दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानको ‘डेब्यू’ शतकपछि घरेलु मैदानमै निरीह बन्यो बंगलादेश

काठमाडौँ । भ्रमणकारी टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा बंगलादेशी टोली निरीह देखिएको छ । चटगाउँमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार घरेलु टोली बंगलादेश आफ्नो पहिलो पालीमा केवल एक सय ५९ रनमा अलआउट भएको छ । बंगलादेशी ब्याट्सम्यान पहिलो पालीमा ४५.२ ओभरमात्र क्रिजमा टिक्न सके ।
दक्षिण अफ्रिकाले पहिलो पालीमा बनाएभन्दा बंगलादेश अझै चार सय १६ रनले पछाडि छ । दोस्रो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले भने ६ विकेटको नोक्सानीमा पाँच सय ७५ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।
पहिलो पालीमा घरेलु टोली बंगलादेशका लागि मोमिनुल हकवाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका मोमिनुल हकले सर्वाधिक ८२ रन बनाए । उनले एक सय १२ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए ।
३३ वर्षीय मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो २०औँ अर्धशतक हो । ओपनर ब्याट्सम्यान महमुदुल हसन जोयले १० रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान तैजुल इस्लामले टोलीको खातामा ३० रन थपे । बंगलादेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बंगलादेशले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै केवल ३७ रन खर्चिए । डेन पिटर्सन र केशव महाराजले पनि दुई–दुई विकेट हात पारे । सेनुरन मुथुसामीले पनि एक विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाका लागि पहिलो पालीमा तीन ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेका थिए । ओपनर टोनी डी जर्जीले एक सय ७७ रन बनाएका थिए । उनले दुई सय ६९ बलको सामना गरी चार छक्का र १२ चौका हिर्काए । २७ वर्षीय जर्जीले बनाएको यो पहिलो टेस्ट शतक हो ।
यसैगरी, तेस्रो नम्बरका ब्याट्सम्यान ट्रिस्टन स्टब्सले पनि एक सय ६ रन बनाएका थिए । उनले एक सय ९८ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएका थिए । २४ वर्षीय स्टब्सले पनि टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक नै हो ।
यसैगरी, सातौँ नम्बरमा क्रिज समाल्न आएका विआन मल्डरले पनि टोलीको खातामा अविजित एक सय पाँच रन थपे । उनले एक सय ५० बलको सामना गरी चार छक्का र आठवटा चौका हिर्काएका थिए । २६ वर्षीय मल्डरले पनि टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक नै हो ।
दक्षिण अफ्रिकाका लागि दुई ब्याट्सम्यान अर्धशतक पनि बनाएका थिए । आठौँ नम्बरका ब्याट्सम्यान सेनुरन मुथुसामीले टोलीका लागि अविजित ६८ रनको योगदान गरे । उनले ७५ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । ३० वर्षीय सेनुरनको टेस्ट क्रिकेटमा यो पहिलो अर्धशतक हो ।
यसैगरी, चौथो नम्बरका ब्याट्सम्यान डेभिड बेडिङ्घमले पनि टोलीका लागि ५९ रनको योगदान गरे । उनले ७८ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । ३० वर्षीय बेडिङ्घमले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।
यसका अतिरिक्त दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान एडेन मारक्रम पनि ३३ रन बनाएका थिए । कप्तानसमेत रहेका मारक्रमले ५५ बलमा दुई चौका प्रहार गरे । बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिए । उनले ५२.२ ओभरमा पाँच मेडन राख्दै एक सय ९८ रन खर्चिए ।
दुई टेस्टको शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश