज्ञ मोहनचन्द्रले समयमै बालुको मन जाँच्ने एउटा ‘कार्ड’ फ्याँकेका रहेछन् । ०४२ सालको दसैँमा उनले बालुलाई पठाएको शुभकामना कार्ड जब पाल्पाको मदन पोखरा पुग्यो, गाउँमा समाजमा बालुको पनि विशेष चर्चा हुन थाल्यो ।

एक दिन चौरमा डुलिरहेका बेला उनको मोहनचन्द्रसँग फेरि भेट भयो । भेटमा बालुले आफू छुट्न लागेको जानकारी गराएकी थिइन् । 

मोहनचन्द्रले सुझाए— जुन उद्देश्यले आन्दोलन गरेको हो, त्यो पूूरा नभएसम्म नछुट्नू, बरू पाल्पा जेलमा गएर बस्नू । छुट्नै परे सबै साथीहरू छुटेपछि रिहाइ हुँदा राम्रो हुन्छ, अन्यथा राम्रो सन्देश जाँदैन । 

केही दिनपछि बालुलाई छुटाउनका लागि नाताले दाइ पर्ने पाल्पाका झपेन्द्र जिसी भैरहवा आए । मोहनचन्द्रको सल्लाह मानेर उनी छुट्न मानिनन्, झपेन्द्र रिसाएर फर्किए । 

साथीहरू सबै छुटेपछि मात्र २८ दिनमा उनी रिहा भइन् र पाल्पा फर्किएर शिक्षण पेसालाई निरन्तरता दिइन् । मोहनचन्द्र भने भैरहवाबाट तम्घास जेल सरुवा भए । 

२०२८ सालको चर्चित झापा विद्रोहका प्रमुख नेता मोहनचन्द्र २०३० सालमा रौतहटबाट पक्राउ परेका थिए । ज्यान मुद्दामा १२ वर्ष कष्टकर जेल जीवन बिताएका मोहनचन्द्र छुट्ने कुनै मेसो थिएन । २०४२ सालमा मोहनचन्द्रलाई गुल्मीको तमघासबाट भैरहवा सारिएको थियो । १७ वर्ष जेलजीवन बिताएर ०४६ पुस १९ गते काठमाडौँको भद्रगोल जेलबाट उनी रिहा भए । 

  • विवाहको कथा

रिहापछि उनी पाटनमा डेरा गरी बस्न थाले र राजनीतिमा सक्रिय भए । खुला राजनीतिमा आएसँगै उनको विवाहको प्रसंग चल्यो । उनको बिहे गरिदिन मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी लगायत नेता लागिपरेका थिए । नेताहरूले ल्याएका प्रस्ताव मोहनचन्द्रले अस्वीकार गर्दै गए । 

उनको मन–मस्तिष्कमा भैरहवा जेलमा भेट भएकी बालु बसेकी थिइन् । त्यतिबेला बालु मनमोहन नेतृत्वको नेकपा माक्र्सवादी निकट शिक्षक संगठनमा सक्रिय थिइन् । 

जेलमा छँदासम्म उनलाई थाहा थिएन, बालुको बिहे भयो वा भएन भन्ने । रिहा भएपछि उनले बालुको बारेमा बुझे । विवाह नभएको थाहा पाएपछि उनले एकल निर्णय गरे— बिहे गरेँ भने उनैसँग गर्छु, नत्र गर्दिनँ । 

एक दिन जीवराजलाई उनले भने— मलाई त बालु मन परेको छ । उनी राजी हुने भने उनैसँग बिहे गर्थें । 

जीवराजले बालुका मामासँग कुरा गरे, तर सकारात्मक जवाफ आएन । 

त्यतिबेला मोहनचन्द्र ५३ का थिए भने बालु २७ हिँड्दै थिइन्, उमेर करिब आधैको फरक । मोहनचन्द्रलाई भेट्दा नै एमए गरिसकेकी बालु पीएचडी नगरी विवाह नगर्ने अडानमा थिइन् । त्यसमाथि मोहनचन्द्रलाई छोरी दिन बालुकी आमा समेत तयार भइनन् । 

कुनै समय नेपालका ‘नेल्सन मन्डेला’ भन्ने उपनाम पाएका मोहनचन्द्र पछिल्लो समय गुमनामजस्तै छन् । ८६औँ वसन्त पार गरिसकेका उनी यतिखेर ‘न्यु डेमोक्रेसी’ (नौलो जनवाद)सम्बन्धी पुस्तक प्रकाशित गर्ने तयारीमा रहेछन् ।

केही दिनअघि काठमाडौँको नैकापस्थित निवासमा मोहनचन्द्र र बालु सँगै भेटिए । आफूहरूको बिहेको कथा उनीहरूले निकै रुचिपूर्वक सुनाए ।

राजनीतिज्ञ मोहनचन्द्रले समयमै बालुको मन जाँच्ने एउटा ‘कार्ड’ फ्याँकेका रहेछन् । ०४२ सालको दसैँमा उनले बालुलाई पठाएको शुभकामना कार्ड जब पाल्पाको मदन पोखरा पुग्यो, गाउँमा समाजमा बालुको पनि विशेष चर्चा हुन थाल्यो । 

‘मेरा मामाहरूले पनि मोहनचन्द्र यस्तो–उस्तो भनेर सुनाउनुभयो । उहाँहरूको कुरामा मैले कुनै मतलब गरेकी थिइनँ,’ बालु पुराना दिन सम्झन्छिन्, ‘जब उहाँले झपेन्द्र दाइमार्फत दसैँको शुभकामना कार्ड पठाउनुभयो, तब मेरो मनमा लाग्यो— त्यति ठुलो मानिसले पनि मलाई भ्यालु दिनुभयो ! म त आश्चर्यमा परेकी थिएँ । मामाहरूले पनि शुभकामना पठाएको विषयमा जिस्काउनुहुन्थ्यो ।’

०४६ सालको अन्त्यतिर पोखरामा नेकपा मार्क्सवादीको महाधिवेशन थियो । महाधिवेशनमा भाग लिन बालु पोखरा गएकी थिइन् । महाधिवेशन सकिएपछि मोहनचन्द्र र बालुको बिहेको कुरा चल्यो । विवाहका लागि जीवराज र बालुका मामाहरू समेत लागिपरेका थिए । तर महाधिवेशनस्थलमै सहमति गराउने प्रयास असफल भयो । 

‘त्यतिबेला मामाका छोरीहरूको १३ वर्षको उमेरमा विवाह भइसकेको थियो । मैले पीएचडी गरेर मात्रै विवाह गर्ने सोच बनाएकी थिएँ । त्यहाँ कुरा उठाउँदा म अहिले विवाह गर्दिन भनेँ,’ बालु भन्छिन्, ‘गंगादिदी (विनय कसजुकी श्रीमती), मेरा मामाहरू, सासुमुवा (मोहनचन्द्रकी कान्छी आमा)ले कार्यक्रममा कुरा उठाउनुभयो । मलाई चित्त बुझेको थिएन ।’

balu

महाधिवेशन सकेर फर्कंदा पनि मोहनचन्द्रसँग बिहे गर्न मामाले बालुलाई सम्झाएका थिए तर उनले सुन्दै सुनिनन् । 

‘तिमीले उहाँसँग विवाह गर्दिनौँ भने मलाई मामा भन्नुपर्दैन समेत भन्नुभयो । जे भने पनि मैले कुरै खाइनँ,’ बालु सुनाउँछिन्, ‘घर पुगेपछि मामाले आमासँग कुरा गर्नुभयो, आमाले पनि मान्नुभएन । मेरा दुईवटी आमा हुनुहुन्थ्यो । मेरी आमालाई बुवाले छुट्ट्याएर राख्नुभएको थियो । त्यसैले पढाएर छोरीलाई केही बनाउने आमाको चाहना हुँदो हो ।’

बालुकी आमालाई धेरैले सम्झाए, अन्ततः उनी राजी भइन् । 

धेरैतिरबाट कुरा आएपछि बालुले पनि ‘हुन्छ’ भनिन् । त्यसको भोलिपल्ट एउटा कार्यक्रममा बालु र मोहनचन्द्रको भेट हुने संयोग मिल्यो, त्यहीँ दुवैले सहमति जनाएपछि बिहेको कुरा अगाडि बढ्यो । 

बालु भन्छिन्, ‘धेरैको प्रेसर भएपछि विवाह गर्न बाध्य भएँ । तिमीले यस्तो मान्छेसँग पनि विवाह नगर्ने ? पैसा भएर मात्र हुँदैन भनेर सबैले सम्झाए । वास्तवमा आफ्नो करिअर बनाएर बुवालाई देखाउने मेरो ईख थियो । मलाई नपढाए पनि म देखाउँछु भन्ने थियो ।’ 

  • मदन भण्डारीको चाँजोपाँजो

०४७ माघ २४ गते पाटनमा विवाह मण्डप राखिएको थियो । विवाहको चाँजोपाँजो पार्टीले मिलाएको थियो । मदन आफैँ व्यवस्थापनमा खटिएका थिए । राजा वीरेन्द्रबाहेक अधिकांश उच्चपदस्थलाई विवाहको निम्तो पठाइएको थियो । कम्युनिस्ट नेताको विवाहमा राजालाई बोलाउँदा गलत अर्थ लाग्ने भएकाले निम्तो नपठाइएको मोहनचन्द्र स्मरण गर्छन् । 

उता पाल्पाबाट दुईवटा बसमा बालुसहित आफन्तहरू आएका थिए । बालुकी आमाले रुँदै दुवैलाई टीका लगाइदिइन् । बेहुला–बेहुलीले पाँच–पाँच हजार साँटासाट गरेर विवाह सम्पन्न भयो । 

‘विवाहमा केपी ओली र गिरिजाप्रसाद कोइराला थिएनन् । तत्कालीन प्रधानमन्त्री किसुनजी, हुनुहुन्थ्यो । मदन भण्डारी, जीवराज आश्रित, मनमोहन, माधव, भरतमोहन हुनुहुन्थ्यो । झलनाथले बहिनी स्विकारेर टीकाटालो गरेका थिए ।’

विवाह जनवादी थियो । बेहुला–बेहुलीले एकअर्काप्रति समर्पित भएको घोषणा गरे । आजीवन साथ दिने वाचा गरे । सहभागी प्रतिष्ठित व्यक्तिहरूले विवाहको शुभकामना दिएका थिए । मञ्चमा मोहनचन्द्रले भाषण गरिरहेकै बेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अकस्मात् माइक खोसेपछि हाँसोको फोहरा छुटेको बालु र मोहनचन्द्र यतिखेर स्मरण गर्छन् । 

‘हामीले भाषण चौपट गर्‍यौँ । मैले भाषण गरिरहेकै बेला किसुनजीले अब मेरो पालो भन्दै माइक खोस्नुभयो । सबै हाँसे । त्यतिबेला किसुनजीले भन्नुभएको थियो— अब म पनि विवाह गर्ने हो भन्नुभयो,’ मोहनचन्द्र आफ्नो बिहेको दिन सम्झन्छन् । 

  • विवाहपछि

विवाहपछि यो जोडीको जीवन संघर्षपूर्ण नै रह्यो । बालुले जग्गा किनिन् र त्यही जग्गा बैंकमा धितो राखेर घर बन्यो । 

‘विवाह गर्नुअघि उहाँलाई उमेरले बुढो भनियो, विवाह गर्दिनँ पनि भनियो । दुनियाँ कुरा भयो होला,’ बालु हाँस्दै भन्छिन्, ‘जब विवाह भयो, त्यसपछि आफ्नो कर्तव्यको कुरा आयो । कर्तव्यबाट म च्युत भइनँ र हुँदिन पनि ।’

१९९४ पुस ९ गते विराटनगरमा जन्मिएका मोहनचन्द्र सानै उमेरदेखि राजनीतिमा होमिएका हुन् । ०४६ पछि खुला राजनीतिमा आएपछि एमालेमा सक्रिय भएका थिए । नेतृत्वको व्यवहारप्रति असहमति जनाउँदै उनले ०५४ सालमा पार्टी छाडे । नेताहरूले आफूलाई भर्‍याङ मात्र बनाएको उनको गुनासो छ । नवौँ महाधिवेशनपछि नेतृत्वमा आएका ओलीले पार्टीले दिँदै आएको पाँच हजार समेत खारेज गरेकोप्रति उनको दुःखेसो छ ।

१४ वर्ष जेल परेका ओली चारपटक देशको प्रधानमन्त्री भइसके । सीपी मैनाली, राधाकृष्ण मैनाली पटक–पटक मन्त्री भए, तर उनी कहिल्यै राजकीय पदमा पुगेनन् । उनीसँगै विद्रोह गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ सुखानी जंगलमा तत्कालीन शासकले हत्या नै गर्यो । 

पार्टीबाट पटक–पटक मन्त्री बन्नका लागि आएको प्रस्तावलाई मोहनचन्द्रले अस्वीकार गरेका थिए । ०७४ मा परिवारको जोडबलका कारण उनी राष्ट्रियसभामा जान चाहेका थिए । तर ओलीले कोमल वलीलाई सदस्य बनाएको उनीहरूको गुनासो छ । 

‘राष्ट्रियसभाको सांसद बनाउनुपर्‍यो भनेर हामी ओलीलाई भेट्न गएका थियौँ । उहाँ (ओली)ले तपाईंजस्तो योद्धालाई राष्ट्रिय सभामा लैजानु गौरवको विषय हो भन्नुभएको थियो,’ बालु भन्छिन्, ‘तर बनाउने बेला कोमल वलीलाई बनाएछन् । उहाँ (मोहनचन्द्र)को बुइ चढेर केपी, माधव, झलनाथ माथि पुगे । उहाँले जसरी एमाले बनाउनुभयो, सारा संरचना बनाउनुभयो । त्यसलाई एकातिर पन्छाएर पार्टी बिगारे । कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारे । त्यसमा मलाई दुःख लागेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया