मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
अपराध

मधेसमा हरेक महिना कम्तीमा ६ जनाको हत्या

चार महिनामा २६ जना मारिए
शनिबार, १७ कात्तिक २०८१, १९ : ००
शनिबार, १७ कात्तिक २०८१

वीरगन्ज । मधेस प्रदेशमा शृङ्खलाबद्ध हत्याका घटनाहरू भइरहेका छन् । पछिल्लो चार महिनामा दुई दर्जन भन्दा बढी हत्याका घटना घटेका छन् । 

प्रहरी तथ्याङ्क अनुसार हरेक महिना कम्तीमा ६ जनाको हत्या भइरहेको छ । त्यस तथ्याङ्क बमोजिम हरेक जिल्लामा हत्याका घटनाहरू छ्यापछ्याप्ती भइरहेको देखिन्छ । तैपनि प्रहरीले कुनै ठोस योजनाहरू बनाउन सकिरहेको छैन । 

यही कात्तिक १२ गते, सोमबार । यो दिन महोत्तरीमा एक जना महिलाको शव फेला । २५ वर्षीया महिलाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा उनको शव भेटियो । 

जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकैको ती महिलाको शव फेला परेको थियो । फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरी अनुसन्धानमा जटिलता थियो, तर केही दिनमै अनुसन्धानले गति लियो ।  

प्रहरीको सूक्ष्म अनुसन्धानले महिलाको पहिचान मात्रै भएन, घटनाको अनुसन्धानलाई नै सहज बनाइदियो । मृतक महिला धनुषाको सहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी २६ वर्षीया मालती मण्डल थिइन् । 

मृतक मण्डलको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा देखियो । उनको मटिहानी नगरपालिका– ५ का राकेश नायकसँग विवाहेत्तर सम्बन्ध थियो । 

यही कारण श्रीमान्/श्रीमती मिलेर संयुक्तरुपमा हत्या गरे, अनि लगेर बगैँचाको नजिकै रहेको डिलमा शव फ्यालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि चलेको अनुसन्धानले हत्या गरेका श्रीमान्/श्रीमती पक्राउ गरेर मुद्दा प्रक्रियासमेत अगाडि बढाइसकेको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवार बताउँछन् ।

यो घटनाको दुई दिन अगाडि अर्थात् कात्तिक १० गते बारामा पनि एक जना वृद्धको हत्या गरियो । गाउँकै एक व्यक्तिले धारिलो हतियार प्रहार गरी ५० वर्षीय एक वृद्धको हत्या गरे ।  

बाराको महागढीमाई नगरपालिकामा नगरपालिकाको वडा नम्बर १ निवासी श्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ । लगत्तै भएको प्रहरी अनुसन्धानले हत्याको जड मात्रै पत्ता लगाएन, हत्याका आरोपितसमेतलाई कठघरामा उभ्यायो । 

आफ्नो खेत जोत्न गर्न नदिँदा हत्या गरिएको बयानसहित प्रहरीले सोथाइ चौधरीलाई नियन्त्रणमा लियो । चौधरी मृतक यादवकै गाउँले रहेको प्रहरी छानबिनमा देखिएको छ । पक्राउ परेका चौधरी अहिले जिल्ला प्रहरी बाराको हिरासतमा छन्, उनीमाथि कर्तव्य ज्यान सम्बन्धीको मुद्दा भएको छ ।

यी दुई वटै घटनाको करिब एक डेढ महिना अगाडिको तेस्रो घटना हो, सिराहाको । कुरा हो– २७ असोजको । यो दिन राती गाउँमा लागेको मेलामा लागेको थियो । 

त्यो मेलामा एक युवती आफ्नो केटासाथीसँग भेट्न आइन ।  त्यो थाहा पाएर केटाका साथीहरूले ती केटीसँग यौन सम्पर्कको राखे । तर त्यो प्रस्ताव अस्वीकार गर्दा सिराहा सुखीपल नगरपालिकाका कृष्ण महराको हत्या भयो । 

‘गर्लफ्रेन्ड’ सँग साथीहरूले आफूहरू पनि यौन सम्पर्क गर्ने प्रस्ताव अस्वीकार गर्दा उनको हत्या भएको प्रहरीले गरेको अनुसन्धानबाट खुल्यो । त्यसपछि प्रहरीले घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । पाँच जना अहिले महरा हत्याकाण्डमा प्रहरी हिरासतमा छन् । 

महोत्तरी, सिराहा र बारमा भएका हत्याका घटना त केही उदाहरण मात्रै हुन । पछिल्लो चार महिनामा प्रदेशमा हत्याका घटना शृङ्लाबद्ध भइरहेको सूचि छ । 

मधेस प्रदेश प्रहरीका अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै दुई दर्जन भन्दा बढीको हत्याका घटना भएका छन् । 

मधेस प्रहरीका अनुसार बितेको ४ महिनामा मात्र २६ जनाको हत्या भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ११ गतेसम्मको अवधिमा २६ जनाको हत्या भएको प्रहरी विवरण छ ।  

  • कुन जिल्लाबाट कति ?

प्रदेशका ८ वटै जिल्लाबाट दुई नाबालकसहित २६ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 

यो हत्या लगभग प्रदेशका ८ वटै जिल्लामा घटेको प्रहरी तथ्याङ्कले देखाइरहेको छ । सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका प्रहरी तथ्याङ्क छ । यो जिल्लामा कुल घटनामध्ये ६ जनाको हत्या यही भएको प्रहरी रेकर्डमा उल्लेख छ ।  

त्यसपछि सिराहा, रौतहटमा क्रमशः ४/४ जनाको हत्या गरिएको विवरण छ । यसै गरी सप्तरीमा एक जना बालकसहित २ जनाको हत्या भएको प्रहरी विश्लेषण छ । यही अवधिमा बाराबाट समेत एक बालिकासहित ४ जनाको हत्याका घटना भएका प्रहरी आँकडा छ ।

त्यसपछि महोत्तरी ३, धनुषामा २ जना र पर्सामा १ जना हत्या भएको प्रहरी अभिलेख छ । यी ८ वटै जिल्लामा कूल २६ जनाको हत्या भएको प्रहरी अभिलेखमा उल्लेख छ । 

  • पुरुषको बढी 

गएको चार महिनाको अवधिमा मृत्यु भएकाहरूमध्ये अधिकांश पुरुष रहेको प्रहरी तथ्याङ्कमा देखिएको छ । प्रदेशभरमा चार महिनामा १६ जना पुरुषको हत्या भएको रेकर्ड छ । त्यसपछि दोस्रो नम्बरमा महिलाको हत्या भएको तथ्याङ्क छ । 

चार महिनामा ७ जना महिलाको हत्या गरिएको प्रहरी विवरण छ । साथै २ जना नाबालकको समेत हत्या गरिएको प्रहरी विवरण छ ।  

  • के भन्छ प्रदेश प्रहरी ?

प्रदेशका ८ वटै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन् । ८ वटै जिल्लामा हत्या सम्बन्धी २७ वटा मुद्दा दर्ता भएका मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमध्ये २३ जना पुरुष र ११ जना महिलाको सङ्ख्या छ । कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको प्रदेश प्रहरी प्रमुख लालमणि आचार्य बताउँछन् । 

उनका अनुसार मुख्यतः तीनवटा कारणले हत्याका घटना भइरहेका छन् । रिसिइबी, विवाहेत्तर सम्बन्ध र सानोतिनो झगडामा आवेगमा आएर गरिने प्रहारबाट मूलतः यस्ता घटनाहरू भइरहेको प्रदेश प्रहरी प्रमुख आचार्यको भनाइ छ । 

प्रहरीको अकर्मण्यताले घटना नघटेको प्रदेश प्रहरी प्रमुख आचार्य बताउँछन् । उनी भन्छन्, ‘ यी  घटनाहरूको प्रहरी अनुसन्धानमा त सफलता मिलेको छ, तर सफलता मिल्नुको अर्थ वाहवाही होइन । राम्रो होइन । घटनाले समाज कता गइरहेको छ भन्ने म्यासेज दिइरहेको छ, जुन चिन्ताजनक छ । डरलाग्दो छ ।’ 

यो रोकथामका लागि जनचेतना जगाउन जरुरी रहेको उनको बुझाइ छ । राज्यस्तरबाट आम नागरिकमा जनचेतना जगाउन जरुरी रहेको डिआइजी आचार्य बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप

छुटाउनुभयो कि ?