१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. प्रधानमन्त्रीविरुद्ध नाराबाजी
महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १-२ गोलले पराजित भएको हो । नेपालले हारेपछि दशरथ रंगशालामा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्शकहरूले नाराबाजी गरेका छन् ।
२. समीक्षामा जनमत पार्टी
डा. सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारण औँल्याएका छन् ।
३. सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान पुरा भएको छ । बुधबार अबेर बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) बसन्त शर्माले बयान प्रमाणित गरेका हुन् ।
४. धनराजमाथि पनि अनुसन्धान
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् ।
५. अन्तःशुल्क स्टिकर भ्रष्टाचार प्रकरण
विशेष अदालतले अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिएको छ । विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गरेर अन्य प्रतिवादीलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।
६. महासंघमा द्वन्द्व
नेकपा एमाले सम्बद्ध जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा गुरुङ भोटेबिचको द्वन्द्वले उग्र रुप लिएको छ । अध्यक्ष शेर्पा र महासचिव भोटेको कार्यशैलीका कारण बढेको खटपटले कारबाही तथा खुकुरी प्रदर्शनको अवस्था समेत सिर्जना भइसकेको छ । महासंघमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक्षेपविना बैठक नै बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।
७. संसदीय समिति
नेपालमा उत्पादन हुने सुपारीको तुलनामा निर्यात भएको परिमाण बढी देखिएको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयुक्त बैठकमा सुपारीको उत्पादन, बजार र निर्यातको अवस्थाबारे छलफल भएको हो ।
८. अध्यक्ष पद पुरस्कार
सरकारले एमाले नेता (प्युठान) हरि रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी भागबन्डाका आधारमा आयोग गठन गरेको हो ।
९. मधेसवादी दल
यतिबेला संघ र प्रदेशमा गरी मधेस केन्द्रित सबैजसो दल सत्तामै छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा सामेल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन जनाएको अवस्था छ ।
१०. अमेरिकी निर्वाचन प्रणाली
यो वर्ष विश्वका अधिकांश मुलुक निर्वाचनमय भए । केही मुलुक अब छिट्टै निर्वाचनमा होमिँदै छन् । बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत हुँदै सबै महादेशका देशहरूमा भएको निर्वाचनमा पृथ्वीका आधा भन्दा बेसी मतदाता निर्वाचनमा सहभागी भए । अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा यो वर्षलाई लोकतन्त्रकै भविष्य निर्धारणको वर्ष मान्छन् ।
११. रास्वपाको आन्दोलन
पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न ‘हारगुहार’ गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिहारको देउसी–भैलो कार्यक्रमलाई विरोधको स्वर अभिव्यक्त गर्ने माध्यम बनाउने भएको छ ।
१२. जन्मशताब्दी कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षमा भएका कमी–कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने कम्युनिस्ट घटकका प्रमुख नेताहरूले बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा नेकपा माओवादी केन्द्रले बुधबार कमलादीमा आयोजना गरेको ‘नेपाल कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा कम्युनिस्ट आन्दोलनबारे चर्चा भएको हो ।