शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय
कुकुर तिहार

मेरी प्यारी ‘डुकु’ !

‘ऊ कुकुर होइन, घरकै सदस्य हो’
बिहीबार, १५ कात्तिक २०८१, ०७ : ३०
बिहीबार, १५ कात्तिक २०८१

काठमाडौँ । कुकुर वफादार जनावर मानिन्छ । त्यसैले कतिपय मानिस कुकुर पाल्न रुचाउँछन् । कुकुर पाल्न रुचाउनेमध्येकै एक हुन्– अभिनेत्री वर्षा शिवाकोटी ।

प्यारो लागेरै आफूले कुकुर पालेको वर्षाले सुनाइन् । तर कुकुर भए पनि त्यसलाई परिवारकै सदस्यजस्तो माया गर्ने उनको भनाइ छ ।

वर्षाको घरमा ‘ककर स्पानियल’ प्रजातिको एउटा फिमेल कुकुर छ । करिब ५ वर्षअघि कोरोना समयमा उनले यो कुकुर १४ हजारमा किनेर ल्याएकी हुन् । त्यसको नाम ‘डुकु’ राखिएको उनले बताइन् ।

WhatsApp Image 2024-10-29 at 11.29.56 (2)

मायाले कहिलेकाहीँ आफूले ‘पुन्टे’ भनेर समेत बोलाउने गरेको वर्षा बताउँछिन् । ‘उसले पनि पुन्टे भनेर मलाई नै बोलाएको हो भनेर बुझ्छ,’ उनले भनिन् ।

यसअघि पनि उनको घरमा यही प्रजातिको एउटा मेल कुकुर थियो । त्यो समय उनी हजुरबुबा, अजुरआमासहितको संयुक्त परिवारमा बस्थिन् । त्यो कुकुर रिसाहा, टोक्ने भएकाले ‘केयर सेन्टर’ लगेर बुझाएको उनले सुनाइन् ।

त्यतिबेला हजुरबुबा र हजुरआमाले कुकुर खासै मन नपराउने वर्षाको भनाइ छ । ‘उहाँहरू कहिलेकाहीँ कुकुरलाई पिट्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मेरो ममी, दाइ र म भने कुकुर मन पराउने । अनि बेलाबेला हजुरबुबा, हजुरआमासँग विवाद पनि हुन्थ्यो ।’

डुकुलाई भने कोरोनाको समयमा ल्याएको वर्षाले बताइन् । उनले भनिन्, ‘सानैदेखि हामीले नै उसलाई ट्रेनिङ दिएका हौँ । दिसा, पिसाब ट्वाइटेलमा गर्छ । प्रायः आमासँगै ओछ्यानमा सुत्छ ।’

WhatsApp Image 2024-10-29 at 11.29.50

वर्षालाई कुकुर सानैदेखि मनपर्थ्यो । त्यतिबेला बाटोमा देखेका कुकुरलाई उनले खाना दिने गर्थिन् । घरमै एउटा कुकुर पाल्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो । तर विभिन्न कारणले सम्भव नभएको वर्षाले सुनाइन् ।

एक पटक दाइले अचानक एउटा कुकुर ल्याएपछि वर्षाको त्यो इच्छा पनि पूरा भयो । घरको सुरक्षा, एक्लोपनको साथी लगायत विभिन्न कारणले मानिस अचेल कुकुर पाल्न थालेका छन् । तर वर्षा भने परिवारकै सदस्यका रूपमा आफूहरूले कुकुर पाल्न थालेको बताउँछिन् ।

‘हामीले परिवारकै सदस्यका रूपमा कुकुर पालेका हौँ । म, ममी परिवारका अन्य सदस्य बाहिर हिँडिरहनुपर्ने बेला घर कुर्ने सदस्य ऊ नै हो’, वर्षाले भनिन्, ‘सुरक्षाभन्दा पनि हाम्रो साथी, घरको सदस्य हो । ऊ एकदमै आत्मीय छ ।’

कुकुरका कारणले पनि आफ्नो परिवारका सदस्यहरूमा राम्रो रिलेसनसिप भएको उनको बुझाइ छ । वर्षाका अनुसार घरमा नयाँ मानिस आउँदा डुकुले बाटो छेक्ने, भुक्ने गर्छ । ‘डुकु भएपछि बाहिर निस्किँदा, राति सुत्दा घरको चिन्ता छैन । ढुक्क छ ।’

WhatsApp Image 2024-10-29 at 11.29.56 (1)

एक पटक वर्षाकी आमाले पानी तताएर ग्यास बन्द गर्न बिर्सिएकी रहिछन् । ग्यास खुला छाडेरै घरबाट निस्कन लाग्दा कुकुरले उनकी आमाको बाटो छेकेको थियो रे ।

‘आमाले उसको कुरा बुझ्नु भएन । वास्ता नगरी बाहिर निस्किनु भएछ । कुकुरले आज किन बाटो छेक्यो भनेर मनमा कुरा खेलाउँदै हिँड्दै गर्दा आधा बाटोमा पुगेपछि ग्यास बन्द नगरेको सम्झिएर आमा घर फर्किनु भएको थियो’, वर्षाले भनिन् ।

यस्ता किस्सा अरू पनि छन् वर्षासँग । त्यसैले उनी कुकुरलाई सबैभन्दा विश्वासिलो मित्र ठान्छिन् । कतिपय मानिस कुकुर मन पराउँदैनन् । कुकुरले पनि आफूलाई कसले माया गर्छ र कसले गर्दैन भन्ने बुझ्ने वर्षा बताउँछिन् ।

‘कुकुर हामीसँग निर्भर भएर बसेको हुन्छ । आफू जोसँग निर्भर छ, उसलाई सम्मान गर्नुपर्छ भन्ने पाठ हामी कुकुरबाट सिक्न सक्छौँ,’ उनले भनिन् ।

WhatsApp Image 2024-10-29 at 11.29.55

वर्षाका अनुसार कुकुर पाल्न कमलो मन चाहिन्छ । ‘यो एक किसिमको जिम्मेवारी हो’, उनले भनिन्, ‘कुकुर पाल्ने घरका मानिस एकदमै भावनात्मक र जिम्मेवार हुन्छन् ।’

  • सुटिङको समयमा आउँछ कुकुरको याद

वर्षा फिल्म तथा म्युजिक भिडियोमा व्यस्त भइरहन्छिन् । म्युजिक भिडियो त एकदुई दिनमै छायाङ्कन सकिन्छ । फिल्मको छायाङ्कनका लागि उनी कहिलेकाहीँ कयौँ दिन बाहिरै बस्नुपर्छ । त्यो समय आफूलाई कुकुरको धेरै याद आउने उनले सुनाइन् ।

‘जब महिना दिनसम्म बाहिर बस्नुपर्ने हुन्छ । त्यो समय घरबाट निस्किँदा नै दुःख लाग्छ’, वर्षाले भनिन्, ‘सुटिङ सकेर घरमा फर्किँदा खुसी लाग्छ ।’

WhatsApp Image 2024-10-29 at 11.29.54

डुकु सानो छँदा वर्षासँग निकै झुम्मिने गर्दथ्यो । कहिलेकाहीँ घर आउन ढिलो हुँदा डुकुले उनकै बाटो हेरेर बस्थ्यो रे । तर अचेल वर्षा कयौँ दिनसम्म घर बाहिर हुँदा डुकु पनि त्यसमा अभ्यस्त हुँदै गएको छ ।

वर्षाले आफू घरमा नहुँदा कुकुरका लागि हेरचाह गर्न मानिस समेत राखेकी छन्, जसले कुकुरको स्वास्थ्यदेखि खानपिन लगायतका सबै कुराको जिम्मेवारी लिने गरेको छ ।

आफू घरमा हुँदा भने कुकुरलाई नुहाउने, सफासुग्घर गर्ने काम आमासँग मिलेर गर्दै आएको वर्षाले बताइन् । उनले काठमाडौँमा कुकुर घुमाउने ठाउँको अभाव महसुस गरेकी छन् । त्यसैले उनी कहिले काहीँ प्लान गरेर रेस्टुरेन्ट लगायतका स्थानमा कुकुरलाई लान्छिन् ।

  • खर्च धेरै छैन

कतिपय मानिस कुकुरका लागि धेरै खर्च लाग्छ भन्छन् । तर वर्षा त्यसलाई अस्वीकार गर्छिन् । कुकुरका लागि धेरै खर्च भएको अनुभव छैन उनीसँग । केही खर्च हुन्छ तर त्यसका लागि आफू तयार हुनुपर्ने उनले बताइन् ।

WhatsApp Image 2024-10-29 at 11.29.53

उनी एक पटकमा वर्ष दिनलाई पुग्ने डग फूड किन्छिन् । सानैदेखि घरमा पाकेको खाना खुवाएर हुर्काएका कारण कुकुरलाई खुवाउन खासै खर्च नहुने उनले बताइन् ।

‘कुकुरको धेरै खर्च भनेको हरेक वर्ष गर्नुपर्ने नियमित औषधि उपचार, भ्याक्सिन लगायतमा हो’, वर्षाले भनिन्, ‘सानैबाट राम्रो वातावरणमा राखेकाले अहिलेसम्म बिरामी परेको छैन ।’

नियमित स्वस्थ खाना, बेलाबेलामा नुहाउने, कपाल काट्ने गर्दा धेरै बिरामी नपर्ने उनको अनुभव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप