कोभिडमा सुधारिएको केनाइन व्यवसाय सङ्कटमा
काठमाडौँ । ललितपुरको सानेपाका प्रविन चन्द्र बज्राचार्यले केनाइन व्यवसाय गरेको २७ वर्ष भयो । कुकुर पाल्ने सोखलाई व्यवसायमा परिणत गर्दै ‘केनाइन डग ट्रेनिङ एण्ड केयर’ नामक फर्मका सञ्चालक समेत रहेका उनलाई सुरुमा लाग्थ्यो लाग्थ्यो– ‘यो व्यवसायको भविष्य छ, कालान्तरमा राम्रो हुन्छ ।’
यो क्षेत्रमा भविष्य खोज्न उनले नेपाल प्रहरी र नेपाली सेनाको केनाइन तालिम केन्द्रमा गएर तालिम मात्रै लिएनन्, यसका लागि भारत, थाइल्याण्डदेखि युएईसम्म गएर समेत तालिम लिए । कुकुरको प्रजाति, स्वभाव र आनिबानी, पोषणदेखि परिवारसँग घुलमिल गराउने तालिमसम्मका विविध पक्षबारे सिकेका उनी केनाइन क्षेत्रका विशेषज्ञ एवं केनल क्लब अफ नेपाल (केसीएन) का अध्यक्ष समेत हुन् । केसीएन कुकुरको माइक्रोचिपिङ र आईडिन्टिफिकेसन प्रमाणित गर्ने देशकै एकमात्र संस्था हो । यो विशेषज्ञता वा सक्रियताको बाबजुद एक चौथाइ शतकको यात्रालाई फर्केर हेर्दा बज्राचार्य कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छन्, ‘यो क्षेत्रमा लागेर मैले कतै गल्ती पो गरिनँ ?’
नेपालमा केनाइन व्यवसाय अर्थात् कुकुरको ब्रिडिङ, स्याहार र तालिम गर्ने व्यावसायिक फर्महरू कसरी चलेका छन् भन्ने एउटा उदाहरण हुन् बज्राचार्य । उनीसँग कुकुरप्रति एउटा ठुलो लगाव र सोख छ । यसैको आधारमा मात्रै उनी व्यवसायमा टिकिरहेका छन् । उनी भन्छन्, ‘यो क्षेत्र स्वस्थ प्रतिस्पर्धा भएन, सबैले तत्कालको फाइदा हेर्ने अवस्था छ । अलिकति फाइदा हुन्छ तथ्यलाई बङ्ग्याए राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो हरेक कुरामा गरिन्छ । त्यसैले ग्राहकहरू समेत कन्फ्युज्ड छन्, यो क्षेत्रप्रति विश्वास पनि छैन ।’
खासगरी यो कुकुर पाल्न चाहने व्यक्तिलाई क्षणिक लाभका लागि गलत सूचना दिने काम गरिएको उनको भनाइ छ । उनी भन्छन्, ‘कोही मान्छे कुकुर पाल्न चाहन्छ र ‘पेट सप’मा जान्छ भने ग्राहकलाई कुन प्रयोजनको लागि कुकुर चाहिएको हो, त्यसलाई पाल्न सक्ने गरी स्पेस र कमिटमेन्ट ग्राहकसँग छ कि छैन भन्ने नबुझीकनै आफूसँग जुन कुकुर छ त्यसैको बढाइचढाई गरिदिने प्रवृत्ति छ । यो अवस्था डग फुडदेखि सबै कुरामा छ । यसले यो क्षेत्रप्रतिको विश्वास नै कमजोर बनाएको छ ।’
- नेपालमा केनाइन व्यवसाय
नेपाल केनाइन संघको अनुमानमा नेपालमा दुई घरमध्ये औसतमा एउटा घरमा कुकुर हुने गरेको छ । नेपालमा करिब ६० लाख घरधुरी रहेको राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा करिब ३० लाख कुकुर छन् । उक्त कुकुरमध्ये धेरै सामुदायिक कुकुरहरू छन् । त्यसभन्दा धेरै कम घरपालुवा कुकुर छन् । केही कुकुर भने व्यावसायिक प्रयोजनका लागि समेत पालिएको पाइन्छ ।
तर, घरपालुवा कुकुरको सङ्ख्या कति छ भन्नेबारे यकिन तथ्याङ्क भने छैन । सन् २०१६ मा गरिएको एउटा अध्ययनमा २७.९ प्रतिशत घरमा कुकुर पालिएको पाइएको थियो । यो आधारमा हेर्दा त्यति बेला काठमाडौँमा मात्रै ८२ हजार २९९ वटा कुकुर रहेको अनुमान गरिएको थियो । कोरोना महामारीसँगै भएको लकडाउनपछि कुकुर पाल्नेको सङ्ख्या ह्वात्तै बढेको बताइन्छ ।
तर, देशभर कुकुरको सङ्ख्या धेरै भए पनि यससँग सम्बन्धित व्यावसायिक सङ्ख्या भने निकै कम छ । नेपाल कनाइन संघका अध्यक्ष मुकुन्द बानियाँ अनुसार काठमाडौँ उपत्यकामा अहिले झण्डै दुई सय केनाइन फर्म छन् । उपत्यका बाहिरका सहरहरूमा करिब ५० वटा यस्ता फर्म छन् । उनी भन्छन्, ‘काठमाडौँमा डेढ/दुई सय छन्, त्यसपछि सबैभन्दा धेरै भएको पोखरामा हो, त्यहाँ १०/१५ वटा छन् । चितवनमा ८/१० वटा होला, हेटौँडा ३/४ वटा छन् । धरान र विराटनगर पनि केही फर्महरू छन् ।’
यसरी सञ्चालित फर्महरूमध्ये कतिपयले ब्रिडिङको काम गर्छन् । कतिले तालिम त कतिले डग होस्टेलको काम समेत गर्ने गरेका छन् । खोप, औषधोपचार सेवा तथा डग फुडको आपूर्ति तथा बिक्री वितरण गर्ने काम पनि यस्ता फर्महरूबाट हुने गरेका छन् । यद्यपि पछिल्लो समय धेरैजसोको अवस्था राम्रो नभएको उनको भनाइ छ ।
यसरी व्यवसाय खस्किनुमा मुख्यतया दुईवटा कारण रहेको उनको भनाइ छ । पहिलो कोरोना महामारीताका एकैपटक धेरै कुकुरको माग भयो । ती कुकुरको स्टक अहिले पनि बाँकी नै छन्, लकडाउनपछि मान्छे बेफुर्सदिलो भएपछि पालिएका कुकुर व्यवस्थापन गर्न थाले, कतिपयले त निःशुल्क समेत दिन दिन थाले । त्यसैले डिमाण्ड कम भयो । उनी भन्छन्, ‘त्यतिबेलाको डिमाण्ड हेर्दा यो व्यवसाय गरेरै चल्ने अवस्था भयो भन्ने लागेको थियो, अहिले व्यापार निकै कम छ ।’ त्यस्तै, केनाइन फर्म बाहेक घरघरमै जन्मिएका बच्चाको अनौपचारिक रूपमा हुने सप्लाइका कारण पनि व्यवसाय फस्टाउन नसकेको उनको भनाइ छ ।
- आयात निर्यातको अवस्था र मूल्य
नेपालमा व्यावसायिक रूपमा खरिदबिक्री हुने कुकुरहरू अधिकांश नेपालमै उत्पादन हुने गरेका छन् । अपराध अनुसन्धान लगायत विशेष प्रयोजनको लागि धेरै सुँघ्ने शक्ति भएका कुकुरहरू मात्रै विदेशबाट आयात गर्ने व्यवस्था छ ।
नेपालमै ब्रिडिङ हुने कुकुरको मूल्य सामान्यतया ब्रिड अनुसार ५/७ हजार रुपैयाँदेखि २५/३० हजार रुपैयाँ बराबर हुने गरेका छन् । विशेष प्रकृतिका शुद्ध ब्रिडका कुकुरको मूल्य भने त्योभन्दा महँगो पर्न सक्ने व्यवसायीहरु बताउँछन् । तर, यसको माग र आपूर्तिको कुनै निश्चित नभएकोले मूल्य यति नै पर्छ भन्ने अवस्था नभएको भने उनीहरुको भनाइ छ ।
विदेशबाट ल्याउने कुकुरहरू भने त्यसको ब्रिड, तालिम, ल्याउने लागत लगायतको आधारमा निर्धारण हुने र त्यो सामान्यतया लाखौँ पर्न सक्ने केसीएनका अध्यक्ष बज्राचार्य बताउँछन् । तर, एउटा कुकुरको मूल्य महँगो भयो भनेर त्यही ब्रिडको कुकुरलाई त्यही मूल्य पर्छ भन्ने नमिल्ने उनको भनाइ छ ।
त्यस्तै, कुकुरको खानामध्ये केही नेपालमै उत्पादन हुने र केही आयात हुने गरेका छन् । खासगरी कुकुरले चपाउने छुर्पीको उत्पादन नेपालबाट निर्यात समेत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट झण्डै ३ अर्ब १८ करोड रुपैयाँ बराबरको कुकुर र बिरालोका खानेकुरा निर्यात भएको देखिन्छ ।
- प्रयोजन र आकारको आधारमा कुकुरको वर्गीकरण
प्रयोजनका आधारमा
साथी कुकुर (फ्रेन्ड डग) : धेरै नरिसाउने, छिटै घुलमिल हुने, भनेको छिटो मान्ने, सिकाएको कुरा छिटो सिक्ने स्वभावको कुकुरलाई साथी कुकुर भनिन्छ । विश्वमा प्रचलित विभिन्न प्रजातिका कुकुरहरूमध्ये पग, पोमेरियन, साइबेरियन हस्की, जापनिज स्पिट्ज, डाल्मेटियन, कोक्कर स्पानियल, ल्हासा एप्सो, लाभ्राडोर रिट्रिभर, गोल्डन रिट्रिभर, बीगल, काभालियर किङ चाल्र्स स्प्यानियल, पोडल लगायत प्रजातिका कुकुरहरू यस अन्तर्गत पर्छन् ।
सुरक्षा (गार्ड डग) : धेरै भुक्ने, परिचित व्यक्ति र परिवारको सदस्यसँग घुलमिल हुने तर अपरिचितसँग सतर्क हुने, शारीरिक रूपमा बलियो र सम्भावित दुर्घटनाप्रति सतर्क हुने र साहसी खालको कुकुर यस अन्तर्गत पर्छ । हिमालयन म्यास्टिफ (भोटे कुकुर), सेन्ट बर्नाड, डोबरक्यान पिन्सचर, बक्सर, अमेरिकन पिटबुल, बीगल, लाभ्राडोर रिट्रिभर, जर्मन सर्टहेयर्ड पोइन्टर, इङ्लिस स्प्रिन्जर स्प्यानियल, बासेट होउन्ड लगायत प्रजातिका कुकुरलाई यस अन्तर्गत राखिन्छ ।
सिकारी कुकुर (हन्टर डग) : यस्ता बलियो, धेरै घ्राँण क्षमता भएको, छरितो, चलाख हुन्छन् । लाभ्राडोर रिट्रिभर, बीगल, जर्मन सर्टहेयर्ड पोइन्टर, इङ्लिस स्प्रिन्जर स्प्यानियल, ब्लड हाउन्ड लगायत प्रजातिका कुकुरहरू यस अन्तर्गत पर्छन् ।
अपराध अनुसन्धान : अपराध अनुसन्धानका लागि विशेष गरी सुँघ्ने शक्ति बढी भएका कुकुरहरूको प्रयोग गरिन्छ । जर्मन सेफर्ड, बेल्जियम मालिनोइस, ब्लड हाउन्ड, लाभ्राडोर रिट्रिभर, रोटवेलियर लगायत प्रजातिका कुकुर यस अन्तर्गत बढी उपयोगी मानिन्छन् ।
आकारका आधारमा
सानो आकारका कुकुर : २० पाउण्डसम्म तौलका कुकुर यस अन्तर्गत पर्छ । यस अन्तर्गत पोमेरियन, जापनिज स्पिट्ज, ल्हासा एप्सो, पग लगायत प्रजातिका कुकुर पर्छन् ।
मध्यम आकारका कुकुर : २० देखि ५० पाउण्डसम्मको कुकुर यसअन्तर्गत पर्दछ । यसका प्रजातीहरूमा साइबेरियन हस्की, अमेरिकन पिटबुल, हिमालयन म्यास्टिक (भोटेकुकुर), डाल्मेटियन, कोक्कर स्पानियल, बीगल, बुलडग, कुकर स्पानियल, बोर्डर कोली, अष्ट्रेलियन सेफर्ड लगायत छन् ।
ठूला आकारका कुकुर : वयस्क अवस्थामा ५० पाउण्डभन्दा धेरै तौल हुने कुकुर यसअन्तर्गत पर्दछन् । यसमा सेन्ट बर्नाड, बक्सर, लाभ्राडोर रिट्रिभर, जर्मन सेफर्ड, गोल्डन रिट्रिभर, बीगल, रोटवेलियर, साइबेरियन हस्की लगायत प्रजाति समावेश हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहको डरले नेतान्याहुले स्थगित गरे छोराको बिहे
-
सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुन्छः पोखरेल
-
नेता शाहीको नेतृत्वमा ‘मेची–महाकाली युवा संकल्प अभियान’ हुँदै
-
कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचे प्रचण्ड
-
तिहार चाड एक, मनाउने तरिका अनेक
-
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा