बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
फूलसँग तिहारको नाता

अमेरिकादेखि सयपत्री कसरी नेपाल भित्रियो ?

शुक्रबार, १६ कात्तिक २०८१, १२ : ०६
शुक्रबार, १६ कात्तिक २०८१

दसैँलगत्तै आउने ठुलो चाड हो, तिहार । तिहारलाई फूल र बत्तीको चाड पनि भन्ने गरिन्छ । योभन्दा पनि तिहारलाई चिनाउनेको अर्को चलन हो, भाइटिका । सायद भाइटिका नभएको भए तिहार हुँदैनथ्यो होला । 

भाइटिका तिहारको प्रमुख दिन हो तर भाइटिकाले मात्रै तिहारको परम्परा समेट्दैन । यसभित्र कुकुर तिहार, कागतिहार, लक्ष्मीपूजा लगायत चाडबाड छन् । यस्तै, नेवार समुदायले म्हपूजा पनि तिहारकै बेला मनाउने गर्छन् । अर्कोतिर तिहारलक्षित सांस्कृतिक कार्यक्रमले सहर–बजार गुञ्जायमान बन्छन् । देउसी भैलोको स्वरले गाउँदेखि सहरसम्म शान्ति छरिरहेको हुन्छ । 

तिहारको मुख्य प्रतीक र संस्कृतिमध्ये पर्छ, फूलको प्रयोग । वनस्पतिविद्का अनुसार फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास, दुर्गन्ध हटाउँछ । वातावरण सुगन्धित बनाउँछ । यसले शरीरमा फरकपन ल्याउँछ अर्थात् जोस–जाँगर र स्फूर्ति ल्याउँछ । 

मनमा प्रशन्नता र शान्ति दिलाउँछ । मनमा भएका नकारात्मक सोच, विचार र ऊर्जालाई विनाश गर्छ । प्राणी र धर्तीलाई नै हित गर्ने फूलहरू ठाउँ, समय र मौसमअनुसार फरक–फरक रूपमा फुल्छन् । ती फूल विभिन्न जाति र प्रजातिका हुन्छन् । वनस्पतिविद्का अनुसार जाइजुही, वसन्ती, चम्पा, मालती, वैजयन्ती, इन्द्रजौको, पलास, कुमुद, करबरी, चणक, वनमाला, कमल, गुलाब, लालुपाते, गोदावरी, गुराँस, सुनगाभा, मखमली, लाहुरी, ब्रह्मकमल, घण्टीफूल, सुनाखरी, पारिजात, नागकेशर, कुसुम, केतकी फूल, मौलसिरी, जुही, कदम्ब, चमेली, सयपत्री आदि हामीकहाँ प्रयोग हुने मुख्य फूल हुन् । यी फूलमध्ये तिहारमा मुख्य तीन प्रकारका फूल प्रयोग हुन्छन्— मखमली, सयपत्री र गोदावरी । 

पछिल्लो समय अन्य फूलको पनि तिहारमा बढ्दो प्रयोग छ । अन्य फूलहरू सभा–समारोह, विजयोत्सव, स्वागत र बिदाइ कार्यक्रम, रङ्गशालादेखि मसानघाट, सालिक–प्रतिमादेखि मूर्तिसम्ममा प्रयोग गरिन्छ । यस कारण पनि फूलहरूको महत्त्व तथा आवश्यकता यत्रतत्र छ भन्न सकिन्छ ।

अब तिहारसँग फूललाई तुलना गर्ने नै हो भने मुख्य आकर्षण नै फूल भइहाल्यो । फूलविना तिहारको परिकल्पना पनि गर्न सकिँदैन । तिहार त्यसकारण पनि फूल र दीपको चाड मानिन्छ । तिहार नजिकिएसँगै सबैका घरआँगनीमा ढकमक्क फूलहरू फुलेका छन् । यसले वरपरको धर्तीलाई नै सुगन्धित बनाएको छ । वास्ना हरर आउँदा धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मी समेत प्रशन्न हुने र सबैका घरघरमा बास गर्न आउने मान्यता पनि छ । 

परम्पराअनुसार तिहारमा निधारमा सप्तरङ्गी टिका, गलाभरि रङ्गीविरङ्गी फूलको माला, विभिन्न पक्वान्न, मिष्ठान्न परिकारहरू खाने, दीप फूल, महालक्ष्मी भगवतीको प्रार्थना र महिमागान गाउँदै देउसी–भैलो खेली मनाइने चाड तिहार हो । यो साँच्चिकै सद्भाव, भाइचारा र प्रेम र सम्मानको एउटा प्रतीक पनि मानिन्छ । तिहार फूलहरूको पर्व भएकाले फूलको महत्त्वलाई पनि थोरै केलाउन आवश्यक छ । 

वास्तवमा फूल धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पौराणिक गाथासँग जोडिएको छ । फूललाई शुभसाइतको एउटा पथ प्रदर्शक पनि मान्ने गरिन्छ । किंवदन्तीअनुसार पौराणिक कालमा रावणले आफ्ना सौतेला भाइ कुबेरको पुष्पक विमानलाई युद्ध जित्ने कार्यका लागि प्रयोग गर्ने गरेका थिए । त्यो कार्य हिजोआज हवाईयान र विमान बनाउने सोचका लागि उत्तिकै सहायकसिद्ध पथप्रदर्शक भएको पनि मान्ने गरिन्छ । 

  • तिहारको फरक–फरक महत्त्व

माया–प्रेम र भेटघाटको सौगात स्वरूप उपहार दिने अनि सम्बन्धलाई अझ निकट, सौन्दर्यपूर्ण र प्रगाढ तुल्याउने पर्व पनि हो तिहार । फूलको माला र भाइटिकामा तिहारको बेग्लै महत्त्व छ । विवाहमा सिन्दूर, मङ्गलसूत्र अपरिहार्य मानिएजस्तै तिहारमा भाइटिका अनिवार्य मानिन्छ । दिदीबहिनीबाट भाइटिका लगाएर मखमली माला पहिरिँदा यसले छुट्टै महत्त्व राख्छ । दाजुभाइको दीर्घायुको रूपमा, सयपत्री र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाइजुही र चमेली  मनोकांंक्षा पूरा होस्, सफलता प्राप्त होस् भनी दिदी–बहिनी, दाजुभाइलाई टिका लगाउँछन् र माला पहिरिइदिन्छन् । 

संस्कृतिविद् डा. गोविन्द टण्डनले तिहार गहिरो संस्कृतिको रूपमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार यो पर्वमा भाइटिका, फूल र बत्तीको विशेष महत्त्व छ । फूलहरूले मनमा प्रशन्नता र खुसी ल्याउँछ । बत्तीले शान्ति, समृद्धिसँगै मनमा उज्यालो छर्छ भने भाइटिकाले दाजुभाइ, दिदीबहिनीको सम्बन्धलाई सौहार्द र प्रगाढ तुल्याउँछ । 

सबै खाले सयपत्रीको उद्गम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भू–भाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश नै मानिन्छ । ती क्षेत्रमा १५ प्रजातिका सयपत्री भेटिए पनि रूप, रङ, गुण र स्वभावले गर्दा स्पेनी अन्वेषकले दुई प्रजातिलाई युरोप पुर्‍याए ।
  • फूलहरूको के महत्त्व ?

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार सयपत्री फूलका सुनौला मालामा घर, आँगन, चोक–बजार मात्र होइन काग, कुकुर, गाईगोरु, आफ्नै देह (म्ह) एवं दाइ–भाइ तथा देवी लक्ष्मी पनि जोडिन्छन् । 
तिहारको माहोललाई मनमोहक सिँगार्न बारी र बगैँचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देशबाट समेत सयपत्रीका फूल आयात गरिन्छ । ‘तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूल आजभोलि सर्वव्यापी, सर्वकालीन पुष्प सामग्री बनिसकेको छ । सभा, गोष्ठी, स्वागत, बिदाइ, सम्मान, अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाएको छ, यसको सर्वाधिक खपत हुने बेला भने तिहार नै हो । नामले सयपत्री भनिए पनि एउटै भेट्नोमाथि फक्रेको यस फूलको प्रत्येक पत्र स्वयंमा पृथक् फूल हो । उहाँ भन्नुहुन्छ, ‘त्यस अर्थमा सयपत्री फूल सयौँ फूलको पुष्पपुञ्ज हो, सयपत्रीलाई छोड्याइ–कोट्याइ गर्‍यौँ भने सयौँ स–साना पुष्पिका सजिलै छुट्टिन्छन् । फूलको मध्य भागमा खाँदिएर बसेका र छेउ–किनारतिरका पुष्पिका भिन्नै खालका हुन्छन्, मध्य भागका पुष्पिकाको फेदमा अण्डाशय हुन्छ ।’ 

उहाँका अनुसार सयपत्रीको पातलो सुइरो स्त्री जननेन्द्रिय मानिन्छ, त्यस वरिपरि पाँचवटा पुंकेशरका पराग कोष रहन्छन्, पुंकेशर र स्त्रीकेशरका यी अवयव पातलो पुष्प तरेलीको जामाभित्र हुन्छ । यो फूल पूर्ण पुष्पको एक रूप हो, जसलाई वनस्पति विज्ञानले फूलको संज्ञा दिएको छ । 

उहाँका अनुसार सयपत्री पनि सानो र ठुलो जातको हुन्छ । ठुलो खाले सयपत्री फूललाई सामान्यतः अफ्रिकन मेरिगोल्ड भन्ने गरिन्छ । पुष्पबजारमा यिनको वैकल्पिक नाम अमेरिकन मेरिगोल्ड पनि भनिएको पाइन्छ । यी फूल डल्लो आकारमा फक्रिन्छन् । सुन्तले वा फिका पहेँलो रङमा यी सयपत्री फुल्ने गर्छन् । बिरुवा पनि अग्लो हुने भएकाले यसको वैज्ञानिक नाम ‘टागेटिस इरेक्टा’ हो । ‘इरेक्टा’ शब्दले ठाडो र अग्लो भन्ने जनाउँछ । यपत्रीको जातीय नाम ‘टागेटिस’ प्राचीन रोमको एक दैविक अवतार ‘टागेस्’बाट जुरेको बताइन्छ । 

तिहारमा अधिक प्रयोग हुने फूल हो, मखमली । वनस्पतिविद् श्रेष्ठ भन्नुहुन्छ, ‘सबै खाले सयपत्रीको उद्गम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भू–भाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश नै मानिन्छ । ती क्षेत्रमा १५ प्रजातिका सयपत्री भेटिए पनि रूप, रङ, गुण र स्वभावले गर्दा स्पेनी अन्वेषकले दुई प्रजातिलाई युरोप पुर्‍याए । त्यतैबाट सयपत्रीले विश्वका विभिन्न देश विदेशमा प्रवेश पाएको मानिन्छ । 

हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि गहिरो सम्बन्ध गाँसेर बसेको यो अतिथि फूललाई अब संस्कृति फूल नै भन्नु उपयुक्त मानिन्छ । किनभने यसको इतिहास निकै लामो छ ।
  • नेपालमा सयपत्री

सयपत्री र मखमली फूल नेपालमा कसरी र कहिले भित्रिए यकिन रूपमा भन्न सकिने अवस्था छैन । वनस्पतिविद् श्रेष्ठले यी फूल कहिले आए भन्ने भरपर्दो आधार नभेटिएको बताउनुभयो । उहाँका अनुसार हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि गहिरो सम्बन्ध गाँसेर बसेको यो अतिथि फूललाई अब संस्कृति फूल नै भन्नु उपयुक्त मानिन्छ । किनभने यसको इतिहास निकै लामो छ । नेपालको धर्तीमा यी फूलले निकै पहिलेदेखि नै अधिपत्य जमाइरहेका थिए । 

अहिले विश्वमै यी फूलको माग बढ््दो छ । नेपालमा त झने मुख्य चाडका बेला नै यी फूलको प्रयोग गर्ने प्रचलन बसेको छ । मखमली फूल मुख्य त दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको मानिन्छ । नेपाल भित्रिएको यसको इतिहास पनि सयपत्रीसरह अतीतमा बिलाएको अवस्थामा छ । 

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला तिहारमा नभई नहुने भइसकेको छ । त्यस्तो नेपालीले बढी प्रयोग गर्ने अर्को फूल हो, गोदावरी । वनस्पति विज्ञानको दृष्टिमा यो फूल निकै चम्किलो फूल मानिन्छ । गोदावरी फूलको सौन्दर्य विश्वमै बढी मान्ने गरिन्छ । यसले गुदाउनी पनि भन्ने गरिन्छ । इस्लामिक मुलुकमा यसलाई गुलदाउदी भन्ने गरिन्छ । यो फूल पनि नेपाल कहिले भित्रियो भन्ने यकिन छैन । यसको इतिहास भने ईसापूर्व १५औँ शताब्दीतिरको रहेको वनस्पतिविद् श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार गोदावरीलाई बगैँचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई नै दिइन्छ । त्यसपछि आठौँ शताब्दीमा जापानले यो फूल फुलायो । जापानमा यो राष्ट्रिय फूल पनि बनेको छ । हाल अमेरिकाको सिकागो सहरको आधिकारिक पुष्प गोदावरी नै मानिन्छ । नेपालमा पनि यसको बेजोड प्रयोग हुन्छ । यो फूलका रङ धेरै हुन्छन् । मुख्य त पहेँलो र गुलाबी रङको गोदावरी बढी प्रचलनमा छ ।

  • तिहारमा फूलको प्रयोग बढ्दो 

तिहारका बेला नेपालमा फूलको प्रयोग ह्वात्तै बढ्छ । यो पर्व नै फूलसँग जोडिएकाले पनि फूलको प्रयोग बढेको हो । नेपालमा हरेक वर्ष तिहारमा २४ करोड मूल्य बराबरको फूलको कारोबार हुन्छ । पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार पछिल्लो समय नेपालमै उत्पादित फूलले पनि नेपाल आत्मनिर्भर हुने अवस्था छ, तर तिहारका बेला बिचौलियाले भारत लगायत तेस्रो मुलकबाट फूल ल्याएर यहाँको फूल ओझेलमा पारेको पनि पाइन्छ । 

नेपालमा पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ४८ जिल्लामा पुष्पखेती गरिन्छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको बताइन्छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएको एसोसिएसनको तथ्यांक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामहरि कार्की
रामहरि कार्की
लेखकबाट थप