बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सोमबार साधारणसभा गर्ने शर्मा नेतृत्वको एनआरएनएको निर्णय

बिहीबार, १५ कात्तिक २०८१, १९ : ११
बिहीबार, १५ कात्तिक २०८१

काठमाडौँ । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको शर्मा पक्षको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभालाई भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति बनाइएको छ । समितिले सचिव र क्षेत्रअनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउन काम गर्ने शर्माले जानकारी दिए । 

साधारणसभामा महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष डाकुर ढुंगानाको प्रतिवेदन पेस हुनेछ । यस्तै विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि  महासचिव र उपमहासचिवसहितको एक टीम समेत बनाउन निर्णय बैठकले गरेको छ । 

बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ । कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो।  गत साता एनआरएनएकै बद्री केसी समूहले पनि साधारण सभा गर्दै आएको छ । 

एनआरएनएमा तीन समूह रहेको छ भने एकताका पहल हुँदै आएपनि कुनै प्रगति हुन सकेको छैन । 

बिहीबारको बैठकमा अध्यक्ष शर्माले आफू नेतृत्वको समितिले गरेका कामकारबाहीबारे जानकारी गराउनुका साथै बद्री केसी पक्षले गरेको साधारणसभाबारे पनि धारणा राखेका थिए ।

 उनले केसी पक्षले प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर साधारणसभा गरेपनि वास्तविक एनआरएनएहरुको निकै कम सहभागिता देखिएको बताए । आफूहरुले केसीको अवैध साधारणसभाविरुद्ध अदालतमा समेत रिट दायर गरेको र अहिले कारण देखाऊ आदेश भएको उनको भनाइ थियो । केसी पक्षले अदालतमा भएको मुद्दाका साथसाथै गत चैत २१ मा सर्वोच्चबाट भएको फैसलाविपरीत साधारणसभा गरेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप