कुकुरले नपाएको ‘सामाजिक न्याय’
काठमाडौँ । ‘मलाई कुकुर भन, मलाई कुत्ता भन, तर बिन्ती भुस्याहा नभनिइदेऊ है ?’ गायक तथा सङ्गीतकार प्रविन बज्राचार्यले सात वर्षअघि सार्वजनिक गरेको गीतको एउटा अंश हो यो ।
उनै बज्राचार्य केनाइन विशेषज्ञसमेत हुन्, जसले यो व्यवसायलाई विगत २८ वर्षदेखि निरन्तरता दिँदै आएका छन् । कुकुरको ब्रिडिङ, ट्रेनिङ, होस्टेल तथा केयरिङसम्बन्धी काम गर्दै आएका उनले कुकुरको मनोविज्ञान समेत राम्रोसँग अध्ययन गरेका छन् ।
सडकमा बस्ने तथा कुनै पनि घरको स्वामित्व नभई ‘भुस्याहा’ भनेर हेपिएका कुकुरहरूको मनोभावलाई आफूले समेट्ने प्रयास गरेको उनी बताउँछन् । बज्राचार्य भन्छन्, ‘कुकुरले मान्छेसँग यस्तै याचना गरिरहेको हुन्छ, तर मान्छेले उसको भाषा बुझ्दैन । कुकुरको भाषा बुझ्न उसको मनोविज्ञान बुझ्नुपर्छ ।’
हामीकहाँ कुनै पनि सम्प्रदाय, शारीरिक अवस्था, पेसा लगायतलाई ‘हेपाहा विशेषण’को रूपमा प्रयोग गरिँदै आए । यस्ता शब्दको प्रयोग यसरी भयो कि यसले नामको भन्दा बढी विशेषण अर्थ बुझाउन थाल्यो । सभ्य समाजले पचाउन छोडेपछि यो शब्द नै प्रतिस्थापन गर्नुपर्ने अवस्था आएको देखिन्छ ।
कुकुरको सन्दर्भमा ‘भुस्याहा’ शब्द त्यसरी नै प्रयोग हुँदै आएको थियो । बज्राचार्य लगायतको यस्तै पहलपछि कुकुरको लागि चलनचल्तीमा रहेको यो शब्द पनि परिवर्तन भएको छ । अहिले सडकमा बस्ने कुकुरलाई ‘सामुदायिक कुकुर’ भन्न थालिएको छ ।
- कुकुरले नपाएको ‘सामाजिक न्याय’
मानव इतिहासलाई हेर्ने हो भने कुकुरको ‘डोमेस्टिकेसन’ अरू कुनै पनि प्राणीभन्दा अगाडिको हो । यकिन नभए पनि कुकुर विगत एक लाख वर्षदेखि मानिससँग बस्दै आएको विश्वास गरिन्छ । हाम्रा धर्मशास्त्रहरूले पनि यसलाई प्रमाणित गरेका छन् । द्वापर युगमा पाण्डवहरू ज्यूँदै स्वर्ग प्रस्थान गर्दा कुकुर समेत सँगै रहेको कथन महाभारतमा पाइन्छ ।
यमराजको दूतको रूपमा कुकुर त्यति बेला स्वर्गको ढोकासम्म पुगेको थियो । जीवनको कुनै कालखण्डमा आफ्नो कर्तव्यबाट विमुख भएकै कारण युधिष्ठिर बाहेक पाण्डवका चार भाइ र पत्नी द्रौपदीले बाटोमै मृत्युवरण गर्नुपरेको कहानीबिच कुकुर स्वर्गको ढोकासम्म ज्यूँदै पुग्नुले पनि बुझाउँछ — कुकुर आफ्नो कर्तव्यबाट कहिल्यै विमुख भएन, हुँदैन ।
तर, युगौँदेखि मान्छेको साथमा रहेर निस्वार्थ सेवा गरे पनि मान्छेले भने कुकुरप्रति न्याय गर्न नसकेको नेपाल केनाइन संघका अध्यक्ष मुकुन्द बानियाँ बताउँछन् । उनी भन्छन्, ‘तपाईँ घरमा हजारौँ पैसा तिरेर सेक्युरिटी गार्ड राख्नुस्, त्यसको विश्वास नहुन सक्छ । तर, एउटा कुकुर राख्नुस्, ढुक्क बन्न सक्नुहुन्छ । किनभने कुकुरले तपाईँलाई कहिल्यै धोका दिँदैन । र, तपाईँको माया पाउने बाहेक उसको अरू स्वार्थ पनि छैन । तर, हामीले उसलाई त्यति न्याय पनि गर्न सकिरहेका छैनौँ ।’
खास गरी नेपालमा तीन प्रकारका कुकुर हुन्छन्, एउटा घरपालुवा कुकुर, एउटा सामुदायिक कुकुर र अर्को अनुसन्धान प्रयोजनको लागि पालिने कुकुर । तर, तीनै प्रकारका कुकुरहरूले अहिले न्याय पाउन सकिरहेका छैनन् ।
अहिले कुकुर पाल्ने वा नपाल्ने जोकोहीले पनि कुकुरप्रति न्याय गर्न नसकेको बज्राचार्य बताउँछन् । केनल क्लब अफ नेपालका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘जसले कुकुर पाल्छ, उसले पनि कुकुरप्रति न्याय गर्न सकेको छैन । जसले कुकुरको व्यवसाय गर्छ त्यहाँ पनि समस्या छ । जसले कुकुर पाल्दैन, उसलाई त थाहा नै छैन ।’ सरकारले समेत कुकुरलाई घरपालुवा जीवको रूपमा अहिलेसम्म मान्यता दिएको छैन । यही कारण यसको औषधोपचार तथा मृत्युमा बीमा लगायतका सुविधा पाइँदैन ।
सामुदायिक कुकुरमाथि अहिले सबैभन्दा ठुलो अन्याय भइरहेको छ । त्यस्ता कुकुरको खाने र बस्ने कुनै ठेगान हुँदैन, यसमा कसैले सहयोग समेत गर्दैन । बरु बिनाकारण उनीहरूलाई जिस्क्याउने, धपाउने, हिर्काउने काम भइरहेका छन् । गलत मान्छेको प्रवृत्तिकै कारण यस्ता कुकुरहरू एग्रेसिभ हुने गरेको पाइन्छ । यही कारणले कसैलाई टोक्यो भने झुन्ड्याएर, हिर्काएर, विष खुवाएर मार्ने चलन छ ।
कुकुरसम्बन्धी विशेषज्ञ रहेका बज्राचार्य भन्छन्, ‘सडकमा बस्ने कुकुर आफैँ एग्रेसिभ हुँदैन । उसलाई कसैले हिर्काएको हुन्छ, तर्साएको हुन्छ । त्यही डरको कारणले उसले भुक्छ, आक्रमण गर्छ । त्यसलाई उचित व्यवस्थापन गर्नुको सट्टा यातनापूर्ण तरिकाले मार्ने काम भइरहेको पाइन्छ, त्यो ज्यादै अन्यायपूर्ण हो ।’
त्यस्तै, अपराध अनुसन्धानका लागि पालिने कुकुरहरूको घ्राणशक्ति कम भएर ‘रिटायर्ड’ भएपछि उनीहरूको रासन कट्टा गर्ने गरिन्छ । त्यसपछि पाल्न चाहने कसैलाई जिम्मा लगाएर पठाउने व्यवस्था छ । बानियाँ यसलाई पनि अन्याय मान्छन्, ‘एउटा कुकुरले जीवनभर अनुसन्धानका लागि काम गर्छ भने रिटायर्ड भएपछि पनि त्यहीँ राख्ने व्यवस्था हुनुपर्छ । रासन कट्टा गर्नु, कसैलाई दिनु भनेको ऊमाथिको अन्याय हो ।’
त्यसो त, कुकुर पाल्ने मान्छेले बेलैमा विचार नगर्दा हजारौँ घरपालुवा कुकुरले समेत दुःख पाइरहेको विज्ञहरू बताउँछन् । कुकुर पाल्नेबारे आफ्नो आवश्यकतालाई नहेरेर अरूको देखावटीपनका आधारमा पाल्ने गरिएकोले यस्तो समस्या निम्तिएको उनीहरूको भनाइ छ ।
उनका अनुसार कुकुर पाल्ने निर्णय गर्नुअघि चारवटा कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो, कुकुर कुन प्रयोजनको लागि चाहिएको हो ? दोस्रो, त्यो कुकुर पाल्न आवश्यक ठाउँ छ कि छैन । तेस्रो, उसलाई उसको जीवनकालभरि पाल्न सक्ने क्षमता र प्रतिबद्धता छ कि छैन ? चौथो, परिवारका सबै सदस्यहरू यसका लागि तयार छन् कि छैनन् ? यिनै कुराहरूलाई विचार गरेर कुकुरको छनौट समेत गर्नुपर्छ ।
खास गरी साथीको लागि कुकुर चाहिने हो भने छिटै घुलमिल हुने, भनेको कुरा चाँडै मान्ने, धेरै नरिसाउने, एग्रेसिभ नहुने खालको कुकुर राख्नुपर्छ । यसका ल्याब्राडोर, कोकर स्प्यानियल जस्ता ब्रिडका कुकुर उपयोगी हुन्छन् । यदि सुरक्षा प्रयोजनको लागि कुकुर चाहिने हो भने अलि ठुला र एग्रेसिभ हुने खालको कुकुर चाहिन्छ । यसमा रोटवेलियर, जर्मन सेफर्ड लगायत जातहरू पर्छन् ।
बज्राचार्यका अनुसार यी कुराहरू बिचार नगरे पछिका दिनमा पछुताइन्छ । ‘ल्याब्रोडर कुकुर ल्याएर सुरक्षा गर्छ भनेर अपेक्षा गर्नु हुँदैन, किनभने यो यसको लागि बनेकै होइन । हो, मान्छे आएपछि भुकेर सङ्केत दिन्छ । सुरक्षा चाहिँ गर्न सक्दैन । कुकुर पाल्ने मान्छेले यो कुराचाहिँ बुझ्नै पर्छ ।’
दोस्रो, कुकुर अनुसार उसलाई राख्ने ठाउँ पनि हुनुपर्छ । कुकुरको साइज, इनर्जी, कुकुरलाई गराउनुपर्ने ट्रेनिङ तथा क्रियाकलाप लगायतले यसको निर्धारण गर्छ । यसलाई विचार नगरी देखासिकीमा दुःख पाइने उनी बताउँछन् । भन्छन्, ‘यसले यो ल्याएछ, मचाहिँ किन नल्याउने भन्ने हिसाबले ल्यायो भने तपाईँले त दुःख पाउनुहुन्छ नै त्योभन्दा धेरै दुःख कुकुरले पाउँछ ।’
अहिले कतिपय घरमा भने परिवारका सदस्यको रुचि फरक फरक हुँदा समेत कुकुरमाथि अन्याय भइरहेको छ । बज्राचार्य भन्छन्, ‘कुनै घरमा बाउलाई कुकुर मन पर्दैन, छोराले ल्याउँछ । कतै श्रीमानलाई मन पर्दैन श्रीमतीले ल्याउने..., यसरी केही दिन त चल्न सक्ला । तर, कुकुर ल्याउने मान्छे कुनै दिन बाहिर जानुपर्यो भने कसले पाल्ने ? कसले हेरचाह गर्छ ?’
कुकुर पाल्ने सोख हुने भए पनि यसकै आधारमा किनिहाल्ने निर्णय लिनु हुँदैन । नेपाल केनाइन संघका अध्यक्ष बानियाँका अनुसार यसका लागि जीवनकालभरिको प्रतिबद्धता चाहिन्छ । ‘एउटा कुकुरको आयु कम्तीमा पनि १०/१२ वर्ष हुन्छ । कतिपय त १८ देखि २४ वर्षसम्म पनि बाँचेका छन् । अहिले ल्याएको कुकुरलाई त्यति बेलासम्म पालिरहन सक्छु भन्ने भएपछि मात्रै त्यसलाई ल्याउनुपर्छ,’ बानियाँ भन्छन्, ‘तपाईँले घरमा एउटा परिवारको सदस्य थपिँदैछ भन्ने आधारमा योजना बनाउनुभयो भने मात्रै तपाईँलाई यसले खुसी दिन्छ ।’
जीवनभर बफादार भएर सेवा गरेका कुकुरलाई बुढो भएपछि बाटोमा लगेर छाड्ने वा केयरिङ सेन्टरमा पठाउनु अझै अन्यायपूर्ण भएको उनी बताउँछन् । ‘जसले तपाईँको जीवनभर सेवा गर्यो, बुढेसकाल लागेपछि घरबाट निकाल्नु भनेको बुढेसकालमा बाबुआमालाई वृद्धाश्रममा पठाएको जस्तै हो,’ बानियाँ भन्छन्, ‘बरु पाल्दै नपाल्नुस्, तर पाल्नुहुन्छ भने बुढेसकालमा निकाल्ने काम नगर्नुस् । कुकुरको पनि आत्मा हुन्छ, यसले सराप्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’