शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
कला

‘अ डायरी विथ राम राम’देखि १० कलाकारको काम

शनिबार, १७ कात्तिक २०८१, १४ : ३०
शनिबार, १७ कात्तिक २०८१

अलिक अलग्ग पाराले डिजाइन भएको युवा मूर्तिकार अगम श्रेष्ठको यो एकल कला प्रदर्शनी २९ भदौ (२०८१) मा सुरु भयो, जो यही २९ कात्तिकसम्म चल्नेछ । 

रामानन्दाचार्य महायोगी सिद्धबाबाको बालाजुस्थित धार्मिक आध्यात्मिक भवन (रामारचन भवन)मा चलेको यो कला प्रदर्शनीको नाम अनौठो छ, ‘अ डायरी विथ राम राम’ । 

रामका भक्तजन माझ अजीव ढंगले उद्घाटित भएको यस प्रदर्शनीमा कलाकारले आफ्नो डायरीको पानामा भगवान् रामलाई उतार्न खोजेझैँ लाग्छ । जहाँ असरल्ल जमिनमाथि छरेकाजस्ता भएर कला प्रदर्शित छन् ।

आध्यात्मिक संसारको गुढ रहस्य बताउन, बुझ्न वा बुझाउन मूर्तिकारले कलाको केन्द्रबिन्दुमा राम शब्दलाई प्रयोग गरेका छन् । एउटा काममा डायरीका पानाजस्तो आकृति प्रयोग गरिएको छ । जसमा पुराना कुरालाई मेटाउन खोजेझैँ सेतो मसी (टिपेक्स) लगाएर राम लेखिएको छ । यसो हँुदा चित्र आफैँ टेक्चरले भरिएको अमूर्त कलाजस्तो देखिन्छ । उनका काममा कतै यथार्थ सन्देशलाई प्रत्याभूति गर्न सकिन्छ भने कतै अमूर्त कलामार्फत भाव व्यक्त भएका छन् । कलामा हुनैपर्ने आन्तरिक तत्त्व अनुशासनबद्ध भएर बस्नु अनि धर्म (राम)का सन्देशहरू सोझै देखिने गरी समावेश हुनु पनि उनको थप कलागत विशेषता लाग्छ । 

IMG_20240914_091028

युवा मूर्तिकारमा राम्रो दक्खल बनाइसकेका र कलामा स्नातकोत्तर गरेका अगमले अहिले रातो बंगला स्कुल अनि ललितकला क्याम्पसमा समेत कला पढाउने गर्छन् । अगमले एकताका कला सिर्जनासँगै कला पत्रिका (ललितकला त्रैमासिक) निकाल्ने गर्थे । २०७० माघदेखि निस्कन थालेको यो पत्रिका २०७३ साउनसम्म १२ अंक निस्केर बन्द भएको थियो । ठुलो साइज र आकर्षक डिजाइनका साथ छापिने यो पत्रिका हालसम्म प्रकाशित अन्य कला पत्रिकाभन्दा धेरै हिसाबले अब्बल थियो । 

त्यसयता उनी कला गतिविधिमा त्यति देखिएका थिएनन् । अहिले अचानक मलाई फोन गरी प्रदर्शनीमा बोलाएपछि थोरै अचम्म लागेको थियो । 

आध्यात्मिक संसारको गुढ रहस्य बताउन, बुझ्न वा बुझाउन मूर्तिकारले कलाको केन्द्रबिन्दुमा राम शब्दलाई प्रयोग गरेका छन् । एउटा काममा डायरीका पानाजस्तो आकृति प्रयोग गरिएको छ । जसमा पुराना कुरालाई मेटाउन खोजेझैँ सेतो मसी (टिपेक्स) लगाएर राम लेखिएको छ । यसो हँुदा चित्र आफैँ टेक्चरले भरिएको अमूर्त कलाजस्तो देखिन्छ ।

यस कला प्रदर्शनी उद्घाटनको दिन कलाकार र कलाप्रेमीको अति न्यून उपस्थित थियो । तर बडेमानकोे भगवानको मूर्ति अगाडि पूजाआजा र भजन गरिरहेका भक्तको ठुलो भीड देखिन्थ्यो । छेउमै धार्मिक प्रवचन, धार्मिक अनुष्ठान, होमादि, पूजाआजा हुँदै गरेको देख्दा धर्मको माहोल मात्रै दृष्टिगोचर हुन्थ्यो । 

त्यसदेखि थोरै पर ठुलो समूहमा भक्तहरू भजन गर्दै भक्तिभावमा मस्त भएको देखिन्थ्यो । यहीँ नै स्वामी रामानन्दाचार्यले प्रदर्शनीको उद्घाटन गरे । कलालाई भगवानका भक्तहरूबिच पुर्‍याउने यो अनौठो तरिकामा अगमका स–साना मूर्ति भुइँमै प्रदर्शन गरिएका थिए । अनि केही मूर्तिचाहिँ भित्तामा अडेस लागेर बसेका देखिन्थे । 

e140ccf4-9fdc-414a-adf4-75e4dc97f2e2

अगम गत दश वर्षदेखि निस्लोट भएर रामभक्त बनेका छन् । पहेँलो वस्त्र लगाएर कार्यक्रममा उपस्थित अगम आफ्ना कलाबारे भन्छन्, ‘गहनतम, रहस्यमय, दिव्य र अपार अर्थ बोकेको राम शब्दलाई आत्मसात गर्ने चाहनासँगै यी मूर्ति तयार भएका हुन् । मैले राम नामप्रतिका मेरा भावनालाई आकारमा ल्याउने प्रयास गरेको हुँ ।’ 

यस प्रकारको आध्यात्मिक चिन्तन–मनन गर्ने र स्वामीका प्रवचन निरन्तर सुन्ने उनी हरेक कुराको मूल मुहान रामलाई देख्ने भएका छन् । फलस्वरूप उनका क्यानभासमा तलदेखि माथिसम्म जम्मै रामको अक्षरले भरिएको देखिन्छ । रामका गाथा, ध्यानको अभ्यास आदि–इत्यादि नै उनको कलाको मूल विषय बनेको छ । 

यथार्थपरक मूर्तिहरू स–साना छन्, तथापि प्रत्यक्ष अर्थ दिने खालका छन् । कलाको नाम अनि यसैको थोरै वर्णन समेटिएका अभिलेख पनि छन् । 

IMG_20240914_091229

उनका काममा राम वा धार्मिक भावना विभिन्न रूप र आकृतिमार्फत प्रकटीकरण भएका छन् । एउटा मूर्तिको परिवेश यस्तो छ— एउटा मान्छे ध्यानमा बसेको छ । उसको दुवैतिर ठुल्ठुला लाउड स्पिकर (साउन्डका उपकरण) संयोजन गरिएको छ । कोलाहलले ध्यानी मानिसलाई कुनै फरक पारेको छैन । 

उनका कलामा दर्शकले चरम भक्तिभावलाई सहजै महसुस गर्न सक्छन् । दर्शकलाई अनेक जिज्ञासा र प्रश्न पनि उब्जाउँछन्, यसैले उनका कला कति शक्तिशाली छन् भनेर सहजै आकलन गर्न सकिन्छ । 

उस्तै उनको अर्को काममा सांसारिक कोलाहलबिच शान्त राम नामको महायोगमा एउटा मान्छे देखिन्छ । अर्को छ, उल्लासमय तर बन्धनयुक्त जञ्जालबाट अलग्ग राम नामसँगै आफूलाई खोजिरहेको एउटा मान्छे । अर्को छ, मदारीले नचाएको बाँदरझैँ बाँधिएर नाचिरहनुपरेको अवस्था झल्काउने गरी राम नामसँगै एउटा मान्छे । 

यस्तायस्तै थुप्रै स–साना मूर्तिले प्रदर्शन कक्ष भरिएको छ । राम नामका प्रतापले सेतु पुलका रूपमा जड ढुङ्गाहरू पनि पानीमा तैरन्छन्, आजका हाम्रो जड टाउकाहरू त्यही राम नामले हल्का हुन सक्छन् आदि भाष्य पनि कलासँग जोडेर आउनु रमाइलो नै देखिन्छ । सादृश्यमा ढुङ्गामाथि उभिएका अमूर्त मानव अनि टाउकोमा अर्को गह्रौँ ढुङ्गा बोकेर बसिरहेको दृश्य पनि देखिन्छ ।

मूर्तिकार अगम रामप्रति भावनात्मकतामा निकै नजिक देखिन्छन् । कलागत संरचना, पात्रहरूको चयन अनि प्रस्तुतिले भावकलाई उनका कलामा निर्लिप्त हुन बाध्यजस्तो गराउँछ ।   

  • अमृतका भावकसँगको मिलोमतोमा बनेको पर्फर्मेन्स कला 

भर्खरै (गत असोज १–५ गतेसम्म) आर्ट काउन्सिलमा युवा कलाकार अमृत कार्कीले अचम्मको पर्फर्मेन्स कलालाई प्रस्तुत गरे । पाँच दिनसम्म एउटै विषय एउटै स्वरूप तर फरक–फरक दृश्यले भावकलाई मिठो स्वाद पस्केको थियो । 

कलाकार अचल बसेर टाउकोबाट पानी खन्याइनु पनि अद्भुत पर्फर्मेन्स देखिन्थ्यो । 

चारपाटे पिँजडा आकारको तर खुला ठुलो भाँडो बनाएको छ, जसको चारैतिरबाट तामामै डन्डी घुमाएर माथितिर लगी त्यहाँ एउटा तामाकै भाँडो अड्याइएको छ, जसमा माथिबाट पानी खनाउँदा चुहिन्छ । त्यसको ठिक तल अचल अवस्थामा कलाकार बसेका छन् । भावकले छेउबाट भर्‍याङ चढेर पानी खन्याउँदा कलाकारको टाउकोमाथि चुहिन्छ । नजिकै तामाकै भाँडोमा पानी राखिएको छ । भावक यस कलामा संलग्न भएर कलाकै एक भाग बनेको दृश्य पनि रमाइलो नै देखिन्थ्यो ।  यस कामको नाम ‘ह्वाट यु गिभन मी आई सेट फ्री फरेभर’ राखिएको थियो । 

पाँच दिनसम्म विभिन्न रङको पानी कलाकारमाथि खन्याइएको थियो । पाँच दिनसम्म हरेक दिन १२ देखि ६ बजेसम्म यस प्रकारको पर्फम भइरहेको थियो । हरेक दिन भिन्दाभिन्दैे रङले रंगाएको वस्त्रलाई साँझमा त्यहीँ लहरै झुन्डाएर राखिएको थियो । पछिल्लो दिनसम्म आइपुग्दा यसरी राखिएका वस्त्र स्वयंमै इन्स्टलेसन कलाको रूपमा परिणत भएको देखिन्थ्यो । 

भावकले खन्याएको पानीलाई कलाकारले बिना कुनै प्र्रतिक्रिया ग्रहण गरिरहेका थिए । सफा पानीजस्तो मानिस समाजबाट विभिन्न रङ लिएर बिस्तारै आफू पनि विभिन्न रङमा बदलिँदै गएको भान हुने यस कामले निकै गम्भीर दर्शन भन्न खोजेझैँ लाग्थ्यो ।

यो प्रस्तुति तस्बिर वा भिडियोमा मात्रै रहन्छ । यो अस्थायी कला हो । यस्तो प्रस्तुति पुनः गर्दा पनि ठाउँ, परिस्थति र पात्र (भावक)हरु बदलिएका हुन्छन् ।

IMG_20240927_133254

  • ‘कनेक्सन अफ थट’ 

भर्खरै (गत सेप्टेम्बर १–२५ तारिखसम्म) क्लासिक ग्यालरीमा १० जना नवयुवा कलाकारको ‘कनेक्सन अफ् थट’ नामक समूहगत कला प्रदर्शनी सम्पन्न भयो । दश कलाकार थिए— अनुज श्रेष्ठ, ओजस्वी श्रेष्ठ, शर्मिला देवी तामाङ, शरण तण्डुकार, याम्बाङ थापा मगर, सुजनवीर बज्राचार्य, समना नाछिरिङ राई, सुदन श्रेष्ठ, हिसिला महर्जन ।

नितान्त नौलो ढंगबाट सबैजसो कलाकारले कन्सेप्चुल आर्टलाई प्रस्तुत गरेका थिए ।  

IMG_20240914_091456

आफ्नै गुँडमा शान्त रूपमा बसेका चरालाई शर्मिलाले आफ्नो क्यानभासमा उतारेकी छिन् । यो उनको सुखानुभूति वा दुखेसो जे पनि हुन सक्छ । तथापि तारको गोलाकारभित्र आफू हँुदा वा देखिँदा (चराको रुपमा आफैँ) कताकता स्वतन्त्रता खोजेकोेजस्तो पनि देखिन्छ । अर्कोतिर आफैँले बनाएको गुँड आफ्नै घरजस्तो भएको पनि अनुभूत गराउँछ ।

देवताको अस्तित्वमाथि अनेकौँ गोलाकार रेखाहरू उब्जाएर आफू त्यहीँभित्र हुनुको सन्दर्भमा आफैँलाई खोजेजस्तो पारामा शरणका चित्र देखापरेका छन् । क्यानभासमा आफूलाई उभ्याएर उनले आफ्नै दर्शन व्यक्त गर्न खोजेका छन् । ‘गड्स इन् मी’ नाम दिएर सिरिजमै उनले काम गरेका छन् ।

पाँचवटा शिरहरू, गहिरो ध्यान आदिबाट उत्पत्ति भएको महात्मा बुद्ध सम्मिलित उनको एउटा अद्भूत काम देखिन्छ । यसैमा कल्पना पनि थपिँदा सिर्जना भएको परिदृश्यले थप अलौकिक वातावरण सिर्जना गरेको देखिन्छ । यसमा उनले आफ्नो वर्तमानलाई अतीतसँग जोड्न खोजेको बुझिन्छ । परम्परागत चित्रमा हुने गरेको मोटिफ (बुट्टालाई टेक्चरको रूपमा)सँग उनले हातेमालो गर्न खोजेको देखिन्छ ।

 

IMG_20240927_133231

हिसिलाले आफ्नो चित्रमा कालो अँध्यारोमा उज्यालो झिल्कालाई प्रवेश गराउँदै थुप्रै कुरा भन्न खोजेकी छन् । 

सुदनले नेवारी संस्कृति र संस्कारलाई सुपररियालिस्टिक शैलीमा छर्लङ्गै उघार्न सक्षम भएका छन् । विशेष गरी नेवारी समुदायमा जन्मदिनका बेलामा गर्ने संस्कारमा प्रयोग हुने माछा, फलफूल अनि रक्सी आदि उनका चित्रमा समावेश भएको देखिन्छ । उनी आफ्ना चित्रमार्फत आफूले बच्चैदेखि देख्दै आएको संस्कारसँग कनेक्ट हुन खोजेको देखिन्छ । 

समना राई सामान्य दृश्यचित्रका साथ आएकी छन् । उडकट माध्यम (प्रिन्ट मेकिङ कला) बाट दृश्यचित्रमा पनि उनले समसामयिक प्रवृत्तिलाई गाँसेर आफ्ना विगत र भोगाइहरु व्यक्त गरेकी छन् । 

यस्तै, दृश्यचित्रलाई बलियो रेखाहरूले एउटा गतिलो रूप दिँदै घर र यसका अवयवलाई जतनसँग खेलाउन रहरका साथ देखापरेकी छिन् ओजस्वी । उनी मूलतः आर्किटेक्ट इन्जिनियरकी विद्यार्थी हुँदा पनि यस्ता अवयवलाई कलामा ल्याउनु स्वाभाविक देखिन्छ  । 

सोनामले आफ्ना चित्रमा आफ्नै समुदायको वेशभूषा, लवाइ आदिलाई उतारेका छन् । 

याम्बाङले आफ्नो दृश्य चित्रमा सुनसान र शान्त वातावरण ल्याउन खोजेका छन् । 

IMG_20240927_133054

यस्तै अनुज खेलाडीको एक पात्रका साथ देखापरेका छन् । जुन पात्र एकताका ज्यादै पपुलर थियो, अहिले गुमनाम छ भन्ने उनको चित्रमा आएको छ । आफ्नो कलालाई पपआर्ट भन्न रुचाउने अनुजको साधारण व्यक्तिचित्र देखिन्छ । तथापि अनेकौँ भाव र विचारले ओतप्रोत भएको देखिनु उनको कलागत लक्षण हो । 

समष्टिमा सबैको कलाहरू एक प्रकारले अब्बल रूपमा देखापरेका छन् । कतै न कतै सबैले आफ्ना कलामा अतीतलाई जोडेका छन् । आधुनिक अनि अत्याधुनिक कलाका स–साना तत्त्वलाई समायोजन गरी मिहिनेत र एउटा खास अवधारणालाई लिएर कला बन्न पुगेको देखिन्छ, सबैको हकमा । हिजोआजका विशेष गरेर नवयुवा कलाकारमा देखिने कलागत प्रवृत्ति नै हो यो । 

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप