शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार

शुक्रबार, १६ कात्तिक २०८१, १० : ५९
शुक्रबार, १६ कात्तिक २०८१

काठमाडौँ । निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (ज्द्यँ+भ्ग्० पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत चलचित्रले ६०,००० युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैँया बराबर हुन आउँछ । 

‘एक मुठ्ठी बादल’की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित चलचित्र हो । यस फिल्ममा नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी रहेका छन् । यस चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन् । साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ । गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ । 

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ । 

निर्देशक सहारा शर्माले चलचित्रले पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् । ‘नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु’ शर्माको भनाइ ।

यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित महिला–केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन्। दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् । 

उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारमा, लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौटमा परेको छ । चलचित्रका सह–निर्माता सारा फाजिलात, एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी, साथै प्रतिष्ठित कलाकार पनि हुन् । ‘निको’ (२०२१) र ‘होली स्पाइडर’ (२०२२) जस्ता प्रख्यात र पुरस्कृत फिल्महरूका निर्माता र अभिनेतृ समेत रहेकी फाजिलात चलचित्रद्वारा समानता र विविधता प्रवर्द्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन् ।  

ह्युबर्ट बाल्स फण्डमा छनोट भएपछि ‘एक मुठ्ठी बादल’ को अन्तर्राष्ट्रिय सम्भावना झन् बढेको छ । फिल्म पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकोले ह्युबर्ट फन्डकोे आर्थिक सहयोगले यसलाई उच्च गुणस्तर पुर्याउन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

‘पुरस्कारले चलचित्रको प्राविधिक कामका लागि ठुलो सहयोग पुग्नेछ । योसँगै  चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ,’ निर्माता दीक्षित भन्छन् ‘फिल्मलाई २०८२ सालमा प्रिमियर गराउने हाम्रो योजना छ ।’

यो उपलब्धिले नेपाली फिल्मलाई विश्व फिल्म समुदायमा स्थापित गर्दै अन्तर्देशीय महिला–प्रधान चलचित्र निर्माणको सम्भावना र महिला–केन्द्रित कथाहरूको महत्वलाई पनि उजागर गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप