शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अभियान चलेको टिप्पणी' देखि 'संविधान संशोधनका क्रममा रगतको खोला बग्ने चेतावनी' सम्म

शुक्रबार, १६ कात्तिक २०८१, ०० : ००
शुक्रबार, १६ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. कुकुर तिहार मनाइयो, लक्ष्मी पूजा पनि आजै

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार बिहान कुकुर तिहार मनाइएको छ भने साँझ लक्ष्मी पूजा गरिएको छ । शुक्रबार साँझसम्म औँशी नरहने र शुक्रबारभन्दा बिहीबार साँझ नै लक्ष्मी पूजा गर्नु उपयुक्त हुने ज्योतिषहरूको सुझावबमोजिम बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो । 

२. प्रतिक्रियावादीहरुले प्रधानमन्त्री ओलीलाई हटाउन चाहेको सञ्चारमन्त्रीको टिप्पणी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् । देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो ।

३. संविधान संशोधनमा माओवादीको सहमति अनिवार्य
वरिष्ठ अधिवक्ता एवं सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य भन्छन् : माओवादीले पटक–पटक चेतावनी दिएको छ कि संघीयतामा तल–माथि गर्ने कार्य भएमा सह्य हुँदैन र रगतको खोला बग्न सक्छ । यो संविधानमा शान्ति प्रक्रियाको एउटा पक्ष माओवादीका पनि कुरा छन् । त्यसैले उसलाई बाहिर राखेर वा उसलाई सहमतिमा नलिईकन संशोधन गर्न सकिँदैन । 

४. महसुल विवाद
 ट्रंक तथा डेडिकेटेड महसुल विवादबारे ऊर्जा क्षेत्रका दुई निकायले एकैदिन महत्त्वपूर्ण निर्णय गरेका छन् । विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बुधबार महसुल विवादमा प्राधिकरण व्यवस्थापन र उद्योगी दुवै पक्षलाई ‘विन विन’ हुनेगरी मध्यमार्गी निर्णय गरेका हुन् ।

५. रविको तिहार हिरासतमै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ ।  कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । 

अर्थात् प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो । तर, आजदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने  भएको छ ।  यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ ।

६. पुरस्कार घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

७. डिजेलको मूल्य घट्यो
डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।

८. बागमती सरकारको १०० दिन
बागमती प्रदेश सरकार गठनको १०० दिन पूरा हुने चरणमा छ । कात्तिक १६ गते प्रदेश सरकार गठनको १०० दिन पूरा हुँदैछ । गत साउन ९ मा मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस र एमालेसहितको गठबन्धन मिलेर सरकार गठन भएको हो ।

९. रकमान्तर
दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयको भदौ र असोजमा आधारित सहयोग, रकमान्तर र थप बजेट निकासासम्बन्धी विवरण अनुसार यो अवधिमा सो बराबरको रकम रकमान्तर भएको हो । यो अवधिमा २५ लाख आर्थिक सहायता तथा १७ करोड ७५ लाख रुपैयाँ बराबरको थप बजेट निकासा भएको मन्त्रालयको तथ्याङ्क छ ।


१०. एनआरएनए विवाद

राजेन्द्र कुमार शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको शर्मा पक्षको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो । विवादकै बिच एकअघि बद्री केसी समूहले साधारणसभा गरेको थियो । 

११. एकीकृत समाजवादीको कार्यविभाजन अलमलमा 
नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन तिहारअघि नहुने भएको छ । नेताहरूको कार्यविभाजनका लागि गठित कार्यदलको दिनहुँ जसो बैठक बसे पनि कार्यविभाजन गर्न पार्टीले अलमल गरेको हो ।


१२. बाढीको बितण्डा
स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको छ । स्पेन सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप