मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२

अमेरिकालाई सजिलै हराउँदै तेस्रो स्थानमा उक्लियो स्कटल्यान्ड

शुक्रबार, १६ कात्तिक २०८१, ०९ : ४९
शुक्रबार, १६ कात्तिक २०८१

 

काठमाडौँ । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको सातौँ शृंखलामा शुक्रबार स्कटल्यान्डले सजिलो जित हात पारेको छ । स्कटल्यान्डले घरेलु टोली अमेरिकालाई ७१ रनको फराकिलो अन्तरले हराएको हो ।

जितसँगै स्कटल्यान्ड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हालसम्म १० खेल खेलेको स्कटल्यान्डले १३ अंक बटुलेको छ । अंक तालिकामा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई पछि पारेको हो । ११ खेल खेलेको अमेरिका भने १४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।

यसैगरी, १२ खेल खेलेको क्यानडा १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपाल १० खेलबाट पाँच अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ । नेपालले हालसम्म दुई जित र सात हारको नतिजा निकालेको छ । नेपालको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय १७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने ४४ ओभरमा अलआउट हुनुअघि दुई सय ४६ रनमात्र बनाउन सकेको थियो ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले महत्वपूर्ण योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ५१ रन बनाए । उनले एक सय ४० बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए ।

२५ वर्षीय ब्रान्डनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो । स्कटल्यान्डका लागि ओपनर ब्याट्सम्यान चार्ली टियरले पनि अर्धशतकीय पाली खेले ।

चार्लीले टोलीको खातामा ५१ रन थपे । उनले ८९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । २० वर्षीय चार्लीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । स्कटल्यान्डका लागि माइकल लिस्कले पनि अविजित ३३ रन बनाए । उनले ११ बलमा चार छक्का पनि प्रहार गरे ।

जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाका लागि कप्तान मोनांक पटेल र उत्कर्ष श्रीवास्तवले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मोनांकले ५२ रन बनाए । उनले ४५ बलमा सात चौका प्रहार गरे ।

यसैगरी, उत्कर्षले ६७ रन बनाए । उनले ६३ बलमा एक छक्का र ६ चौका प्रहार गरे । संजय कृष्णमुर्थीले पनि टोलीको खातामा ४९ रन थपे । स्कटल्यान्डका बलर ज्याक जार्भिस एक्लैले चार विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप