काठमाडौँ । पहिला तिहार अघि भक्तपुरको पोटरी स्क्वायरमा माटाका पाला (दियो), कलश लगायतका भाँडाकुँडा बनाउन भ्याइ–नभ्याइ हुन्थ्यो । माटाका भाँडाकुँडा किन्न आउनेको भिड पनि थामिनसक्नु हुन्थ्यो ।
यस क्षेत्रमा माटाको भाँडा बनाएको हेर्न आउने विदेशी पर्यटकको घुइँचो नै लाग्थ्यो । तर अहिले यो क्षेत्र सुनसान छ ।
‘न बाहिरबाट अर्डर आउँछ, न त यहाँबाट किनेर लैजान्छन्,’ स्थानीय व्यवसायी मायादेवी दिक्दार हुँदै गुनासो पोख्छिन्, ‘आउँछन्, हेरेर मात्रै फर्किन्छन् ।’
उनको पसलमा केही विदेशी पर्यटकहरू आएर माटाका सामग्री हेर्छन् । तर हेर्न आउनेमध्ये नकिनी फर्कनेको सङ्ख्या धेरै रहने उनले बताइन् ।
आइतबार उनी भाँडाकुँडामा रङ लगाउने काम गर्दै थिइन् । त्यो सकेर उनी दियो बनाउने काममा लागिन् ।
माटाको भाँडाकुँडा पुर्ख्यौली पेसा भए पनि मायादेवीले माटोको दियो बनाउन थालेको डेढ वर्ष मात्र भयो । उनका अनुसार यसअघि श्रीमान् लगायत परिवारका अरू सदस्यले बनाउँथे । मायादेवी माटोका भाँडा डोकामा बोकेर बिक्री गर्न भक्तपुर र काठमाडौँका विभिन्न स्थानमा लैजान्थिन् ।
अहिले पनि धेरैजसो भाँडाकुँडा उनका श्रीमानले बनाउँछन् । मायादेवी सानो र ठुलो आकारको दियो बनाउने र श्रीमानले बनाएका भाँडाकुँडामा रङ लगाएर घाममा सुकाउने काम गर्छिन् ।
भाँडा बनाउन प्रयोग हुने चक्का एउटामात्रै छ । त्यसैले श्रीमान र उनी मिलेर पालैपालो माटाका भाँडा बनाउँछन् । माटाको भाँडो बिक्री गर्ने उनको आफ्नै पसल छ । पसलमा बसेर भाँडाकुँडा बिक्री गर्ने काम पनि मायादेवीकै हो ।
पहिलापहिला तिहारको समयमा धेरैजसो दियो, खुत्रुक्के, कलश लगायतका माटाका भाँडाकुँडा बिक्री गर्न चावाहिलको फूटपाथमा पुग्थिन् मायादेवी । कहिले सबै भाँडाकुँडा बिक्री भएर रामै्र आम्दानी हुन्थ्यो । कहिलेकाहीँ बिक्री नहुने र निराश हुँदै घर फर्किनु पर्ने अवस्था हुन्थ्यो । तर डेढ वर्षदेखि मायादेवीले भक्तपुरकै पसलमा माटोको भाँडा बिक्री गर्न थालेकी छन् ।
‘पहिला धेरै बिक्री हुन्थ्यो । अहिले मैनबत्ती, झिलिमिली बत्ती आएदेखि पहिलाजस्तो माटोको भाँडाको व्यापार छैन । बिक्री हुँदा राम्रो कमाइ हुन्थ्यो,’ मायादेवीले भनिन् ।
बाहिरबाट अर्डर आएमात्रै ठुलो परिमाणमा बिक्री हुने उनले बताइन् । माटोका भाँडा बनाउन कच्चा पदार्थको अभाव हुने गरेको गुनासो पनि उनले पोखिन् ।
‘हाम्रो ठुलो समस्या भनेको माटोको हो । माटो बाहिरबाट ल्याउनु पर्छ,’ मायादेवीले भनिन्, ‘भाँडाकुँडा बनाउन चिप्लो, च्याप–च्याप हुने माटो चाहिन्छ । हाम्रो भाषामा त्यस्तो माटोलाई डेचा भन्छन् ।’
पछिल्लो समय कसैले गोकर्ण, हरिसिद्धि लगायतका स्थानबाट माटो किनेर ल्याएर मेसिनले पेलेर भाँडाकुँडा बनाइरहेको मायादेवीले भनिन् ।
०००
प्रियालक्ष्मी प्रजापतिको परिवारले पनि भक्तपुरमा परम्परागत रूपमै माटाको भाँडा बनाउने व्यवसाय गर्दै आएको छ । उनका श्रीमान् हुँदा श्रीमानले भाँडा बनाउँथे । श्रीमानले बनाएका भाँडाकुँडा सुकाउने, रङ लगाउने र बिक्री गर्ने काम प्रियालक्ष्मीले गर्थिन् । उनका छोराले बालापनमै भाँडा बनाउन जानिसकेका थिए । तीन जनाले काम गर्दा वार्षिक आम्दानी राम्रो थियो ।
२०७२ सालमा भूकम्पले प्रियालक्ष्मीको घर ढल्यो । त्यसपछि उनको परिवार नजिकै डेरा गरेर बस्न थाले । फेरि अर्को वर्ष उच्च रक्तचापले श्रीमान् बिते । त्यसपछि पारिवारिक जिम्मेवारी प्रियालक्ष्मीको काँधमा आइपर्यो । उनले माटोको भाँडा बनाउने व्यवसायलाई निरन्तरता दिइन् । उनले माटोबाट दियो, कलश स–साना भाँडाकुँडा बनाउने काम जानेकी थिइन् । छोराले ठुलाठुला भाडाँ बनाउँथे ।
‘अहिले पनि म स–सानो भाँडामात्रै बनाउँछु । छोराले ठुला भाँडाहरू बनाउँछ,’ प्रियालक्ष्मीले भनिन्, ‘सानो पाला ५ रुपैयाँको २ वटा, ठुलो दर्जनको १० देखि २० रुपैयाँमा बिक्री गर्छु । खुत्रुक्के ५०, धुपौरो ३० देखि ५० रुपैयाँमा बिक्री हुन्छ ।’
तर पछिल्लो समय माटोको समस्या भएकाले मेहनतअनुसार राम्रो कमाइ नभएको उनको गुनासो छ । ‘पहिला आफ्नै खेतबाट माटो निकालेर भाँडाकुँडा बनाइन्थ्यो । तर अहिले खेतमा घर बनेका छन्, कतै मोटरबाटो छ । माटो ल्याउने ठाउँ छैन,’ उनले भनिन्, ‘माटो महँगो पर्छ । कमाइ जति खान, लाउन र डेराको भाडा तिर्दै सकिन्छ ।’
माटाको भाँडाकुँडा बनाउने पेशामा ३ दशक बिताइसकेका साजनले १० वर्ष अघिको तिहारमा एक लाखको संख्यामा दियो बनाएको अनुभव सुनाए ।
‘१० वर्षअघि तिहारमा एक लाखको हाराहारीमा पालामात्रै बनाउँथ्यौँ । त्यतिबेला खाने, सुत्ने फुर्सदै हुँदैनथ्यो,’ साजनले भने, ‘ठुलो परिमाणमा अर्डर आउँथ्यो । दिनरात गरेर भाँडा बनाइन्थ्यो । अहिले फुर्सदै फुर्सद छ ।’
अहिले तिहारका लागि दियोको अर्डर नै नआएको साजनले बताए । ‘तिहारमा दियोको त अर्डर नै आएन मकहाँ । सबै व्यापारीले बाहिरबाट ल्याएर बिक्री गर्न थालेका छन्,’ उनले भने, ‘भारतबाट हाम्रोभन्दा सस्तोमा किनेर यहाँ महँगोमा बिक्री गर्न पाएका छन् । त्यता फाइदा देखेकाले हाम्रो किन्न छाडे ।’
पुर्ख्यौली पेसा भएकाले साजनले बाल्यकालदेखि नै माटोको भाँडाकुँडा बनाउन थाले । साजन अहिले माटाको भाँडाकुँडा बनाउने व्यवसायमा रमाइरहेका छन् । यही व्यवसायबाट घरपरिवारको लागि खर्च जुटाउँदै आएका उनले माटोबाट दियो, कलश, खुत्रुक्के लगायतका भाँडाकुँडा बनाएर बिक्री गर्छन् ।
साजनका अनुसार पहिला सबैले आफ्नै खेतबाट माटो खनेर भाँडाकुँडा बनाउने गरेका थिए । पछिल्लो समय जग्गा प्लटिङ गरिएपछि भक्तपुरभन्दा बाहिरबाट माटो ल्याउनुपर्ने अवस्था आएको उनले बताए । अहिले भाँडाकुडा बनाउन प्रयोग गरिने माटो काठमाडौँको साँखु, ललितपुरको हरिसिद्धि, काभ्रे, धादिङ लगायतका स्थानबाट ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘पहिला हामी आफ्नै खेतबाट माटो खनेर ल्याउँथ्यौँ । तर अहिले त्यहाँ घर बनेका छन् । पछि जगातीमा चाइनिज इँटा बनाउने भट्टाको माटो निकाल्ने खानीबाट ल्याउँथ्यौँ,’ साजनले भने, ‘त्यहाँको टेण्डर सकियो र माटो खानी भएको ठाउँमा प्लटिङ गरेर घर बनाइयो । त्यसयता माटो समस्या भएको छ ।’
अहिले माटोको समस्याले परम्परादेखि चल्दै आएको माटोको भाँडा बनाउने व्यवसाय छोड्दै गएको साजन बताउँछन् । यसलाई जगेर्ना गर्न संघीय तथा स्थानीय सरकारको ध्यान नगएको उनले बताए ।
माटाको भाँडाकुँडा बनाउने भक्तपुरको प्रजापति समुदायको परम्परागत पेसा हो । पछिल्लो समय प्लाष्टिक र अन्य धातुका भाँडाकुँडा आउन थालेपछि माटाका भाँडाको प्रयोग घट्दै गएको छ । साथै यस क्षेत्रमा सबैभन्दा ठुलो समस्या भनेकै माटो नपाइने हो । टाढा–टाढाबाट माटो ल्याउनु पर्ने बाध्यताले यो व्यवसाय नै सङ्कटमा पर्न थालेको व्यवसायीहरूको गुनासो छ ।
यससँगै धुवाँ र धुलोको समस्या छ । माटोका भाँडा बनाइसकेपछि भट्टीमा पोल्नुपर्छ । यस क्रममा धुवाँ र खरानी निस्किन्छ र स्वास्थ्यलाई प्रतिकूल असर गर्छ । स्थानीय सरकारले परम्परागत व्यवसायलाई जोगाउन कुनै पहल नगरेको स्थानीय बताउँछन् ।
अहिले माटोलाई कसरी सहज रूपमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन् । उनले भने, ‘आफ्नै जग्गा भएर पनि आफूलाई चाहिने माटो ल्याउन गाह्रो भएको छ । त्यहाँ घरहरू बनाइएको छ । पछि घरको जग हाल्न समस्या हुन्छ भनेर जनताले माटो झिक्न दिँदैनन् । यो यहाँको ठुलो समस्या भएको हामीले अनुभव गरेका छौँ ।’
एकातिर प्रविधिले धकेल्दै लगेको र अर्कोतिर आफ्नो जग्गाजमिन सकिँदै जानुका साथै प्रजापति समुदायले अन्य व्यवसाय गर्दा पनि यो व्यवसाय खस्किँदै गएको नगर प्रमुख प्रजापतिले बताए । ‘परम्परादेखि यही पेसामा रहेकाहरूमा पनि दाजुभाइ धेरै भए । छुट्टाछुट्टै पेसा–व्यवसायमा पनि लाग्न थाले,’ उनले भने, ‘छ्ट्टाछुट्टै घर बनाउन थाले । परम्परागत व्यवसाय थोरै ठाउँमा सम्भव छैन । उत्पादन गर्यो, काँचो भाँडा कहाँ सुकाउने ? पाकेको कहाँ राख्ने ? धेरै ठाउँ लिने भएकाले बनाउने ठाउँको पनि समस्या नै छ ।’
अहिले माटोको भाँडा बनाउने व्यवसायीले माटोको सहजीकरण गरिदिन भने पनि माटो उपत्यकामै पाउन कठिन भइसकेको नगर प्रमुख प्रजापतिले बताए । यसका साथै धादिङ, काभ्रे लगायतका जिल्लाबाट ल्याएर प्रयोग गर्दै आएको उनी बताउँछन् ।
मौलिक परम्परालाई आधुनिकीकरण गर्दैै लैजानुपर्नेमा उनले जोडसमेत दिए । ‘पछिल्लो समय गमला, खुत्रुक्के बनाउनेहरूका लागि राम्रै भइरहेको छ । परम्परागत हिसाबमा भन्दा पनि परम्परागत सिपलाई बचाइराख्न लागिपरेका छौँ,’ उनले भने ।
माटाका भाँडा पोल्दा धुवाँ, धुलो निस्किने भएकाले विकल्पको रूपमा माटाका तयारी भाँडा पोल्ने आधुनिक चुल्हो आवश्यक रहेको भन्दै प्रक्रियाहरू अगाडि बढाइएको नगर प्रमुख प्रजापतिको भनाइ छ ।
(भिडियो/तस्बिर : रोशन पोखरेल)
प्रतिक्रिया