नेपाल संवत्को नालीबेली

अन्ततः नेपाल संवत्को नयाँ वर्ष ११४४ को पूर्वसन्ध्या सन् २०२३ नोभेम्बर १३ मा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्री परिषद्ले नेपाल सरकारका सबै आधिकारिक कागजात र कामकाजमा नेपाल संवत् तिथिहरू प्रयोग गर्ने निर्णयको घोषणा गर्यो ।
सन् २००८ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डको नेतृत्वकै मन्त्री परिषद्ले नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा पनि गरेका थिए । नेपाल संवत् आन्दोलनका अभियन्ताले यो निर्णयप्रति खुसी व्यक्त गरेका छन्, तर व्यवहारमा यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै हेर्न बाँकी छ । यसका साथै नेपाल संवत्लाई उपयुक्त र व्यावहारिक ढंगले कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पञ्चाङ्ग समिति र नेवा संघ–संस्थाबिच छलफल पनि हुँदै गएको छ । यो पनि उल्लेखनीय नै छ कि केही समय अघिदेखि नै दुईवटा सरकारी दैनिक पत्रिका ( गोरखापत्र र द राइजिङ नेपाल) साथै अरू धेरै निजी क्षेत्रका पत्रपत्रिकाले पनि आफ्ना प्रकाशनमा विक्रम र क्रिस्चियन ईस्वी संवत्सँगै नेपाल संवत्को पनि उल्लेख गर्दै आइरहेका छन् ।
- पृष्ठभूमि
नेपाली जनताले वर्षमा धेरैपटक नयाँ वर्ष मनाउने गर्छन् । नेपाल सरकारले भने विक्रम संवत्को वैशाखको पहिलो दिनलाई नयाँ वर्ष फेरिएको रूपमा मनाउने गरेको छ ।
अक्टोबर वा नोभेम्बरमा मनाइने नेपाल संवत्को नयाँ वर्षको उत्सव पछिल्ला वर्षमा काठमाडौँ उपत्यका र देशैभरि र देशबाहिर समेत भव्यताका साथ मनाइँदै आइएको छ ।
यस्तै, गुरुङ, तामाङ र शेर्पाजस्ता तिब्बती–बर्मन र मङ्गोल मूलका मानिसले आफ्नो नयाँ वर्षको चाड तोला वा तमु ल्होसार (डिसेम्बर/जनवरी), सोनाम ल्होसार (जनवरी/फेब्रुअरी) र ग्याल्पो ल्होसार (फेब्रुअरी/मार्च) तिर मनाउँछन् । तराईका थारु समुदायले माघ महिनाको पहिलो दिनमा नयाँ वर्ष वा माघी मनाउँछन् । त्यसैगरी नेपालमा मुस्लिम धर्मावलम्बीहरूले हिजरी संवत्अनुसार नयाँ वर्ष मनाउने गर्छन् ।
पछिल्लो समय नेपालका किरात वा राई र लिम्बुहरूले पनि येले संवत्को नयाँ वर्ष मनाउन थालेका छन् । आजकल नेपालमा कतिपय मानिसले जनवरीको पहिलो दिन ग्रेगोरियन संवत्को नयाँ वर्ष पनि मनाउन थालेका छन् ।
नेपाल संवत् पात्रो नेपालमा यसको स्थापनादेखि १७६९ ईस्वीमा गोरखा विजयको सुरुवातसम्म ८८८ वर्ष अनवरत प्रचलनमा थियो तर गोरखा विजयलगत्तै शाह राजाहरूले नेपाल संवत्लाई शक वा विक्रम संवत्ले प्रतिस्थापन गर्न थाले । शक र विक्रमसँगै नेपाल संवत्को प्रयोग भने जारी रह्यो । उदाहरणका लागि— पृथ्वीनारायण शाहको उत्तराधिकारी प्रतापसिंह शाहको शासनकालमा नेपाल र तिब्बतबिच भएको सन्धिमा नेपाल संवत् पात्रो प्रयोग भयो । तिनीहरूका सबै उत्तराधिकारीले मूल रूपमा शिलालेख वा ताम्रपत्र वा आधिकारिक कागजातमा शक वा विक्रम संवत्को प्रयोग गरे तर धेरै उदाहरणमा उनीहरूले नेपाल संवत्लाई पनि प्रयोग गरे (शाहकालका अभिलेख, धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र १९८०) ।
सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सबै सरकारी प्रयोजनका लागि चन्द्रमासमा आधारित तिथि पात्रोलाई विस्थापित गरी सौर्यमासमा आधारित विक्रम संवत्को मिति लागु गरेका थिए । नेपाल संवत्सँग लामो प्रमाणित इतिहास भए पनि विदेशबाट आयातीत विक्रम संवत्ले उनीहरूको दैनिक जीवनमा प्रभुत्व जमाउन थाल्यो र धेरै नेपाली नेपाल संवत्बारे अनभिज्ञ हुन पुगे । यो सबै गत एक शताब्दी वा सोभन्दा कम अवधिमा भयो । यसले देखाउँछ— राज्य शक्तिले चाहेमा देशको संस्कृति र परम्परालाई कसरी ओझेलमा पार्न सक्छ भन्ने ।
विगत केही दशकदेखि नेपालका जनता, विशेषगरी काठमाडौँ उपत्यकाका नेवारले नेपाल संवत्लाई राष्ट्रिय पात्रोका रूपमा मान्यता दिनुपर्ने माग गर्दै राष्ट्रव्यापी अभियान थालेका थिए । राजाको प्रत्यक्ष शासन रहेको पञ्चायत काल (१९६०–१९९०)मा यस आह्वानलाई पुरै बेवास्ता गरियो ।
नेपाल संवत्को आन्दोलन नेवारहरूले उठाएका कारण कतिपयले नेपाल संवत्लाई ‘नेवार’ वा ‘नेवारी’ संवत्को संज्ञासम्म दिन थाले तर नेपाल संवत्को मान्यताको मागले वर्षैपिच्छे गति लिन थाल्यो । विक्रम संवत्को उत्पत्ति प्राचीन भारतमा भएको हो तर नेपाल संवत्को उत्पत्ति नेपालमै भएकाले र नाममा ‘नेपाल जोडिएकाले यसलाई मान्यताको दिनुपर्ने दबाब बढ्न थाल्यो ।
सन् १९९९ मा शंखधर साख्वालाई नेपालको ’राष्ट्रिय विभूति’ घोषणा गरेपछि नेपाल संवत्ले नयाँ हैसियत प्राप्त गरेको भन्न सकिन्छ । नेपाल गणतन्त्र बनेपछि बनेको पहिलो सरकारको प्रधामन्त्रीको हैसियतले प्रचण्डले सन् २००८ मा मात्र यस संवत्को नयाँ वर्ष ११२९ को समारोहमा पुगेर आफ्नो क्याबिनेटले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको निर्णय भएको घोषणा गरे । तथापि त्यसपछि पनि तत्काल सरकारले कुनै पनि आधिकारिक कारोबारमा नेपाल संवत्लाई प्रयोगमा ल्याउन सकेन । त्यसैले नेपाल संवत् आन्दोलनमा सक्रिय व्यक्तिहरू त्यस घोषणाको औचित्य माथि शंका गर्न थालेका थिए (‘क्रिस्चियन संवत्प्रति नेपाल सकारको धारणालाई के भन्ने ?’ नरेशवीर शाक्य, लायकु वर्ष ६ अंक १, २००८) ।
हुन त २०११ अक्टोबर २ मा नेपाल संवत्को ११३२ नयाँ वर्ष उत्सवमा माओवादीका दोस्रो प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसलाई नेपाल सरकारको दैनिक कार्यमा लागु गर्ने घोषणा गरी यसका लागि कार्यदल गठन गरेका थिए । उनले नेपाल संवत् नेवारको मात्र नभई सबै नेपालीको हो र विक्रम संवत् भारतबाट आयात भएको हो, जसको नेपालको इतिहाससँग कुनै सरोकार नभएको स्पष्ट पारेका थिए ।
नेपाल संवत् ११३३ को नयाँ वर्षको अवसरमा भट्टराईले फेरि आधिकारिक उद्देश्यका लागि नेपाल संवत्को प्रयोग गर्ने आफ्नो मनसायलाई दोहोर्याए । तर २०१३ को मार्चमा भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै त्यसको कार्यान्वयन हुन सकेन । प्रचण्ड पुनः प्रधामन्त्री भएका बेला सन् २०२३ नोभेम्बर १३ का दिन नेपाल संवत्लाई सबै सरकारी कामकाज र दस्ताबेजमा आधिकारिक रूपमा प्रयोग गर्ने ऐतिहासिक निर्णय भयो ।
यो लेखले नेपालको आधिकारिक पात्रो विक्रम संवत्सँग तुलना गर्दै नेपाली सांस्कृतिक जीवनमा नेपाल संवत्को महत्त्वलाई प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
- ‘नेपाल’ शब्द बारे
यो संवत्ले ‘नेपाल’ नाम बोकेको हुनाले सबभन्दा पहिले हामीले नेपाल शब्दको बारेमा संक्षिप्तमा चर्चा गर्नु उपयुक्त हुनेछ ।
‘नेपाल’ शब्दको उत्पत्तिबारे विद्वानहरूले विरोधाभासपूर्ण विचार दिएका छन् । नेपाल शब्द ‘ने मुनि’ (राइट १९७२ः१०७) नामबाट आएको हो भनी कतिपयको धारणा छ भने कतिपयको विचारमा ‘निप’ शब्दबाट ‘नेपाल’ शब्द आएको हो भन्ने गरेका छन् ।
‘नेपाल’ शब्दको पहिलो प्रयोग भारतको इलाहाबादको अशोक स्तम्भमा चौथो शताब्दीमा समुद्र गुप्ताको शिलालेखमा पाइन्छ । धनवज्र वज्राचार्यले नेपालको क्षेत्रफल प्राचीनकालमा वर्तमान नेपाल जत्तिकै ठुलो थियो भन्ने ठान्छन् (लिच्छविकालका अभिलेख, धन बज्र वज्राचार्य १९७३, पेज २८) ।
अंशुवर्माको शासनकालमा इस्वी संवत् ६४५ मा नेपाल पुगेका प्रसिद्ध चिनियाँ यात्री युआन च्वाङ वा ह्युएन सियाङले नेपालको भूमि क्षेत्र ४००० ली (अन युआन च्वाङगस ट्राभलस इन इन्डिया, थोमस वाटर्स, १९९६ भोलुम सेकेन्ड, पेज ८३–८५) भन्दा माथि भएको वर्णन गरेका छन्, जसको आकार झन्डै अहिलेको नेपाल जतिकै हुन जान्छ ।
पछि ‘नेपाल’ शब्दले अहिलेको ‘काठमाडौँ उपत्यका र आसपासका क्षेत्र’लाई सङ्केत गर्न मात्रै प्रयोग गर्न थाल्यो । कतिपयले अहिले पनि यसको अर्थ यही रूपमा लिने गरेका छन । राल्फ एल टर्नरजस्ता भाषाविद् नेवार, नेवाल र नेपाल शब्दहरू सबै ‘नेपाल’ वा ‘नेवार’ शब्दबाट विकसित भएको दाबी गर्छन् । उपत्यकाको दक्षिणमा अवस्थित तिस्तुङका लिच्छवि राजा वसन्तदेवको इस्वी संवत् ५१२ को शिलालेखले नेपाली जनताका लागि ‘नेपाल’ शब्द प्रयोग भएको पहिलो प्रमाण हो भनेर विद्वानहरूले पुष्टि गर्छन् (‘लिंग्विस्टिक आर्कियोलजी अफ द वर्ड नेपाल’ नेपाल हेरिटेज सोसाइटी पाता कन्फरेन्स, कमल पी मल्ल १९८३, पेज ६३–६९) । नेपालको भौगोलिक आकार समय–समयमा परिवर्तन भए पनि तीन महत्त्वपूर्ण सहर भएको काठमाडौँ उपत्यका सधैँ नेपालको केन्द्रबिन्दु बनेको ऐतिहासिक तथ्य हो ।
किरातको इतिहास प्रमाणित गर्न कुनै पुरातात्त्विक वा शिलालेखीय प्रमाण नभेटिए पनि नेपालको सबैभन्दा पुरानो इतिहास गोपाल राजवंशावलीले भने किरात राजाहरूले ३२ पुस्तासम्म नेपालमा शासन गरे भन्ने विवरण दिएको छ, (द गोपालराजवंशावली, धन बज्र वज्राचार्य र कमल पी मल्ल १९८५, पेज १२१–१२२) ।
उनीहरूका उत्तराधिकारी भनिएका नेपालमा ४६४ देखि ८७९ इस्वीसम्म शासन गरेका लिच्छविहरूले भने प्रशस्त शिलालेखहरू छोडेका छन् । सन् १९९२ मा हाँडीगाउँमा १८५ इस्वीको शिलालेखसहितको जय वर्माको मूर्ति फेला परेपछि नेपालको इतिहास पहिले मानिएको भन्दा तीन शताब्दी पुरानो भएको छ । यस मूर्ति र यससँग जोडिएको शिलालेखको विश्लेषण गरेर स्वर्गीय लैनसिंह बाङ्देलले लिच्छविको सत्ता आरोहण हुनुअघि (१८५–३८०) सम्म नेपालमा वर्मन वंशको अस्तित्व रहेको तर्क गर्नुभएको छ । उनले २२५ वर्षको अवधिमा (जय वर्मा र नेपालको वर्मा राजवंशको मूर्तिकला, मण्डला पब्लिकेसन्स २००५, पेज ८–१९) नेपालमा शासन गर्ने वर्मन वंशका ११ राजाहरूको सूची प्रस्तुत गरेका छन् । तर, यस एउटै शिलालेखबाहेक कुनै पनि थप तथ्यहरू हालसम्म फेला नपरेकाले सबै इतिहासकार ४६४ इस्वी को चाँगुको मानदेवको शिलालेखभन्दा बाहिरको इतिहासलाई स्वीकार गर्न तयार देखिँदैनन् (‘विवादमा फसेको इतिहास’ द काठमाडौँ पोस्ट, अंकित अधिकारी २ जुलाई २०१०) ।
लिच्छवि शिलालेखहरू सबै शुद्ध संस्कृत भाषामा छन् । ती शिलालेखमा लेखिएका ठाउँ र नदीको नामको विश्लेषण गरेर लिच्छवि शासकले संस्कृतको प्रयोग गरे पनि जनताले बोल्ने भाषा तिब्बती–बर्मन भाषा थियो भन्ने निष्कर्षमा विद्वान्हरू पुगे । लिच्छविपछि ठकुरीहरूले नेपालमा नवौँदेखि बाह्रौँ शताब्दीसम्म शासन गरे । त्यसपछि बाह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्म गोर्खा राजा पृथ्वीनारायण शाहले १७६९ मा पराजित नगरेसम्म मल्लहरूले नेपालमाथि शासन गरे । सन् १९३० को दशकमा मात्र नेपाल सरकारले यसलाई देशको नाममा ‘नेपाल’ राख्न थालेको थियो । आधुनिक राष्ट्र–राज्य (द कन्डिसन्स अफ लिसनिंग, रिचार्ड बुर्घाट १९९६, पेज २५५) ।
देशको इतिहास, संस्कृति र परम्परा परापूर्वकालदेखि नै ‘नेपाल’सँग जोडिएको हुनाले देशलाई ‘गोरखा’ भनी प्रस्तुत गर्ने क्रमशः शाह राजा र राणा शासकहरूले प्रयास गरे पनि उनीहरू असफल भए । उदाहरणका लागि— शासकहरूले आफ्नो भाषालाई ‘गोर्खा भाषा’ वा ’गोरखाको भाषा’ भन्न थालेका थिए, जसलाई अहिलेसम्म ‘पर्वते’ वा ‘खस कुरा’ पनि भनिन्छ । तर यसलाई १९३० देखि नै ‘नेपाली’ भनेर नामकरण गरियो र नेवारहरूको भाषाको नाम ‘नेपाल भाषा’ वा ‘नेपालको भाषा’लाई बिगारेर ’नेवारी’ बनाए ।
सन् १९१३ मा उनीहरूले स्थापना गरेको गोर्खा भाषा प्रकाशन समिति (गोरखा भाषा प्रकाशन समितिलाई पछि नेपाली भाषा प्रकाशन समिति नामकरण गरे । उनीहरूले सुरु गरेको पहिलो सरकारी अखबार ‘गोरखापत्र’ हो, जसले अहिले पनि सरकारको मुखपत्रको रूपमा सो नाम कायम नै राखेको छ ।
सन् १९६७ मा मात्रै नेपालको पुरानो राष्ट्रिय गानबाट ‘हामी गोर्खाली’ शब्दको ठाउँमा ‘हामी नेपाली’ लेखिएको हो । तसर्थ तत्कालीन शासकले नामकै कारण नेपाल संवत् पात्रोको परित्याग गर्न रुचाएको हुन सक्छ भन्ने बुझिन्छ । आज भने नेपाल शब्द समस्त नेपालको भूभाग र सम्पूर्ण नेपालीलाई समेट्ने शब्द बनिसकेको छ ।
- नेपालमा प्रचलित संवत्हरू
नेपालमा प्रयोग भएका धेरै संवत्हरूमध्ये दुई संवत्हरू (७९ इस्वीमा स्थापित शक वा साके र ८७९ इस्वीमा स्थापित नेपाल संवत्) धेरै महत्त्वपूर्ण छन् । किनभने तिनीहरू नेपालको इतिहासको सबैभन्दा लामो अवधिका लागि प्रचलित थिए (‘नेपाल संवत्को महत्व’ प्रा. माणिकलाल श्रेष्ठ गोरखापत्र, ९ नोभेम्बर २००७) ।
त्यसैगरी कलिगत संवत् (३१०२ इसापूर्व) को पनि बिच–बिचमा उल्लेख पाइन्छ । छिटपुट रूपमा, हामीले विक्रम संवत् (५७ इसापूर्वमा स्थापित)को प्रयोगको सामना गर्छौं, तर राणाशासनले यसलाई नेपालको एकल आधिकारिक संवत्को रूपमा पेस गरेपछि यसले १९०३ पछि मात्र यसको महŒव प्राप्त गर्यो । धेरै नेपाली इतिहासकारले मानदेव र अंशुवर्मा संवत्को अस्तित्वमा विश्वास गर्छन्, तर अरूले त्यस्ता दाबीलाई अस्वीकार गर्छन् । भर्खरै नेपालका प्रतिष्ठित विद्वान् कमल पी मल्लले मानदेव संवत्को प्रामाणिकतालाई गहनताका साथ जाँच गरे र यसको अस्तित्वलाई पूर्ण रूपमा खारेज गरे (‘मानदेव संवत् : एन इन्भेस्टिगेसन इन्टु आएन हिस्टोरिकल फ्रड’) । त्यहाँ अन्य संवत् छन्, जस्तै : सृष्टितोगताब्द संवत् (सृष्टि १,९५५,८३३१०१ इसापूर्व), कलिगत संवत् (३१०२ इसा पूर्व) र बुद्ध संवत् (५४४ इसा पूर्व) । पञ्चांगको आवरण पहिलो पृष्ठमा निरन्तर उल्लेख गरिएको हुन्छ । त्यस्ता केही पञ्चांगका प्रकाशकहरूले स्वर्गीय शाह राजा त्रिभुवनलाई सम्मान गर्दै त्रिभुवन संवत् (१९५१ ईस्वी) छाप्न थाले । देश गणतन्त्रमा जानेबित्तिकै यो हरायो । क्रिस्चियन संवत् लगायत नेपालमा आजसम्म प्रकाशित सबै परम्परागत पञ्चांगको पहिलो पृष्ठमा मानदेव संवत्बाहेक माथि उल्लिखित सबै संवत्को नाम छापिएको देखिन्छ ।
नेपालको इतिहासलाई हेर्दा नेपालको प्रारम्भिक शिलालेखमा प्रयोग भएको शक पहिलो संवत् हो । सुरुमा लिच्छविकालमा ४६४ देखि ६०४ सम्म, त्यसपछि शाहकालमा १७६९ देखि १९०२ सम्म शक संवत् प्रचलित थियो ।
नेपाल संवत् नेपालमा आधिकारिक संवत्को रूपमा यसको उत्पत्तिदेखि १७६९ सम्म अर्थात् ८८८ वर्षसम्म राज्य स्तरमा कुनै अवरोधबिना प्रयोग भइरहेको थियो । यद्यपि नेपाल संवत्को प्रयोग आजसम्म सबै सांस्कृतिक र धार्मिक उद्देश्यका लागि जारी छ । यस सन्दर्भमा, नेपाल संवत् नेपालमा सबैभन्दा लामो अभ्यास गरिएको संवत् हो, (‘नेपाल संवत् अफ नेपाल’ द राइजिङ नेपाल दिनेशचन्द्र रेग्मी, ३ नोभेम्बर २००८) ।
इतिहास तथा पुरातत्त्वविद् श्यामसुन्दर राजवंशीले नेपाल संवत्को उत्पत्ति हुनुअघिको संवत्लाई पनि प्रारम्भिक नेपाल संवत् मान्नुपर्ने धारणा राख्छन् । उहाँका अनुसार लिच्छविकालमा प्रचलनमा रहेको संवत् जसलाई अधिकांश इतिहासकारविद्ले शक संवत् भन्ने गरिएको छ, त्यो वास्तवमा पुरानो नेपाल संवत् वा लिच्छवि संवत् हो, शक संवत् होइन । लिच्छविकालमा शकसंवत् अनि पछि मानदेव संवत् पनि चलेको भन्ने कतिपय इतिहासकारको भनाइ बिल्कुल गलत रहेको उहाँको दाबी छ । नेपालमा शक पूर्व २ बाट कार्तिकादि लिच्छवि संवत् एउटा मात्रै प्रचलनमा रहेको भन्ने उहाँको निष्कर्ष रहेको छ (‘के लिच्छविकालमा दुई संवत् चलेको थियो ?’ काठमाडौँप्रेस डटकम ३ फेब्रुवरी २०२२) ।
नेपालमा अहिले मुख्यतया तीनवटा संवत् प्रणाली प्रचलनमा छ । सरकारको दैनिक कार्यका लागि विक्रम संवत्, विदेशी सरकार र व्यापारिक प्रयोजनका लागि क्रिस्चियन संवत् र सबै धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिका लागि चन्द्रमासमा आधारित संवत् ।
सरकारले नेपालका ज्योतिषीहरू राखेर बनाएको निकाय ‘नेपाल पञ्चांग निर्णायक समिति’लाई संवत् पात्रो जारी गर्ने अधिकार दिएको छ । तिनीहरूले विक्रम संवत्का आधारमा सौर्य पात्रो प्रकाशित गर्छन् । यी पञ्चांगले धार्मिक, सांस्कृतिक र सामाजिक प्रयोगका लागि नेपाल संवत्को विस्तृत जानकारी प्रदान गर्दछ । यसमा क्रिस्चियन मितिहरू पनि समावेश छन् । उनीहरूले आफ्ना प्रकाशनको प्रारम्भदेखि नै नेपाल संवत्लाई ‘नेपाल देशको संवत्’ वा नेपालदेशीय संवत् वा ‘शंखधरद्वारा सिर्जित नेपाल संवत्’ वा श्री शंखधरकृत नेपाल संवत् आदि भनेर पहिचान गर्दै आएका छन् ।
पहिलो छापिएको नेपाली पञ्चांग, तथाकथित ‘ढुंगे–पात्रो’, सन् १८८४ लाई मानिन्छ । यसको लेखक धर्मदत्त शर्माले कुन नेपाल संवत्को नाम उल्लेख नगरे पनि शंखधरको नाम उल्लेख गरी छापिएको पञ्चांग नेपाल संवत् १०२४/इस्वी १९०४ उल्लेख गरिएको थियो । यद्यपि नेपाल सरकारले आफ्नो दैनिक कामकाजमा नेपाल संवत् प्रयोग गर्न छाडिसकेको भए पनि नेपाल पञ्चांग निर्णायक समितिका लागि काम गर्ने ज्योतिषीहरू र पण्डितहरूले प्रकाशित सबै पञ्चांगमा नेपाल संवत् र यसका महिनाको नाम उल्लेख गर्दै आएका छन् ।
चन्द्रमास संवत् प्रस्तुत गर्ने तिनीहरूको विधि भारतीय ज्योतिष प्रणालीसँग नजिक छ, तर भारतीय र नेपाली गणनाहरूबिच केही भिन्नता पनि छन् । नेपालका केही प्रख्यात पञ्चांगद्वारा नेपाल संवत्का लागि प्रयोग गरिएका नाम तिनीहरूको पहिलो प्रकाशनको मिति र ज्योतिषीहरूको नाम तल सूचीबद्ध छन् :
नेपालमा चान्द्र वर्ष या त वसन्त वा शरद ऋतुमा सुरु हुन्छ । वसन्त ऋतुमा सुरु भएमा चैत्रादि र शरद ऋतुमा सुरु हुने भए कार्तिकादि भनिन्छ । पहिलोलाई पूर्णिमाको दिनमा समाप्त हुने भएकाले पूर्णमान्तक रूपमा पनि चिनिन्छ भने अर्कोलाई नयाँ चन्द्रमामा समाप्त हुने अमान्तक भनी चिनिन्छ । पूर्णमान्तक कृष्ण पक्षबाट सुरु हुन्छ भने अमान्तक महिना शुक्ल पक्षबाट सुरु हुन्छ ।
विक्रम संवत्
भारतको उज्जैनका विक्रमादित्य नामक राजाले विक्रम संवत्को सुरुवात गरे भन्ने मिथक व्यापक रूपमा प्रचारमा छन् । यद्यपि धेरै विद्वानका अनुसार विक्रमादित्य स्वयं ऐतिहासिक पात्र होइनन्, बरु उनी एक पौराणिक पात्र थिए । कसैले भने उनलाई ऐतिहासिक व्यक्तित्व मानेर विक्रम संवत्को संस्थापकका रूपमै मान्ने गरेका छन्, (हेर्नुस राज बली पाण्डे, विक्रमादित्य अफ उज्जयिनी द फाउन्डर अफ द विक्रम एरा १९५१) ।
दिनेश चन्द्र सर्कारले आफ्नो पुस्तक ‘इन्देन इपिग्राफी’ (१९९६ पेज २५१–५८) मा भनेका छन् कि यो संवत् राजस्थानको मालवासँग सम्बन्धित थियो र आठौँ शताब्दीमा आइपुगेर मात्र यस संवत्सँग राजा विक्रमादित्यको नाम जोड्न आइपुगेको हो । सुरुमा कृत संवत्का रूपमा परिचित यो संवत् राजस्थानको मालवामा पनि प्रचलित हुन पुग्यो, त्यसैले यसलाई मालवा संवत्का रूपमा पनि चिनिन थाल्यो । पछि त्यसै संवत्लाई ‘विक्रमको संवत्’ र ‘विक्रमादित्य संवत्’ भन्न थाल्यो ।
विक्रम संवत्लाई आधिकारिक संवत्को रूपमा प्रस्तुत गरिए पनि नेपाल संवत् नेपाली संस्कृतिको प्रमुख हिस्साका रूपमा कायम रहँदै आएको छ । केही अपवादबाहेक नेपालमा सबै चाडपर्व र बिदाहरू चन्द्र पात्रोमा आधारित हुन्छन् ।
मध्यकालमा आइपुगेर मात्र यो संवत् ’विक्रमादित्यले स्थापना गरेको संवत्’ कहलाउन थाल्यो । उज्जयिनीका राजा विक्रमादित्यले शकहरूलाई हराएर विक्रम संवत्को स्थापना गरे भनिन्छ । द वंडर दैट इज इंडिया पुस्तकमा ए. एल. बाशम बताउँछन् कि ‘चन्द्र गुप्त द्वितीय एक मात्र राजा थिए जसले विक्रमादित्यको पदवी लिनुका साथै उज्जयिनीबाट शकहरूलाई भगाउने काम गरेका थिए, (१९७५ पेज ४९५) । तर उनी विक्रम संवत्को सुरुवातभन्दा पनि ४०० वर्ष पछिका थिए ।
पाण्डुरंग वामन काणेले ‘हिस्ट्री अफ धर्मशास्त्र’मा आठौँ शताब्दीभन्दा अघि विक्रम संवत्को उल्लेख कतै पाइँदैन भनेर लेखेका छन्, (१९९ पेज ६५३) । ‘संवत् सन्दर्भ छगू दुवाला’ (२०२१) पुस्तकका लेखक अध्येता पूर्णराम मुनकर्मीले विक्रमादित्य एक साहित्य पात्र मात्र भएको र भारत, नेपाल, श्रीलंका, चीन, अरब आदि देशमा विक्रमादित्यबारे धेरै किंवदन्ती १४औँदेखि र १८औँ शताब्दीमा बढी रहेको तर उद्गम स्थल इरान रहेको संवत् नै पछि भारत महाद्वीपमा विक्रम संवत् कहलिन थालेको बताउनुहुन्छ ।
स्थापनाको सुरुमा विक्रम संवत्को वर्ष परिवर्तन कार्तिक महिनामा हुने गर्दथ्यो, तर मध्यकालीन (१२औँदेखि १८औँ शताब्दी) सम्म आइपुग्दा यो चैत्रादि वा चैत्र महिनामा अन्त्य हुने गर्दथ्यो ।
भारतका धेरैजसो ठाउँहरूमा अझै मानिस यसलाई चान्द्र पात्रोको रूपमा प्रयोग गर्छन् । मध्यकालसम्म पनि यो संवत्को कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु भएको गनणा गरिन्थ्यो । आजकल उत्तर भारतमा विक्रम संवत्को नयाँ वर्ष शुक्ल प्रतिपदामा सुरु हुन्छ तर दक्षिण भारतमा सात महिनाको फरकमा कार्तिक शुक्ल प्रतिपदाबाट सुरु हुन्छ । भारतको उत्तरमा, यो पूर्णमान्तकका रूपमा गनिन्छ, जबकि दक्षिण भारतमा यसलाई अमान्तक मासको रूपमा गणना गरिन्छ । केही राजस्थानी र गुजराती भाषी क्षेत्रहरूमा वर्षको सुरुआत अमान्त आषाढबाट गणना गरिन्छ । जबकि राजस्थानको उदयपुर क्षेत्रमा यो पूर्णमान्तकबाट गणना गरिन्छ । त्यसकारण दिनेश चन्द्र सर्कार भन्नुहुन्छ कुन बेला वर्षको सुरु हुने भन्ने आधारमा विक्रम संवत्लाई भारतमा कतै कार्तिकादि, कतै चैत्रादि, कतै आषाढी र कतै श्रावणादि भनेर चिनिन्छ । नेपालमा भने यसलाई सौर्य पात्रोका रूपमा प्रशासनिक काममा प्रयोग गर्न थाले । नेपालमा प्रत्येक वर्ष १३ वा १४ अप्रिलका दिन विक्रम संवत्को नयाँ वर्ष मनाउने गरिन्छ ।
नयनाथ पौड्याल सम्पादित भाषावंशावली मा वर्णित कथाहरूमा उज्जयिनीको विक्रमादित्यलाई नेपालसँग उनले गरेका रहस्यमय कार्यहरूका लागि जोडेको पाइन्छ, (१९६३ पेज ५८–७५) ।
डेनियल राइटले आफूले सम्पादन गरेको नेपालको इतिहास पुस्तकमा अंशुवर्माको शासनकालमा, हिन्दुस्तानका एक शक्तिशाली राजा विक्रमजित आफूले स्थापना गरेको नयाँ संवत्को प्रचार गर्न नेपाल आएका थिए र आफ्नो बाँकी जीवन नेपालमै बिताएका थिए भनेर लेखेका छन्, (डानियल राइट १९६३ पेज १३१–३२) ।
प्रयागराज शर्माजस्ता अन्वेषकले साँखुको वज्रयोगिनी मन्दिरमा राखिएको काँसको टाउकोलाई बुद्धको मूर्ति भनेर निक्र्योल गरेका छन् (‘ए नोट अन सक ब्रोन्जस आएत वज्रयोगिनी’, त्रिभुवन युनिभर्सिटी जर्नल १९७० पेज ३) । तर त्यही बुद्धको टाउकोलाई विक्रम संवत्का हिमायतीहरू भने विक्रम संवत्को प्रवर्तक विक्रमादित्यकै टाउको हो भनेर दाबी गर्छन् । यद्यपि प्राचीन नेपालमा विक्रम संवत्को प्रयोग कतै नपाउने हुनाले यस्ता कुराहरूलाई पुष्टि गर्ने कुनै आधार पाइँदैन ।
नेपालको सवबभन्दा पुरानो लिखित इतिहास गोपालराज वंशावलीमा विक्रम संवत्को कतै उल्लेख छैन, त्यहाँ नेपाल संवत्कै मात्र उल्लेख भएको हामी पाउँछौँ । मल्लकालीन समयमा उपत्यकामा सबभन्दा पहिले विक्रम संवत् उल्लेख गरिएको अभिलेख भेटिएको भनेको पाटन सुन्धारामा रहेको १४६१ विक्रम संवत् उल्लिखित अभिलेख हो । यस अभिलेखमा विक्रम संवत् १४६१ का साथै कलिगत संवत् ४५०५, शक संवत् १३२६ र नेपाल संवत् ४२४ पनि उल्लेख गरिएको छ ।
वास्तवमा सन् १९०३ मा मात्र राणाका प्रधानमन्त्री चन्द्रशमशेरले सरकारी तवरमा नेपालमा विक्रम संवत्लाई चलाउन थालेको हो । चन्द्रमासमा आधारित शक संवत्को पात्रोका आधारमा तलब दिँदा प्रत्येक तीन वर्षको अन्तरालमा सरकारी कर्मचारीहरूलाई तेह्रौँ महिनाको तलब भुक्तानी दिनुपर्ने आर्थिक भारबाट बच्न धूर्त राणा प्रधानमन्त्री चन्द्र शमशेरले सौर्यमासमा आधारित विक्रम संवत्को पात्रोलाई अंगीकार गरे भनी इतिहासकार भुवनलाल प्रधानले लेख्नुभएको छ, (हेर्नुस ‘नेपाल संवत्को ऐतिहासिक प्रमाण’ नेवाः विज्ञान २००० पेज ६) ।
सन् १९१३ मा प्रकाशित जगन्नाथ सेधाईं र वैजनाथ सेधाईं द्वयले चन्द्रशमशेरलाई खुसी पार्न लेखेको चन्द्र मयुख शीर्षकको छन्दबद्ध स्तुति काव्य पुस्तकमा (पेज ८४) विक्रम संवत् अंगीकार गर्दा राज्यलाई कसरी फाइदा पुग्छ र कसरी चन्द्रमासको तिथिलाई मितिमा ल्याउनाले देशलाई चान्द्रमासको तिथिमा निहित आधा–आधा महिनाको शुक्ल पक्ष र कृष्ण पक्षले पार्ने अन्योलबाट मुक्त गर्छ भन्ने बयान गरेका छन् । यद्यपि नेपाली जनताले आफ्ना धार्मिक चाडपर्व, जात्रा, व्रत, तीर्थ, स्नान आदि लगायत जन्मदिन, शुभमुहूर्त निर्धारणदेखि मृत्यु संस्कारसम्मका सबै खाले महत्त्वपूर्ण धार्मिक गतिविधिहरू चन्द्र पात्रोका आधारमा गर्ने भएकाले सौरमासमा आधारित विक्रम संवत्को खासै सांस्कृतिक महत्त्व नेपालमा छैन ।
धेरै मानिसहरू भक्तपुरको विश्व जात्रा अर्थात् बिस्का जात्रालाई विक्रम संवत्को नयाँ वर्षसँग जोडेर हेर्न मन पराउँछन् । किनकि यो चाड वैशाखको पहिलो दिन (संक्रान्ति वा सल्हु) को वरिपरि मनाइन्छ ।
विक्रम संवत् प्रचलनमा ल्याउनुभन्दा शताब्दियौँ अघिदेखि नै सल्हु अर्थात् संक्रान्ति पर्वहरू मनाउने प्रचलन नेपालका नेवा जनसमुदायमा थियो । ती पर्व विक्रम संवत् अनुसार मनाउने नभई नेपाल संवत् वा पूर्व नेपाल संवत् अनुसार नै मनाउँदै आएको कुरा उपत्यकामा पाइने थुप्रै शिलालेख जहाँ नेपाल संवत् मात्र उल्लेख गरेको पाइन्छ, तर साथमा अनेक संक्रान्ति पर्व मनाउने कुरा पनि उल्लेख गरेकाबाट पनि सजिलै बुझ्न सकिन्छ । इतिहासविद् श्याम सुन्दर राजवंशीका अनुसार नेपाल संवत् चन्द्रमास र सौर्य मास दुवै हिसाबले चल्ने संवत् हो तर पछि आएर चन्द्रमास अनुसारका तिथिका लागि मात्र प्रयोग गर्ने गरेकाले संक्रान्ति पर्वहरू विक्रम संवत् अनुसार मनाउने पर्वहरू हुन् भन्ने भ्रम मानिसमा पर्न गएको हो, (हेर्नुहोस ‘नेपाल संवत्यात धात्थें छ्यलेगु खःसा‘ झीगु स्वनीगः २०१२ पेज ३९) ।
वास्तवमा, बिस्का जात्राको बेग्लै इतिहास र मिथक छन्, जुन विक्रम संवत्को नयाँ वर्षको उत्सवसँग कुनै सरोकार राख्दैनन् । विक्रम संवत् २०४० को दशकसम्म सामान्य मानिसलाई र विशेषतः नेपाल खाल्डोका मूलवासी नेवारका लागि वैशाखको पहिलो दिनको नयाँ वर्ष खासै महत्त्वको दिन थिएन । मेष संक्रान्ति पनि भनिने यस दिनलाई उनीहरू ‘खाइ साल्हु’ भनेर भने जरुर जान्दथे । यद्यपि विक्रम संवत्को नयाँ वर्ष सरकारी तवरमा नै मनाउने भएको र रेडियो, टेलिभिजन जस्ता राष्ट्रिय सञ्चारका माध्यमबाट जोडतोडले प्रचार प्रसार गर्ने भएकाले हाल आएर देश–विदेशमा रहने नेपालीले यसको नयाँ वर्ष मनाउन थालेका छन् ।
भारतमा केन्द्र सरकारले सन् १९५७ देखि ग्रिगोरियन पात्रोसँगै शक संवत्लाई पनि राष्ट्रिय संवत्को रूपमा अपनाएको छ । भारतको पात्रो सुधार समितिले राष्ट्रिय पात्रोलाई एकरूपता दिन यो सिफारिस पेस गर्नुभन्दा पहिले भारतमा विविध धर्म, संस्कृति र राष्ट्रियताका मानिस ३० भन्दा बढी संवत्को पात्रोहरूको प्रयोग गर्थे ।
सन् १९५७ देखि भारतले शक संवत् अनुसार १ चैत्रलाई (२२ मार्च) नयाँ सालको दिनका रूपमा मनाउँदै आइरहेका छन् । यस दिनलाई राष्ट्रिय बिदाको रूपमा मनाउँछ तर विभिन्न प्रान्तमा क्षेत्रीय नयाँ वर्ष उत्सव आफ्नै परम्परा अनुसार मनाइन्छ ।
भारत सरकारको गजेटको प्रकाशन र सरकारको दैनिक लिखोट र पत्राचार तथा अखबारहरूले पनि भारतमा ग्रेगोरियन तारिखका अलाबा राष्ट्रिय पात्रो शक संवत्को तिथि–मिति समावेश गर्छन् । त्यस्तै, विभिन्न भारतीय भाषामा प्रसारण हुने अल इन्डिया रेडियोको बिहान सबेरैको कार्यक्रममा राष्ट्रिय पात्रो तिथि र मितिहरू घोषणा गर्दछ, (हर्नुस् अमलेन्दु बन्ध्योपाध्याय ‘राष्ट्रिय पात्रोलाई कसरी लोकप्रिय बनाउने’, द स्टेसमायन १९८१ मार्च २९) ।
नेपालका केही विक्रम संवत्का अनुयायीले निरन्तर रूपमा विक्रम संवत्लाई नेपाली संवत् नै भनेर दावा गर्दै आइरहेको देखिन्छ । नेपालमा इस्वी संवत्को समेत पनि नयाँ वर्ष मनाएर शुभकामना आदान–प्रदान गरिन्छ भने विक्रम संवत्को नयाँ वर्ष मनाउनु र शुभकामना आदान–प्रदान गर्नुलाई अन्यथा मान्नुपर्दैन । विक्रम संवत्लाई नेपाली संवत् नै भनेर प्रचार–प्रसार गर्नु सर्वथा गलत हो । उहाँहरूको दाबी कुनै इतिहास र तथ्यमा आधारित नभएर १९औँ शताब्दीमा लिखित भाषा वंशावलीमा वर्णित केही किंवदन्ती र कहावतमा आधारित छन् । किंवदन्ती र दन्त्यकथा भन्दा वास्तविक इतिहासलाई हामीले मान्नुपर्ने हुन्छ । तर नेपालका यी विक्रम संवत्वादीहरू भने मनगढन्ते तर्कको बलले भए पनि विक्रम संवत् भारतको संवत् हो भन्ने तथ्य र इतिहासलाई नै मेट्न सकिन्छ भन्ने सोचले लागिपरेको देखिन्छ ! यसै सन्दर्भमा इतिहासकार बाबुराम आचार्यले विक्रम संवत्का बारेमा व्यक्त व्यक्त गर्नु विचार यहाँ उद्धृत गर्नु मनासिब हुनेछ :
‘हाम्रा राष्ट्रिय संवत्मा विशेषण गराएर जोडिएको ‘विक्रम’ शब्द सार्थक देखिन्न । यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा १२०० वर्ष पहिलेदेखि भारतमा चल्दै आएको छ र यस देशमा पनि त्यो दन्त्यकथा आइपुगेको छ । तर जुन समय (इसापूर्व ५८ वर्ष) मा यो संवत् उठान भएको थियो उस समयमा अवन्तिदेशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । वास्तवमा यस संवत्को उठान राजपूतानामा आवाद भएका मालवगणले गरेका हुन् भन्ने कुरा त्यहाँ पाइएका शिलालेखहरूबाट प्रमाणित भइसकेको छ’ (श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पहिलो भाग, विसं २०२४, पेज ३–४) ।
- नेपाल संवत्
विश्वमा कुनै राजा, लोकप्रिय व्यक्ति वा धर्मको नामबाट संवत्को नाम राख्ने चलन लामो समयदेखि चलिआएको छ, तर नेपाल संवत्को हकमा देशकै नामबाट नामकरण गरिएको संसारकै एक मात्र संवत् हो । यस सन्दर्भमा नेपालको संवत् अद्वितीय छ । विशिष्टता भए पनि सरकारको नीतिका कारण नेपाल संवत्को हैसियत गुमायो ।
सन् ८७९ अक्टोबर २० मंगलबार राजा राघव देवको समयमा नेपाल संवत्को स्थापना भएको मानिन्दै आएको छ । तर यस कथनमा विद्वानहरू सबैको एकमत रहेको छैन । विज्ञ श्यामसुन्दर राजवंशीले शक संवत् ८०१ मा आषाढ महिनामा अधिकमास छ भन्ने हिसाब गर्न भुलेको वा नसकेका कारणले विद्वान् किलहर्नले ८७९ अक्टोवर २० तारिखका दिन नेपाल संवत् सुरु भएको भनेर लेख्नुभयो । पछि त्यसै भनाइलाई सबैले उद्धरण गर्दै आएको औँल्याउनुभएको छ । उहाँको भनाइमा शक संवत् ८०१ कार्तिक शुक्ल प्रतिपदा अर्थात् लिच्छवि संवत् ८०३ कार्तिक शुक्ल प्रतिपदा अनि इस्वी अनुसार ८७९ नोबेम्बर ७ तारिख मंगलबारका दिन नेपाल संवत् सुरु भएको भन्ने रहेको छ (‘नेपाल संवत्को भ्रम निवारण’ ई सञ्चार पाटी, १२ नोभेम्बर २०२३) ।
धेरैले यो पनि दाबी गर्छन् कि राजा राघवदेव आफैँले यस संवत्को सुरुवात गरेका थिए । सिल्भां लेभी (नेपाल भोलुम २, १८६३/१९३५) ले भने नेपाल संवत्को सुरुवातका बारेमा दुईवटा सिद्धान्त प्रस्तुत गरेका छन् । नेपालीले ८ लाई अशुभ संख्या मान्ने भएकाले शक संवत्मा ८०० वर्ष घटाएर संवत्को स्थापना भएको हो भन्ने उनको पहिलो सिद्धान्त हो । अर्को भनेको सन् ८४२ मा राजा लाङ–डेर–माको हत्यापछि तिब्बती शक्तिको विघटन भयो । त्यसपछि तिब्बती दमनबाट नेपालको मुक्तिको उत्सव मनाउन स्थापना भएको हो, तर नेपाली इतिहासकारले यी दुवै सिद्धान्तलाई अस्वीकार गर्छन् ।
नेपाली इतिहासकार स्वर्गीय बाबुराम आचार्यले नयाँ राजा राघवदेवले नेपालमा नयाँ राजवंशको आरोहणका लागि नयाँ संवत्को सुरुवात गरेको हुन सक्ने अनुमान गरे तर उनले ‘बालुवा बनेको सुन’ किंवदन्तीमा विश्वास गरेका छैनन् । यसको प्रारम्भमा यसलाई एकल/सामान्य रूपमा ‘संवत्’ वा ‘संवत्’ भनिन्थ्यो । उदाहरणका लागि प्रारम्भिक पाण्डुलिपिहरू जुन नेपाल संवत् २८ र नेपाल संवत् ४० को नेपाली सङ्ग्रहमा छन्, अर्थात् इस्वी संवत् ९०८ र इस्वी संवत् ९२० तर यसको नाम भने उल्लेख थिएन (‘नेपाल संवत्या सान्दर्भिकता’, लुँ स्वां, कमल पि. मल्ल १९८२) । नेपाल शब्दको प्रयोगको पहिलो रेकर्ड यस संवत्लाई ‘नेपाल–वत्सर‘ भनेर उल्लेख गरिएको पाण्डुलिपि १४८ नेपाल संवत् (इस्वी १०२८) मा पाइन्छ, जुन अहिले कलकत्ताको एसके सरस्वतीको संग्रहमा छ (मेडिएभल हिस्टोरि अफ नेपाल च. ७५०–१४८० लुसियानो पेतेच १९५८) ।
मध्यकालको प्रारम्भतिरका शिलालेख र ताडपत्र पाण्डुलिपिहरू नेपाल संवत्मा मिति छन् । यो संवत्लाई पशुपतिभट्टारक संंवत्सर प्रवर्तकृत वा भगवान पशुपतिलाई चढाएको संवत् पनि भनिन्छ ।
शंखधर साख्वाले देशवासी सबैलाई ऋणबाट मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको किंवदन्ती छ । सन् १८२९–१८८० को बिचमा खस–नेपाली भाषा लेखिएको भाषावंशावलीमा बालुवा सुनमा परिवर्तन भएको लोकप्रिय किंवदन्ती उल्लेख छ ।
बालुवा सुनमा परिणत भएको यो किंवदन्तीमा सबैले विश्वास गर्दैनन् । बालुवा सुनमा परिणत भएको मिथकलाई मानिसहरूले नमान्दा पनि धनी व्यापारी शंखधरले गरिबको ऋण तिरेर दासत्वबाट मुक्त गराए भन्ने कुरामा भने मानिसहरू विश्वास गर्छन् ।
सबै नेपाली ऐतिहासिक दस्ताबेजमा सन् १०२८ देखि नै ‘नेपाल’ नामले निरन्तर रूपमा यस संवत्लाई प्रमाणित गर्न थाले पनि शंखधरको नाम नेपाल संवत्सँग कहिलेदेखि जोडिन थाल्यो भन्ने स्पष्ट छैन । तर ‘संवत् संकुदत्त’ शब्दको प्रयोगको पहिलो ऐतिहासिक प्रमाण नेपाल संवत् ७६६ को वसिष्ठलिंग उपपुराण पाण्डुलिपिमा पाइन्छ, (शंखधरकृत नेपाल संवत् काशिनाथ तमोट २००८ पेज ३७) ।
त्यसैगरी नेपाल संवत् ८६४ को जातक परिपतिप्रबन्धमा पाण्डुलिपिमा यसलाई ‘नेपालीके शंखधराब्दे संवत्’ भनिएको उल्लेख गरेको भेटिएको छ । अर्को भक्तपुरको जेलम टोलमा रहेको नेपाल संवत् ८२७ मितिको शिलालेख हो, जहाँ यसलाई ‘संख्वा संवत्’ भनिएको छ ।
शंखधरको स्पष्ट रूपमा उल्लेख गरिएको पहिलो शिलालेख भने पाटन तिछुगल्लीमा रहेको नेपाल संवत् ९५७ को अभिलेख मात्र हो । हामीसँग भएको एउटै भरपर्दो पुरातात्त्विक प्रमाण भनेको पशुपति मन्दिरको दक्षिण ढोकामा ठड्याएको व्यापारी शंखधरको ढुङ्गाको मूर्ति हो ।
इतिहासकार काशिनाथ टमोटले मूल शब्द शंकुदत्तबाट शंखधर शब्दको व्युत्पन्न भएकामा जोड दिएका छन् । काठमाडौँको मंदुख्योमा बनेको चैत्य पनि शंखधरले विश्वास गरिन्छ । यी ऐतिहासिक प्रमाणहरूले शंखधर एक पौराणिक व्यक्ति मात्र नभई एक प्रामाणिक व्यक्तित्व थिए भन्ने कुरा स्पष्ट गर्दछ ।
सन् १४४१ देखि १७६४ सम्म (अर्थात् नेपाल संवत् ५६१ देखि ८८४ सम्म) का धेरै शिलालेख र ताम्रपत्रको विश्लेषण गर्दै लिपिविज्ञ र इतिहासकार, श्यामसुन्दर राजवंशी दाबी गर्छन् कि नेपाल संवत् र पूर्व–नेपाल संवत् ‘तिथि’ तर ‘मिति’ पनि गणना गर्ने चन्द्र र सौर्य मास दुवै समेटिएको पात्रो हुन् भन्ने दाबी गर्छन् । नेपालमा विक्रम संवत्को प्रयोग हुनुभन्दा धेरै अगाडिका यी शिलालेख, ताम्रपत्र र ऐतिहासिक दस्ताबेजमा सबै महत्त्वपूर्ण ‘संक्रान्तिका नाम उल्लेख रहनुले नेपाल संवत् र नेपाल संवत्को पुरानो स्वरूपका पात्रोहरू चन्द्र र सौर्य दुवै समेटिएको प्रमाण भएको उहाँ बताउनुहुन्छ, (राजवंशी २०१२, पेज ३९) । अन्य सौर्य पात्रोमा जस्तै नेपाल संवत्को पात्रोमा पनि ३६५ दिन रहेको उनको भनाइ छ ।
पछिल्लो समय धेरै मानिसले भक्तपुरको विश्वजात्रा अर्थात् बिस्का जात्रालाई विक्रम संवत्को नयाँ वर्षसँग जोडेर हेर्न गरेका छन्, किनभने यो चाड वैशाख महिनाको पहिलो दिन (संक्रान्ति वा सँल्हु)को वरिपरि मनाइन्छ । पुस्तकका लेखक पूर्णराम मुनकर्मीले मल्लकालका अभिलेखमा उल्लिखित तथ्य दिएर मल्लकाल र त्योभन्दा अगाडि बिस्काजात्रा चैत्र शुक्ल पूर्णीमाका दिन योसिं ठड्याएर मनाउने चन्द्रमासका आधारमा मनाउँदै आएको पर्व हो भनेर स्पष्ट गर्नुभएको छ, (सम्वत् सन्दर्भ छगु दुवाला ‘सन् २०२१) । उहाँको अनुसन्धानले हाल बिस्का जात्रा भन्न थालेको विश्व जात्रा लिच्छविकाल वा त्योभन्दा अगाडि किरातकालदेखि नै मनाउँदै आएको पर्व भएको अनुमान गर्नुभएको छ ।
त्यस्तै लेखक सुभाषराम प्रजापतिले आफ्नो पुस्तकमा (संस्कृति भित्र २००६, पेज ७७–८४) पनि ऐतिहासिक तथ्यहरू दिएर मल्लकालको मध्यसम्म पनि बिस्का जात्रा चैत्र शुक्ल पूर्णीमाको वरपर मान्ने जात्रा हो भन्ने कुरा प्रस्ट्याउनुभएको छ । काठमाडौँ उपत्यकाका मूल बासिन्दा नेवारका लागि वैशाखको पहिलो दिनलाई ‘खाइ सल्हु’ भनेर मात्र चिनिन्थ्यो । तर, विक्रम संवत्ले पाएको आधिकारिक हैसियतका कारण यसको नयाँ वर्षले राष्ट्रिय ध्यानाकर्षण गर्न थाल्यो र बिस्तारै देशभरका मानिसले यसको नयाँ वर्ष मनाउन थालेका हुन् । अन्यथा, सरकारी तहमा बाहेक विक्रम संवत्को नयाँ वर्ष मनाउने कुरा सन् १९८० को दशक अघिसम्म सर्वसाधारणलाई खासै थाहा थिएन ।
ठकुरी शासनकाल (८७९–११९९ ईस्वी) र मल्ल शासन (१२००–१७६९ ईस्वी) को समयमा नेपालमा आधिकारिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवर्धन गरिएको थियो । चौधौँ शताब्दीमा खस राजाहरूद्वारा खस देश (जुम्ला) मा समेत नेपाल संवत्को प्रयोग हुनुले पनि नेपाल संवत्को लोकप्रियता देखाउँछ, (तमोट २०१२) ।
नेपाल संवत्को प्रयोग नेपालमा मात्रै सीमित नभएर चीन र भारतमा पनि प्रयोगमा रहेको पाइन्छ । उदाहरणका लागि— चीनका मिङ वंशका सम्राटले नेपाल संवत् ५६५ मा बनेपाका सामन्त प्रमुख शक्तिसिंह रामवर्धनलाई एउटा दस्ताबेज पठाएका थिए । त्यसैगरी अहिले भारतको पश्चिम बङ्गालमा रहेको कुचविहारका राजा प्राण नारायणले ईस्वी १६६३ छापेका सुनको सिक्कामा नेपाल संवत् ७५३ अंकित गरेका (प्रा. माणिक लाल श्रेष्ठ २००७) ।
नेपाल संवत्को पात्रो अनुसार नयाँ वर्षको दिन कार्तिक (अक्टोबर/नोभेम्बर) महिनाको कछलाको पहिलो दिन वा नेपालको दोस्रो ठुलो चाड दीपावली वा तिहारको चौथो दिनमा मनाइन्छ । यस पर्वलाई नेवारहरूमा यमपञ्चक र सोंति पनि भनिन्छ, (‘द फेस्टिफल अफ सोंति‘ कन्ट्रिब्युसन टु नेपलिज स्टडिज, बाल गोपाल श्रेष्ठ, २००६, पेज २०३–२२१) ।
नेपालीले आफ्ना प्रायः सबै चाडपर्वहरू चन्द्रमास तिथि अनुसार मनाउने भएकाले नेपाल संवत्को नयाँ वर्षको दिन निकै महत्त्वपूर्ण छ । तिहारको चौथो दिन म्हपूजा नेवार समुदायको पुरानो परम्परामध्ये एक हो । यो परम्परा नेपाल संवत्भन्दा धेरै पुरानो हो । प्रख्यात नेपाली इतिहासकार भुवनलाल प्रधानले लिच्छवि राजाहरूमध्ये एक मानदेव प्रथम (४६४–५०५ ईस्वी) ले यो पर्वको सुरुवात गरेको मान्छन्, (‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’ नेवाः विज्ञान भुवनलाल प्रधान १९९८ पेज ३८) ।
नयाँ वर्ष मनाउने र म्हपूजा, काठमाडौँ उपत्यकाका जनताले नयाँ वर्षसँग सम्बन्धित भए पनि म्हपूजा गर्ने परम्परा नेपाल संवत्भन्दा धेरै पुरानो हो । भारतमा पनि कार्तिकादि चन्द्र संवत् मान्नेहरूले यसै दिन नयाँ वर्ष मनाउँछन् । उदाहरणका लागि— गुजरातमा यही दिन विक्रम संवत्को नयाँ वर्ष मनाइन्छ । त्यौहार, दीपावली वा दिवालीको रूपमा, यो भारत र अन्य देशहरूमा हिन्दुहरूबिच व्यापक रूपमा मनाइने चाड हो । नयाँ वर्ष मनाउने लामो समयसम्मको परम्पराले नै तिहार वा यमपञ्चकको महान चाडको सिर्जना हुन गएको अनुमान गर्न सकिन्छ ।
संस्कृत, नेवार, मैथिली, गोर्खाली र अरबी भाषाहरूमा लेखिएका असंख्य नेपाली ऐतिहासिक दस्ताबेज, इतिहास र शास्त्रहरूमा नेपाल संवत्को उल्लेख पाइन्छ । काठमाडौँ उपत्यकामा मात्र नभई नेपालको पूर्व र पश्चिम र बाहिरका सार्वजनिक स्थानहरू र निजी संग्रहहरूमा समेत नेपाल संवत् उल्लेख गरिएका शिलालेख, ताम्रपत्र र तमसुक ताडपत्र असंख्य भेटिएका छन् । त्यसैगरी, नेपाल संवत्मा मितिहरू बोकेका असंख्य पाण्डुलिपिहरू नेपाल र अन्य देशका अभिलेखालयहरूमा सुरक्षित छन् ।
नेपालमा ठकुरी र मल्ल शासकले नेपाल संवत्लाई आधिकारिक संवत्का रूपमा प्रयोग गरे । मल्ल शासकहरू (१२०० देखि १७६९ ईस्वी) ले तकहरूमा नेपाल संवत्को प्रयोग गर्थे । सन् १७६९ मा नेपाललाई जितेपछि पृथ्वीनारायण शाहले शक संवत्को प्रयोग गर्न थाले पनि विक्रम र शक संवत्सँगै नेपाल संवत्को प्रयोग शाहकालमा पनि जारी रह्यो । तसर्थ, नेपालको इतिहासको कुनै पनि अध्ययन अनुसंधान नेपाल संवत्को उचित ज्ञानविना अधुरो हुनेछ ।
- नेपाल संवत्मा महिनाहरू
नेपाली जनताले आफ्नो दैनिक जीवनमा सबै धार्मिक रीतिरिवाज र जात्रा पर्व प्रयोजनका लागि चन्द्र पात्रो वा नेपाल संवत्मा आधारित तिथि नै प्रयोग गर्ने गरेका छन् । चन्द्र संवत् बेबिलोनमा ४००० इसा पूर्व (स्टर्न २०००) को आसपास आविष्कार गरिएको थियो । घुमन्ते इन्डो–आर्यहरूले यसलाई लगभग १३५० इसा पूर्व (‘द बेलिलोनियन क्यालेन्डर आएट इलेफानटाइन‘ सचा पेनग्री १९७८) मा सिन्धु उपत्यकामा ल्याए ।
सौर्य पात्रोको विपरीत (जसमा नागरिक दिन मध्यरातदेखि अर्को मध्यरातसम्म वा सूर्योदयदेखि अर्को सूर्योदयसम्म गणना गरिन्छ), चन्द्रमाको संवत् चन्द्रमाको चरण वा ‘चन्द्राकार‘ को अवधिहरूमा आधारित हुन्छ । जसलाई हिन्दु पात्रोमा ‘तिथि’ भनिन्छ । यसको अवधि पूर्णतया असंगत र अप्रत्याशित छ, किनकि कुनै पनि क्षणमा एक तिथि समाप्त हुन सक्छ र कुनै पनि क्षणमा फेरि अर्को तिथि सुरु हुन सक्छ । यसले तिथिको अन्त्य कहिले हुन्छ भन्ने निर्णय गर्न समस्या उत्पन्न हुन्छ । चन्द्र तिथि सौर्य दिन भन्दा लामो वा छोटो हुन सक्छ र दोब्बर वा हराउन पनि सक्छ । एउटै दिनमा एक भन्दा बढी चन्द्र तिथि हुन पनि सक्छ ।
सामान्यतया चन्द्र वर्षमा बाह्र महिना हुन्छन् । जुन महिनामा २९.५३०५८९ दिन हुन्छ, जसले वर्षमा ३५४.३६७०६ दिन बनाउँछ, (इन्डेन आस्ट्रोनोमी : आएन इनट्रोडक्सन, एस. बालचन्द्र राव २००० पेज ४४) । जबकि सौर्य वर्ष ३६५ दिनको हुन्छ । चन्द्र वर्ष सौर्य वर्षभन्दा ११.२५ दिनले छोटो हुन्छ । नेपाल संवत् लुनिसोलर संवत्मा आधारित छ, जसलाई सौर्य पात्रोमा समायोजन गर्न अधिकमास अर्थात् अतिरिक्त महिनाले समायोजन गर्दछ ।
सौर्य र चन्द्र दिनहरू बिचको अन्तरलाई पुर्नका लागि लुनिसोलर संवत्मा प्रत्येक सत्ताइस महिनापछि अतिरिक्त महिना हुन्छ । जुन वर्ष कुनै चन्द्रमासमा संक्रान्ति हुँदैन । त्यो वर्ष अतिरिक्त महिना हुन्छ । अतिरिक्त महिनालाई नेपाल संवत्मा अनला र विक्रम, शक र अन्य भारतीय संवत्मा अधिमास भनिन्छ । कहिलेकाहीँ एक चन्द्रमासमा दुईवटा संक्रान्ति पर्दा पहिलोलाई कायम राखेर दोस्रोलाई दबाइन्छ र यसलाई क्षय मास वा एक महिनाको लोप भनिन्छ । त्यसै वर्षमा अतिरिक्त महिना हुँदा वर्षमा दिनहरू ३९० भन्दा थोरै कम हुन्छन्, (काणे १९९४ः ६६६) ।
नेपाल संवत्को प्रारम्भदेखि नै महिनाहरूको संस्कृत नामहरू नेपाल संवत् पात्रोसँग प्रयोग गर्ने चलन थियो तर नेपाल संवत्मा महिनाहरूको नाम फरक छ । यीमध्ये केही नाम स्पष्ट रूपमा संस्कृत नामहरूबाट व्युत्पन्न भएका छन् । उदाहरणका लागि— कार्तिकबाट कछला, पौषबाट पोहेला, चैत्रबाट चौला र वैशाखबाट बचला भयो ।
- चन्द्र दिन र मिति
सामान्यतया चन्द्रमाका दिनलाई तिथि भनिन्छ । सामान्यतया प्रत्येक शुक्ल पक्ष र प्रत्येक कृष्ण पक्षमा पन्ध्र तिथि वा दिनहरू हुन्छन्; कहिलेकाहीँ चन्द्रमाको गतिमा निर्भर गर्दै एक दिन कम वा एक दिन बढी हुन सक्छ । महिनाको शुक्ल र कृष्ण पक्ष दुवै चौधौँ दिनलाई चतुर्दशी नामले गनिन्छ ।
नेपाल संवत् अनुसार आरम्भ शुक्लबाट हुने भएकाले पन्ध्रौँ दिन पूर्णिमाको दिन र अन्तिम वा ३०औँ दिन औँसी हो । कहिलेकाहीँ चन्द्र महिनामा मनाइने विभिन्न चाड अनुसार ती दिनले विशेष नाम प्राप्त गरेको हुन्छ ।
नेवारहरू मात्र नभई नेपालका सबै मानिसले धार्मिक रीतिरिवाज र चाडपर्वमा चन्द्र पात्रोको पालना गर्छन् । यद्यपि तिनीहरूले चन्द्र दिनहरूलाई भारतीय वा संस्कृत नामहरूमा प्रयोग गरिएको हुन्छ, जुन शक र विक्रम संवत्सँग मिल्दोजुल्दो छ ।
चान्द्र महिनाका दुवै पक्षका नामहरू
नेपाल संवत्मा शुक्ल पक्ष (थो)ले एक महिनाको पहिलो पन्ध्र दिन र कृष्ण पक्ष (गा)ले दोस्रो पन्ध्र दिन समेटेको हुन्छ । दुवै पक्षका अरु दिनको नाम उस्तै छ । १५औँ दिनलाई पुन्हि वा पूर्णिमा र महिनाको अन्तिम वा ३०औँ दिनलाई औँसी वा अमावस्या भनिन्छ । अमान्त पद्धति मान्नेहरूले शुक्ल पक्षको पहिलो दिनलाई महिनाको प्रारम्भ मान्छन् भने पूर्णमान्तक मान्नेहरूले कृष्ण पक्षको पहिलो दिनलाई महिनाको प्रारम्भ मान्छन् ।
चन्द्र महिनामा पन्ध्र दिनको दुई भाग हुने भएकाले यसलाई पूरै महिनाका लागि ३० वा २९ दिनको रूपमा गणना गर्न सकिन्छ ।
एक वर्षमा नियमित चाडपर्वहरूबाहेक बाह्र पूर्णिमा (पुन्हि), बाह्र चरे (चतुर्दशी), बाह्र औँसी र दुवै पक्ष एघारौँ दिन (एकादशी) धार्मिक रूपमा बढी महत्त्व राख्छन् । धार्मिक नेपाली जनताका लागि महत्त्वपूर्ण दिन । सामान्यतया, पूर्णिमाका दिनहरूको नामहरू महिनाहरूको नामसँग मेल खान्छ, तर धेरै अवस्थामा तिनीहरू त्यो विशेष दिनमा मनाइने चाड अनुसार फरक हुन्छन् ।
- पूर्णिमाका दिनहरूको नाम
त्यस्तै, संवत्को कृष्ण पक्ष को चौधौँ र पन्ध्रौँ दिनको आफ्नै नाम छ । प्रत्येक कृष्ण पक्षको चौधौँ दिनको नाम त्यो दिन मनाइने पर्व अनुसार फरक–फरक हुन्छ । चतुर्दशी, कृष्ण पक्षको चौधौँ दिन वा महिनाको २९औँ दिनलाई नेपाल संवत् पात्रोमा चरे वा चह्रे भनिन्छ । सामान्यतया नेपाली पञ्चांगहरूले नेपाल संवत्का लागि सबै कृष्ण पक्षको चौधौँ दिनका नामहरू उल्लेख गरेका हुन्छन् । तर केहीले भने संस्कृत नामहरू मात्र दिएका हुन्छन् ।
माघे संक्रान्ति (घ्योचाकु सल्हु), वैशाख संक्रान्ति वा खाइ सल्हु (भक्तपुर, थिमि र टोखामा बिस्केट यात्रा) र श्रावण संक्रान्ति बाहेक नेपालमा अन्य सबै चाडपर्वहरू चन्द्र पात्रो अनुसार नै मनाइन्छ ।
नेपालीहरूले मनाइने रीतिरिवाज र परम्पराहरू विविध र जटिल प्रकृतिका छन् । नेवारहरूमा पनि प्रत्येक जात, समुदाय, प्रत्येक इलाका र परिवारको साथमा, चाडपर्व र चाडपर्वहरू मनाउने क्रममा भिन्नताहरू पाउनु असामान्य होइन । उदाहरणका लागि— एउटै चाड मनाउने तिथि परिभाषित गर्दा ज्योतिषीहरूको आफ्ना कुल परंपरा अनुसार फरक हुन सक्छ । किनभने विभिन्न ज्योतिषीले त्यस्ता तिथिहरू निर्धारण गर्दा फरक सिद्धान्त पछ्याउँछन् । प्रा. कमलप्रकाश मल्लले आफ्नो ‘नेवार संस्कृति र पहिचानसम्बन्धी हालका प्रकाशनको समीक्षा’ शीर्षकको लेखमा आफ्नो राष्ट्रिय पहिचानको मुद्दामा एकताको कुरा गर्ने नेवारहरू तिथिहरू निर्धारण गर्ने, चाड पर्व मान्ने कुरामा कसरी विभाजित छन् भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरेका छन्, (मल्ल २०१०) ।
- नेपाल संवत्को आन्दोलन र वर्तमान
धार्मिक, सामाजिक र सांस्कृतिक पर्वहरू निर्धारण गर्न नेपाल संवत्लाई हिन्दु र बौद्ध संस्कृतिको अभिन्न अंगको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । विक्रम संवत्लाई आधिकारिक संवत्को रूपमा प्रस्तुत गरिए पनि नेपाल संवत् नेपाली संस्कृतिको प्रमुख हिस्साका रूपमा कायम रहँदै आएको छ । केही अपवादबाहेक नेपालमा सबै चाडपर्व र बिदाहरू चन्द्र पात्रोमा आधारित हुन्छन् ।
नेपाली जनताले सबै धार्मिक चाडपर्व, जन्मदिन, जीवनचक्र र मृत्यु संस्कार चन्द्र पात्रो अनुसार नै मनाउने गर्छन् । ज्योतिषीहरूले धार्मिक रूपमा महत्त्वपूर्ण कार्यका लागि (जस्तै : शुभ मुहूर्त वा साइत निर्धारण गर्न, राशिफल लेख्न, सबै धार्मिक चाडपर्वहरूको मिति निर्धारण गर्न र नेपालको सांस्कृतिक रीतिरिवाज र बिदा मनाउन) चन्द्र पात्रो नै प्रयोग गर्छन् ।
विद्वान् धर्मादित्य धर्माचार्यले सम्पादन गरेको ‘बुद्धधर्म व नेपालभाषा नामक’ पत्रिकामार्फत सन् १९२८ मा पहिलोपटक नेपाल संवत्को नयाँ वर्षलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आह्वान गरिएको थियो ।
सन् १९५४ मा नेपालभाषा साहित्यिक संस्था चोसापासाले हनुमानढोका दरबारको नासलचोकमा नेपाल संवत्को पहिलो सार्वजनिक नयाँ वर्ष समारोह आयोजना गरेको थियो जहाँ सरदार नरेन्द्रमणि आचार्य दीक्षित र बालकृष्ण समजस्ता दिग्गज उपस्थित थिए । त्यस समारोहमा बालकृष्ण समले त ‘भोलिबाट नेपाल संवत्‘ प्रयोग गर्न थाल्ने बताउनुभएको थियो, तर उहाँले नेपाल संवत् प्रयोग गरे वा नगरेको कसैलाई थाहा भएन ।
विद्वान् धर्मादित्य धर्माचार्यले सम्पादन गरेको ‘बुद्धधर्म व नेपालभाषा नामक’ पत्रिकामार्फत सन् १९२८ मा पहिलोपटक नेपाल संवत्को नयाँ वर्षलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आह्वान गरिएको थियो ।
सन् १९७० को दशकदेखि नेवार बुद्धिजीवीहरूले नेपाल संवत्को नयाँ वर्षको दिनलाई सार्वजनिक कार्यक्रमको रूपमा मनाउन थाले । उनीहरूले सन् १९७९ देखि नयाँ वर्षको दिनमा सांस्कृतिक जुलुस र जनसभाहरू आयोजना गरेर यसको मान्यताका लागि अझ तीव्रताका साथ अभियान थाले । तिनीहरूको माग यसलाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिनु थियो । पञ्चायतकालमा (१९६०–१९९०) सरकारले नयाँ वर्ष मनाउनेलाई दण्डित र अपमान गरेको थियो । उदाहरणका लागि— सन् १९८५ मा नेपालभाषा मंका खलले नेपाल संवत् नयाँ वर्ष मनाउन काठमाडौँमा जन र्यालीको आयोजना गर्यो, तर तत्कालीन सरकारले आफ्नो प्रहरी बलले सहभागीलाई कुटपिट गरी सयौँलाई गिरफ्तार गरेर निर्ममतापूर्वक दमन गर्यो ।
‘नेवार’ शब्दको पहिलो प्रयोग सन् १६५४ को हनुमानढोकाको एकको शिलालेखमा भटिएको इतिहासले देखाउँछ, (स्लसर १९८२ः९) । उन्नाइसौँ शताब्दीदेखि नै ‘नेवार’ शब्दले काठमाडौँ उपत्यकाका बासिन्दालाई सामान्य रूपमा संकेत गर्न प्रयोग गर्न थाल्यो ।
अर्कोतर्फ देशका लागि शताब्दीयौँदेखि प्रयोग हुँदै आएको ‘नेपाल’ शब्द अहिले नेपालकै आधुनिक राष्ट्र–राज्यको नाम हो । तसर्थ, ‘नेपाल’ शब्द अब कुनै विशेष समुदायलाई मात्र संकेत गर्न प्रयोग गर्न सकिँदैन । इतिहासमा कुनै एक नेवारले स्थापना गरेको हुनाले वा नेवार समुदायले यसलाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिन वकालत गर्न थालेको कारणले ११४५ वर्ष पुरानो नेपाल संवत्लाई कसैले ‘नेवार’ वा ‘नेवारी’ संवत् भनेर नामकरण गर्न खोज्नु बिल्कुल गलत कुरा हो । वास्तवमा ‘नेवार संवत्’ नामको कुनै संवत् छैन पनि । नेपाल संवत्लाई ‘नेवार संवत्’ वा ‘नेवारहरूको मात्र हो’ भन्नु इतिहासलाई विकृति तुल्याउने मात्र हुनेछ । नेपाल संवत्का बारेमा किन नेवारहरू मात्र चिन्तित छैनन्, म प्रख्यात विद्वान् अभि सुवेदीको ‘किन केवल नेवारहरू ?’ शीर्षकमा स्थानीय अंग्रेजी दैनिकमा प्रकाशित लेखका केही लाइन उद्धृत गर्न चाहन्छु । सन् २००३ मा नयाँ वर्ष ११२४ नेपाल संवत् मनाएको देखे लगत्तै ‘द काठमान्डु पोस्ट’मा उहाँले लेखेका केही हरफहरू :
‘तर जब नेवारहरूले नेपाल संवत् ११२४ मनाए, तिनीहरूले जीवन मनाए, तिनीहरूले कला मनाए र तिनीहरूले यो भूमिको गौरव र सम्पत्ति भएको सभ्यताको अन्तिम रोदन मनाए । नयाँ वर्ष ११२४ को अवसरमा नेवारहरूले मात्र किन यात्रा गरे भन्ने जवाफ सरल छैन । पहिलो, मेरो अनुमान छ, गैरनेवारहरू उपत्यकाको महत्त्वपूर्ण प्रदर्शनात्मक संस्कृति र यसको गतिशीलताप्रति असंवेदनशील छन् । दोस्रो कारण हो, उपत्यकाको प्रस्तुति र कलात्मक सम्पदालाई नेवारहरूले मात्रै आज यहाँसम्म ल्याइपुर्याएका छन् । नेपाल संवत् सबै नेवार र गैरनेवारका लागि प्रत्येक वर्ष हाम्रो जीवनमा हुने प्रदर्शनात्मक संस्कृति र सीमित परिवर्तनको उत्सवका लागि उत्कृष्ट अवसर हुनुपर्छ । नयाँ वर्ष ११२४ सँग नयाँ आशा र प्रदर्शनको शक्तिको सुरुवात गरौँ ।’ (द काठमाडौँ पोस्ट ६ नोभेम्बर २००३) ।
खगेन्द्र संग्रौलासँग आफ्नो नियमित टीभी कार्यक्रम दिशानिर्देशमा भएको छलफलमा नेपालका चर्चित टीभी एङ्कर विजयकुमार पाण्डेले पाण्डे र उनको पुस्ताका मानिसलाई नेपाल संवत्का बारेमा कसरी गलत जानकारी दिइयो भन्ने बारेमा निकै रोचक टिप्पणी पाण्डेले यसरी व्यक्त गरेका थिए :
‘हामी स्टुडेन्ट (विद्यार्थी) हुँदाखेरि हामीलाई बताइयो, अथवा मान्थ्यौँ पनि कि नेपाल संवत् भनेर स्वीकार गरिदियौँ भने हाम्रो नेपाली संस्कृति कमजोर हुन्छ भनेर हैन ? कति मूर्ख र वेबकुफ थिएँ । यो कुरा बुझ्न वर्षौं लाग्यो कि मैले नेपाल संवत्मा रमाइलो गरेर नेपाल संवत्को महत्ता स्वीकार गर्यो भने त समष्टिगत रूपमा राष्ट्रिय संस्कृति बलियो हुन्छ नि ! मैले शंखधर साख्वालाई सम्मान गरेँ भने देशको सम्मान हुन्छ भन्ने चिज... (पाण्डे १७ अक्टोबर २०१३) ।’
सन् १९९९ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको नेपाली काङ्ग्रेस पार्टीको सरकारले नेपालको राष्ट्रिय विभूति मानिने शंखधर साख्वालाई नेपालका राष्ट्रिय विभूतिको रूपमा मान्यता दिएको थियो, जसलाई नेपाली जनताले उनले सुरु गरेको नेपाल संवत्लाई मान्यता दिएको संकेतका रूपमा लिएका थिए ।
सन् २००७ मा नयाँ वर्ष ११२८ नेपाल संवत्का अवसरमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘मेरो लेटरप्याड र मन्त्रीहरूको लेटर प्याडमा नेपाल संवत् छापिनेछ’ भनी घोषणा गरेका थिए । यद्यपि उहाँका शब्द व्यवहारमा लागु भए वा भएनन्, हामीलाई थाहा छैन ।
त्यसपछिको वर्षमा नेपाल गणतन्त्रमा परिणत भएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा पहिलो निर्वाचित सरकारले २०६३ अक्टोबर २४ मा सर्वसम्मतिले नेपाल संवत्लाई ‘नेपालको राष्ट्रिय संवत्’ घोषणा गरेको थियो । नेपाल सरकारले दुई सय ४० वर्षभन्दा लामो समयदेखि नेपाल संवत्लाई आधिकारिक प्रयोजनका लागि प्रयोग गर्न बन्द गरेको थियो । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ‘नेपाली जनताले गणतन्त्र नेपालको पहिलो उपहारस्वरूप घोषणापत्र पाएका छन्’ भने । तर नेपाल संवत्लाई नेपालको आधिकारिक संवत्मा परिणत गर्ने दिशामा थप प्रगति देख्नका लागि प्रचण्डको प्रधानमन्त्री पद लामो समय टिक्न सकेन । अर्को वर्ष उहाँका उत्तराधिकारी माधवकुमार नेपालले पनि नेपाल संवत् पात्रोलाई आधिकारिक पात्रोका रूपमा लागु गर्न सिफारिस समिति गठन गर्ने आश्वासन दिनुभयो, तर त्यसले दिनको उज्यालो कहिल्यै देखेन ।
यी प्रधानमन्त्रीका ठुलाठुला वाचा र घोषणाका विरुद्ध २०७२ सालको संविधानसभामा नेपालको नयाँ संविधानमा नेपाल संवत्लाई मान्यता दिने विषयमा छलफल हुँदा कुनै पनि दलले समर्थन गरेनन् । यसरी सरकारले सन् २००८ को घोषणा गरे पनि नेपाल संवत्ले कुनै आधिकारिक हैसियत पाउन सकेन । यथार्थ के हो भने विक्रम संवत्प्रति बफादार राजनीतिज्ञको एक वर्ग नेपाल संवत्लाई नेपालको आधिकारिक पात्रोको रूपमा मान्यता दिन पूरै विपक्षमा रहे । उदाहरणका लागि— कट्टर राजतन्त्रवादी नेता दीर्घराज प्रसाईंजस्ता विक्रम संवत्का कट्टर समर्थक भन्छन्, ‘विक्रम संवत् नेपाली राष्ट्रवादको गौरव हो ।
‘नेपाल संवत्को इतिहासको एक लेखा–जोखा’ शीर्षकको लेखमा प्रसाईं लेख्छन्, ‘नेपाल संवत् सबै पार्टीका बाहुन नेताहरूका मागिखाने भाँडोजस्तै भइरहेको छ’ (द हिमालयन बेकन, १ नोभेम्बर २०१०) । उनले नेपाल संवत्लाई नेपालको मौलिक संवत् माने पनि आधिकारिक संवत्का रूपमा प्रयोग गर्न नेपालका लागि अनुपयुक्त ठान्छन् ।
यसैबिच २७ अक्टोबर २०११ मा, काठमाडौँको खुलामञ्चमा आयोजित ११३२ नयाँ वर्ष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सरकारले नेपाल संवत्लाई व्यावहारिक रूपमा नेपालको आधिकारिक संवत्को रूपमा लागु गर्ने घोषणा गरे । यसका लागि उनले नेपाल संवत्का प्रखर प्रचारक पद्मरत्न तुलाधरको अध्यक्षतामा कार्यदल पनि गठन गरेका थिए । २०१२ नोभेम्बर १४ गते नयाँ वर्ष ११३३ नेपाल संवत् मनाउने क्रममा प्रधानमन्त्री डा. भट्टराईले पद्मरत्न तुलाधरले आफ्नो सरकारलाई बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने आश्वासन दोहोर्याए । १८ जनवरी २०१३ मा, मन्त्री परिषद्ले नेपाल संवत्को नयाँ वर्षको दिनलाई राष्ट्रिय बिदाको रूपमा घोषणा गर्ने निर्णय गर्यो । दुर्भाग्यवश, डा. भट्टराईले विक्रम संवत्लाई आधिकारिक प्रयोगबाट हटाउने आफ्नो वाचा कार्यान्वयन गर्नुअघि नै १४ मार्च २०१३ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्यो र नेपालको आधिकारिक संवत्को रूपमा लागू गर्ने काम फेरि पनि पछि धकेलियो ।
त्यसपछिका प्रधानमन्त्री र सरकारहरूले विक्रम संवत्लाई सरकारी प्रयोगबाट हटाउने र नेपाल संवत्लाई आधिकारिक पात्रोका रूपमा प्रयोग गर्ने कुरालाई कार्यान्वयनमा ल्याउन खासै कुनै काम गरेको देखिएन । डा. भट्टराईलाई विस्थापित गरेर मन्त्री परिषद्का अध्यक्ष बन्न पुगेका खिलराज रेग्मीले त नेपाल संवत् ११३३ को नयाँ वर्ष दिवस मनाउन आयोजना गरेको समारोहमा पुगेर नेपाल संवत्लाई मात्र नेवार सांस्कृतिक परम्परासँग सम्बन्धित रहेको संवत् भनेर बोल्न समेत भ्याएका थिए ।
त्यसपछिका प्रधानमन्त्रीहरू पनि नेपाल संवत्को नयाँ वर्ष समारोहलाई सम्बोधन गर्न पुगे, तर कसैले पनि सरकारी कामकाजमा आधिकारिक संवत्का रूपमा लागु गर्ने काम कसैले गरेन । तेस्रोपल्ट प्रधानमन्त्री बन्न सफल प्रचण्डको नेतृत्वको सरकारले नेपाल संवत् नयाँ वर्ष ११४४ को पूर्वसन्ध्यामा नेपाल सरकारका सबै आधिकारिक कागजात र कामकाजमा नेपाल संवत् तिथि (मितिहरू) प्रयोग गर्ने निर्णय भएको घोषणा हुनु नेपाल संवत् आन्दोलनकारीका लागि अन्यन्तै सन्तोषको विषय भयो ।
- नेपाल संवत् प्रयोग गर्ने वा नगर्ने
सरकारले नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गरेर सरकारका सबै आधिकारिक कागजात र कामकाजमा नेपाल संवत् तिथि (मितिहरू) प्रयोग गर्ने निर्णय भएको घोषणा गरिसकेको हालको समयमा पनि यसको प्रयोगलाई लिएर प्रश्न गर्ने कम छैनन् । के नेपाल संवत्ले विक्रम संवत्लाई प्रतिस्थापन गर्न खोजेको हो भन्ने पनि सवाल उठाउने गरिएको छ । नेपाल संवत् पक्षमा रहेकाले कुनै यसको प्रयोगमा समस्या नआउनुपर्ने धारणा राख्छन् भने विपक्षीहरूले व्यवहारमा ल्याउन नसकिने ठान्छन् र विभिन्न कारण दिन्छन् । यस सन्दर्भमा धेरै विरोधाभासपूर्ण विचारहरू आउने गरेका छन् ।
चन्द्र संवत्का आधारमा दैनिक जीवनका धेरै धार्मिक र सांस्कृतिक चाडपर्वहरूले मनाउँदै आएका नेपाल संवत्का पक्षधरहरू नेपाल संवत् नेपाली सांस्कृतिक सम्पदाको एउटा महत्त्वपूर्ण अंग हो र हाम्रो संस्कृति परम्परासँग गहिरो जरा गाडिएको संवत् हो भन्ने मान्यता राख्छन । धार्मिक कार्य र सांस्कृतिक कार्यक्रमका लागि सबै तिथि यसै पात्रोमा आधारित छन् ।
चन्द्र संवत्ले प्राचीन कालदेखि नै नेपालमा बौद्ध र हिन्दुहरूको प्रायः सबै प्रमुख धार्मिक र सांस्कृतिक पर्वहरू निर्धारण गर्दछ । सबै चाडपर्व तथा व्रत चन्द्र संवत् अनुसार मनाउने गरेकाले यसको व्यावहारिकतामा कुनै शंका छैन । नेपाल संवत्को संवत् विश्वका अन्य संवत् जत्तिकै वैज्ञानिक छ । उनीहरू विश्वस्त छन् कि नेपाल संवत्को प्रयोगले कुनै असुविधा हुनेछ भनेर तर्सिनुपर्ने कुनै कारण छैन । उनीहरू भन्छन्— नेपाल संवत्को आविष्कारले हाम्रा पूर्वजले ज्योतिषीलाई धार्मिक पर्वहरू सही रूपमा निर्धारण गर्न सक्षम पार्दै लगे ।
नेपाल–संवत् भारतीय उपमहाद्वीपमा मुद्रामा प्रचलित अरु संवत्हरू समान खगोलशास्त्र (जस्तै : तिथि, वार, पक्ष, मास, योग, करण, मुहूर्त र प्रहर) मा आधारित छन् । एक सामान्य दिन सूर्योदयमा सुरु भई सूर्यास्तमा समाप्त हुन्छ, जब कि एक तिथि कुनै पनि क्षणमा सुरु भई कुनै पनि क्षणमा समाप्त हुन सक्छ । यो कुरा सूर्य र चन्द्रमाको आ–आफ्नो कक्षका बिचको कोणीय दूरीमा निर्भर तिनीहरूको परिक्रमाले निर्धारण गर्दछ ।
नेपाल संवत्को विरोध गर्नेहरूले यो चन्द्रमाको गतिमा आधारित चन्द्र सौर्य पात्रो भएकाले सरकारको दैनिक कार्यका लागि यसलाई व्यवहारमा ल्याउनु अत्यन्तै अव्यावहारिक भएको तर्क गर्छन् । सरकारका साथै नेपालका अधिकांश जनता आफ्ना सबै एजेन्डाका लागि विक्रम संवत्को मितिमा अभ्यस्त भएको उनीहरूको विश्वास छ । सरकारको दैनिक कार्यका लागि नेपाल संवत् लागु भएमा अनावश्यक झमेला सिर्जना हुने उनीहरूको तर्क छ ।
नेपाल संवत्का दिन र मितिहरूलाई सौर्य मासकै अनुसार समायोजन गर्ने विचार पनि कतिपयको छ । तिनीहरू सोच्छन् कि चन्द्र पात्रो दैनिक कार्यका लागि प्रयोग गर्नै सकिँदैन । तिनीहरूको विचारमा यस्तो समायोजन काम कुनै नयाँ घटना पनि होइन । क्रिस्चियन संवत् पनि मूल रूपमा एक चन्द्र पात्रो थियो तर पछि सौर्य कक्ष परिणत गरिएको हो । त्यसैगरी नेपाल संवत्लाई पनि सरकारको दैनिक कार्यका लागि सौर्यमासको आधार लिन सक्छ ।
देवदास मानन्धर र समीर कर्माचार्यजस्ता अनुसन्धानकर्ताले कम्प्युटर डाटाबेसमा नेपाल संवत् सेट गरी सरकारको दैनिक कार्यमा कुनै अवरोधविना व्यवहारमा ल्याउन सकिने दाबी गरेका छन् । तिनीहरू यसलाई पूर्ण रूपमा वैज्ञानिक र धेरै सरल पात्रोका रूपमा प्रयोग गर्नका लागि वकालत गर्छन् । तिनीहरू दाबी गर्छन् कि आफूहरूले कम्प्युटरमा सिर्जना गरेका मितिहरूमा भ्रम नहुने गरी कुनै अन्य संवत्का मितिहरू सँगसँगै प्रयोग गर्न सकिन्छ, (मानन्धर २००८) ।
इतिहासकार श्यामसुन्दर राजवंशीले नेपाल संवत्लाई विगतमा पनि सौर्य पात्रोका रूपमा प्रयोग गर्ने गरेकाले यसलाई पुनः सौर्य संवत्का रूपमा प्रयोग गर्न समस्या नहुने स्पष्ट पारेको छ । त्यसैले आवश्यक परेमा सौर्य संवत्का रूपमा आवश्यक परिवर्तनहरू समायोजन गरी लागु गर्न कुनै समस्या हुनेछैन ।
अझै केही समूहले विक्रम संवत्को सट्टा ग्रेगोरियन संवत् नै चलाऔँ भन्ने गर्छन् । ग्रेगोरियन संवत्लाई सबैभन्दा वैज्ञानिक मानिने र विश्वव्यापी रूपमा स्वीकृत भएकाले यो नेपालका लागि सबैभन्दा उत्तम विकल्प हो भन्ने उनीहरू ठान्छन् । अमेरिका र युरोपेली देशहरूमा मात्र नभई भारत, जापान, चीन, कोरिया, श्रीलंका लगायत प्रायः सबै एसियाली देशमा सरकार र जनताले लामो समयदेखि क्रिस्चियन संवत् प्रयोग गर्दै आएका छन् । त्यसैले सरकारको प्रशासनका लागि विक्रम संवत्लाई क्रिस्चियन संवत्ले विस्थापित गर्नु नै नेपालका लागि उत्तम हो भनी उनीहरूको धारणा छ । एकताका सरकारले विक्रम संवत्लाई क्रिस्चियन संवत्मा बदल्न आवश्यक कदम चालेको खबर पनि आएको थियो ।
नेपाल सरकारले २०११ मा पद्मरत्न तुलाधरको अध्यक्षतामा कार्यदल गठन गर्दा सरकारको दैनिक कार्यका लागि विक्रम संवत्लाई सामान्य संवत्मा बदल्ने पक्षमा प्रतिवेदन पेस गर्ने अपेक्षा गरेको थियो । प्रतिवेदनले भारतको उदाहरण लिन सरकारलाई सिफारिस गरेको भए पनि विक्रम संवत्लाई सामान्य संवत्मा राख्न सिफारिस नगरेको तुलाधरले बताए । साथै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिसकेपछि नेपालमा चलेका संवत्हरूबारे राष्ट्रिय नीति तर्जुमा गर्न विज्ञहरूको समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ । उनले आफ्नो कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको भन्दै निराशा व्यक्त गरेका थिए ।
नेपाल संवत् आन्दोलनमा संलग्न व्यक्तिहरू विक्रम संवत्लाई क्रिस्चियन संवत्ले विस्थापित गर्ने विचारको कडा विरोध गर्छन् । उदाहरणका लागि नेपालभाषा मंका खलका तत्कालीन महासचिव नरेशवीर शाक्यले विक्रम संवत्लाई हटाएर नेपाल संवत् लागु गर्न सरकारसँग माग गरिरहनुभएको थियो, (शाक्य २००८ः१२) ।
अन्तर्राष्ट्रिय रूपमा चलेको इस्वी संवत्लाई कसैले चलाउ वा नचलाउ भन्नैपर्दैन, सबैले चलाइरहेको हालको अवस्था छ । त्यसकारण प्रोफेसर त्रिरत्न मानन्धर जस्ता इतिहासकारहरू ‘विक्रम संवत्लाई प्रतिस्थापना गरेर सरकारले क्रिस्चियन संवत्लाई आधिकारिक नेपालको संवत्को रूपमा मान्यता दिनु महाभुल हुनेछ, बरु नेपाल संवत्लाई नै आधिकारिक मान्यता दिनुपर्ने’ धारणा राख्नुहुन्छ ।
राष्ट्रिय संवत्का रूपमा घोषणा भइसकेको देशको नाममा रहेको नेपाल संवत्लाई चाहिएमा आवश्यक सुधार गरेर भए पनि नेपाल सरकारले आधिकारिक संवत्का रूपमा प्रयोगमा ल्याउनुपर्छ भनेर उहाँले भन्नुभएको हो । ‘नेपालमा क्रिस्चियन संवत्’ शीर्षकको लेखमा उहाँ भन्नुहुन्छ— यो सबै अभ्यासको विषय हो, एकपटक सरकारले यसको प्रयोग गर्न थाल्यो भने मान्छेहरूमा आदत हुनेछन् र प्रयोग गर्न सजिलो मान्दै जानेछन्, (कान्तिपुर दैनिक २००८ डिसेम्बर २) ।
पछिल्लो समय नेपालका गुरुङ, तामाङ, शेर्पा, थारु, राई र लिम्बुजस्ता अन्य आदिवासी जनजातिले पनि विभिन्न पात्रोअनुसार नयाँ वर्ष मनाउन थालेका छन् । सरकारले यी प्रत्येक समुदायको नयाँ वर्षको दिन सार्वजनिक बिदा दिने पनि गरेका छन् । त्यसैले नेपाल संवत्लाई मात्र नेपालको आधिकारिक संवत्का रूपमा मान्यता दिनु अन्यायपूर्ण कार्य हो भन्ने पनि कतिपय छन् । छुट्टै पहिचानको माग गर्ने मधेसी जनतालगायत जनजातिले नेपाल संवत्लाई मात्र आधिकारिक पात्रोका रूपमा स्वीकार गर्छन् वा गर्दैनन् प्रस्ट छैन । नेवारहरू मात्र होइन, सबै देशभक्त नेपालीले पनि विदेशी भूमिबाट आयातीत पात्रो भएकाले विक्रम संवत्लाई आधिकारिक प्रयोगबाट खारेज गर्न माग गर्न थालेका छन् । उदाहरणका लागि— मङ्गोल राष्ट्र संगठनले उनीहरूको विरोध र्यालीमा विक्रम संवत्को विरुद्धमा नारा लगाए र ‘राष्ट्रविरोधी संवत्लाई त्याग्न’ माग गरे । विभिन्न नेपाली आदिवासी जनजातिको पात्रोले उचित मान्यता पाउनुपर्छ भन्ने कुरामा कुनै शंका छैन तर नेपालले सम्पूर्ण नेपाली जनतालाई स्वीकार्य हुने राष्ट्रिय पात्रोलाई मान्यता दिनु अपरिहार्य छ ।
यस सन्दर्भमा नेपाल संवत् पात्रोबाहेक अरु कुनै पनि उपयुक्त हुन सक्दैन, किनकि यसको नाम नै देशको नाममा रहेको छ । साथै यसले प्रचलनको सबैभन्दा लामो प्रमाणित इतिहास पनि बोकेको छ ।
- निष्कर्ष
अहिले ‘नेपाल’ शब्द कुनै एक समूहको नभई सबै नेपालीको बनिसकेको छ । नेपाल संवत्को सिर्जना हुँदा न संस्थापक शंखधर न त नेपालमा अन्य मानिसहरू नै नेवार भनेर चिनिन्थे । महापुरुष शंखधर नेवार थिए वा थिएनन्, त्यो फरक कुरा हो, तर नेपाल संवत् ११४५ वर्ष लामो इतिहास बोकेको ऐतिहासिक तथ्य हो । शंखधरले नेपाल संवत्को आरम्भ गरेको किंवदन्तीलाई विचार गर्ने हो भने उहाँको मनसाय परोपकारी थियो, किनभने उहाँले आफ्नो वा आफ्नो धर्म वा आफ्नो समुदायको नाम होइन, देशको नाम राख्नुभएको थियो । यसले उहाँको महान् देशभक्तिपूर्ण मनसायलाई स्पष्ट रूपमा देखाउँछ ।
नेपाल संवत्ले चन्द्र संवत्को रूपमा आफ्नै छुट्टै मूल्य बोकेको छ । सरकारले नेपाल संवत्लाई स्वीकार गर्नु भनेको नेपालको मौलिक संस्कृतिको प्रवर्धन र पहिचान गर्नु पनि हो । नेपाल संवत्लाई त्यागेर शाह र राणा शासकहरूले काठमाडौँ उपत्यकाको सांस्कृतिक महत्त्वलाई दमन गर्ने उद्देश्य राखेका हुन सक्छन् । तर, नेपाल संवत्ले नेपाल पञ्चांग निर्णायक समितिबाट निरन्तर सम्मान पाइरहेको थियो र छ पनि । किनभने सबै पात्रोले यसलाई ‘देश र नेपालको संवत्’ भनेर उल्लेख गर्ने गरेका छन् । नेपाल संवत्को महत्त्व नाममा मात्रै नभएर नेपाल र नेपाली जनताको धार्मिक र सांस्कृतिक जीवनसँग गाँसिएको छ ।
चन्द्र संवत्लाई आधिकारिक संवत् बनाएमा व्यावहारिक समस्या आउने नेपाल संवत्को विरोध गर्नेहरूको तर्क रहेको छ । यद्यपि चन्द्र रीतिरिवाज संवत्हरू भारत, चीन र सबै इस्लामिक देश लगायत विश्वभरि अभ्यासमा छन् । नेपालले सन् १९९९ मा नेपाल संवत्का संस्थापक शंखधरलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा मान्यता दिएको थियो भने सन् २००८ मा सरकारले यसलाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको थियो । सन् २०११ र २०१२ मा आएर सरकारले दैनिक व्यवहारमा यो पात्रो ल्याउने घोषणा पनि गरेको थियो । यसबाहेक २०१३ मा सरकारले नेपाल संवत्को नयाँ वर्षको दिनलाई सार्वजनिक बिदा घोषणा गरेको थियो । सरकारका यी निर्णयहरू ऐतिहासिक छन् र नेपालको राष्ट्रियताको दृष्टिकोणबाट ठुलो महत्त्व बोकेका छन्, यद्यपि नेपाल सरकारले आफ्नो औपचारिक व्यवहारका लागि विक्रम संवत्को प्रयोग गर्न भने छाडेको छैन ।
वास्तवमा, सौर्य–आधारित विक्रम संवत्को प्रयोगको यसको सीमितता छ । सौर्य संवत्का रूपमा प्रयोग गरिए पनि यो न विश्वव्यापी रूपमा स्वीकृत ग्रेगोरियन संवत्सँग मिल्दोजुल्दो छ न त यसलाई मिति पात्रोको रूपमा मात्र अपनाएको हुनाले यसलाई चन्द्रतिथि पात्रोको रूपमा प्रयोग गर्नु तर्कसंगत छ ।
नेपालमा आधिकारिक प्रयोगका लागि विक्रम संवत्लाई कायम राख्नुको पछाडि कुनै तर्क छैन । किनभने यसको प्रयोग न नेपालको धार्मिक परम्परा र विश्वव्यापी चलनसँग मेल खान्छ, (भट्टराई २०१२) । विक्रम संवत्को उत्पत्ति भएको ठानिएको भारतमा समेत आधिकारिक उद्देश्यका लागि कहिल्यै यसको प्रयोग भएको थिएन । नेपालमा विक्रम संवत् थोपरेर नेपालका आदिवासी जनजातिको धार्मिक र सांस्कृतिक गतिविधिलाई ओझेलमा पुर्याउन शासकहरू कसरी दृढ थिए भन्ने यसले प्रस्ट देखाउँछ । नेपालका स्थानीय रूपमा स्वीकृत अभ्यासहरू प्रयोग गर्नुभन्दा अरूको संस्कृति र परम्परा आयात गर्ने उनीहरूको मक्सद निन्दनीय छ । यसले तत्कालीन सरकारले देशको संस्कृति र परम्पराप्रतिको अनादर गरेको प्रस्ट हुन्छ ।
त्यसैले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिसँग जोडिएको नेपालीको आफ्नै पात्रो हुँदाहुँदै विदेशी भूमिबाट सापटी लिएको संवत् कायम राख्नु नेपालजस्तो सार्वभौमसत्ता सम्पन्न देशको अपमान पनि हो भन्ने देशभक्त नेपाली जनताले ठान्छन् । नेपाली जनताले आफ्नै राजा र राजतन्त्र त्यागेका बेला उनीहरूको विश्वास छ, ऐतिहासिक तथ्य नभएको सम्राटको नामको पात्रो प्रयोग गरिरहनु एकदमै बेतुकको काम हो ।
शाह राजाहरूले आफ्नो नाममा ‘विक्रम’ शब्द प्रयोग गर्न थालेको बाहेक ऐतिहासिक रूपमा नेपाल र विक्रम संवत्का बिचमा कुनै सम्बन्ध छैन । विक्रम संवत्लाई स्वदेशी संस्कृति र परम्पराको दमनको प्रतीक मान्न सकिन्छ । स्थानीय संस्कृति र परम्पराको महत्त्व कम गर्न यो आयात गरिएको थियो । तसर्थ विक्रम संवत्लाई छिटै त्याग्दा नै देशभक्त नेपाली जनता बढी खुसी हुनेछन् । नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नुको साँचो साथर्कता त्यसबेला मात्र हुनेछ, जब व्यवहारमा सरकारले यस संवत्लाई सर्वत्र प्रयोगमा पनि ल्याउनेछ ।
आधिकारिक हैसियत नदिए पनि सरकारले क्रिस्चियन संवत्लाई विदेशी मुलुकसँगका सबै आधिकारिक कारोबारका लागि प्रयोग गर्दै आएको छ । विशेष गरी सन् १९५० को दशकदेखि नै नेपालमा क्रिस्चियन संवत्को प्रचलन हुँदै आएको छ । सरकारका साथै सामान्यतया गैरसरकारी संस्थाहरू र निजी क्षेत्रहरूले पनि क्रिस्चियन संवत्लाई प्रयोग गर्छन् । विशेष गरी जब तिनीहरूले आफ्ना अन्तर्राष्ट्रिय समकक्षहरूसँग व्यवहार गर्छन् । सरकारले आफ्ना सबै राष्ट्रिय कामकाजमा र विदेशी मुलुकसँगको औपचारिक कार्यहरूमा क्रिस्चियन संवत्सँगै नेपाल संवत्को पनि अनिवार्य प्रयोग गर्न थाले भने सबभन्दा उपयुक्त हुन्छ । यसले क्रिस्चियन संवत्सँगै नेपाल संवत्को प्रयोगले कुनै पनि भ्रमका लागि ठाउँ छाड्ने छैन भने यसले नेपालको राष्ट्रिय गौरवलाई विश्वभर नै बलियो बनाउनेछ । यसरी नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणाको साँचो अर्थ हुनेछ । ‘नेपाल’ भनेर देशको नाममा गर्व गर्ने सबै नेपालीले पनि देशको नाम बोकेको यो ऐतिहासिक पात्रोलाई सम्मान गर्न पाउँदा गर्व गर्नेछन् ।
(डा. बालगोपाल श्रेष्ठको यही वर्ष बज्र बुक्स काठमाडौँबाट प्रकाशित Heritage Preservation and Rights in Nepal : The Newar Language, Culture and Rituals पुस्तकबाट नेपालीमा अनुदित अंश । अनुवाद : लेखक स्वयं ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे