बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसवर्ष विद्यार्थीले पाएनन् ‘हाम्रो रामग्राम’ स्थानीय पाठ्यपुस्तक

बिहीबार, १५ कात्तिक २०८१, ०१ : ४३
बिहीबार, १५ कात्तिक २०८१

नवलपरासी । रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला, संस्कृति, सभ्यता, पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्यपुस्तक पठनपाठन सुरु गरिसकेको छ । 

विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी यो पुस्तक यहाँ लागू गरिएको हो ।

नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप, प्रविधि, पशुपालन र यहाँ बसोबास गर्दै आएका जात जातिलगायतका बारेमा पुस्तकमा समावेश गरिएका छन् । जसले स्थानीय विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिका उत्साहित भएका थिए तर यसपटक भने सो पुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सकिएको छैन । 

नगरपालिकाले यसवर्ष समुदायिक विद्यालयका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण नगर्दा पठनपाठनमा समस्या भइरहेको शिक्षक तथा विद्यार्थीहरूले गुनासो गरेका छन् । स्थानीय आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रीराम ढकालले यसवर्ष पाठ्यपुस्तक वितरण नगरिएकाले समस्या भएको बताए । उनले पुरानो पाठ्यपुस्तकलाई आवश्यकताअनुसार फोटोकपी गरेर पढाउने गरिए पनि यो निकै झण्झटिलो भएको बताए । 

विद्यार्थी भर्ना भएदेखि नै पुस्तकका लागि आग्रह गरिए पनि नगरबाट हालसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका सोही विद्यालय अभिभावक सङ्घका अध्यक्ष तिलकराम ढकालले बताए । अभिभावक मिन्नु हरिजनले भने,'समुदायिक विद्यालयमा शैक्षिक पाठ्यपुस्तक नपाएको बारे गुनासो गर्न जाँदा विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक, शिक्षिकाहरूले नगरपालिकाले उपलब्ध गराएकै छैन, हामीले कहाँबाट ल्याएर दिनु भन्छन् । पुस्तक नै नदेखेर यो शैक्षिक सत्र जान दिनु भएन नि !'

आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवले पाठ्यपुस्तकका लागि आफूहरूले सम्बधित निकायलाई निरन्तर झक्झक्याइरहेको बताए । 

पवन माध्यामिक विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले भन्छन्,'यसवर्ष पाठ्यपुस्तक वितरण नगर्दा पुराना किताब खोजेर काम चलाउनुपर्ने अवस्था छ । तर पुराना सबै विद्यार्थीले पनि कहाँ जतन गरेर राखेका हुन्छन् र! त्यसैले चाँडै पुस्तक पाए त सजिलो हुन्थ्यो ।'

रामग्राम नगरपालिका शिक्षा शाखा अधिकृत सुन्दर खनालले प्राविधिक समस्याका कारण यसवर्ष स्थानीय पाठ्यपुस्तक छापाई गर्न नसकिएको बताए । उनका अनुसार ५८ वटा सामुदायिक विद्यालयमा एकदेखि आठ कक्षासम्मका पाँच हजार १८ विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गर्नुपर्ने र त्यसका लागि छलफल भइरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले विद्याथी, अभिभावक र विद्यालयबाट आएका गुनासा सम्बोधन गर्न पुस्तक छाप्ने प्रक्रियामै रहेको बताए । नगरप्रमुख धनपत यादवले अब चाँडै पुस्तक छपाइ अगाडि बढाउने जानकारी दिए । 'नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक विषय, स्थानीय कला, सीप, प्रविधिक, पशुुपालन र यहाँका जातजातिकोको पहिचानसँग जोडिएका विषयहरूबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम लागू गरेका छौँ । त्यस्तो महत्वपूर्ण पुस्तक वितरणमा यसवर्ष ढिलाई भएको छ । अब चाँडै समस्या समाधान गर्छौं,' उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप