बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
विचार

दक्षिण एसियामा पछिल्लो उथलपुथल :  सङ्कटको डिलमा नेपाल !

शुक्रबार, १६ कात्तिक २०८१, १४ : २९
शुक्रबार, १६ कात्तिक २०८१

दरबारसँग नजिक रहेका परराष्ट्रविद् रमेशनाथ पाण्डेले एक दिन एउटा म्यागेजिनका लागि अन्तरवार्ता दिने क्रममा यो पंक्तिकारसहितको टोलीसँग २०५२ सालदेखि सुरु भएको माओवादी विद्रोह र दरबारसँगको सम्बन्धका विषयमा कुराकानी गरे ।

कुराकानीको बिचमै उनले हामीतर्फ एउटा प्रश्न गरे– तपाईंहरूले माओवादी अध्यक्ष प्रचण्डलाई पहिलोपटक कहिले देख्नुभयो ?  जवाफमा भन्यौँ– शान्तिप्रक्रिया सुरु हुने समय वरिपरि ।

तर पाण्डेले २०५३ सालदेखि नै माओवादी सुप्रिमोसँग आफूहरूको सम्बन्ध रहेको खुलासा गरे । उनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहले माओवादी विद्रोहलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न पहल गर्दै विभिन्न माध्यमबाट वार्ता गरिरहेका थिए । सोही क्रममा माओवादी नेतृत्वले पनि आफूसँग विभिन्न माध्यमबाट वार्ता गरिरहेको पाण्डेको भनाइ थियो ।

पाण्डेसँग केही वर्षअघि भएको सो भेट मलाई अहिले पनि ताजैजस्तो लाग्छ । यो प्रसङ्गले सशस्त्र विद्रोहको नेतृत्व गर्ने र सत्ताको नेतृत्व गर्नेबिच वार्ता र संघर्ष समानान्तर रूपमा चलिरहेकै हुन्छ भन्ने कुरा पुष्टि गर्दछ ।

तर २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहसहित उनका परिवारको हत्या भयो । त्यसपछि पाण्डेको त्यो प्रयास सधैँका लागि टुङ्गियो । दक्षिण एसियालाई शान्ति क्षेत्रका अतिरिक्त राजनीतिक, कूटनीतिक र विकासको ढोका खोल्ने उद्देश्यसहित ‘सार्क संगठन’ को परिकल्पना गरेर त्यसको निर्माणमा भूमिका खेल्ने राजा वीरेन्द्रको अन्ततः रगतको पोखरीमा लत्पतिएर इहलीला समाप्त भयो ।

दक्षिण एसियालाई शान्ति क्षेत्रका अतिरिक्त राजनीतिक, कूटनीतिक र विकासको ढोका खोल्ने उद्देश्यसहित ‘सार्क संगठन’ को परिकल्पना गरेर त्यसको निर्माणमा भूमिका खेल्ने राजा वीरेन्द्रको अन्ततः रगतको पोखरीमा लत्पतिएर इहलीला समाप्त भयो ।

राजदरबार हत्याकाण्ड कसले गर्यो र किन गरियो भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिन्छ । त्यसको सत्यतथ्य रिपोर्ट बाहिर आउन नसकेको चर्चा अझै बेलाबखत चल्ने गरेको छ । यदि राजा वीरेन्द्रको हत्या हुँदैनथ्यो भने नेपालको राजनीतिक मोड कता मोडिन्थ्यो भनेर भन्न सक्ने स्थिति थिएन ।

माओवादी र सात राजनीतिक दलबिच मिलेर आन्दोलन हुन्थ्यो वा हुँदैनथ्यो भन्ने पनि निश्चित थिएन । त्यसबेला दरबार हत्याकाण्डलाई माओवादीले ‘नयाँ कोतपर्व’ को संज्ञा दिएको थियो । सो हत्याकाण्डलाई माओवादी लगायतका दलले ‘लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि महत्त्वपूर्ण ‘घुम्ती’ भनेका छन् ।

२०५८ सालपछि नेपालको राजनीतिक परिस्थिति फरक ढंगले अघि बढेको थियो । राजदरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको राज्यव्यवस्था चार वर्षमात्र टिकेको थियो । नेपालको इतिहासमा यो खालका रक्तपातपूर्ण घटना थुप्रै भएका छन्, जसले सत्ता परिवर्तनमा भूमिका खेलेका छन् । त्यसलगत्तै भएको २०६२/०६३ को जनआन्दोलनमार्फत प्राप्त उपलब्धि र त्यसको समीक्षा अहिले भइरहेको छ ।   

राजदरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको राज्यव्यवस्था चार वर्षमात्र टिकेको थियो । नेपालको इतिहासमा यो खालका रक्तपातपूर्ण घटना थुप्रै भएका छन्, जसले सत्ता परिवर्तनमा भूमिका खेलेका छन् ।

यो ऐतिहासिक प्रसङ्गलाई दक्षिण एसियामा, विशेषगरी बंगलादेश र श्रीलंकामा भएका पछिल्ला आन्दोलन र त्यसको असरसँग जोड्न खोजिएको हो । पछिल्ला दिन बंगलादेश र श्रीलंकामा भएका सङ्ग्रामको असर नेपालमा कस्तो पर्ला भनेर बहस भइरहेको छ । आन्दोलनमार्फत त्यहाँका शासकहरूलाई जनताले लखेटे । श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटावाया र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेरै भाग्नुपर्यो । राज्य व्यवस्थापनमा शासकहरू चुक्न थालेपछि जनताले आफ्नो नेतृत्व आफैँ छान्छन् भन्ने उदाहरण ती दुई मुलुकमा भएका जनसङ्घर्ष र त्यसको परिणामले देखाइसकेको छ ।

नेपालमा पनि १८ वर्षअघि जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेका थिए । त्यसपछि सात दल र सशस्त्र विद्रोहबाट आएको नेकपा माओवादी केन्द्रले पालैपालो सत्ताको नेतृत्व गरिरहेका छन् ।

आन्दोलनपछि श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् भने बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व मुहम्मद युनुसले गरेका छन् । पछिल्ला दिन आन्दोलनकारीहरूले बंगलादेशका राष्ट्रपतिको समेत राजीनामा मागिरहेका छन् । अझै त्यहाँ आन्दोलन मत्थर भइसकेको छैन । आन्दोलनको नेतृत्व २६ वर्षीय विद्यार्थी नेता ‘नाहिद इस्लाम’ लगायतले गरे । बंंगलादेश स्वतन्त्र हुँदा लडेका सिपाहीका छोराछोरीलाई आरक्षणको ठुलो हिस्सा सुनिश्चित गरेपछि विद्यार्थीहरू आक्रोशित भएका थिए । 

आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिनाले देश छाडेर भाग्नुपरेको थियो । आन्दोलनका क्रममा बंगलादेशका संस्थापक नेता तथा हसिनाका पिता शेख मुजिबुर रहमानको सालिक समेत तोडियो । उनको शासन ढल्नुमा पछिल्लो समय मौलाएको अराजकता, भ्रष्टाचार तथा विभिन्न बेथितिसमेत कारण रहेको बताइन्छ ।   

बंगलादेश र श्रीलंकामा देखिएको आन्दोलनको उत्कर्ष पनि नेपालकै जस्तो विद्रोह र रक्तपातपूर्ण इतिहाससँग जोडिएर आएको देखिन्छ । यद्यपि बंगलादेशमा शेख हसिना नेतृत्वको सरकार स्वेच्छाचारी र लोकतान्त्रिक आवरणभित्रको निरंकुश चरित्रको भए पनि त्यहाँ उनको पालामा आर्थिक विकास प्रशस्त भएको मानिन्छ । दक्षिण एसियामा बंगलादेशको ‘आर्थिक विकासको मोडल’ को प्रशंसा भइरहेको छ ।

बंगलादेश र श्रीलंकामा देखिएको आन्दोलनको उत्कर्ष पनि नेपालकै जस्तो विद्रोह र रक्तपातपूर्ण इतिहाससँग जोडिएर आएको देखिन्छ ।

बंगलादेशको आर्थिक मेरुदण्ड कपडा (टेक्सटाइल) उद्योग हो । श्रीलंका भने आर्थिक रुपमा टाट पल्टिएको छ । बंगलादेश र श्रीलंका आर्थिक विकासमा ठिक विपरीतजस्तै छन् । नेपालको अर्थतन्त्र पनि सङ्कटग्रस्त छ । यी तीन देशको आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धमा भारत र चीनको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । यद्यपि, अमेरिका लगायत पश्चिमी शक्ति राष्ट्रहरूको नजर पनि परिरहेकै छ ।  

दुई महिलाको दुश्मनीले निम्त्याएको सङ्कट

युद्धपछि भारत र पाकिस्तान छुट्टिएका थिए । त्यसको केही वर्षपछि पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबिच आन्तरिक द्वन्द्व भयो । सन् १९७१ डिसेम्बर १६ मा पूर्वी पाकिस्तान बंगलादेशको रूपमा जन्मिएको थियो । बंगलादेशलाई स्वतन्त्र बनाउन शेख हसिनाका पिता शेख मुजिबुर रहमानले ठुलो भूमिका खेलेका थिए ।

बंगलादेशलाई त्यसबेला भारतले पूर्ण रूपमा साथ दिएको थियो । पाकिस्तान स्वतन्त्र भएपछिको पहिलो निर्वाचनमा पूर्वी पाकिस्तानले बहुमत प्राप्त गरेपछि पश्चिम पाकिस्तानले हसिनाका पितालाई पक्राउ गरेको थियो । त्यसलगत्तै भारतले पश्चिम पाकिस्तानमाथि सैनिक हस्तक्षेप गर्याे र बंगलादेश जन्मियो ।

सन् १९७५ मा हसिनाका बाबुआमा, तीन भाइ र दुई बुहारीको हत्या भएको थियो । त्यसबेला शेख हसिना २७ वर्षकी थिइन् । हत्याकाण्डका बेला उनी युरोपमा थिइन् । परिवारको हत्या भएपछि उनी युरोपबाट फर्किएर सन् १९८१ सम्म भारतमा शरण लिएर बसेकी थिइन् । भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले हसिनालाई शरण दिएकी थिइन् । त्यसको केही वर्षपछि बंगलादेश फर्किएकी उनले पिताले स्थापना गरेको पार्टी अबामी लिगबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।

उनले राजनीति सुरु गर्दा बंगलादेशमा सैनिक शासन थियो । त्यसबेला खालिदा जियाका श्रीमान सेना प्रमुख थिए । उनको पनि षडयन्त्रपूर्ण ढंगले हत्या भएपछि जिया पनि बीएनपी दलमार्फत राजनीतिमा आएकी थिइन् ।

सुरुमा खालिदा जियाको पार्टीले बहुमत हासिल गरे पनि पछिल्ला वर्ष हसिनाको पार्टीको दबदबा थियो । उनले साम, दाम, दण्ड, भेदजस्ता नीति प्रयोग गरेर डेढ दशकभन्दा बढी शासन गरिन् । त्यो अवधिमा उनले खालिदालाई भ्रष्टाचार मुद्दामा जेल हालिन् । नोबेल पुरस्कार विजेता मुहम्मद युनिसलाई समेत षड्यन्त्रपूर्ण ढंगले देश बाहिर पठाइन् ।

हसिनाले आफ्नो सामु लोकप्रिय हुन खोज्ने कसैलाई बाँकी राखिनन् । खालिदा र उनको दुस्मनी पनि बंगलादेशको राजनीतिमा अराजकताको कारण बन्यो । अन्ततः हसिना शासनको पतन भयो । देश छाडेर भागेकी हसिनालाई दशकौँपछि फेरि भारतले शरण दिएको छ । अहिले बंगलादेशमा हसिनाको विद्यार्थी संगठनमाथि समेत प्रतिबन्ध लगाइएको छ ।

हसिनाले आफ्नो सामु लोकप्रिय हुन खोज्ने कसैलाई बाँकी राखिनन् । खालिदा र उनको दुस्मनी पनि बंगलादेशको राजनीतिमा अराजकताको कारण बन्यो ।

लघुवित्तमार्फत जनताको जीवनस्तर उठाउने अभियानमार्फत लोकप्रियता कमाएका नोबेल पुरस्कार विजेता युनुसले अहिले अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् । अझै त्यहाँको राजनीतिक नेतृत्व कता जान्छ भन्ने अन्योल नै छ । राष्ट्रपति मोहम्मद साहाबुद्दिनले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पत्र आफूलाई प्राप्त नभएको भन्ने अभिव्यक्ति दिएपछि केही दिनअघि आन्दोलनकारीले राष्ट्रपति भवन घेराउ गरेका थिए । त्यसैले बंगलादेशको राजनीति थप अन्योलग्रस्त हुँदै गएको छ ।      

श्रीलंकामा झन् ठुलो सङ्कट

सन् १९४८ सालमा स्वतन्त्र भएको श्रीलंका त्यसअघि ब्रिटिश मोडलको कमनवेल्थ राष्ट्र थियो । सन् १९८३ मा सुरु भएको गृहयुद्धले श्रीलंकालाई निकै पछाडि धकेल्यो । सन् १९७२ मा तत्कालीन प्रधानमन्त्री सिरिमाओ बन्दरानायकेले सिलोनको नाम फेरेर श्रीलंका राखेकी थिइन् । उनले श्रीलंकालाई गणतन्त्र घोषणा गरे पनि श्रीलंकाको उधोगति कायमै रह्यो ।

भूमिमा असमान वितरण र आत्मनिर्णयको अधिकारमा पछि पारिएपछि तमिलहरूले विद्रोही संगठन निर्माण गरे । सो युद्धमा पचासौँ हजार मानिस मारिए । जयबर्द्धने नेतृत्वको शासनबाटै उक्त देशमा रक्तपात सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री प्रेमदासाले सन् १९९२ मा तमिल टाइगर्सविरुद्ध सेना परिचालन गरे । विद्रोह दबाउन सेना असफल भयो । १९९३ मा आत्मघाती बम विष्फोटमा उनको समेत हत्या भयो ।

तमिलहरूको मूल थलो भारत हो । सयौँ वर्षअघि भारतबाट जाफ्ना प्रान्तमा गएका उनीहरूमाथि दमन गर्न भारतले समेत सेना पठाएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले सेना पठाउने निर्णय गरेका थिए । तर सन् १९९१ मा मद्रासमा तमिल महिलाको आत्मघाती बम विष्फोटमा राजीव गान्धीको हत्या भयो । श्रीलंकाको तमिल विद्रोहले भारतमा समेत ठुलो प्रभाव पारेको थियो ।

तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले सेना पठाउने निर्णय गरेका थिए । तर सन् १९९१ मा मद्रासमा तमिल महिलाको आत्मघाती बम विष्फोटमा राजीव गान्धीको हत्या भयो । श्रीलंकाको तमिल विद्रोहले भारतमा समेत ठुलो प्रभाव पारेको थियो ।

तत्कालीन प्रधानमन्त्री सोलोमन वेष्ट रिज्वे दियास बन्दरानायकेले श्रीलंकामा सिंहालीलाई राष्ट्रभाषा र बौद्ध धर्मलाई राष्ट्रधर्म बनाउने बाचा गरे । उनको यो बाचापछि श्रीलंका थप छिन्नभिन्न हँदै गएको थियो । यो घोषणापछि उनले सिंहालीको मत पाएर चुनाव जिते । तर जाफ्ना प्रायद्वीपका तामिल, हिन्दु, मुस्लिम र क्रिश्चियनहरूले आफू थप अपमानित भएको महसुस गरे । प्रधानमन्त्री रहेकै बेला बन्दरानायकेको समेत हत्या भयो । राज्य व्यवस्थापनमा शासकहरू चुकेपछि देशको अवस्था कहाँ पुग्छ भन्ने यो ठुलो उदाहरण हो । पछि ‘तमिल टाइगर्स’ को नेतृत्व गरिरहेका प्रभाकरण पनि सैन्य कारबाहीमा मारिए ।

त्यसपछिका शासकहरूले समेत श्रीलंकाको नेतृत्व राम्रोसँग गर्न सकेनन् । सन् २०१९ अप्रिल २१ मा कोलम्बोका अन्तर्राष्ट्रिय होटलहरूमा शृङ्खलाबद्ध बम विष्फोटमा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । सो आक्रमणलाई श्रीलंकाको सबैभन्दा खराब आक्रमणको रूपमा लिइन्छ । पाँच वर्ष बितिसक्दा समेत त्यो शृंखलाबद्ध विष्फोट कसरी भयो र सुरक्षा व्यवस्था कहाँ चुक्यो भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । आर्थिक सङ्कट र भ्रष्टाचारले देश जर्जर भएको छ ।

आर्थिक सङ्कटपछि सन् २०२२ मा भएको जनआन्दोलनका क्रममा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंकामा वर्षौंदेखिको न्यून कर, कमजोर निर्यात, ठुला नीतिगत त्रुटि र अन्ततः कोभिड १९ को महामारीका कारण मुलुकको मुद्रा सञ्चिति घटेको थियो । देशको ऋण ८३ अर्ब डलर नाघेको छ भने मुद्रास्फीति ७० प्रतिशतले बढेको छ ।

आर्थिक सङ्कटका लागि राजापक्षे र उनको सरकार जिम्मेवार रहेको बताइएको छ । अर्थतन्त्र धराशायी भएपछि भएको जनआन्दोलन पछिको पहिलो राष्ट्रपतीय चुनावबाट अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।

दिसानायकेले निकतटम प्रतिद्वन्द्वी सजित प्रेमदासलाई पराजित गर्दै राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेका हुन् । श्रीलंकाको गलेबेलामा २४ नोभेम्बर सन् १९६८ मा दिसानायकेको जन्म भएको थियो । यो सहर त्यहाँको बहुसांस्कृतिक र बहुधार्मिक सहर हो । मध्यमवर्गीय परिवारमा जन्मिएका उनले सरकारी विद्यालयमा अध्ययन गरेका थिए । उनले भौतिकशास्त्र डिग्री गरेका छन् ।

आर्थिक सङ्कटका लागि राजापक्षे र उनको सरकार जिम्मेवार रहेको बताइएको छ । अर्थतन्त्र धराशायी भएपछि भएको जनआन्दोलन पछिको पहिलो राष्ट्रपतीय चुनावबाट अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्

सन् १९८७ मा श्रीलंका र भारतबिच सम्झौता हुँदा उनी विद्यार्थी राजनीतिमा प्रवेश गर्दै थिए । यो त्यही समय थियो, जतिबेला श्रीलंकामा सबैभन्दा ठुलो रक्तपातपूर्ण युद्धको सुरुवात भएको थियो । १९८७ देखि उनको पार्टी जनता विमुक्ति पेरामुनाले श्रीलंका सरकारविरुद्ध हतियार उठाएको थियो । उक्त युद्धमा हजारौँको ज्यान गएको थियो ।

सन् १९९७ मा दिसानायके सो पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएका थिए । सन् २००८ मा आइपुग्दा उनी पार्टीको नेता बने । त्यसलगत्तै उनले पार्टीले गरेको हिंसाका लागि माफी मागेका थिए । उक्त पार्टीको संसदमा ३ जना सांसद छन् । दिसानायके नेतृत्वको पार्टी एनपीपी गठबन्धनको एक हिस्सा हो ।

उनले राजनीतिक वर्गमा व्याप्त भ्रष्टाचार र नातावादलाई तोड्ने नेताका रूपमा आफूलाई स्थापित गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउने, कल्याणकारी योजना ल्याउने र कर कटौती गर्ने बाचा गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को सल्लाहविना देशको आर्थिक मोर्चामा कुनै परिवर्तन नहुने बताएका छन् । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्राकोषले ऋण दिएको छ । चीनसँग नजिक रहेको भनिएको दिसानायके नेतृत्व वामपन्थी सत्ताको बाटो कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

नेपालको अस्थिरता, नेतृत्वले के बुझ्ने ?

केही हप्ताअघि पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गरे । उनको भुटान भ्रमण र त्यहाँ गरिएको स्वागत राष्ट्रिय राजनीतिमा चर्चाको विषय बन्यो । भुटानले ज्ञानेन्द्र शाहलाई राजासरहको सम्मान दिएपछि कतिपयले नेपालमा राजतन्त्रको उदयसँग जोड्न थालेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रबिच भेटवार्ता भएको भन्ने हल्ला चल्यो । अध्यक्ष प्रचण्ड र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिचको भेटघाटलाई पनि त्यो प्रसङ्गसँग जोडियो । यद्यपि, प्रचण्डले भेटघाटको विषय झुटो भएको बताइसकेका छन् ।

राज्यसत्ता परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको शीर्ष नेतृत्वसँग यस्ता प्रसङ्ग जोडिएर आउनुले मुलुक ‘राजनीतिक सङ्कट’ को डिलमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । दुई दशकअघि ढलेको पुरानो सत्ता र त्यसको नेतृत्वसँग नेताहरूको नाम जोडिएर आउनु अर्थपूर्ण छ ।

उता, केही राजनीतिक दलले संघीयताको चर्को विरोध गर्दै आइरहेका छन् । संघीयता विरोधी स्वर अहिले झन् चर्किंदै गएको छ । संघीयताका कारण मुलुक थप ऋणमा डुब्दै गएको ती दलको आरोप छ ।

माओवादी सशस्त्र विद्रोहमा १७ हजार मानिसको ज्यान गयो । २००७ सालअघि र पछि, २०४६ सालको जनआन्दोलन र मधेस आन्दोलनमा पनि जनताले रगत बगाए ।

नेपालको राजनीतिक यात्रा पनि बंगलादेश र श्रीलंकाकै ढंगले अघि बढेको देखिन्छ । यद्यपि, द्वन्द्वका परिदृश्यहरू फरक–फरक थिए । श्रीलंका जातीय युद्धमा फस्यो । बंगलादेश सैनिक शासनले जकडियो । नेपाल राजनीतिक द्वन्द्वको भूमरीमा फस्दै आयो ।

नेपालको राजनीतिक यात्रा पनि बंगलादेश र श्रीलंकाकै ढंगले अघि बढेको देखिन्छ । यद्यपि, द्वन्द्वका परिदृश्यहरू फरक–फरक थिए । श्रीलंका जातीय युद्धमा फस्यो । बंगलादेश सैनिक शासनले जकडियो । नेपाल राजनीतिक द्वन्द्वको भूमरीमा फस्दै आयो ।

नेपालमा राजनीतिक, आर्थिक, कूटनीतिक, सामाजिक–सांस्कृतिक अवस्था दयनीय हुँदै गएको छ । भ्रष्टाचार चरम भएको छ । राजनीतिक दलको नेतृत्व र उसका परिवार नै भ्रष्टाचारमा सामेल भएको देखिएको छ ।

बेरोजगारी डरलाग्दो देखिँदै गएको छ । अन्तर्राट्रिय विमानस्थलमा रोजगारी र अध्ययनका लागि बाहिरिने युवाहरूको लर्को दिन प्रतिदिन बढिरहेको छ । युवाहरूले स्वदेशमा कुनै भविष्य देख्न छाडेका छन् । नेपालसँगको अन्तर्राष्ट्रिय सम्बन्ध निकै फितलो हुँदै गएको छ । नेपाल एयरलाइन्सले भर्ने अन्तर्राष्ट्रिय हवाई उडानलाई विदेशीहरूले पत्याउन छाडेका छन् । नेपालमा उत्पादित जनशक्ति विदेशमा बिक्न छाडेको छ । विदेशी ऋण २४ खर्बमाथि पुगेको छ ।

विश्वविद्यालयहरूमा विद्यार्थीको सङ्ख्या घट्दो छ । केही वर्षभित्र मुलुक ज्येष्ठ नागरिकहरूले भरिँदैछ । क्रियाशील जनशक्ति बाहिरिएर उनीहरूले पठाएको रेमिट्यान्सले मात्र मुलुक चल्न थालेपछि स्वदेशी उत्पादन ठप्प हुन थालेको छ । जब मुलुक सबै चिजमा छिमेकी मुलुकहरूमा भर पर्न थाल्छ, त्यसबेला सङ्कटको चक्रब्युह मडारिन थाल्छ ।

श्रीलंका र बंगलादेशको परिस्थिति नेपालभन्दा अलि भिन्न भए पनि ‘सङ्कटको स्वरुप’ भने उही देखिँदै गएको छ । यसअघि भएका राजनीतिक उथलपुथलबाट मुलुक र मुलुकवासीले धेरै दुःख पाइसकेका छन् । जनताले आर्थिक क्रान्तिको सपना देखिरहेका छन् तर सामरिक विश्वमा उदाएका आधुनिक देशहरूको तुलनामा नेपालको ‘विकासको गति र राज्य व्यवस्थापन’ फितलो हुनाले जनताले आशा मार्न थालेका छन् । त्यस्तो अवस्थामा स्वतःस्फूर्त ‘विद्रोहको नयाँ स्वरुप’ देखिन पनि सक्छ ।

राजनीतिक नेतृत्वलाई अझै सच्चिने मौका छ । श्रीलंका र बंगलादेशमा जस्तो नेपालमा पनि लोकतन्त्रको आवरणमा राजनीतिक नेतृत्वले जथाभावी गर्दै गए जनताले सचिने मौका नदिन सक्छन् । चेतना भया । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रंगलाल रिमाल
रंगलाल रिमाल
लेखकबाट थप