तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

बागलुङ । जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ ।
झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो ।
बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् ।
११ वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठुलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ ।
“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौँ । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ”, श्रेष्ठले भनिन्, “यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।”
तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन् ।
श्रेष्ठले दसैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु चारदेखि रु ६ लाख आम्दानी हुने जानकारी दिइन् । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान