फेरि उपाधिको नजिक पुगेर चुक्यो नेपाल
काठमाडौँ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि एक पटक उपाधिको नजिक पुगेर चुकेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग १-२ गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाइन् ।
तर, बंगलादेशको अग्रता लामो समय टिकेन । अमिषा कार्कीले लगत्तै बराबरी गोल फर्काइन् । खेल सकिन १० मिनेट बाँकी छँदा रितुपोर्ना चक्माको क्रसलाई क्लियर गर्दा गोलकिपर एन्जिला तुम्बापोले आफ्नै पोस्टमा छिराएकी थिइन् ।
यो गोल नै खेलमा निर्णायक बन्यो । बंगलादेशले लगातार दोस्रोपटक उपाधिमाथि कब्जा जमायो ।
जारी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको थियो । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाली टोली समूहगत चरणमा खेलिएका तीनमध्ये दुई खेलमा विजयी भएको थियो । एक खेलमा भने नेपाल बराबरीमा रोकिएको थियो ।
समूहगत चरणमा नेपालले एक गोल पनि खाएको थिएन । समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
नेपालले समूहगत चरणको तेस्रो खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो । सेमिफाइनल खेलमा नेपालले पाँचपटकको च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । नेपाल र बंगलादेश दुबै राष्ट्रले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपका सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण बंगलादेशको कक्सबजारमा आयोजना भएको थियो ।
तर, नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि चुम्न सकेको छैन । बंगलादेशले यसअघि एकपटक यो प्रतियोगिताको उपाधि जितेको थियो । सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ संस्करणको फाइनलमा बंगलादेशले नेपाली टोलीलाई ३–१ गोलले हराएको थियो ।
नेपाली टोली यसअघि पनि पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको थियो । नेपाली टोलीको उपाधि यात्रामा हालसम्म चारपटक भारत र एक पटक बंगलादेश तगारो बनेका थिए।
सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । त्यतिबेला फाइनलको ६५औँ मिनेटमा भारतले निर्णायक गोल गरेको थियो ।
यसैगरी, सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले पराजित गरेको थियो । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपाल लगातार तेस्रो पटक फाइनलमा पुगेको थियो ।
तर, तेस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०१६ मा भारतको सिलिगुडीमा सम्पन्न चौथो संस्करणमा भने नेपाली टोली सेमिफाइनलमै पराजित भएको थियो ।
त्यो संस्करणको सेमिफाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले माल्दिभ्समाथि ६–० गोलको सजिलो जित हात पारेको थियो । त्यो संस्करणको फाइनलमा भने भारतले बंगलादेशलाई ३–१ गोलले हराउँदै लगातार चौथो पटक उपाधि चुमेको थियो ।
प्रतियोगिताको पाँचौँ संस्करण भने सन् २०१९ मा नेपालमै आयोजना भएको थियो । यो संस्करण विराटनगरमा खेलाइएको थियो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो । तर, यसपटक पनि नेपालको उपाधि यात्रामा भारत नै तगारो बन्न पुग्यो । फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको थियो ।
प्रतियोगिताको छैटौँ संस्करण पनि सन् २०२२ मा नेपालमै आयोजना भएको थियो । प्रतियोगिताका खेलहरु काठमाडौँको दशरथ रंगशालामा खेलाइएको थियो । यो संस्करणमा भने सेमिफाइनल खेलमै भारतलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।
अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ८–० गोलको विशाल अन्तरले पाखा लगाएको थियो । तर, यसपटक पनि नेपालको उपाधि जित्ने सपना साकार हुन सकेन । प्रतियोगिताको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।
अघिल्लो संस्करणजस्तै यसपटक पनि नेपाल र बंगलादेश दुबैले सेमिफाइनल खेलमा पुरानै प्रतिद्वन्द्वीलाई हराएका थिए । साफ च्याम्पियनसिपमा यो गतिलो संयोग थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता