‘अ डायरी विथ राम राम’देखि १० कलाकारको काम
अलिक अलग्ग पाराले डिजाइन भएको युवा मूर्तिकार अगम श्रेष्ठको यो एकल कला प्रदर्शनी २९ भदौ (२०८१) मा सुरु भयो, जो यही २९ कात्तिकसम्म चल्नेछ ।
रामानन्दाचार्य महायोगी सिद्धबाबाको बालाजुस्थित धार्मिक आध्यात्मिक भवन (रामारचन भवन)मा चलेको यो कला प्रदर्शनीको नाम अनौठो छ, ‘अ डायरी विथ राम राम’ ।
रामका भक्तजन माझ अजीव ढंगले उद्घाटित भएको यस प्रदर्शनीमा कलाकारले आफ्नो डायरीको पानामा भगवान् रामलाई उतार्न खोजेझैँ लाग्छ । जहाँ असरल्ल जमिनमाथि छरेकाजस्ता भएर कला प्रदर्शित छन् ।
आध्यात्मिक संसारको गुढ रहस्य बताउन, बुझ्न वा बुझाउन मूर्तिकारले कलाको केन्द्रबिन्दुमा राम शब्दलाई प्रयोग गरेका छन् । एउटा काममा डायरीका पानाजस्तो आकृति प्रयोग गरिएको छ । जसमा पुराना कुरालाई मेटाउन खोजेझैँ सेतो मसी (टिपेक्स) लगाएर राम लेखिएको छ । यसो हँुदा चित्र आफैँ टेक्चरले भरिएको अमूर्त कलाजस्तो देखिन्छ । उनका काममा कतै यथार्थ सन्देशलाई प्रत्याभूति गर्न सकिन्छ भने कतै अमूर्त कलामार्फत भाव व्यक्त भएका छन् । कलामा हुनैपर्ने आन्तरिक तत्त्व अनुशासनबद्ध भएर बस्नु अनि धर्म (राम)का सन्देशहरू सोझै देखिने गरी समावेश हुनु पनि उनको थप कलागत विशेषता लाग्छ ।
युवा मूर्तिकारमा राम्रो दक्खल बनाइसकेका र कलामा स्नातकोत्तर गरेका अगमले अहिले रातो बंगला स्कुल अनि ललितकला क्याम्पसमा समेत कला पढाउने गर्छन् । अगमले एकताका कला सिर्जनासँगै कला पत्रिका (ललितकला त्रैमासिक) निकाल्ने गर्थे । २०७० माघदेखि निस्कन थालेको यो पत्रिका २०७३ साउनसम्म १२ अंक निस्केर बन्द भएको थियो । ठुलो साइज र आकर्षक डिजाइनका साथ छापिने यो पत्रिका हालसम्म प्रकाशित अन्य कला पत्रिकाभन्दा धेरै हिसाबले अब्बल थियो ।
त्यसयता उनी कला गतिविधिमा त्यति देखिएका थिएनन् । अहिले अचानक मलाई फोन गरी प्रदर्शनीमा बोलाएपछि थोरै अचम्म लागेको थियो ।
आध्यात्मिक संसारको गुढ रहस्य बताउन, बुझ्न वा बुझाउन मूर्तिकारले कलाको केन्द्रबिन्दुमा राम शब्दलाई प्रयोग गरेका छन् । एउटा काममा डायरीका पानाजस्तो आकृति प्रयोग गरिएको छ । जसमा पुराना कुरालाई मेटाउन खोजेझैँ सेतो मसी (टिपेक्स) लगाएर राम लेखिएको छ । यसो हँुदा चित्र आफैँ टेक्चरले भरिएको अमूर्त कलाजस्तो देखिन्छ ।
यस कला प्रदर्शनी उद्घाटनको दिन कलाकार र कलाप्रेमीको अति न्यून उपस्थित थियो । तर बडेमानकोे भगवानको मूर्ति अगाडि पूजाआजा र भजन गरिरहेका भक्तको ठुलो भीड देखिन्थ्यो । छेउमै धार्मिक प्रवचन, धार्मिक अनुष्ठान, होमादि, पूजाआजा हुँदै गरेको देख्दा धर्मको माहोल मात्रै दृष्टिगोचर हुन्थ्यो ।
त्यसदेखि थोरै पर ठुलो समूहमा भक्तहरू भजन गर्दै भक्तिभावमा मस्त भएको देखिन्थ्यो । यहीँ नै स्वामी रामानन्दाचार्यले प्रदर्शनीको उद्घाटन गरे । कलालाई भगवानका भक्तहरूबिच पुर्याउने यो अनौठो तरिकामा अगमका स–साना मूर्ति भुइँमै प्रदर्शन गरिएका थिए । अनि केही मूर्तिचाहिँ भित्तामा अडेस लागेर बसेका देखिन्थे ।
अगम गत दश वर्षदेखि निस्लोट भएर रामभक्त बनेका छन् । पहेँलो वस्त्र लगाएर कार्यक्रममा उपस्थित अगम आफ्ना कलाबारे भन्छन्, ‘गहनतम, रहस्यमय, दिव्य र अपार अर्थ बोकेको राम शब्दलाई आत्मसात गर्ने चाहनासँगै यी मूर्ति तयार भएका हुन् । मैले राम नामप्रतिका मेरा भावनालाई आकारमा ल्याउने प्रयास गरेको हुँ ।’
यस प्रकारको आध्यात्मिक चिन्तन–मनन गर्ने र स्वामीका प्रवचन निरन्तर सुन्ने उनी हरेक कुराको मूल मुहान रामलाई देख्ने भएका छन् । फलस्वरूप उनका क्यानभासमा तलदेखि माथिसम्म जम्मै रामको अक्षरले भरिएको देखिन्छ । रामका गाथा, ध्यानको अभ्यास आदि–इत्यादि नै उनको कलाको मूल विषय बनेको छ ।
यथार्थपरक मूर्तिहरू स–साना छन्, तथापि प्रत्यक्ष अर्थ दिने खालका छन् । कलाको नाम अनि यसैको थोरै वर्णन समेटिएका अभिलेख पनि छन् ।
उनका काममा राम वा धार्मिक भावना विभिन्न रूप र आकृतिमार्फत प्रकटीकरण भएका छन् । एउटा मूर्तिको परिवेश यस्तो छ— एउटा मान्छे ध्यानमा बसेको छ । उसको दुवैतिर ठुल्ठुला लाउड स्पिकर (साउन्डका उपकरण) संयोजन गरिएको छ । कोलाहलले ध्यानी मानिसलाई कुनै फरक पारेको छैन ।
उनका कलामा दर्शकले चरम भक्तिभावलाई सहजै महसुस गर्न सक्छन् । दर्शकलाई अनेक जिज्ञासा र प्रश्न पनि उब्जाउँछन्, यसैले उनका कला कति शक्तिशाली छन् भनेर सहजै आकलन गर्न सकिन्छ ।
उस्तै उनको अर्को काममा सांसारिक कोलाहलबिच शान्त राम नामको महायोगमा एउटा मान्छे देखिन्छ । अर्को छ, उल्लासमय तर बन्धनयुक्त जञ्जालबाट अलग्ग राम नामसँगै आफूलाई खोजिरहेको एउटा मान्छे । अर्को छ, मदारीले नचाएको बाँदरझैँ बाँधिएर नाचिरहनुपरेको अवस्था झल्काउने गरी राम नामसँगै एउटा मान्छे ।
यस्तायस्तै थुप्रै स–साना मूर्तिले प्रदर्शन कक्ष भरिएको छ । राम नामका प्रतापले सेतु पुलका रूपमा जड ढुङ्गाहरू पनि पानीमा तैरन्छन्, आजका हाम्रो जड टाउकाहरू त्यही राम नामले हल्का हुन सक्छन् आदि भाष्य पनि कलासँग जोडेर आउनु रमाइलो नै देखिन्छ । सादृश्यमा ढुङ्गामाथि उभिएका अमूर्त मानव अनि टाउकोमा अर्को गह्रौँ ढुङ्गा बोकेर बसिरहेको दृश्य पनि देखिन्छ ।
मूर्तिकार अगम रामप्रति भावनात्मकतामा निकै नजिक देखिन्छन् । कलागत संरचना, पात्रहरूको चयन अनि प्रस्तुतिले भावकलाई उनका कलामा निर्लिप्त हुन बाध्यजस्तो गराउँछ ।
- अमृतका भावकसँगको मिलोमतोमा बनेको पर्फर्मेन्स कला
भर्खरै (गत असोज १–५ गतेसम्म) आर्ट काउन्सिलमा युवा कलाकार अमृत कार्कीले अचम्मको पर्फर्मेन्स कलालाई प्रस्तुत गरे । पाँच दिनसम्म एउटै विषय एउटै स्वरूप तर फरक–फरक दृश्यले भावकलाई मिठो स्वाद पस्केको थियो ।
कलाकार अचल बसेर टाउकोबाट पानी खन्याइनु पनि अद्भुत पर्फर्मेन्स देखिन्थ्यो ।
चारपाटे पिँजडा आकारको तर खुला ठुलो भाँडो बनाएको छ, जसको चारैतिरबाट तामामै डन्डी घुमाएर माथितिर लगी त्यहाँ एउटा तामाकै भाँडो अड्याइएको छ, जसमा माथिबाट पानी खनाउँदा चुहिन्छ । त्यसको ठिक तल अचल अवस्थामा कलाकार बसेका छन् । भावकले छेउबाट भर्याङ चढेर पानी खन्याउँदा कलाकारको टाउकोमाथि चुहिन्छ । नजिकै तामाकै भाँडोमा पानी राखिएको छ । भावक यस कलामा संलग्न भएर कलाकै एक भाग बनेको दृश्य पनि रमाइलो नै देखिन्थ्यो । यस कामको नाम ‘ह्वाट यु गिभन मी आई सेट फ्री फरेभर’ राखिएको थियो ।
पाँच दिनसम्म विभिन्न रङको पानी कलाकारमाथि खन्याइएको थियो । पाँच दिनसम्म हरेक दिन १२ देखि ६ बजेसम्म यस प्रकारको पर्फम भइरहेको थियो । हरेक दिन भिन्दाभिन्दैे रङले रंगाएको वस्त्रलाई साँझमा त्यहीँ लहरै झुन्डाएर राखिएको थियो । पछिल्लो दिनसम्म आइपुग्दा यसरी राखिएका वस्त्र स्वयंमै इन्स्टलेसन कलाको रूपमा परिणत भएको देखिन्थ्यो ।
भावकले खन्याएको पानीलाई कलाकारले बिना कुनै प्र्रतिक्रिया ग्रहण गरिरहेका थिए । सफा पानीजस्तो मानिस समाजबाट विभिन्न रङ लिएर बिस्तारै आफू पनि विभिन्न रङमा बदलिँदै गएको भान हुने यस कामले निकै गम्भीर दर्शन भन्न खोजेझैँ लाग्थ्यो ।
यो प्रस्तुति तस्बिर वा भिडियोमा मात्रै रहन्छ । यो अस्थायी कला हो । यस्तो प्रस्तुति पुनः गर्दा पनि ठाउँ, परिस्थति र पात्र (भावक)हरु बदलिएका हुन्छन् ।
- ‘कनेक्सन अफ थट’
भर्खरै (गत सेप्टेम्बर १–२५ तारिखसम्म) क्लासिक ग्यालरीमा १० जना नवयुवा कलाकारको ‘कनेक्सन अफ् थट’ नामक समूहगत कला प्रदर्शनी सम्पन्न भयो । दश कलाकार थिए— अनुज श्रेष्ठ, ओजस्वी श्रेष्ठ, शर्मिला देवी तामाङ, शरण तण्डुकार, याम्बाङ थापा मगर, सुजनवीर बज्राचार्य, समना नाछिरिङ राई, सुदन श्रेष्ठ, हिसिला महर्जन ।
नितान्त नौलो ढंगबाट सबैजसो कलाकारले कन्सेप्चुल आर्टलाई प्रस्तुत गरेका थिए ।
आफ्नै गुँडमा शान्त रूपमा बसेका चरालाई शर्मिलाले आफ्नो क्यानभासमा उतारेकी छिन् । यो उनको सुखानुभूति वा दुखेसो जे पनि हुन सक्छ । तथापि तारको गोलाकारभित्र आफू हँुदा वा देखिँदा (चराको रुपमा आफैँ) कताकता स्वतन्त्रता खोजेकोेजस्तो पनि देखिन्छ । अर्कोतिर आफैँले बनाएको गुँड आफ्नै घरजस्तो भएको पनि अनुभूत गराउँछ ।
देवताको अस्तित्वमाथि अनेकौँ गोलाकार रेखाहरू उब्जाएर आफू त्यहीँभित्र हुनुको सन्दर्भमा आफैँलाई खोजेजस्तो पारामा शरणका चित्र देखापरेका छन् । क्यानभासमा आफूलाई उभ्याएर उनले आफ्नै दर्शन व्यक्त गर्न खोजेका छन् । ‘गड्स इन् मी’ नाम दिएर सिरिजमै उनले काम गरेका छन् ।
पाँचवटा शिरहरू, गहिरो ध्यान आदिबाट उत्पत्ति भएको महात्मा बुद्ध सम्मिलित उनको एउटा अद्भूत काम देखिन्छ । यसैमा कल्पना पनि थपिँदा सिर्जना भएको परिदृश्यले थप अलौकिक वातावरण सिर्जना गरेको देखिन्छ । यसमा उनले आफ्नो वर्तमानलाई अतीतसँग जोड्न खोजेको बुझिन्छ । परम्परागत चित्रमा हुने गरेको मोटिफ (बुट्टालाई टेक्चरको रूपमा)सँग उनले हातेमालो गर्न खोजेको देखिन्छ ।
हिसिलाले आफ्नो चित्रमा कालो अँध्यारोमा उज्यालो झिल्कालाई प्रवेश गराउँदै थुप्रै कुरा भन्न खोजेकी छन् ।
सुदनले नेवारी संस्कृति र संस्कारलाई सुपररियालिस्टिक शैलीमा छर्लङ्गै उघार्न सक्षम भएका छन् । विशेष गरी नेवारी समुदायमा जन्मदिनका बेलामा गर्ने संस्कारमा प्रयोग हुने माछा, फलफूल अनि रक्सी आदि उनका चित्रमा समावेश भएको देखिन्छ । उनी आफ्ना चित्रमार्फत आफूले बच्चैदेखि देख्दै आएको संस्कारसँग कनेक्ट हुन खोजेको देखिन्छ ।
समना राई सामान्य दृश्यचित्रका साथ आएकी छन् । उडकट माध्यम (प्रिन्ट मेकिङ कला) बाट दृश्यचित्रमा पनि उनले समसामयिक प्रवृत्तिलाई गाँसेर आफ्ना विगत र भोगाइहरु व्यक्त गरेकी छन् ।
यस्तै, दृश्यचित्रलाई बलियो रेखाहरूले एउटा गतिलो रूप दिँदै घर र यसका अवयवलाई जतनसँग खेलाउन रहरका साथ देखापरेकी छिन् ओजस्वी । उनी मूलतः आर्किटेक्ट इन्जिनियरकी विद्यार्थी हुँदा पनि यस्ता अवयवलाई कलामा ल्याउनु स्वाभाविक देखिन्छ ।
सोनामले आफ्ना चित्रमा आफ्नै समुदायको वेशभूषा, लवाइ आदिलाई उतारेका छन् ।
याम्बाङले आफ्नो दृश्य चित्रमा सुनसान र शान्त वातावरण ल्याउन खोजेका छन् ।
यस्तै अनुज खेलाडीको एक पात्रका साथ देखापरेका छन् । जुन पात्र एकताका ज्यादै पपुलर थियो, अहिले गुमनाम छ भन्ने उनको चित्रमा आएको छ । आफ्नो कलालाई पपआर्ट भन्न रुचाउने अनुजको साधारण व्यक्तिचित्र देखिन्छ । तथापि अनेकौँ भाव र विचारले ओतप्रोत भएको देखिनु उनको कलागत लक्षण हो ।
समष्टिमा सबैको कलाहरू एक प्रकारले अब्बल रूपमा देखापरेका छन् । कतै न कतै सबैले आफ्ना कलामा अतीतलाई जोडेका छन् । आधुनिक अनि अत्याधुनिक कलाका स–साना तत्त्वलाई समायोजन गरी मिहिनेत र एउटा खास अवधारणालाई लिएर कला बन्न पुगेको देखिन्छ, सबैको हकमा । हिजोआजका विशेष गरेर नवयुवा कलाकारमा देखिने कलागत प्रवृत्ति नै हो यो ।
(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)