बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको दोस्रो जित, गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो

बिहीबार, १५ कात्तिक २०८१, १३ : ४८
बिहीबार, १५ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।

जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो दोस्रो जित हो । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको थियो ।

यसैगरी, जारी प्रतियोगितामा आफ्नो चौथो खेल खेलेको गण्डकी प्रदेशको यो दोस्रो हार हो । आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा गण्डकी प्रदेश बागमती प्रदेशसँग एक सय रनले पराजित भएको थियो । तेस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई एक सय १४ रनले हराएको थियो ।

बिहीबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले ३६.५ ओभरमै अलआउट हुनुअघि एक सय दुई रनमात्र बनाउन सकेको छ । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले २६ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

सुदुरपश्चिमका लागि चौथो नम्बरका ब्याट्सम्यान आषिश लुहारले ३९ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान आषिशले ३५ बलमा चार छक्का र दुई चौका प्रहार गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका युवराज खत्रीले पनि अविजित २७ रनको योगदान गरे ।

युवराजले ५३ बलमा एक छक्का र एक चौका प्रहार गरे । नरेन साउदले पनि टोलीको खातामा अविजित २० रन थपे । उनले २७ बलमा एक छक्का र एक चौका प्रहार गरे । सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । गण्डकी प्रदेशका बलर अपराजित पौडेलले तीन विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिए । किरण भट्टराई र सिबरिन श्रेष्ठले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान सिबरिन श्रेष्ठले २५ रन बटुले ।

गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा २६ रन पायो । गण्डकी प्रदेशका एक ब्याट्सम्यानले मात्र योभन्दा बढी रन बनाउन सकेका थिए ।

गण्डकी प्रदेशलाई सस्तोमा समेटने क्रममा सुदूरपश्चिम प्रदेशका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सचिन भट्ट एक्लैले पाँच विकेट लिए । उनले ८.५ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिए । हेमन्त धामी र युवराज खत्रीले पनि दुई–दुई विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप