बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
सहकारी सङ्कट

सहकारीकै नेता घनश्याम अधिकारीमाथि अनियमितताको आरोप

तमसुकविनाको ३५ लाख लगानी जोखिममा
शुक्रबार, १६ कात्तिक २०८१, १५ : ००
शुक्रबार, १६ कात्तिक २०८१

विराटनगर । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । अधिकारी नेकपा एमालेका कोशी प्रदेश समिति सदस्य पनि हुन् ।

उनले आफू बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष रहँदा ४ लाख ६० हजार दुई सय रुपैयाँ हिनामिना गरेको आरोप लागेको हो । उक्त रकम फिर्ताका लागि ताकेता गर्दा पनि नआएको सहकारीका पदाधिकारीले जनाएका छन् ।

अधिकारी जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापना गरेदेखि २ कार्यकाल अध्यक्ष भएका थिए । ‘सहकारीबाट भेला पारेको पैसा हिनामिना गरेको पाइएको छ । यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग छ,’ सहकारीका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘माथिल्लो तहको नेता भएको कारण उहाँले रकम फिर्ता गर्नु भएको छैन ।’

सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्ण तिवारीले अनियमितता गरेको पाइएको बताए । अनियमितता गरेको रकम फिर्ता गर्न सञ्चालक समितिले ताकेता गरेपछि अधिकारीले ३ लाख १६ हजार ६९३ रुपैयाँको चेक २०८० पुस ४ गते दिएका थिए । तर, सिद्धार्थ बैंक लि. चन्द्रगढी शाखाको उक्त चेक साटिएन ।

चार लाख साठी हजार दुई सय रुपैयाँ हालसम्म हिसाब मिलान नभएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा भनिएको छ ।

‘निवर्तमान सञ्चालक समितिका अध्यक्ष श्री घनश्याम अधिकारीले पटकपटक सो मध्येको दुई लाख अन्ठाउन्न हजार नौ सय उनान्सय मात्र सम्पत्ति सञ्चित नोक्सान गरेको भनी मिति २०७४/०७५ बाट तानिँदै आएको भनिएको भएता पनि सो नोक्सानी ०७४/७५ र ०७५/०७६ मा देखिन्छ । तर, आर्थिक वर्ष २०७६/७७ मा २ लाख ६६ हजार ३०४ रुपैयाँ सञ्चालन नाफाबाट नै अघिल्लो वर्षहरूबाट तानिँदै आएको २ लाख ५८ हजार ९ सय ९९ सञ्चालन घाटा घटाएर ७ हजार ३०५ रुपैयाँ मात्र नाफा गरी अघिल्लो सालसम्मको सञ्चालन घाटा मिलान भएको देखिएको...,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै उक्त सहकारीले लगानी गरेको ३५ लाख कर्जा पनि जोखिममा परेको छ । १ करोड ८८ लाखको ३ हजार ८३५ रुपैयाँ सम्पत्ति र दायित्व भएको सहकारीले प्रक्रिया पूरा नगरी साइनो साकोसलाई २०७७ पुस १३ गते गरेको ३५ लाख लगानी अहिले पनि उठेको छैन । ‘त्यसको सावाँ ब्याज केही पनि एउटा किस्ता पनि आएको छैन,’ एक पदाधिकारीले भने, ‘त्यसको ब्याजमात्रै ७ लाखभन्दा बढी भएको छ ।’

लेखा सुपरीवेक्षण समितिले उक्त ऋण घनश्याम अधिकारी अध्यक्ष रहेको अवस्थामा तत्कालीन वरिष्ठ उपाध्यक्ष तथा हालका सञ्चालक समिति अध्यक्ष तुलाराम न्यौपाने ऋण उपसमिति संयोजक र सदस्यद्वय रेवती खनाल, दिपक भण्डारी समेतको उपस्थितिमा ऋण स्वीकृत गरी लगानी गरिएको ऋणमा तमसुक समेत नगरी ऋण लगानी गरेको उल्लेख गरेको छ ।

स्रोतले दिएको जानकारी अनुसार साइनो सहकारी अहिले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर कार्यालय नै बन्द भएको छ । ‘त्यो पैसा उठ्ने अवस्था नै देखिएन,’ लेखा सुपरीवेक्षण समितिका संयोजक तिवारीले भने । 

Pratibedan ccc (4)Pratibedan ccc (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप