आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

शनिबार, १७ कात्तिक २०८१, ०८ : ०७
शनिबार, १७ कात्तिक २०८१

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ । 

कृषकले प्रत्येक शुक्रबार आफूले उत्पादन गरेका कृषिउपज बिक्री वितरणका हाटबजारमा ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि सामाग्री किन्न पाइएला भनेर कुर्छन् । गत वर्षको फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामान बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ । 

आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले हाटबजार आँबुखैरेनीको पहिचान बनिसकेको बताए । उनले भने, “उपभोक्ताहरू कहिले शुक्रबार आउँछ र गाउँबाट आएका ताजा सामग्री किन्न पाइन्छ भनेर बस्नुहुन्छ । हाटबजारले कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ ।”

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ । 

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक सुकमाया चेपाङ हाटबजार कृषि सामाग्री बजारीकरणका लागि सहयोगी बनेको बताउँछिन् । “अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेका छौँ । सहज रूपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ । मैले गिठा, भ्याकुर, चिउरीलगायतका कृषिउपज बिक्री गर्ने गरेकी छु”, उनले सुनाइन् । 

छिम्केश्वरीकै कृषक सुकबहादुर गुरुङले हाटबजारमार्फत् महले बजार पाएको बताउनुभयो । उनले भने, “मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै खोसाखोस हुन्छ । बरु उत्पादन पो बढाउन सकिएको छैन ।” 

गाउँपालिकाले सञ्चालन गरेकायो बजार कृषकको सहयोगी बनेको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाभित्रका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने चुमानको भनाइ छ । 

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उनले जानकारी दिए । यसले गर्दा कृषकलाई कृषि पेसामा लागिराख्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप