बागमतीका मन्त्री मास्केको १०० दिन : ५५ जीर्ण आयोजना पहिचान, १३ किलोमिटर सडक कालोपत्रे
मकवानपुर । बागमती प्रदेश सरकार गठनको १०० दिन पूरा हुने चरणमा छ । कात्तिक १६ गते प्रदेश सरकार गठनको १०० दिन पूरा हुँदैछ । गत साउन ९ मा मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस र एमालेसहितको गठबन्धन मिलेर सरकार गठन भएको हो ।
उक्त सरकारले साउन १२ मा पूर्णता पाएको थियो । प्रदेश सरकारको तत्कालीन १३ मन्त्रालयमा मुख्यमन्त्री लामाले १४ मन्त्री नियुक्त गरी साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । प्रदेश सरकारमा एमालेका ६ र कांग्रेसबाट मुख्यमन्त्री लामासहित ८ मन्त्री सहभागी भएका छन् ।
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा अमन कुमार मास्के छन् । २२ अर्ब रुपैयाँभन्दा बढीको बजेट रहेको उक्त मन्त्रालयले सहरी विकास तथा भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ ।
मन्त्री मास्केले जिम्मेवारी सम्हालेको १०० दिनमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारद्वारा सञ्चालित ५५ जीर्ण आयोजना पहिचान गरेको छ भने १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
पदबहाली गरे लगत्तै पहिलो निर्णय मार्फत् मास्केले जीर्ण आयोजना पहिचान गर्न अध्ययन समिति गठन गरेका थिए । मन्त्री मास्केको १०० दिनको महत्त्वपूर्ण उपलब्धिको रूपमा जीर्ण आयोजनाको पहिचान तथा व्यवस्थापन रहेको छ ।
मन्त्री मास्केको निर्णय अनुसार मन्त्रालय अन्तर्गत रहेको रुग्ण आयोजनाको पहिचान, व्यवस्थापन तथा सहजीकरण गर्न १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी रुग्ण आयोजना पहिचान तथा सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिबाट प्राप्त प्रतिवेदनको आधारमा योजनागत रूपमा प्राथमिकताका साथ कार्यस्थल भ्रमण तथा ताकेता गरी ५५ वटा रुग्ण योजनामध्ये सो अवधिमा २ वटा योजना सम्पन्न भएका छन् ।
रुग्ण आयोजनाको रूपमा रहेका २५ वटा योजनामा ठप्प रहेको निर्माण कार्य फेरि सञ्चालन गरिएको छ भने बाँकी योजनाको समस्या सहजीकरणको प्रयास भइरहेको मन्त्री मास्केले जानकारी दिए ।
मन्त्री मास्केको १०० दिनकै कार्यअवधिभित्र प्रादेशिक सडकहरूमा प्राकृतिक विपद्को समयमा छिटो छरितो तथा प्रभावकारी रूपमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सुधारका लागि आकस्मिक र तत्काल परिचालन गर्न सकिने गरी द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । उक्त टोलीलाई परिचालन गरी मन्त्रालयले विपद् प्रभावित क्षेत्रको सडकहरू सञ्चालनको काम गरेको थियो ।
मन्त्री मास्केले समीक्षा अवधिमा असोज ११ देखि १३ गते सम्मको अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानले प्रभावित मुख्य–मुख्य सडक तथा सडक पुल सञ्चालन गर्नुलाई उपलब्धिका रूपमा चित्रण गरेका छन् । मन्त्रालयका अनुसार वर्षाका कारण सडक–पुलहरूमा अत्यधिक क्षति पुगेर चाडपर्वको अवसरमा आवागमन ठप्प भएकाले स्रोत र साधनहरूको परिचालन गरी तत्काल मर्मत तथा सुधार, डाईभर्सन निर्माण तथा वैकल्पिक सड़कहरूको पुनर्स्थापनजस्ता कार्य गरिएको छ ।
जसबाट हेटौंडा–काठमाडौँ जोड्ने ३ वटा मुख्य प्रादेशिक सडक, अति क्षतिग्रस्त सिन्धुली, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक लगायत अन्य जिल्लाहरूको समेत आवागमनलाई छोटो समयमै सुचारु गरिएको मन्त्री मास्केले बताए । यस अवधिमा बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माण योजनाको जग्गा प्राप्ति गर्ने प्रक्रिया अन्तर्गत उक्त आयोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ निर्धारण गर्न राष्ट्रिय योजना आयोग, काठमाडौँमा पत्राचार गरिएको उनको भनाइ छ ।
समीक्षा अवधिमा प्रदेश सरकार अन्तर्गत भवन निर्माणको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन, प्रदेश सरकारको भवन नीति, २०८१ तयार गरी सहमतिको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रादेशिक सहरी नीति, २०८१ र प्रादेशिक सडक मापदण्ड २०८१ को मस्यौदा पनि समीक्षा अवधिमा तयार भएको जनाइएको छ ।
मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहहरूको एकीकृत पूर्वाधार विकास कार्यक्रमलाई व्यवस्थित गर्न कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ तयार गरी सहमतिको लागी पेस गरिएको मन्त्री मास्केको भनाइ छ ।
सो अवधिमा मन्त्रालयले १३ किलोमिटर सडक कालोपत्रे गर्नुको साथै ११ किलोमिटर सडक ढलान, २२ किलोमिटर ग्राभेल, २७ किलोमिटर नयाँ ट्रयाक खोल्ने कार्य, ४ वटा पुल र १ वटा झोलुङ्गे पुल, ३ वटा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।
मन्त्री मास्केले कार्यभार सम्हालेको १०० दिनभित्र जनता आवास कार्यक्रम मार्फत् १२ वटा आवास, चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत थप २६० वटा आवास र खरको छानो उन्मूलन कार्यक्रम अन्तर्गत थप २४७ वटा आवास निर्माणको कार्य सम्पन्न गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लक्ष्मी पूजा
-
दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर, दुई परिवारलाई २५ लाख आर्थिक सहायता
-
नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउँछु : मन्त्री गुरुङ
-
‘पटका पट्काउँदा वातावरण प्रदूषण हुन्छ’
-
दक्षिण अफ्रिकाकासँग केही लागेन बंगलादेशको, पाली अन्तरले पराजित
-
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च