बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मन्त्री बने ओलीका दुई सपना पूरा गर्न काम गर्छु: श्रेष्ठ

शनिबार, १७ कात्तिक २०८१, १६ : १६
शनिबार, १७ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेकी युवा नेत्री तथा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको संघीय सरकारले राम्रो काम गरेको भएपनि जनतासम्म यथार्थ बुझाउन नसकिएको बताएकी छन् ।

‘१०० दिनमा सरकारले ८० भन्दा बढी राम्रो काम गरेको छ । तर, २० वा १० वटा नराम्रो भयो भनेर नराम्रो भनेर गलत प्रचार गर्ने काम भएको छ’, उनले भनिन्, ‘जतिबेला म प्रधानमन्त्रीको सचिवालयमा थिएँ, त्यतिबेला जसरी भित्रै छिरेर संघीय सरकारको विषयमा भन्न त सक्दिनँ । तर ससाना नराम्रो कुरालाई देखाएर नकारात्मक गर्न खोजिएको मात्रै हो  । सकारात्मक रूपमा हेर्ने हो भने सरकारका राम्रा काम भएका छन् ।’

प्रदेशसभा सदस्य हुनुअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा रहेकी उनले आफू प्रदेश सरकारको मन्त्री भएमा ओलीको दुई वटा सपना पूरा गर्नेतर्फ क्रियाशील हुने पनि बताइन् । 

तिहारपछि कोशी प्रदेश सरकार पुनर्गठन हुने चर्चाका बिच उनले आफू मन्त्री भएमा ओलीका सपनालाई मूर्तरुप दिने गरी सक्रियतापूर्वक काम गर्ने बताएकी हुन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीज्यूका केही सपनाहरू छन् । उहाँका सपनाहरूलाई मूर्तरूप दिने ढङ्गले काममा लाग्छु’, उनले भनिन्, उहाँका पानीजहाज र रेलका दुई सपना छन् । जसअनुसार काकरभिट्टादेखि इनरुवासम्म रेल र कोशी नदीमा नेपालको झन्डा र ओलीको फोटो राखेर चतराबाट नेपालटारसम्म पानी जहाज चलाउने इच्छा छ । मन्त्री बनेमा उनको सपनालाई पूरा गर्न यो काम गर्छु ।’

ओलीका दुई सपनालाई कतिपयले हल्का रूपमा लिँदै उडाउने काम समेत गर्ने गरेको प्रति आफू जानकार रहेको उल्लेख गर्दै श्रेष्ठले  तर आफूलाई ओलीका सपना पुरा गर्न सकिन्छ भन्ने लागेको बताइन् । ‘गरेर छाड्ने भन्ने प्रतिज्ञा गरे यी दुवै सम्भव छ’, श्रेष्ठले भनिन् । त्यो कार्य पर्यटन मन्त्रालयमार्फत गरिने भएकाले आफूले जिम्मेवारी पाएमा गरिछाड्ने प्रतिबद्धता जनाइन् । ‘मलाई अरू मन्त्रालयमा चासो छैन । तर, पर्यटनमन्त्री नै बन्ने र बुबा(ओली)का सपनालाई मूर्तरुप दिने इच्छा छ । धेरैभन्दा धेरै पर्यटकलाई भित्र्याउन सकिने प्रदेश नै कोशी हो । सगरमाथादेखि केचनाकबल यहाँ छ । यहाँ पाथीभरादेखि वराहक्षेत्र यही छ । यति धेरै हामीसँग छ भने हामी पर्यटनको क्षेत्रमा धेरै नै गर्न सक्छौँ ।’

सुरुमा पार्टीले संघीय सांसद बनाउने भनेपनि अन्तिम समयमा  प्रदेशसभा सदस्य बनाइएकी उनलाई त्यतिबेलै  प्रदेश सरकारमा पठाउने भनिएपनि अहिलेसम्म अवसर भने पाउन सकेकी छैनन् । उनले भने पार्टीले जिम्मेवारी दिएमा आफूले सक्रियतापूर्वक काम गर्ने बताउँदै आएकी छन् । 

श्रेष्ठले नेकपा एमाले जनताले रुचाएको र पार्टीगतरुपमा उत्कृष्ट पार्टी भएको दाबी गरिन् ।  ‘हामीले ल्याएको मतका आधारमा पनि र समानुपातिकमा पनि जनताले रुचाएको पार्टी हो । अहिले पार्टीहरूमा वितृष्णा देखिएपनि रुचाएको पार्टी एमाले नै हो । जनताको काममा पार्टी सक्रियतापूर्वक लागेको छ’, उनले थपिन् । 

यस्तै उनले पार्टीका विषयमा कतिपयले अनेक आलोचनासमेत गरेको सुनिएको उल्लेख गर्दै विरोधका लागि मात्रै गरिने विरोधको अर्थ नहुने पनि बताइन् । 

यस्तै उनले रास्वपाका सभापति रवि लामिछानेले आफूले गरेका नराम्रो कर्मको फल भोगिरहेको उल्लेख गर्दै उनका पार्टीका केही व्यक्तिहरूले रविको पक्षमा केही स्टन्ट गर्न खोजेपनि त्यो धेरै समय टिक्न नसक्ने बताइन् । 

‘सरकार र एमालेमाथि जति लाञ्छना लगाएपनि त्यो सरकारबाट बाहिरिनुको छटपटी मात्रै हो’, उनले भनिन् । माओवादीमा पनि सोही किसिमको छटपटी देखिएको उल्लेख गर्दै उनले असल मनसायले भएका कामकारबाहीको विरोध गर्नुको औचित्य नभएको तर्क गरिन् । 

अर्को प्रसङ्गमा उनले कोशीमा एमालेको अवस्था शक्तिशाली रहेको उल्लेख गर्दै बिचमा केही समस्या रहे पनि अब भने सरकार स्थिर भइसकेको बताइन् । ‘हामी प्रदेशमा एमालेबाटै ४० जना छौँ । थोरै सदस्य  नपुगेकाले अरूको पनि सहयोग लिएका छौँ । अहिले सरकार स्थिर छ’, उनले भनिन्, ‘यसका साथै हामीले विकासका कामहरू गरिरहेका छौँ, थप पनि गर्नेछौँ ।'

प्रदेश सुशासन समितिको सचिवालय सदस्य समेत रहेकी उनले अहिले जनतासँग जोडिएर काम गर्दा खुसी लागेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप