बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तिहार

तिहार चाड एक, मनाउने तरिका अनेक

बिहीबार, १५ कात्तिक २०८१, १४ : ४५
बिहीबार, १५ कात्तिक २०८१

तिहार यस्तो पर्व हो, जसका अनेक नाम छन्— भाइटिका, दीपावली, यमपञ्चक ।

कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई विशेषतः यमपञ्चक भनिन्छ । यी पाँच दिनमा पाँचवटै पर्व पर्छन्— कागतिहार, नरकचतुर्दशी एवं कुकुरतिहार, गाईतिहार (लक्ष्मीपूजा वा दीपावली) गोरुतिहार (गोवर्धनपूजा) र भाइटिका ।

यी पाँच दिनलाई यमपञ्चक भन्नुको पछाडि मृत्युका देवता यमराजसम्बन्धी पौराणिक कथा जोडिएका छन् । 

प्रचलित कथा अनुसार, यमराजले वर्षका पाँच दिन (यमपञ्चकमा) फुर्सद पाए । यमराजकी बहिनी यमुनाले आफूलाई दाजुले भेट्न नआएको भनी सधैँ गुनासो गर्थिन् । त्यसैले फुर्सदका बेला यमराज बहिनीका घरमा आए र बहिनीबाट स्वागत–सत्कार पाए । 

संस्कृतिविद् डा. विष्णु गिरीका अनुसार, तिहार नेपालीको मौलिक पर्व हो । यस पर्वमा विशेषगरी दाजुबहिनी र दिदीभाइले एक–अर्कालाई सम्झने गर्छन् । ‘दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेर भाइटिका मनाइन्छ । भाइटिकामा तेलको घेरो लगाइन्छ, जो छिटै सुक्दैन । त्यो नसुक्दासम्म यमराजले लैजाँदैनन् भन्ने मान्यता छ,’ डा. गिरी भन्छन्, ‘त्यस्तै मखमलीको माला लगाइन्छ, त्यो पनि छिटै ओइलाउँदैन । तेलको घेरो र मालाले मृत्युदेखि बचाउन कवचका रूपमा काम गर्ने मान्यता छ ।’

यमपञ्चकका पाँच दिनमा पर्ने काग तिहार, कुकुरतिहार, लक्ष्मीपूजा र गोवर्धन पूजाको समेत विशेष महत्त्व छ । किनभने यी पर्वसँग खासखास मान्यता जोडिएका छन् । अर्कोतिर आधुनिकतासँगै तिहार मनाउने तरिकामा परिवर्तन समेत आएका छन् । यद्यपि हामीकहाँ भिन्न–भिन्न समुदायले आ–आफ्नै मौलिक किसिमले यो पर्व मनाउँदै आएका छन् । 

मिथिला क्षेत्रमा तिहारलाई ‘सुखराती’ भनिन्छ भने नेवार समुदायले समग्र तिहारलाई स्वन्ती भन्छन् ।

  • नेवारको स्वन्ती

नेवार संस्कृतिका अध्येता आभास राजोपाध्यायका अनुसार, नेवारहरूले स्वन्ती (तिहार)लाई विशेष गरी तीन दिनसम्म मनाउँछन् । ‘स्वनु भनेको तीन, ती भनेको तिथि । अर्थात् तीनवटा तिथि— पहिलो दिन लक्ष्मी पूजा, दोस्रो दिन म्हपूजा र तेस्रो दिन भाइपूजा अर्थात् किजापूजा,’ उनी भन्छन्, ‘यसको विसर्जन भने किजा पूजाको भोलिपल्ट गर्छौं । कसैकसैले त्यही दिन पनि गर्छन् । 

उनका अनुसार, लक्ष्मी पूजाको दिन ढोकाको बाहिरपट्टि (पिखालखु)बाट भित्र अर्थात् लक्ष्मी राखिएको ठाउँसम्म गोबरले लिपिन्छ । यसरी लिपेको बाटोमा लक्ष्मीको पाइला पनि अंकित गरिन्छ । 

‘पूजा भने दुई किसिमले गरिन्छ । एउटा महालक्ष्मी पूजा र अर्को धनलक्ष्मी पूजा । तान्त्रिक रूपमा पूजा गर्नेहरूले महालक्ष्मीको पूजा गर्छन् । यो जानेकाहरूले मात्रै गर्छन्,’ अध्येता राजोपाध्याय भन्छन्, ‘योसँगै षोडश लक्ष्मी भनेर १६ वटा लक्ष्मीको समेत पूजा गरिन्छ । बौद्ध समुदायहरूले समेत यक्षिणीका रूपमा पूजा गर्ने चलन छ ।’ 

नेवार समुदायले यही बेला नयाँ वर्ष (नेपाल संवत् अनुसार वर्ष फेरिने दिन) समेत मनाउँछन् । यसपालिदेखि नेपाल संवत् ११४५ सुरु हुँदै छ । यही नयाँ वर्षकै दिन म्हपूजा गरिन्छ । ‘

म्ह भनेको आफ्नो शरीर हो । म्ह पूजामा शरीरको पूजा गर्ने हो,’ उनी भन्छन्, ‘म्हपूजा गर्नका लागि घरमा मण्डप बनाइएका हुन्छन् । एउटा मण्डपमा विभिन्न १६ वटा देवी–देवतालाई आह्वान गरिन्छ । एउटा मण्डपमा तेल नराखी पानी मात्रै राखेर यमराजको पूजा गरिन्छ ।’ 

उनका अनुसार, यस्ता मण्डपमा प्रायःले अष्टचिरञ्जीवीको पूजा गर्छन् । सबै देउताहरूको पूजा गरेपछि म्हपूजा गर्नेको मण्डपमा पूजा गरिन्छ । मण्डपमा पूजा गरिसकेपछि शरीरको पूजा हुन्छ । त्यसपछि सगुन लिइन्छ, जसमा भोगटे र बिमिरो छुटाइँदैन । 

‘म्हपूजाको भोलिपल्ट किजापूजा (भाइटिका) गरिन्छ । भाइटिकामा पनि मण्डप बनाइएका हुन्छन् । पहिले विभिन्न देउतालाई आह्वान गरेर पूजा गरिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई पूजा गर्छन् । अनि भोज खाइन्छ,’ अध्येता राजोपाध्याय भन्छन्, ‘म्हपूजा र किजापूजा दुवैमा पालामा दियो बालिन्छ । किजापूजामा दिदीबहिनीले दाजुभाइलाई पाला दिने गर्छन् ।’ 

पहिलेको तुलनामा अहिले आधुनिकतासँगै खानपानदेखि तिहार मान्ने सामग्रीमा परिवर्तन आएको उनको भनाइ छ । 

संस्कृतिविद् छत्रबहादुर कायस्थका अनुसार, अष्ट महाभयबाट मुक्ति पाउनका लागि म्हपूजा गरिने हो । ‘राजाको भय, चोरको भय, पानीको भय, आगोको भय, शत्रुको भय, हावाको भय, चट्याङको भय र भूकम्पको भय— यी आठ प्रकारका भयबाट बच्ने कामना र प्रार्थनासहित  म्हः पूजा गरिन्छ,’ उनले रातोपाटीसँग भने । 

उनका अनुसार, म्हपूजामा सप्तवृद्धिको कामना पनि गरिन्छ । अर्थात् सात कुरा (आयु, यश, विद्या, सुख, आरोग्य, धन र सन्तान)को वृद्धि होस् भनी कामना गरिन्छ । 

‘म्हपूजाको सुरुमा संकल्प गर्नुपर्छ, आफ्नो जन्मतिथि, मिति, गोत्र, कुलको वंशजको नाम लिएर,’ कायस्थ भन्छन्, ‘मूल नाइके, आफ्ना परिवारका सदस्य सबैको नाम लिई संकल्पसहित पूजा गर्ने चलन हुन्छ ।’

  • मधेसमा तिहार

संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिका अनुसार, तिहारलाई पछिल्लो समय दीपावली भनिए पनि मिथिला क्षेत्रमा यसलाई पहिलेदेखि नै ‘सुखराती वा सुखरात्रि’ भनिन्थ्यो । सुखरात्रि शब्द अपभ्रंश भएर सुखराती भएको उनको भनाइ छ । 

‘अन्त यमपञ्चक भनेर कुुकुरतिहारदेखि सुरु भए पनि मिथिला क्षेत्रमा लक्ष्मी पूजाकै दिनबाट तिहार मनाउन सुरु गरिन्छ । यस क्षेत्रमा गाई तिहार, कुकुर तिहार त्यति मनाइँदैन,’ प्रेमर्षि भन्छन्, ‘लक्ष्मी पूजाको दिन भने विशेष पूजा गरिन्छ । पहाडतिर दसैँ आएपछि घर–आँगन लिपपोत गरेझैँ मिथिलामा तिहारसँगै सरसफाइ सुरु हुन्छ । घरमा रंग–रोगन पनि गरिन्छ ।’ 

उनका अनुसार मिथिला क्षेत्रमा तिहारमा विशेष गरी दियोको विशेष महत्त्व छ । दियोले नै देवीदेवताको पूजा गरिन्छ । घरमुली पुरुषले घरको प्रत्येक कोठामा बलेको दियो देखाएर पितृलाई सम्झन्छन् वा सम्मान गर्छन् । 

‘मिथिला क्षेत्रमा तिहारको पहिलो दिन बेलुका घर–घरमा दियो बालेर लक्ष्मीपूजा गरिन्छ । अनि आफूभन्दा ठुलाबडाकहाँ गएर उनीहरुलाई ढोग्ने गरिन्छ,’ उनी यसको महत्त्व बताउँछन्, ‘यसरी ढोगेपछि पहिलेको मनमुनाब पनि सकिन्छ भन्ने मान्यता छ । कोही आफूभन्दा ठुलाबडाकहाँ गएर ढोगेन भने मनमुटाव वा कटुता  कायमै छ भन्ने हुन्छ ।’ 

यस्तै, दोस्रो दिन गोवर्धन पूजा हुन्छ । यसलाई पशु पर्वका रूपमा हेरिन्छ । यसमा सबै वस्तुभाउलाई विशेष खानेकुुरा दिइन्छ । अरु दिनको भन्दा फरक खालको खानेकुरा पशुले खान पाउँछन् । सिङमा तेल लगाइदिने, दाम्लो फेरिदिने गरिन्छ । साँझपख पशुहरूको पराक्रम देखाउने एउटा विशेष जात्रा समेत आयोजना हुन्छ । जसलाई हुर्राहुर्री भनिन्छ । 

‘पहिले घाँसको डल्लोले बाँधिएको सुँगुरको पाठोलाई गाईभैँसीद्वारा मारिन्थ्यो । अहिले यो चलन हटेको छ । यसमा मुगलकालको इतिहास समेत जोडिएको छ,’ उनी भन्छन्, ‘मुगल शासकले आक्रमण गरेपछि गाईवस्तु लगिदिने, खाइदिने गर्थे । मुसलवानहरुले सुँगुरलाई घृणा गर्ने भएकाले गाईवस्तुलाई सुँगुरले छुवाइन्थ्यो ।’ 

तेस्रो दिन अर्थात् द्वितीया ।  यस दिन मिथिला क्षेत्रमा सामान्य टिका लगाइदिने गरिन्छ । यस दिन दिदीबहिनी भएका ठाउँमा दाजुभाइ जसरी पुग्ने चलन थियो । 

संस्कृतिविद् प्रेमर्षिका अनुसार, मिथिला क्षेत्रमा लक्ष्मी पूजाको दिन कालीको पनि पूजा गर्ने चलन छ । ‘मिथिला संस्कृतिमा देउसीको परम्परा छैन । पछि पहाडी समुदायको सामीप्यता गर्दा देउसी खेल्न थालिएको हो,’ उनी भन्छन्, ‘आधुनिकताले यहाँको संस्कृतिमा अरु पनि प्रभाव पारेको छ । सुखरातिसँग जोडिएका कतिपय चलन हराउँदै गएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप