आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

शनिबार, १७ कात्तिक २०८१, १८ : १८
शनिबार, १७ कात्तिक २०८१

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कार्तिक १४ मा बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले रातोपाटीलाई बताए । उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ ।’

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई  र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, त्यसबेला गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले लामिछाने विरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।

२०८१ वैशाखमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेको बारेमा यस्तो उल्लेख छ : रवि लामिछाने, गोरखा मिडीया नेटवर्क प्रालि : २ करोड । उक्त रकम श्री रवि लामिछानेको नाम र ऋण खडा गरी २०७७  चैत १८ मा श्री गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरी संस्थाले १ करोड ९६ लाख जम्मा गरेको देखिन्छ ।

लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सागर केसीले सदर गरेका हुन् । । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् । सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

सहकारी ऐन–२०७४ को दफा १२२ अनुसार ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा’ र कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा’ कानुनी कारबाही हुने व्यवस्था छ ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए । सुप्रिमका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ । सो १४ करोडमा रविको नामबाट आएको दुई करोड पनि जोडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप