नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउने कि नबनाउने ?
आज नेपाल संवत्को नयाँ वर्ष फेरिने तिथि अर्थात् कात्तिक शुक्ल प्रतिपदा । आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ ।
यस तिथिमा नेवार समुदायले दुईवटा पर्व मनाउँछन्— नयाँ वर्ष र म्हपूजा ।
२०५५ सालमा प्रकाशित सत्यमोहन जोशीको पुस्तक ‘नेवारहरूको महान् चाड म्हपूजा (किन र कसरी)’ अनुसार, नेवार जातिको समाजमा यो म्हपूजा गर्ने पद्धति कुन बेलादेखि सुरु भयो होला यो कुरा निश्चित रुपले भन्न कठिन छ तर नेवार जातिको समाज जति पुरानो छ त्यति नै पुरानो हुन सक्छ ।
यो म्हपूजा शरद ऋतुको अन्त्यतिर हेमन्त ऋतु लाग्ने बेलामा बालीनाली भित्र्याउने काम सकिसकेपछि साल तमामीको हिसाबले वर्षदिनको आयव्यय तथा लेनदेनको लेखाजोखा समाप्त भएपछि चान्द्रमासको तिथिअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिको दिन नयाँ सूर्य उदाएको हेरेर मनाउने परम्परा छ ।
नेपाल संवत्लाई लिएर झन्डै सय वर्षदेखि विभिन्न कोणबाट बहस हुँदै आएका छन् ।
डा. बालगोपाल श्रेष्ठका अनुसार, विद्वान् धर्मादित्य धर्माचार्यले सम्पादन गरेको ‘बुद्धधर्म व नेपालभाषा नामक’ पत्रिकामार्फत सन् १९२८ मा पहिलोपटक नेपाल संवत्को नयाँ वर्षलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आह्वान गरिएको थियो । पछि सन् १९५४ मा ‘नेपालभाषा साहित्यिक संस्था चोसापासा’ले हनुमानढोका दरबारको नासलचोकमा नेपाल संवत्को पहिलो सार्वजनिक नयाँ वर्ष समारोह आयोजना गरेको थियो ।
खासगरी प्रजातन्त्रको स्थापनापछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने आवाज उठे ।
तीसको दशकसम्म आइपुग्दा नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्छ वा बनाउनुहुँदैन भनी विद्वान् वर्गबिच पेचिला बहस भएका थिए ।
त्यतिबेला नेपाल संवत्लाई राष्ट्रिय स्तरबाट मान्यता दिनुपर्ने माग नेवार सुमदायले गरेका थिए ।
यसै मेसोमा २०३८ कात्तिक १९ गतेको ‘मानस’ पत्रिकामा इतिहासकार महेशराज पन्तले आलेख लेखे । उनले ऐतिहासिक सन्दर्भ र आफ्ना तर्कसहित आलेखमार्फत स्पष्ट रुपमा भने— ‘विक्रमसंवत्को ठाउँ नेपालसंवत्ले पाउनुपर्छ भनी माग गर्नुचाहिँ पक्कै पनि दुस्साहससिवाय अरु केही होइन ।’
यसको लगत्तै नेवारहरूले एउटा सभामा पन्तको आलेखको विरोध गरेका थिए ।
२०३८ मंसिर ८ मा ‘विश्वदूत’ पत्रिकामा पन्तले अर्को आलेख लेखेका छन्, ‘कुनै पूर्वाग्रह नराखी शुद्ध इतिहासको मननको आधारमा मैले प्रकट गरेको विचारले सम्प्रदायवादीहरूलाई निकै छोएछ । यसैले उनीहरूले निकै तल्लो तहमा ओर्लेर सभामा मलाई निकै गालीगलौज पनि गरेछन्; पत्रिकामा परोक्ष तवरले मेरो लेखको विरोधमा तथ्य कुरा हालेर होइन, विरोधको लागि विरोध गरेर लेख पनि छपाए ।’
कात्तिक १९ गतेको ‘मानस’ पत्रिमामा छापिएको पन्तको लेखप्रति असहमत हुँदै श्रीरत्नकृष्ण श्रेष्ठले सोही पत्रिकामार्फत लेख छपाएका थिए । श्रेष्ठको आलेखको ‘नेपालसंवत् आज हामी नेपालीले विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको यहाँ सबलाई विदित् होला’ भन्ने वाक्यलाई लिएर पन्तले लेखेका छन्—
‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, चार वर्ण ३६ जातको साझा फूलबारी भएको नेपाल अधिराज्यमा नेपालसंंवत् कतिले मान्छन् ? जरुर मैथिलहरू नेपालसंवत् मान्दैनन्, न त राई–लिम्बु नै मान्छन् । के नेवारहरू मात्र नेपाली हुन् ? बाँकी भाषाभाषीहरू चाहिँ नेपाली होइनन् ? कसो श्रेष्ठजी, तपाईं के भन्नुहुन्छ । ...के यो माग तराईका बन्धुहरूको हो ? के भोटमूलका नेपालीहरूको हो ? के पर्वतेहरूको हो ? के नेवारबाहेक अरु नेपाली नेपाली होइनन् ?’
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु हुँदैन भनेर त्यतिबेला इतिहासकार महेशराज पन्त खरो रुपमा उत्रिएको देखिन्छ ।
२०३९ वैशाख सङ्क्रान्तिमा उनको पुस्तक ‘नेपालसंवत्को राष्ट्रिय मान्यताको अनौचित्य’ छापियो । पुस्तकको ‘भन्न बाँकी कुरा’ शीर्षकको भूमिकामा पन्तले लेखेका छन्, ‘यो सानो पुस्तक विक्रमसंवत्को राष्ट्रिय मान्यता खारेज गरी नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ भन्ने मागको अनौचित्यलाई लिएर वि.सं. २०३८ कार्तिक १९ गतेदेखि चैत २५ गतेसम्म पत्रपत्रिकामा छापिएका मेरा लेखको सङ्ग्रह हो ।’
२०३८ कात्तिक १९ गतेको आलेखमा पन्तले लेखेका छन्, ‘संवत्का नाउँमा नेपाल शब्द हुँदैमा त्यस संवत्ले राष्ट्रिय मान्तया पाउनुपर्छ र एकथरी अल्पसंख्यक र एकै ठाउँमा गुचमुचिएर रहेका भाषाभाषीहरूको स्वत्व कायम राख्न बहुसंख्यक नेपालीहरूले परम्परादेखि चलेर आएको, नेपाली जनजीवनमा भिजेको विक्रमसंवत् छोडेर नेपालसंवत् चलनचल्तीमा ल्याउन पनि आवश्यकता छैन ।
फेरि भारतमा पनि चलेको छ भन्दैमा विक्रम संवत् कसरी अराष्ट्रिय भयो, यो पनि आश्चर्यलाग्दो छ । आज ईसवी संवत् सारा युरोप र अमेरिकाको साझा संवत् छ । तर जसको नाउँमा यो संवत् चल्यो, न ती युरोपका थिए, न अमेरिकाकै थिए भन्ने कुरा यहाँलाई थाहै छ ।’
विक्रम संवत्को ठाउँमा नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिँदा भोलिका दिनमा अन्य समुदाय वा क्षेत्रका जनताले पनि आफ्नो अनुकूलको संवतलाई मान्यता दिनुपर्ने माग गर्न सक्ने उनको तर्क थियो ।
‘तराईका हाम्रा बन्धुहरूले नेपालसंवत्को ठाउँमा लक्ष्मणसंवत् आदि स्थानीय संवत्को राष्ट्रिय स्तरको मान्यताको लागि प्रश्न उठाउँदैनन् र पर्सि भोटमूलका हाम्रा बन्धुहरूले भोटको संवत्को राष्ट्रिय स्तरको मान्यताको माग गर्दैनन् भनी भन्न सकिँदैन,’ उनले लेखेका छन्, ‘भोटमूलका हाम्रा बन्धुहरूले ल्होसर मनाएजस्तै हाम्रा नेवार बन्धुहरूले पनि आफ्नो संवत्को नयाँ वर्ष मनाउनु राम्रो कुरा हो । तर नेपालसंवत्को प्रचार गर्दा विक्रमसंवत्लाई अराष्ट्रिय भनेर लाञ्छना लाउनुचाहिँ पक्कै पनि राम्रो कुरा होइन ।’
त्यतिबेला चन्द्रशमशेरको आज्ञाको भरमा विक्रम संवत् चलेको बताइन्थ्यो । यसमा पन्तको जवाफ थियो, ‘चन्द्रशमशेर श्री ३ महाराज हुनुभन्दा झन्डै साढे पाँच सय वर्षअगाडिदेखि नेपालको विभिन्न भागमा विक्रमसंवत्को चलनचलती भएको प्रमाण जुटाउन सकिन्छ । कर्णालीप्रदेशका राजा पृथ्वी मल्लको लेखमा, नेपाल खाल्डो र वरपरका इलाकामा राज्य गर्ने नेवार राजा स्थिति मल्लको लेखमा, उनका छोरा धर्म मल्लको पालाको लेखमा, पाल्पा, तनहुँ, मकवानपुर, चौदण्डी, विजयपुर राज्यहरूमा राज्य गर्ने सेन राजाहरूका लेखमा, ...पृथ्वीनारायणदेखिका सबै शाह राजाहरूका लेखमा विक्रमसंवत्को प्रयोग भएको छ ।’
त्यतिबेला भारतीय मूलको विक्रम संवत्को सट्टा नेपाल संवत्लाई मानिनुपर्ने आवाज उठेको थियो ।
यसमा पन्तको जवाफ थियो, ‘यस्तो माग गर्नेहरूले देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई राष्ट्रभाषा मान्नाले देवनागरी लिपि भारतीय मूलको भएको र देवनागरी लिपि आजसम्म भारतमा पनि चलिरहेकोले र नेपाली भाषा भारतका हिन्दी बंगाली भाषाहरूको नजिकको हुनाले देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई हटाई अन्त कतै नचलेको, नेवारी लिपिमा लेखिएको, नामै नेपालभाषा भएको नेवारी भाषालाई राष्ट्रभाषा मान्नुपर्छ भन्ने माग भोलि अवश्य गर्नेछन् भनी हामीले विचार गर्नुपर्ने खण्ड आइसकेको छ ।’
पञ्चायती व्यवस्थामा बहस मात्रै भए, सरकारी स्तरबाट खास त्यस्तो निर्णय भएको पाइँदैन । बहुदल आएसँगै विभिन्न समुदायले आफ्नो संस्कृति, सभ्यता र पहिचानका विषय उठान गर्न थाले । यी विषय दशवर्षे माओवादी जनयुद्ध काल र संविधानसभा कालमा उत्कर्षमा पुगेका थिए ।
२०५६ मा तत्कालीन सरकारले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्यो । यसले नेपाल संवत्का पक्षधरहरूलाई बल मिल्यो । उनीहरूले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्न माग गरिरहे ।
गणतन्त्रपछि २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दियो । यद्यपि यो घोषणा व्यवहारमा आउन सकेको छैन ।
‘सन् २०११ र २०१२ मा आएर पनि सरकारले दैनिक व्यवहारमा यो पात्रो ल्याउने घोषणा गरेको थियो । यसबाहेक सन् २०१३ मा सरकारले नेपाल संवत्को नयाँ वर्षको दिनलाई सार्वजनिक बिदा घोषणा गरेको थियो । सरकारका यी निर्णयहरू ऐतिहासिक छन् र नेपालको राष्ट्रियताको दृष्टिकोणबाट ठुलो महत्त्व बोकेका छन्,’ विश्व नेवा सङ्गठनका संस्थापक अध्यक्ष डा. बालगोपाल श्रेष्ठ भन्छन्, ‘सरकारले आफ्ना सबै राष्ट्रिय कामकाजमा र विदेशी मुलुकसँगको औपचारिक कार्यहरूमा क्रिस्चियन संवत्सँगै नेपाल संवत्को पनि अनिवार्य प्रयोग गर्न थाल्छ भने सबभन्दा उपयुक्त हुन्छ । क्रिस्चियन संवत्सँगै नेपाल संवत्को प्रयोगले कुनै पनि भ्रमका लागि ठाउँ छाड्ने छैन । यसले नेपालको राष्ट्रिय गौरवलाई विश्वभर नै बलियो बनाउनेछ ।’