बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

कोशी प्रदेशको प्राविधिक शिक्षा सङ्कटग्रस्त, विद्यार्थी भर्ना हुनै आउँदैनन्

बिचमै कक्षा छाड्ने क्रम पनि बढ्दो
बिहीबार, १५ कात्तिक २०८१, १८ : ३०
बिहीबार, १५ कात्तिक २०८१

विराटनगर । कोशी प्रदेशका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा अन्य शिक्षालयमा सञ्चालित प्राविधिक धारको शिक्षा सङ्कटग्रस्त देखिएको छ । ती शिक्षालयमा विद्यार्थीको भर्नादर कमजोर हुँदै गएको छ भने भर्ना भएका विद्यार्थीले बिचैमा पढाइ छोड्ने दर पनि उच्च भएको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा सिपयुक्त जनशक्तिको माग र आपूर्ति सर्वेक्षण एवं प्रक्षेपणको विषयमा अध्ययन गरेको थियो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रले गरेको अध्ययन प्रतिवेदन अनुसार यस्तो तथ्याङ्क भेटिएको हो ।

28

कोशी प्रदेशका १४ जिल्लामा सीटीईभीटी अन्तर्गत आङ्गिक शिक्षालय ७, साझेदार शिक्षालय १४, सम्बन्धन प्राप्त सामुदायिक विद्यालय ४१, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट अनुदान प्राप्त १०२, निजी प्राविधिक विद्यालय ४२ र तालिम सञ्चालन गर्ने निजी शिक्षालय १३१ गरी जम्मा ३३७ शिक्षालय छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा नियन्त्रण कार्यालयका तथ्याङ्क अनुसार कृषि विधाको बाली विज्ञानको डिप्लोमा तहमा २०७४ सालपछि जनशक्ति उत्पादन क्षमता नियमित रूपमा वृद्धि गरे पनि विद्यार्थी भर्ना संख्या बढ्न सकेको छैन । बरु २०७७ सालपछि भर्ना दर घट्दो छ ।

यस्तै, डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान) कार्यक्रममा भने राष्ट्रियस्तरमा भर्ना संख्या ७७ प्रतिशतमात्रै छ । कोशी प्रदेशमा भने भर्नादर ९१ प्रतिशत छ । यो कार्यक्रममा देशभर ६३ प्रतिशतले नियमित पास गर्दा कोशीमा यो दर ६० प्रतिशत छ ।

कृषि विधाको पशु विज्ञानको डिप्लोमा तहमा विद्यार्थी संख्या पनि घट्दो क्रममा देखिएको छ । २०७७ सालमा कोशी प्रदेशमा पशु विज्ञानको डिप्लोमा तहमा ३६४ जना विद्यार्थी भर्ना भएका थिए । तर, २०८० सालमा आइपुग्दा उक्त संख्या घटेर २३९ मा आइपुगेको छ । जबकि २०८० सालमा भर्नाका लागि ४४० जनाको कोटा थियो ।

22

यस्तै डिप्लोमा इन फरेष्ट्रीमा पनि विद्यार्थी भर्ना संख्या घट्दो देखिएको छ । २०७७ सालमा यो विधामा ७८ जना विद्यार्थी भर्ना हुँदा १२० जनाको कोटामा २०८० सालमा ४७ जनामात्रै भर्ना भएका छन् । कोटाको तुलनामा यो भर्ना संख्या ३९ प्रतिशतमात्रै हो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङमा आङ्गिक शिक्षालय, साझेदार, सामुदायिक, निजी गरेर ३० वटा विद्यालयमा १ हजार ४८० जना विद्यार्थी पठनपाठन गराउन सक्ने कोटा छ । २०७७ सालमा यो कार्यक्रम अन्तर्गत १९२ जनाको क्षमता हुँदा विद्यार्थी भर्ना संख्या १४१ थियो । तर, २०८० सालमा यसको कोटा बढाएर २३२ जना पुर्‍याउँदा पनि विद्यार्थी भर्ना संख्या घटेर १३१ मा सीमित भएको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रममा भर्ना भएर पढाइ छाड्नेको संख्या औसतमा ३ प्रतिशत छ र नियमित पास हुनेको संख्या औसतमा ८० प्रतिशत थियो । यो कार्यक्रममा पनि कोटा बढाइरहँदा विद्यार्थी भर्ना दर भने ६१ प्रतिशतमात्रै छ । २०८० सालमा यो संख्या ९२ प्रतिशत पुगेको छ ।

यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम अन्तर्गत कोशी प्रदेशका विद्यालयमा उत्पादन क्षमता अनुसार विद्यार्थी भर्ना नभएको देखाउँछ । २०८० सालमा ५७६ जनाको उत्पादन क्षमता भएका विद्यालयमा २७२ जनामात्रै भर्ना भएका छन् । २०७७ मा ८९ प्रतिशत रहेको भर्ना संख्या २०८० मा पुग्दा ४७ प्रतिशतमा सीमित भएको छ ।

29

सोही कार्यक्रम सञ्चालन गरिरहेका निजी शिक्षालयहरूमा पनि विद्यार्थी भर्ना संख्या लगातार घट्दो देखिएको छ । औसत भर्ना संख्या २०७६ मा ९२ प्रतिशत थियो भने २०८० मा आइपुग्दा २५ प्रतिशतमा झरेको छ । एउटा निजी विद्यालयले भने २०८० सालमा सो कार्यक्रम अन्तर्गतका कोटामा विद्यार्थी नै भर्ना नभएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

‘प्रतिवेदनमा विगत नौ वर्षको औसतभन्दा २०८० मा केही बढी विद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाए पनि २०७७ सालदेखि भर्ना संख्या घटेर २०८० मा आइपुग्दा ४५ प्रतिशतमा झरेको र यो क्रम नरोकिने हो भने आउँदा वर्षहरूमा केही शिक्षालयहरूमा यो कार्यक्रम नै बन्द हुने अवस्थामा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

कोशी प्रदेशमा २ वटा सामुदायिक विद्यालय र ३ वटा निजी शिक्षालयले सञ्चालन गरिरहेको डिप्लोमा इन कम्प्युटर कार्यक्रममा पनि भर्ना दर घट्दै गएको छ । २०८० मा एक निजी शिक्षालय र एक सामुदायिक विद्यालयले त यो कार्यक्रममा विद्यार्थी भर्ना नै गरेनन् । छुट्ट्याइएको कोटाको १९ प्रतिशतमात्रै विद्यार्थी भर्ना भए । ‘विगत केही वर्षमा विश्व डिजिटलाइजेसन तर्फ द्रुत गतिमा अगाडि बढ्दै गर्दा त्यसको प्रभाव डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमको भर्ना दरमा देखिनु पर्नेमा अत्यन्तै न्यून भर्ना संख्या देखिनुमा ११ र १२ कक्षामा पढाइ हुने कम्प्युटर विज्ञान साथै ९–१२ प्राविधिक धारमा पढाइ हुने कम्प्युटर इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना संख्या बढ्नु एक कारण रहेको छ भने अर्को कारण कम्प्युटरको रोजगार बजारका लागि आवश्यक सफ्टवेयर, हार्डवेयर, नेटवर्किङसँग सम्बन्धित ठुलो उद्योगहरू कोशी प्रदेशमा नहुनु देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

डिप्लोमा इन इलेक्ट्रोनिक्स कार्यक्रममा पनि विद्यार्थी भर्ना संख्या घटिरहेको छ । २०७७ सालमा उत्पादन क्षमता ४८ रहेकोमा भर्ना क्षमताको तुलनामा भर्ना संख्या नै कम भएपछि २०७८ सालमा २४ बनाइयो । तर पनि यो कार्यक्रममा विद्यार्थी भर्ना संख्या खस्किँदो छ । यो कार्यक्रमको बिचमा पढाइ छाड्नेको संख्या पनि औसतमा २३ प्रतिशत छ । २०८० सालमा यो कार्यक्रममा १५ जना मात्रै भर्ना भएका छन् ।

नेपालका उद्योगहरूमा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकको समिश्रण रहेको पीसीएल टेक्नोलोजीको प्रशस्त माग छ । तर, नेपालमा उत्पादित जनशक्तिले पीसीएल टेक्नोलोजीमा काम गर्ने क्षमता नराखेकाले सो कार्यक्रमको उत्पादित जनशक्तिको खपत नेपालका उद्योगहरूमा गर्न नसकिएको रोजगारदाताले बताएका छन् । सोही कारण पनि विद्यार्थीको संख्या घट्दो क्रममा देखिएको छ ।

23

कोशी प्रदेशमा २०७६ सालबाट डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रमको उत्पादन सुरु भएको छ । हाल ४ वटा साझेदार शिक्षालयबाट अध्यापन भइरहेको यो कार्यक्रमको भर्ना क्षमताको तुलनामा विगत तीन शैक्षिक सत्रमा विद्यार्थीको संख्या घट्दो देखिएको छ ।

यस्तै डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा पनि २०७८ सालपछि विद्यार्थी संख्या घट्दो छ । ४८ जनाको कोटा रहेको उक्त कार्यक्रममा ३० जना विद्यार्थीमात्रै भर्ना भएका छन् । डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजीमा पनि ४१ प्रतिशत औसत भर्ना संख्या छ ।

डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङमा विद्यार्थी भर्ना संख्या शून्यमा छ । कोशी प्रदेशमा २०७६ सालमा अध्यापन सुरु गरी २०७७ सालमा उत्पादन क्षमता बढाइएको डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङको भर्ना संख्या सुरुबाटै कम थियो । २०८० सालमा आइपुग्दा त शून्य हुन पुगेको हो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाइज्ड इन हाइड्रोपावर)मा पनि विद्यार्थी भर्ना दर कम देखिन्छ । हाइड्रोपावरलाई लक्षित गरेर उत्पादन गरिने जनशक्ति उत्पादन २०७७ सालबाट सुरु गरिएको थियो । सामुदायिक विद्यालयमा सञ्चालित यो कार्यक्रमको भर्ना संख्या पनि समग्रमा घट्दो पाइएको छ ।

उता, डिप्लोमा इन नर्सिङ (प्रमाणपत्र तह नर्सिङ)को उत्पादन क्षमता अनुसार विद्यार्थी भर्ना संख्या र नियमित पास हुने विद्यार्थीको संख्या भने उल्लेख्य पाइएको छ । तर, चार वर्ष अघिको तुलनामा हाल उत्पादन क्षमता नै घटाइएको देखिन्छ । २०७२ सालमा ४ सयको कोटा रहेको यो कार्यक्रमको कोटा घटाउँदै २०८० सालमा २८० कायम गरिएको हो ।

26

उता, डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजीमामा भने कोटा बढाइए पनि भर्ना संख्या बढ्न नसकेको देखिएको छ । यो कार्यक्रममा २०७८ सालसम्म भर्ना क्षमता १५० प्रतिवर्ष रहे पनि २०८० मा ६३० पुर्‍याइएको छ । जसमध्ये ३८२ जनामात्रै भर्ना भएका छन् । डिप्लोमा इन फार्मेसी कार्यक्रममा विद्यार्थी भर्ना संख्या ६७ प्रतिशत रहँदा डिप्लोमा इन फिजियोथेरापी (मेडिकल साइन्स)मा ४० जना विद्यार्थी भर्ना गर्ने कोटा रहे पनि २६ जनामात्रै भर्ना भएका छन् ।

डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रममा पनि विद्यार्थी भर्ना दर सन्तोषजनक नरहेको देखिएको छ । यो कार्यक्रममा २०७७ सालमा ४० जनाको कोटा हुँदा २४ जना विद्यार्थी भर्ना भएका थिए । २०८० सालमा कोटा बढाएर ८० पुर्याए पनि विद्यार्थी भर्ना भने २९ जनामात्रै भएका छन् ।

प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङमा पनि २०८० सालमा नेपालको विद्यार्थी भर्ना कोटा २ हजार ५२० जनाको थियो । भर्ना भने ९२४ जना अर्थात् ३७ प्रतिशत मात्रै भए । कोशी प्रदेशमा पनि विद्यार्थी भर्ना कोटा ४ सयको रहँदा भर्ना १४६ अर्थात् ३७ प्रतिशतमात्रै छ । विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा उत्पादन क्षमता घटाइएको छ भने विद्यार्थी संख्या पनि घट्दो क्रममा छ ।

प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा पनि २०८० सालमा जम्मा ८ जनामात्रै भर्ना भएका छन् । जबकि यसको कोटा ८० जनाको थियो । २०७६ सालमा २ सय जनाको कोटा हुँदा भर्ना संख्या ९० थियो ।

प्रि–डिप्लोमा इन लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ कार्यक्रममा पनि विद्यार्थी भर्ना निराशाजनक छ । २०८० सालमा १२० जनाको कोटामा उक्त कार्यक्रमका लागि ४२ जना विद्यार्थीमात्रै भर्ना भएका छन् । भेटेरिनरी साइन्स, प्लान्ट साइन्स, डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्राविधिक धारमा पनि विद्यार्थी भर्ना दर कमजोर छ ।

24

आकर्षण केमा ?

वैदेशिक सहयोगमा सञ्चालिन एप्रिन्टिससिप मोडलको कार्यक्रममा भने आकर्षण बढेको देखिएको छ । सो कार्यक्रममा विद्यार्थीले तीन महिना पन्ध्र दिन शिक्षालयमा अध्ययन गर्ने र उन्नाइस महिना पन्ध्र दिन उद्योगमा गइ औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गर्दै ‘सिक्दै कमाउँदै’ अध्ययन गर्न पाउँछन् । भत्तासहितको र रोजगारीको अनुभव सहितको कार्यक्रम भएको हुनाले एप्रिन्टिससिप मोडलको कार्यक्रममा विद्यार्थीको उत्सुकता बढेको देखिएको छ ।

यो कार्यक्रममा २०७६ सालमा ८० जनाको कोटामा ६३ जना विद्यार्थी भर्ना भएका थिए । तर, २०८० सालमा ५० जनाको कोटामा शतप्रतिशत विद्यार्थी भर्ना भएका छन् । प्रि–डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा कोटा अनुसार विद्यार्थी भर्ना भएको देखिएको छ । यस्तै प्रि–डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङमा पनि विद्यार्थी भर्ना दर राम्रो देखिएको छ ।

यस्तै प्रि–डिप्लोमा इन इफमेसन टेक्नोलोजीमा पनि विद्यार्थी भर्ना दर उत्साहजनक देखिन्छ । यो कार्यक्रममा २०७६ सालमा ४० जनाको कोटामा शत प्रतिशत विद्यार्थी भर्ना भए । २०८० सालमा १८० जनाको कोटामा १७८ जना विद्यार्थी भर्ना भएका छन् । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ प्राविधिक धारमा भने विद्यार्थी भर्ना दर उत्साहजनक छ । डिप्लोमा इन जनरल मेडिसिनमा पनि विद्यार्थी भर्ना राम्रो छ ।

अध्ययन टोलीले प्राविधिक धारमा समग्रमा र तहगत रूपमा विद्यार्थी र शिक्षार्थीले बिचैमा कक्षा छाड्ने प्रवृत्ति उच्च देखिएको निष्कर्ष निकालेको छ । ‘यो समस्यालाई नीतिगत रूपमै सम्बोधन गर्न आवश्यक छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ, ‘प्राविधिक धारतर्फ कार्यरत शिक्षकको दरबन्दी, योग्यता, शिक्षक र कर्मचारीको रोजगारीको सुनिश्चितताको अभाव छ ।’

उक्त अध्ययन टोलीमा प्रा.डा. अर्जुनकुमार बराल, डा. लक्ष्मीकान्त शर्मा, डा.चन्द्र उपाध्याय तिम्सिना, इ. युवराज चौधरी, धर्मराज ढकाल, निरज ठाकुर र अमृत कटुवाल थिए । अध्ययनले प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिमसँग सम्बन्धित श्रम बजारका माग पक्ष र आपूर्ति पक्षको अवस्था अध्ययन एवं आगामी पाँच वर्षको प्रक्षेपण गरेको छ ।

अध्ययनका क्रममा सीपयुक्त प्राविधिक जनशक्तिको उत्पादन र खपत हुने कृषि र वन, निर्माण र इन्जिनियरिङ, स्वास्थ्य, हस्पिटालिटी र केही अन्य क्षेत्रलाई समेटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप