कविता
फ्याँकिएका मान्छेहरू
शनिबार, १७ कात्तिक २०८१, १४ : ११
फ्याँकिएका मान्छेहरू
सडक सडकमा लडिरहेछन्
हेरिरहेछन् एकनासले
महँगा कारमा चिप्लिनेहरू
त्यस कार भित्र
कोही व्यापारी’
कोही पदभार सम्हालेका नेता
कोही ज्यू हजुर गर्नेहरू
कोही नेताका आशीर्वाद पाउनेहरू
कुनै दिन तिनै पनि
पैदलै हिँड्थे यही सडकमा
आन्दोलन र विरोध गर्थे
झुन्ड झुन्ड भई यही सडकमा
त्यतिखेर तिनै भन्थे
भ्रष्टाचार गर्नु हुन्न
सरकारी जग्गा मिच्नु हुन्न
सहकारी ठगी गर्नु हुन्न
उद्योगधन्दा मास्नु हुन्न
रोजगारीको सिर्जना हुनुपर्छ
कृषिमा विकाश गर्नुपर्छ
अब अहिले
तिनै के भन्छन्
केही थाहा छैन
फ्याँकिएका मान्छेहरूलाई
किनकि आजका दिन
पैदल हिँडदैनन् तिनीहरू
महँगा कारमा चिप्लिरहन्छन्
पालै पालो धूलो उडाएर
यही सडकमा