डब्लुएचओले भन्यो : क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो।
डब्लुएचओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टीबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति भएको देखाएको छ, जसमा पर्याप्त कोष नहुनु जस्ता निरन्तर चुनौतीहरू रहेका छन्” भनी उल्लेख गरेको छ।
टिबीसँग सम्बन्धित मृत्युको सङ्ख्या सन् २०२२ को १३ लाख २० हजारबाट घटेर गत वर्ष १२ लाख ५० हजार भएको छ । तर यो सङ्क्रामक रोग लाग्ने मानिसहरूको कूल सङ्ख्या ७५ लाखबाट बढेर ८२ लाख पुगेको छ।
सबै नयाँ केसहरू पत्ता नलाग्ने भए पनि डब्लुएचओको अनुमानअनुसार गत वर्ष करिब एक करोड आठ लाख मानिसलाई यो रोग लागेको थियो।
“हामीसँग यसको रोकथाम, पत्ता लगाउने र उपचार गर्ने साधनहरू हुँदा पनि टिबीले अझै पनि धेरै मानिसको ज्यान लिने र बिरामी बनाउने तथ्य एउटा आक्रोश हो”, डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले एक विज्ञप्तिमा भने, “डब्लुएचओले सबै देशलाई ती साधनहरूको प्रयोग बढाउन र टिबी अन्त्य गर्न उनीहरूले गरेका ठोस प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्दछ ।”
प्रतिवेदनअनुसार सन् २०२२ र २०२३ बीच केसहरूमा भएको वृद्धिले मुख्यतया विश्वव्यापी जनसङ्ख्या वृद्धिलाई प्रतिबिम्बित गर्दछ।
गत वर्ष टिबीको घटना दर प्रति एक लाख जनसङ्ख्यामा एक सय ३४ नयाँ केस थियो । यो सन् २०२२ को तुलनामा शून्य दशमलव दुई प्रतिशतले बढी हो।
यो रोगले ३० उच्च बोझ भएका देशहरूका मानिसहरूलाई असमानुपातिक रूपमा प्रभावित पार्दछ। साथै पाँच देश – भारत, इन्डोनेशिया, चीन, फिलिपिन्स र पाकिस्तान – विश्वव्यापी टिबी बोझको आधाभन्दा बढीका लागि जिम्मेवार छन, । यसमध्ये पनि एक चौथाईभन्दा बढी केसहरू भारतमा मात्र फेला परेका छन्।
प्रतिवेदन अनुसार, टिबी विकसित भएका मध्ये ५५ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका तथा किशोर–किशोरीहरू थिए।
रोकथाम र निको पार्न सकिने रोग टिबी ब्याक्टेरियाले गर्दा हुन्छ र प्रायः फोक्सोलाई असर गर्छ। यो फोक्सोको टिबी भएका मानिसहरूले खोक्दा, हाच्छ्यूँ गर्दा वा थुक्दा हावामार्फत फैलिन्छ।
डब्लुएचओका अनुसार धेरै नयाँ टिबी केसहरू कुपोषण, एचआइभी सङ्क्रमण, मदिरा सेवन विकार, मधुमेह र विशेषगरी पुरुषहरूमा धूम्रपान जस्ता पाँच प्रमुख जोखिम कारकले गर्दा भएका थिए ।
“टिबीको रोग भार घटाउने विश्वव्यापी माइलस्टोन र लक्ष्यहरू लक्ष्य भन्दा पछाडि छन्”, डब्लुएचओले भनेको छ ।
टिबी रोकथाम र हेरचाहका लागि वार्षिक २२ अर्ब डलरको विश्वव्यापी कोष लक्ष्यमध्ये गत वर्ष केवल पाँच अर्ब ७० करोड डलर मात्र उपलब्ध थियो।
“कोरोनाभाइरस रोग (कोभिड–१९) ले यसलाई तीन वर्षसम्म प्रतिस्थापन गरेपछि सन् २०२३ माटिबी सम्भवतः एकल सङ्क्रामक एजेन्टबाट हुने विश्वको प्रमुख मृत्युको कारण बन्न फर्कियो”, डब्लुएचओले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई अदालत लगियो
-
भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
-
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’