अमेरिकाको सामना गर्दै नेपाल, जीतको लय कायम राख्ने लक्ष्य
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले शनिबार राति आफ्नो तेस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ ।
नेपाल र अमेरिकाबिचको खेल नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । जारी शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ८६ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाएर दुई सय ९१ रन बनाउँदै जित हासिल गरेको थियो ।
दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा मात्र ५ विकेटको क्षतिमा पछ्याएको थियो ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले हालसम्म गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । अमेरिकामा जारी लिग–२ शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।
अब नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ ।
लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अङ्ग होइन । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरूबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ ।
लिग–२ शृङ्खलाको अङ्क तालिकामा नेपालको अवस्था सन्तोषजनक छैन । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । ११ खेल खेलेको अमेरिका १४ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
१० खेल खेलेको स्कटल्यान्ड १३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
आठ खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित चौथो स्थानमा छ । १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौँ स्थानमा छ । ९ खेल खेलेको ओमान ८ अङ्कसहित छैटौँ स्थानमा छ ।
यसैगरी, १० खेल खेलेको नेपाल ५ अङ्कसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ । नेपाली टोली सात खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । ८ खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अङ्कसहित आठौँ स्थानमा छ ।
जारी लिग–२ को दोस्रो संस्करणमा नेपालका लागि यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुवै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।
त्यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । आफ्नो तेस्रो खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको थियो ।
यसैगरी, आफ्नो अन्तिम खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित गरेको थियो । समग्रमा त्यो शृङ्खला नामिबियाका लागि निकै फलदायी सिद्ध भएको थियो । नामिबियाले आफूले खेलेको चार खेलबाट ६ अङ्क बटुलेको थियो ।
नेपालले आफ्नो दोस्रो शृङ्खला गत सेप्टेम्बरमा क्यानडामा खेलेको थियो । उक्त शृङ्खलामा नेपाल, क्यानडा र ओमान सहभागी थिए । आफ्नो दोस्रो शृङ्खलामा पनि नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रहेको थियो ।
क्यानडामा खेलिएको शृङ्खलाबाट नेपालले एक अङ्कमात्र जोड्न सक्यो । त्यो पनि अन्तिम खेल रद्द भएकाले । त्यो शृङ्खलामा नेपाली टोली आफ्नो पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो । शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाली टोली क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । नेपाल र ओमानबिचको चौथो खेल भने वर्षाका कारण रद्द भएको थियो । दुवै टोलीले एक–एक अङ्क हात पारेका थिए ।
अमेरिका भ्रमणमा खेलिने लिग–२ प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त क्यानले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई पनि टोलीको मेन्टरका रूपमा नियुक्त गरेको छ ।
पुबुदु पनि लिग–२ शृङ्खलाका लागि हाल नेपाली टोलीसँगै अमेरिकामा रहेका छन् । उनी नेपाली टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ