लुम्बिनी प्रदेशको लगातार चौथो जित, बागमतीलाई सजिलै हरायो
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले हराएको छ ।
जारी प्रतियोगितामा चौथो खेल खेलेको लुम्बिनी प्रदेशले शतप्रतिशत नतिजा निकालेको छ । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७५ रनले हराएको थियो । दोस्रो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको थियो ।
यसैगरी आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि चार विकेटको जित हासिल गरेको थियो । आफूले हालसम्म खेलेको चारवटै खेलमा जित हात पारेको लुम्बिनी प्रदेश आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।
लुम्बिनी प्रदेशले आफूले खेलेको सबै खेल जित्ने एकमात्र टोली पनि हो । तेस्रो खेल खेलेको बागमती प्रदेशको भने यो दोस्रो हार हो । बागमती प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई एक सय रनले हराएको थियो । दोस्रो खेलमा बागमती प्रदेश मधेस प्रदेशसँग ४६ रनले पराजित भएको थियो ।
बिहीबारको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७८ रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने ४४.४ ओभरमा अलआउट हुनुअघि एक सय ७६ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । कप्तान समेत रहेका ओपनर आकश त्रिपाठीले ७७ रन बनाए । उनले ९८ बलमा एक छक्का र ११ वटा चौका पनि हिर्काए ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्तोष यादवले पनि टोलीका लागि ६३ रनको योगदान गरे । उनले ६१ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दिलसाद अलीले पनि अविजित ५४ रन बनाए ।
आक्रामक रूपमा प्रस्तुत भएका विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले केवल ३६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर सेराज बागवनले टोलीको खातामा २१ रन थपे । दर्श सोनारले १६ रन जोडे । नर सार्कीले पनि १५ रन बनाए ।
लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १८ रन पायो । बागमती प्रदेशका बलर दिनेश विष्ट र दयानन्द मण्डलले दुई–दुई विकेट लिए । रोसन विश्वकर्मा र दीपक सेरलाले पनि एक–एक विकेट हात पारे ।
ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशका ब्याट्सम्यानहरुले भने गतिलो प्रदर्शन गर्न सकेनन् । बागमती प्रदेशका लागि रोसन विश्वकर्माले अर्धशतकीय पाली खेल । उनले टोलीका लागि अविजित ७३ रनको योगदान गरे ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६६ बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान सूर्यान्शु कोइरालाले ३२ रन बनाए । राजेश बोहराले पनि टोलीको खातामा २१ रन थपे । नितेश कुमारले १३ रन बनाए ।
अर्का ओपनर रिङ्जिन लामा ११ रन बनाउँदै पेभेलियन फर्किए । लुम्बिनी प्रदेशका बलर आकाश त्रिपाठी र सन्तोष यादवले तीन–तीन विकेट लिए । महेश भार र रमेश कुर्मीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार साधारणसभा गर्ने शर्मा नेतृत्वको एनआरएनएको निर्णय
-
तस्बिरमा हेर्नुहोस् तिहारको झिलिमिली
-
नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड
-
कोशी प्रदेशको प्राविधिक शिक्षा सङ्कटग्रस्त, विद्यार्थी भर्ना हुनै आउँदैनन्
-
देशभर तिहारको झिलिमिली
-
भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकर