बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय
दोस्रो टेस्ट क्रिकेट

दक्षिण अफ्रिकाकासँग केही लागेन बंगलादेशको, पाली अन्तरले पराजित

बिहीबार, १५ कात्तिक २०८१, १६ : ४४
बिहीबार, १५ कात्तिक २०८१

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली दक्षिण अफ्रिका पाली अन्तरले विजयी भएको छ । दक्षिण अफ्रिकाले बंगलादेशलाई एक पाली र दुई सय ७३ रनको विशाल अन्तरले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दुई टेस्टको शृंखला पनि २–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले बंगलादेशलाई सात विकेटले हराएको थियो ।

चटगाउँमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार फलो–अनमा परेको घरेलु टोली बंगलादेश आफ्नो दोस्रो पालीमा पनि केवल एक सय ४३ रन बनाउँदै अलआउट भयो । दोस्रो पालीमा पनि बंगलादेशी ब्याट्म्यानहरु ४३.४ ओभरमात्र क्रिजमा टिक्न सके । दोस्रो टेस्टको दुवै पालीमा बंगलादेशी ब्याट्सम्यानहरु निरीह देखिए ।

दोस्रो पालीमा बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्टोले ३६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान महिदुल इस्लामले २९ रन बटुले । तल्लो क्रमका ब्याट्सम्यान हसन महमुदले अविजित ३८ रन जोडे । ओपनर महमुदुल हसन जोयले ११ रन बनाए ।

दोस्रो पालीमा बंगलादेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका बलर केशव महाराजले पाँच विकेट लिए । उनले १६.४ ओभरमा ५९ रन खर्चिए । सेनुरन मुथुसामीले पनि चार विकेट हात पारे ।

त्यसअघि आफ्नो पहिलो पालीमा बंगलादेशी टोली केवल एक सय ५९ रन बनाउँदै अलआउट भएको थियो । बंगलादेशी ब्याट्सम्यान पहिलो पालीमा ४५.२ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । दक्षिण अफ्रिकाले पहिलो पालीमा बनाएभन्दा बंगलादेश चार सय १६ रनले पछाडि परेको थियो ।

दोस्रो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले भने ६ विकेटको नोक्सानीमा पाँच सय ७५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । पहिलो पालीमा घरेलु टोली बंगलादेशका लागि मोमिनुल हकवाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

चौथो नम्बरमा क्रिज समाल्न आएका मोमिनुल हकले सर्वाधिक ८२ रन बनाएका थिए । उनले एक सय १२ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो २०औँ अर्धशतक हो ।

यसैगरी, ओपनर ब्याट्सम्यान महमुदुल हसन जोयले १० रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान तैजुल इस्लामले टोलीको खातामा ३० रन थपे । बंगलादेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै केवल ३७ रन खर्चिए । डेन पिटर्सन र केशव महाराजले पनि दुई–दुई विकेट हात पारे । सेनुरन मुथुसामीले पनि एक विकेट लिएका थिए ।

त्यसअघि, दक्षिण अफ्रिकाका लागि पहिलो पालीमा तीन ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेका थिए । ओपनर टोनी डी जर्जीले एक सय ७७ रन बनाएका थिए । उनले दुई सय ६९ बलको सामना गरी चार छक्का र १२ चौका हिर्काए । २७ वर्षीय जर्जीले बनाएको यो पहिलो टेस्ट शतक हो ।

यसैगरी, तेस्रो नम्बरका ब्याट्सम्यान ट्रिस्टन स्टब्सले पनि एक सय ६ रन बनाएका थिए । उनले एक सय ९८ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएका थिए । २४ वर्षीय स्टब्सले पनि टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक नै हो ।

यसैगरी, सातौँ नम्बरमा क्रिज समाल्न आएका विआन मल्डरले पनि टोलीको खातामा अविजित एक सय पाँच रन थपे । उनले एक सय ५० बलको सामना गरी चार छक्का र आठवटा चौका हिर्काएका थिए । २६ वर्षीय मल्डरले पनि टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक नै हो ।

दक्षिण अफ्रिकाका लागि दुई ब्याट्सम्यान अर्धशतक पनि बनाएका थिए । आठौँ नम्बरका ब्याट्सम्यान सेनुरन मुथुसामीले टोलीका लागि अविजित ६८ रनको योगदान गरे । उनले ७५ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । ३० वर्षीय सेनुरनको टेस्ट क्रिकेटमा यो पहिलो अर्धशतक हो ।

यसैगरी, चौथो नम्बरका ब्याट्सम्यान डेभिड बेडिङ्घमले पनि टोलीका लागि ५९ रनको योगदान गरे । उनले ७८ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । ३० वर्षीय बेडिङ्घमले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।

यसका अतिरिक्त दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान एडेन मारक्रम पनि ३३ रन बनाएका थिए । कप्तानसमेत रहेका मारक्रमले ५५ बलमा दुई चौका प्रहार गरे । बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिए । उनले ५२.२ ओभरमा पाँच मेडन राख्दै एक सय ९८ रन खर्चिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप